‘मैले टेकेका पाइलाहरू’ देवेन्द्र घिमिरेको संस्मरणात्मक ग्रन्थ हो। जीवनका महत्वपूर्ण क्षण नेपालको वामपन्थी आन्दोलनमा व्यतित गरेका उनी यतिबेला आरामको जिन्दगी बिताइरहेका छन्। राष्ट्रिय सभाका सदस्य भइसकेका देवेन्द्र लेख्न, पढ्न र फोटो खिच्न विपत्तै रुचाउँथे भन्ने उनका संस्मरण पढेपछि हेक्का हुन्छ।

उनका प्रकाशित कृतिहरू हुन्, नेपाली महिला र मुक्ति(२०३८), सर्वहारा वर्गका असल मित्रहरूलाई चिनौं(२०४२), हामी र हाम्रा आफन्तीहरू(२०४८), थारुः आदिवासी नेपाली(२०५२), भूमिगत यात्राका २० वर्ष(२०५९), हजुर नमस्कार(२०६४), युगदेखि युगसम्म(२०६६), जिउनुको सार(२०७२), यात्राका यादहरू (२०७५) र आश्रितका चिठी देवेन्द्र घिमिरेलाई (२०८०) ।
देवेन्द्र घिमिरे(नास्तिक) नामबाट परिचित उनी पछिल्लो समय कपिलबन्धु साहित्यिक नामबाट प्रसिद्ध छन्।
उनले यस पुस्तकमा ‘हाम्रा पुर्खा’, ‘म र आजको पुस्ता’, ‘मेरो बाल्यकाल’ शीर्षकलाई पुस्तकको परिचय खण्डमा समावेश गरेका छन्। संस्मरण खण्डमा ‘मेरो कालखण्डको बुटवल’, ‘बुटवलको साहित्य’, ‘अलप भएकै ठाउँबाट प्रकट’, ‘आन्तरिक र बाह्य द्वन्द्वमा बुटवल’, ‘बिटालु अर्जेल’, ‘पुनर्मिलनको नयाँ आयाम’, ‘भूमिगतकालीन अवस्था ः अनुभव र अुनभूति’, ‘२०२६ को त्यो अविस्मरणीय जुलुस’, ‘२०७४ का बाह्र महिना’ शीर्षकका ९ वटा संस्मरणात्मक लेख समावेश छन्।
नियात्रा खण्डमा ‘कलेजबाट शैक्षिक भ्रमणमा’, ‘महाकाली प्रशिक्षणमा बाइस दिन’, ‘दाङ्ग भ्रमणका पाँच दिन’, ‘विद्यार्थीसँगै तातोपानी पूलपारिसम्म’, ‘औषधी बोकेर विदेश यात्रामा’ शीर्षकका घतलाग्दा, रमाइला र स्मरणयोग्य नियात्रा पढ्दा समय वितेको पत्तै हुन्न। सलल बगेका नियात्राले आफ्नो समाज, देश र विदेशलाई समेत दाँजेको छ। आफूनो भूमिप्रतिको स्नेहभाव झल्काएको छ।
विद्यार्थीकालमा उनीहरूले २०२५ सालको पुष ८ गदेदेखि लुम्बिनी कलेजबाट नेपाल र भारतको २२ दिने शैक्षिक भ्रमण गरेका रहेछन्। उक्त भ्रमणका बारेमा नियात्रा उनले २०२६ सालमै लेखेका पनि रहेछन्। उनले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापादेखि भारतको दार्जिलिङ्गमा पुगेर सगरमाथा आरोही प्रथम व्यक्ति तेञ्जिङ्ग नोर्गे शेर्पालाई भेटेको कुरा उल्लेख गरेका छन्। जाँदा भारतको गोरखपुरदेखि रेलमा र आउँदा काठमाडौंबाट डकोेटा विमानद्वारा भैरहवा उत्रिएको कुरा मज्जाले बयान गरेका छन्।
‘मितेरीका ती दिनहरू’, ‘प्रतिगामी साहित्य र त्यसको सेवा क्षेत्र’, ‘महिला हिंसाको क्षेत्र,कारण र निवारण’, ‘नेपाल दलित, गैरदलित नागरिकको देश बन्नु भएन’, ‘नैतिक शिक्षा ः नीति र नैतिकता’, ‘संस्कृति युगका पाइला हुन्’, ‘मानवजीवन नदी प्रणालीसँग अनुबन्धित छ’, ‘ज्येष्ठ नागरिकको मानवअधिकार सम्वेदनशीलता’, ‘विद्यार्थी कसलाई भन्ने ?’, ‘आजको नेपाली जनमत’, ‘राजनीति कसका लागि ?’, ‘मेरा भूत र मसान जीवन दर्शनका सहयोगी बने’, ‘शाश्वत सत्य छ गतिमयता’, ‘समाज रुपान्तरणमा वैचारिक पक्षको भूमिका’, ‘कसका लागि राजतन्त्र फर्काउने?’ र ‘राताआँखे जनवाद !’ शीर्षकका १६ वटा लेख विचार खण्डमा समाहित छन्।
