जीवनको रहस्य
म शब्द खोलूँ मनभित्रबाट
दियो जलाऊँ शुभ सामसाथ
व्यथा कथा ती इतिहासमा छन्
पूर्खाहरू ती उपहासमा छन् ।
।।१।।
आफ्नाहरू ती सब साथमा छन्
सुखी हुँदैमा नि ! उदासमा छन्
निमित्त आफ्ना किन छैन त्याग
बिर्सी दिएका ममता र काख।
।।२।।
धारा पँधेरा सब भासिँदै छन्
ठेकी मदानी पनि मासिँदै छन्
चौँठी र हर्पे बरियो र नेती
कथा भए ती नसुनाउ जेठी।
।।३।।
सम्मान संस्कार हराउँदै छ
आफ्ना भुली अन्त रमाउँदै छ
खेलो छ जैले छलछाम मात्र
र स्वार्थको बीच रहन्छ पात्र।
।।४।।
मिथ्या सबै सम्झिनु मात्र आज
लायौ मितेरी अभिमान साथ
खाँबो घुरीको अब ढल्न लाग्यो
चुलो र चौको पनि गल्न थाल्यो।
।।५।।
सम्हार गर्ने सब बाहिरै छन्
उजाडिएका मन गुज्रिदै छन्
ती दुःख सम्झेर भिज्यो सिरानी
यस्तै छ यो जीवनको कहानी।
।। ६।।
छन्दः उपजाति
त्यागौं न कोरा अब
कोरामा चुपचाप बेरिन पुगे नारीहरू सधै
कोरा त्याग भनी खुला हृदयले बोल्दैन कोही अझै
जन्मेको दिनदेखि लाल कपडा जम्मै लगाए पनि
गर्दै भेद अनेक जन्मिन पुगे शास्त्रार्थका लेखनी ।।१।।
नारीको अधिकारका विषयमा आवाज कल्ले भर्यो
नारीसंग समान भै विधुरले संस्कार कल्ले गर्यो
नारीको हक निम्ति त्यो सदनमा बोल्ने गरेता पनि
कोही बोल्न सकेन हिम्मत गरी त्यागौं न कोरा भनी।।२।।
आफैले अधिकार खोस्नु छ यहाँ मिल्दैन जागा नभै
बाआमा न त दाजु भाइ बहिनी बोल्दैन कोही अझै
सेतै पैरनले धपक्क वय त्यो छोप्दै नढाकौं अब
हाम्रो रूप विरूप हुन्छ किन हो जागौं न नारी सब।।३।।
जागेरै अधिकार खोस्नु छ स्वयम् पाइन्न मागेर नै
के मिल्थ्यो सजिलै समान हक त्यो हामी चनाखो नभै
नारीले दुख कष्ट मात्र सहने भन्ने कथा लेखिए
ती संस्कारहरू बचाउ गरिँदा नारी सधै हेपिए।।४।।
जस्तै शिक्षित हुन् विवेक जन हुन् उस्तै पुरानो पन
नारी निम्ति दया र प्रेम करुणा जाग्ने छ कैले भन
नारी नित्य दवावमा परिरहे संस्कार मान्दा सब
हे नारी हक खोस्न हिम्मत गरी त्यागौं न कोरा अब।।५।।
छन्दः शार्दूलविक्रीडित
बनोस् सुदीर्घ जीवन
छ आर्तनाद देशमा जताततै छ क्रन्दन
र भोक रोग शोकले प्रताडना छ चिन्तन
हजार, लाख दर्द छन् हटाउने प्रयास खै?
न मिल्छ खास प्रेरणा निदानको उपाय नै
।।१।।
यहाँ छ भेद वर्गमा अनेक जात जातमा
अनेक रङ्ग रङ्गमा विवेक चाल ढङ्गमा
अभाव रोजगारले युवा सबै विदेश छन्
यता स्वदेशमा भने दलाल भ्रष्ट मस्त छन्
।।२।।
स्वदेश कीर्ति हेतुमा कसी रुमाल माथमा
जुरुक्क बोक देश यो भरेर जोस आँतमा
गुराँस चाँप फक्रिँदै सुरम्य होस् वसुन्धरा
अनाज टन्न उब्जियोस् स्वदेशको गरा गरा
।।३।।
मनुष्य एक जात होस् नहोस् विभेद वर्गमा
नहोस् अमानवीयता समान होस् सगर्भमा
स्वदेशको कला गला सुरम्य देख्न पाइयोस्
लिएर उच्च भावना स्वदेश गान गाइयोस्
।।४।।
सशक्त सृष्टि भेलले जगत् सदैव उच्च होस्
प्रकाण्डता प्रवीणता अनन्य भाव दिव्य होस्
असत्य काव्य सिर्जना रचून् अझैँ धमाधम
र नित्य साधना गरी बनोस् सुदीर्घ जीवन
।।५।।
छन्दः पञ्चचामर
-1792140699.jpg)