हाम्रो संस्कृति
हाम्रा संस्कृति भिन्न छन् विविधता आएर हाँसेसरि,
इन्द्रेणी मिसिएर सप्तरङले सिन्दूर हालेसरि,
फुल्छन् फूल सहिष्णु भै दशदिशा पाखा पखेरा वन,
भाषा संस्कृतिको समन्वय यही शृङ्गार हाम्रो धन।
बोकी सुन्दरता शरद् शिशिरको ल्होसारले गाउँछन्,
छोई मुन्धुम ज्ञानको हिमचुली अध्यात्म बर्साउँछन्।
गौरामा सजिँदै धिमेसित बजी घन्किन्छ नेपाल यो,
रोदी बालन सोरठी छठसितै ब्यूँझिन्छ नेपाल यो,
सम्यक् दृष्टिसितै निरन्तर यहाँ बर्सिन्छ शान्तिछटा,
बज्दा मादल खैँजडी र मुजुरा ओर्लिन्छ कान्तिछटा,
बग्छन् साथ नदी बहन्छ जसरी गन्तव्य यौटैसरि,
गीता वेद कुरान बाइबलको उद्देश्य यौटैसरि,
खोजी व्यष्टि समष्टिभित्र सजिने संकल्प सद्भाव छ,
गुम्बा मस्जिद चैत्य मन्दिर घुमे एकत्वको भाव छ,
हाम्रो चन्द्र र सूर्य अंकित ध्वजा झन् झन् उठोस् सर्वदा,
आशीर्वाद समृद्धिको दिइरहुन् नेपाल आमा सदा ।
सगरमाथा
थाल्छन् यात्रा रविकिरणले सुस्तरी पाउ चाली
पार्छन् रातो झलल सिउँदो स्वर्ण सिन्दूर हाली,
फन्को मार्दा सकल धरती बन्छ यौटा निशानी,
आहा ! बिम्झेसरि हिमचुलीमाथि पैलो बिहानी।
आयौ क्यारे तलतिर शिला ठोक्किँदा जन्मिएर।
छोई नीलो सगर शिरले सृष्टिमा अन्मिएर।
हाँसे जस्तै अधर पहिलोपल्ट हाँस्दा हिमाल,
तिम्रै फेदीनिर सुरु भयो जीवको आदि काल,
हाँस्दै खेल्दै अटल हिमवत्खण्डमा मुस्कुराई,
फाँकी हाल्दै वरवर हुनिन् फेरि पासाङ आई,
तिम्रो चोखो मृदुल छविमा प्रीत लाऊँ कि मैले।
तिम्रै फेदीनिर हृदयको गीत गाऊँ कि मैले।
छोई अग्ला शिखर कहिल्यै मेघ नाघेर जान्न,
तिम्रा अग्ला अगम शिरमा घाम ओर्लेर जान्न,
बिम्झे झैँ क्वै नव पहरमा ज्योतिको प्वाँख हाली,
आहा तिम्रो शिरनिर सदा हुन्छ प्रारम्भ खालि,
हेरे तिम्रो बदन–जलको बिन्दुले स्रोत भेट्छ।
हेरी तिम्रै हिमगिरि चुली सिन्धुले प्यास मेट्छ।
तिम्रो सेतो गजुर नगिचै क्यै लुकेको छ जस्तो,
कल्पी यौटा अमर कविता क्वै भुलेको छ जस्तो!
थापी कन्धा उपर असिना दुःखमा आत्तिदैनौ,
बोकी अग्लो सगर शिरमा हर्षमा मात्तिदैनौ।
अन्यायीका नगिच नझुकी टल्किएको खुँडाझैँ,
देखिन्छौ हे हिमगिरि चुली वीर योद्धा खडाझैँ।
केही बोलूँसरि अधर यी लाग्छ फोऊँ कि झैँ म,
हेर्दा तिम्रो धवल प्रतिमा लाग्छ रोऊँ कि झैँ म,
आओ आओ नबस जन हे जिन्दगानी बियाँली,
गाओ उक्ली अविचल चुली विश्वलाई नियाली
देख्न नेपाल पाओस्
मेरो आँखाभरि छ सपना लेक हेर्ने चरीको,
बेंसी ओर्ली मधुर लयमा दौडिने निर्झरीको।
यो यात्रामा अमर पिरती लाउँदै लाउँदै म,
यौटा नौलो सुर धुन थपूँ गाउँदै गाउँदै म।
घन्कोस् नौलो धुन पवनमा गाउँदा पालुवाले।
टेकोस् मेरो मुलुक दिनकै घामका पाइलाले।
डुल्दै फिर्दै वरपर चिसा पुछ्न पाऊँ परेली।
हालूँ मैले दिनदिन डुली जिन्दगीको सुसेली।
छोऊन् ओर्ली रविकिरणको पूर्वको लालिमाले।
हेरून् राती जमिन निहुरी चन्द्रको चाँदनीले।
यो धर्तीको चिर मधुरिमा सालका साल गाऊँ।
मेरो छातीभरि कुसुमले लेख्न नेपाल पाऊँ।
सेवा गर्दा भरसक स्वयं रित्तिए रित्तिऊँ म।
खर्ची मैले श्रम र पसिना सिद्धिए सिद्धिऊँ म।
सम्झी मेरा अभय पुर्खा वीरताको निशानी।
मैले लेखूँ श्रम–शिखरमा पाखुराको कहानी।
ताकी जाने हिमशिखरका घामभन्दा अरू क्यै।
छैनन् ठूला चिजबिज धराधामभन्दा अरू क्यै
यै माटोमा हरपल डुली मैलिए मैलिऊँ म।
यै बाटोमा घुमफिर गरी वैलिए वैलिऊँ म।
आफै बर्सूँसरि अजमरी भै धराको छटामा।
थोपा गन्दै सजल मिसिऊँ एउटा–एउटामा।
रोपूँ नौलो बिजन मनको आँगनीमा टुसाई।
यै मैट्टीको रस लिन सकूँ मै स्वयंमा रसाई।
मैले हेर्ने जति चिज हुनन् हुन् सबैथोक मेरा,
नेपालीका सुख र दुखका भाइका भोक मेरा,
उक्ली अग्ला गिरि कलमले लेख्न नेपाल पाओस्।
हेर्दा मेरो प्रिय नजरले देख्न नेपाल पाओस्।
-1792141018.jpg)