समाजको विकास, गति, प्रगति, उन्नति र समृद्धिको आधार नै विचार हो। विचारविनाको नीति, योजना, कार्यक्रम सम्भव हुँदैन। विचारले नै विकासका आधार तय गरेका हुन्छन्। समृद्ध समाज र राष्ट्र निर्माणका लागि विचार नै समृद्ध हुनुपर्छ। विचारमाथि मन्थन हुनु स्वभाविक हो। तर, विचारको गोरेटोलाई पछ्याएर नै गन्तव्य पुग्ने हो। विचार खण्डमा लेखकले आफ्ना सकारात्मक दृष्टिकोणलाई प्रस्तुत गरेका छन्। विचारमा अटल उनी, विचारलाई नै सर्वश्रेष्ठ ठान्छन् र मान्छन्। उनले भनेका छन्–शासकहरू समुदायसँगभन्दा उनीहरूले लिएको विचारसँग तर्सन्छन्।

डा.हरिप्रसाद भण्डारीद्वारा सम्पादित यस पुस्तकको प्रकाशन २०८३ सालमा भुँडीपुराण प्रकाशनले गरेको हो। पुस्तकमा परिशिष्ट खण्डमा केन्द्रको नामावली, रुपन्देहीका आश्रयदाता, गुल्मीका आश्रयदाता, पाल्पाका आश्रयदाता, दाङ्गका आश्रयदाता, नवलपरासीका आश्रयदाता र टिप्पणीकर्ता, सहलेखक, संस्था र सञ्चार माध्यमका बारेमा लेखिएका लेख समावेश छन्। अन्तिम खण्ड सन्दर्भिकामा ‘मेरो विगत अरुको कलमबाट’ शीर्षकमा लेखिएका ससाना संस्मरण छापिएका छन्।
खरो स्वभावका कारण उनका कुरा र व्यवहार धेरैसँग नमिल्ने कुरा उनकै ग्रन्थ पढेपछि थाहा पाइन्छन्। देवेन्द्रलाई भूमिगतकालीन समयमा भेटेका उनकै साथी पनि ‘कडा देवेन्द्र’को संज्ञा दिन्छन्। देखेको बोल्ने र थिचोमिचो कसैको नसहने चरित्रका देवेन्द्रले राजनीतिमा टिक्नका लागि कसैको गुलाम गर्न नसकेकै कारण सांसद त भए जेनतेन। तर, मन्त्री बन्ने लालसा समयै त्यागें।
भन्नेहरूले जीवराज आश्रित र देवेन्द्र घिमिरेको अनुशासन उस्तै फलामे थियो भन्छन्। त्यो कुरा पनि यही पुस्तक पढेपछि थाहा लाग्छ। खासमा देवेन्द्र घिमिरेले सो कुरा पटकपटक आफू जीवराज आश्रित स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्षका हैसियतले कार्यक्रममा बोल्ने गरेका पनि छन्।
५० जना लेखक, साहित्यकार एवम् सर्जकले देवेन्द्र घिमिरेका बारेमा कुनै न कुनै विषयमा केन्द्रीत भएर लेखेका छन्। सायद यो नै उनका लागि अमूल्य उपहार हुन सक्ला। ती सम्झनलायक लेखहरूलाई पनि यो पुस्तकमा सजाएका छन्। विभिन्न सञ्चार माध्यम, स्मारिका, मुखपत्रहरूमा समेत उनका बारेमा लेखिएका रचना, लेख भेट्न सकिन्छ।
राजनीतिबाट अवकास जीवनलाई देवेन्द्रले साहित्यमा नै सिंचित गरेका छन्। आफ्ना भावनालाई पुस्तक, पत्रपत्रिका र विविध माध्यम मार्फत् प्रकट गरिरहेका छन्। पछिल्लो समय रोगव्याधिले गर्दा धेरै आराम र कम काम गरेका छन्। तैपनि उनले पछिल्लो कृतिका रुपमा यो कृति हाम्रा बिचमा ल्याएका छन्। प्रकाशन हुन बाँकी पाण्डुलिपि पनि छन्। उनका विचारप्रधान र समाज प्रगतिउन्मुख रचना पढ्न हामी आतुर छौं।
देवेन्द्र दाइ, शुभकामना !