धरतीमाथि लेखिएको अभियोगपत्र
यो समय
इतिहासको गर्तमा लुकेको
एउटा ज्वलन्त प्रश्न हो
के हामी साँच्चिकै सभ्य थियौँ
या केवल उपभोक्तावादी ?
आकाश आज
नीलिमा होइन,
मानव ज्यादतीको खरानी ओढेर
निसास्सिएको छ
हावा,
जीवनको प्रथम मन्त्र,
अचेल मृत्युको घोषणापत्र जस्तो
फोक्सो–फोक्सोमा टाँसिएको छ
नदीहरू
अब प्रवाह होइनन्,
सभ्यताको रछ्यानमा लुटपुटिएका डायरीका पानाहरू हुन्
जहाँ विकासका नाममा
प्रदूषण र विषादीका किरिङमिरिङ हस्ताक्षर छन्
जलको आत्मा
धिकिरधिकिर बगिरहेको छ
आफ्नै अस्तित्वको अन्त्यतिर
माटो
सृष्टिको गर्भ,
जीवनको आधार
रासायनिक मोहले
बन्जर बनाइएको छ
अचेल त माटोमा बीउ रोप्दा पनि
भविष्यको ऊर्जा होइन,
असुरक्षाको डर उम्रिन्छ
के यी सबै
अज्ञानताबाट सिर्जित दुर्घटना मात्र हुन र ?
आउने दिनप्रति
अन्धो बनेको वर्तमानले
निर्दोष सन्ततिको भविष्यसँग
निर्दयी जुवा खेलिरहेको छ
हेर्दा मौन साक्षीजस्तो देखिन्छ प्रकृति
तर
उसको मौनतामा
विद्रोहको गर्जन छ
कर्णप्रिय नलाग्ला त्यो मौन विद्रोह
तर सुनिनुपर्छ कटुसत्य
उतारिनुपर्छ कर्म र व्यवहारमा
उपभोगको पाठ मात्र होइन,
उत्तरदायित्वको दर्शन पनि पढ्नुपर्छ अब
नीति कागजको खोस्टो मात्र नबनोस्,
नदी, वन र बस्तीमा झरोस्
प्रदूषण, विषादी र प्लास्टिकमुक्त जीवन
अभियानको निम्ति अभियान मात्र होइन,
विवेकशील सभ्यताको पुनर्जागरण हो
मानव र मानवेतर जगतबीच
फेरि समान्जस्यता कायम गरौँ–
सहअस्तित्व र सम्मानपूर्वक बाँच्न सिकौँ
र सुरक्षित भविष्य सुनिश्चित गरौँ
किनकि
हामी नै यसको निम्ति जिम्मेवार उत्तराधिकारी हौँ
आकाशको नीलो आँखा धुम्म धुवाँले अन्धो भएर
वनको हरियो स्वर बुल्डोजरको गर्जनमा हराइरहदा
शोषणको घाउ बोकेको पृथ्वी अब माटो मात्र होइन,
मानव शरीर बन्दै गैरहेको छ
नदीहरू रोइरहेका छन्,
शिरमा बोकेको हिमाल पग्लिएर बाँसुरीको धुन होइन,
शोकगीत बन्दैछ
पहाडको काखमा गुन्जिने नदिका स्वरहरू
बाँध र सुख्खाले धोद्रो हुँदै गएका छन्
बतास धुलो, धुवाँ र गर्मी लिएर आइरहेको छ
जहाँ वर्षा समयमै पर्दैन
जहाँ बालीहरूको गर्भ अनाहकको सुख्खा हावाले गर्भपात गराइरहको छ
हराउँदै गएका फुलका रङलाई
मानव चेतना अल्ग्याइ रहेछ
मानवले भुल्दै आएको पृथ्वीको तापक्रम
सगरमाथादेखि तराईसम्म बढ्दै गएको छ
लापरबाहीले बाढी, पहिरो, खडेरी निम्ताएर
पृथ्वीमा रक्तसञ्चार घटाइरहेको छ
सुनसान शहर, घट्दै गएको पशु र वनस्पति
काटिएका रुख, सुक्दै गरेको जमिन,
हावामा गुञ्जिने पीडाका स्वरहरु
हरेक थोपामा, हरेक पातमा
जलवायु परिवर्तनको असर स्पष्ट देखिन्छ ।
पर्या चिन्तामा पिरोलिँदै
जन्मिएपछि यो हरित भूमिमा
मैले थुप्रै रङ्गीन सङ्गत गरें
तर तिम्रो जस्तो निस्वार्थ
र जीवनोपयोगी साथ कसैको पाइनँ
प्रिय पर्यावरण,
जब म तिम्रो गहिरो प्रेममा परेँ
तिमीले आभाष दिलायौ
प्रेममा कति शक्ति हुँदोरहेछ
तिमीसङ्गको सामिप्यताले
नयाँ जीवन पाएँ
हौसिदै बहकिदै
तिम्रै प्रेमका खातिर
पागलपनको हद पार गरें मैले
कतिले बुझे मेरो प्रेम
कतिले लत्याए
जसले जे भनेपनि
मैले तिम्रो प्रेम त्याग्न सकिनँ ।
जब म तिम्रो प्रेममा परेँ
तिम्रै आलिङ्गनमा बेरिएर रहेँ
तिमी हाँस्दा सङ्गसङ्गै खित्किन्छु
तिमीलाई पिडामा देख्दा
असाध्यै पीडा हुन्छ मलाई
प्रिय प्रकृति,
तिमी मेरो जीवनधारा हौ ।
मान्छेहरू विकासका कुरा गर्छन्
तर, विकासले सङ्गै ल्याएको
विनाशबारे सोच्दै सोच्दैनन्
प्रदूषणले आक्रान्त ‘प्रताडित पृथ्वी’
पिल्सिइरहँदा बेचैन हुन्छु म
तिमीलाई न्याय दिलाउन
तिमीलाई पिडाबाट जोगाउने
मेरो हरदमको प्रयास निरर्थक हुन्छ अनायासै ।
मनको बह पोख्दै
कोरेकी थिएँ ‘वृक्षको विलौना’
त्यो त केवल विलौना न थियो
तर समयसङ्गै त्यहि विलौनाले
जन्माइदियो मनमा अर्को काव्य
‘रुखको रोदन’ त्यहीँ थियो
अवरोध बन्यौ विकासको लहरमा
मृत्युुपत्रको बिल्ला लगाइयो तिम्रो छातीमा
त्यो दिनदेखि झन् विक्षिप्त्त हुनपुगेछु
‘रुख काट्न किन हतार’ भन्दा
मेरो मुख नै थुनिदिए
तिमीलाई माया गरेका शहर पनि घुमेँ
‘रुखले असर नगरेको शहर’ ले मन जित्यो
तर केही सीप लागेन मेरो
तिम्रो रक्षार्थ बोल्ने कोही भएन
मात्र आवाज एक्लियो
यो निर्दयी शहरमा ।
तिमीलाई हिजोझैँ देख्न
अनि आज जस्तै भेट्न
भोलि पाउँला कि नाई ?
त्रसित मन छटपटाईरहन्छ
देख्छु जताततै
तिमीलाई सखाप पार्नेहरुको ताँती
कोही बोल्दैन तिम्रो रक्षार्थ
सबैलाई चाहिएको छ विकास
तिमीमाथिको विनाशकारी नीति
रोक्न खोज्छु एक्लै
तर केवल हुन्छु कागको बथानमा बकुल्लो
केही गर्न सकिन तिम्रो रक्षार्थ
शिवाय आँसु वर्षाउन
हेर्दाहेर्दै जुनदिनको डर थियो त्यही भयो
हराभरा सडक क्षणभरमै
मरूभूमितुल्य भए
बाकी रहे मात्रै कङ्क्रीटका महलहरू
यतिबेला म
एक्लै–एक्लै
फगत एक्लै
भौँतारिइरहेकी छु
मानव निर्मित यो खण्डहर सडकमा
पर्या चिन्तामा पिरोलिँदै ।
-1792141018.jpg)