पोखरा | पोखराको पठन संस्कृति विकासमा ‘र्यान्डम रिडर्स सोसाइटी’ क्रियाशील छ। यसै विषयमा सोसाइटीकी उपाध्यक्ष गौरी तमूसँग एभरेस्ट पेडियाले कुराकानी गरेको छ।
वर्तमानमा पोखरा के लेख्दै छ ?
वर्तमानमा त पोखराले देशको दुखाई र आँसु लेखिरहेको छ। यहाँ आयोजना हुने नियमित साहित्यिक शृङ्खलाहरूमा देशको विषम परिस्थितिबाट सृजित भय, सन्त्रास र शङ्काको घेराबाट उज्यालोको किरण लेख्दैछ। त्योभन्दा अलिक अघिको समयलाई हेर्ने हो भने साहित्य, कला र सङ्गीतमा यहाँको, प्रकृति, संस्कृति र सिङ्गो राष्ट्र भाव मुखरित भएको पाइन्छ।
कला, साहित्य र सङ्गीतको उन्नयनमा स्थानीय प्रज्ञा प्रतिष्ठानको भूमिका कस्तो पाउनुभएको छ ?
खासमा मलाई यो प्रश्न नसोध्नु भएको भए हुन्थ्यो । किनकी यहाँ प्रज्ञा प्रतिष्ठान कसरी गठन गरिन्छन् ? त्यहाँ केही बाहेक अधिकांश राजनीतिक कोटाबाट कस्ताकस्ता प्राज्ञहरू भर्ना गरिन्छन् भन्ने सबैलाई थाहै छ । र, सबैभन्दा डरलाग्दो कुरा त यो छ कि यस्ता नियुक्तिमा असली साहित्यकार या साहित्यिक कर्ममा लागेकालाई पाखा पारिन्छ। उनीहरू बेखबर हुन्छन्। प्रतिष्ठानको गठन नै यसरी हुने भएपछि यसका गतिविधि पनि तिनै सिमित घेरामा सिमित व्यक्तिका लागि त आयोजना गरिन्छन्।
सुझाव नै दिनुपर्दा चाहीँ प्रज्ञा प्रतिष्ठानका गतिविधि सङ्कुुचित घेराबाट उठेर यहाँका सबै क्षेत्र, वर्ग, जाति र लिङ्गलाई समेटने गरी कार्यक्रम गरिनुपर्छ।
पोखराको पठन संस्कृति कस्तो छ ? पठन संस्कृति विकासमा र्यान्डम रिडर्स सोसाइटीको भूमिका कस्तो छ ?
पोखराको पठन संस्कृति लोभलाग्दो र अनुकरणीय छ। पठन संस्कृति विकासमा र्यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिवार आयोजना गर्ने परिचर्चा कार्यक्रमले कम्तिमा महिनाको एउटा पुस्तक पढेर कार्यक्रममा आई लेखक र अवधारणापत्र प्रस्तुतकर्तालाई प्रश्न गर्न पाउने सुविधा छ। यसले पाठकलाई केही न केही पढ्न प्रेरित गररिरहेको छ। यसका पाठक युवा पुस्तादेखि वृद्ध पुस्तासम्म छन्। यहाँ प्रत्येक हप्ता जसो साहित्यिक गतिविधि भइरहन्छन्। महिनाको अन्तिम शनिवार हिमालयन रिडर्स कर्नरको हलमा मात्र ३ देखि ५ ओटासम्म कार्यक्रम हुन्छन् भने अन्य ठाउँका सहित करिब दर्जन कार्यक्रम गरिन्छन्।
र्यान्डम रिडर्स सोसाइटीले के कस्ता कार्यक्रम गरिरहेको छ ?
वि.सं.२०६७ सालमा स्थापित र्यान्डमले हालसम्म ११९ कार्यक्रम शृङ्खला पुुरा गरिसकेको छ । यसले नियमित परिचर्चा र विशेष शृङ्खलामा आख्यान र गैरआख्यान कृतिसँगै दर्शन, कला, साहित्य र समाजका जल्दाबल्दा समसामयिक विषयमा कार्यक्रम गर्दै आएको छ । साथै पुस्तकालय दिवसजस्ता कार्यक्रम मनाउँछ।
अन्त्यमा...?
देश विषम परिस्थितिबाट गुज्रिरहेको छ। कति आमाका कोख रित्तिएको छ। कतिपय घाइतेहरू अस्पतालमै छन्। यो समयमा जेनजीहरूसँगै कवि, लेखक, साहित्यकारले कुनै गुट उपगुटमा नलागी कलमका माध्यमबाट राष्ट्रिय हितमा जिम्मेवारीपूर्ण भूमिका निभाउन सकून्। सम्पूर्ण जेनजी घाइतको शीघ्र स्वास्थ्य लाभको कामनासहित सहिदप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछु।