जिरी। वि.सं.२०४० साल मा तत्कालीन श्री ५ को सरकार र स्वीस सरकारको संयुक्त लगानीमा स्थापना भएको दोलखा जिल्लास्थित जिरी प्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन फार्मेसी’ को कक्षा सञ्चालन हुने भएको छ।
शिक्षालयका प्रमुख कर्म शेर्पाका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को निर्णय अनुसार चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेकाले यस वर्ष देखि ‘डिप्लोमा इन फार्मेसी’को कक्षा सञ्चालन हुन लागेको हो।
४० जनाको कोटामा कक्षा सञ्चालन गर्न अहिले प्रवेश परीक्षा सञ्चालनको लागी फारम भर्ने काम भइरहेको शेर्पाले जानकारी दिए।
असार २९ गते देखी साउन १२ गते सम्म शिक्षालयमा उपस्थित भइ फारम भर्ने सकिने उनले बताए। तीन बर्से डिप्लोमा कोर्सको लागि १ लाख १५ हजार शुल्क लाग्ने जिरी प्राविधिक शिक्षालयले जनाएको छ।
जसका लागि एसईईमा उर्तिण भएका विद्यार्थीहरूले तीन बर्षे डिप्लोमा इन फार्मेसीका लागि आवेदन दिन सक्ने छन। आवेदनको लागि एसईईको ओरिजिनल ग्रेट सिट, सर्टिफिकेट, क्यारेक्टर, नागरिकताको फोटोकपी र दुई प्रती फोटो चाहिने शिक्षालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
फार्मेसी तर्फको तीन बर्षे डिप्लोमा कक्षा सञ्चालनको सबै तयारी पूरा भैसकेको र अहिलेलाई एनाटोमी ल्याब, फिजियोलोजि ल्याब र हेल्थ क्लिनिक तयारी अवस्थामा छ भने अन्य ल्याबहरू आगामी वर्षबाट थप गरिदै जाने तयारीमा रहेको प्रमुख कर्म शेर्पाले बताएका छन्।
जिरी प्राविधिक शिक्षालयमा यसअघि कृषि र पशु विज्ञानतर्फ स्नातक र सिभिलतर्फ सिभिल इन्जिनियरको कक्षा संचालन हुँदै आएको छ।
प्राविधिक शिक्षालयमा कृषि विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङ पनि अध्यापन भइरहेको छ।
३ वर्षे सिभिल इन्जिनियरको शूल्क ९० हजार रहेको छ भने, कृषि र पशु विज्ञानको ७५ हजार त्यस्तै, डिप्लोमा इन फार्मेसीको शुल्क १ लाख १५ हजार रहेको छ र प्रि–डिप्लोमा अन्तर्गतका १८ महिने कोर्सहरुको शुल्क १५ हजार रहेको शिक्षालयले जनाएको छ।
शिक्षालयका प्रमुख विषेशताहरु:
- सम्पुर्ण विषयहरुको विषयगत ‘वर्कशप’ तथा प्रयोगशालाहरु।
- दक्ष प्रशिक्षकहरु ।
- शिक्षालयको आफ्नै स्वामित्वमा २ सय रोपनी जमिन र त्यसमा बनेका भौतिक संरचनाहरु ।
- शिक्षालयको आफ्नै अत्याधुनिक हाइटेक् टनलहरु सहित कृषि फार्म
- पुस्तकालयको राम्रो सुविधा भएको ।
- शिक्षालयकको आफ्नै पशुफार्म ।
- ‘लर्न’, ‘अर्न’ र ‘पे’अवधारणाको कार्यन्वयन।
- यातायातको राम्रो सुविधा।
- स्वच्छ पानी एवं रमणीय वातावरण।
- समय समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन।
- थप मोडुलर कोर्षहरु संचालन।
- महिला छात्रावासको व्यवस्था।
- चमेना गृहको व्यवस्था।
- प्रयोगात्मक अभ्यासमा अधिकतम जोड।
- वातावरणमैत्री तथा प्रविधिमैत्रीमा जोड।
- प्रशस्त सिकाई सामाग्री तथा शैक्षिक उपकरणहरुको व्यवस्था भएको।
- अधिकतम कक्षाहरुमा ‘इन्टर्याक्टिभ बोर्ड’ मार्फत पठनपाठन ।