काठमाडौं
लेफ्टिनेन्ट कर्नेल लालबहादुर पुन ब्रिटिस साम्राज्यको सर्वोच्च अर्डर अन्तर्गतको ‘अधिकारी’ पदवी (ओबिई) एवम् असाधारण वीरता र नेतृत्वका लागि प्रदान गरिने सैनिक पदक मिलिटरी क्रस (एम्.सी.) बाट सम्मानित र राजा एडवर्ड सातौँको निजी सैन्यदस्ता गोर्खा राइफल्स (द सिरमुर राइफल्स) का वरिष्ठ अधिकृत हुनुहुन्थ्यो।
उहाँको जन्म सन् १९३५ मा नेपालको पश्चिमी पहाडी जिल्ला पर्वत अन्तर्गत पर्ने बागलुङ अड्डा, मल्लाहा मौजाको नाङ्गी गाउँमा भएको थियो। त्यस समयको प्रशासनिक विभाजनअनुसार त्यो जिल्ला नम्बर ४ (पश्चिम) मा पर्दथ्यो। उहाँको निधन ९ जनवरी २०२६ मा भयो। उहाँ क्याप्टेन टिकाजीत पुन तथा श्रीमती भागीरथी पुर्जाका जेठा छोरा हुनुहुन्थ्यो।
ब्रिटिस गोर्खा सैनिकका रिटायर्ड लेफ्टिनेन्ट कर्नेल लालबहादुर पुनको शुक्रबार निधन भयो। उहाँ ब्रिटिस गोर्खा सेनामा पुग्ने उच्च अधिकारी हुनुहुन्थ्यो।
बाल्यकालमा उहाँ र उहाँका भाइ सन्तबहादुरले नाङ्गी गाउँमा परिवारका बाख्रा चराउने काम गर्दै जीवन बिताउनुभयो। सन् १९५१ मा राणाशासनको अन्त्य भएपछि, ब्रिटिस गोर्खा भर्ती केन्द्र लेहरा (गोरखपुर) मा कार्यरत उहाँका पिताले दुवै छोरालाई औपचारिक शिक्षाका लागि बोलाउनुभयो। त्यसपछि उहाँलाई देहरादुनस्थित सेन्ट जोसेफ एकेडेमी विद्यालयमा भर्ना गरियो। सन् १९५२ मा पन्ध्र वर्षको उमेरमा कक्षा पाँचबाट अध्ययन सुरु गर्नुभएका उहाँले कडा मिहिनेत र दोहोरो पदोन्नतिका कारण सन् १९५६ मा सिनियर क्याम्ब्रिज परीक्षा उत्तीर्ण गर्नुभयो।
उहाँको सिनियर क्याम्ब्रिजको उत्कृष्ट नतिजाका कारण दिल्लीस्थित प्रतिष्ठित सेन्ट स्टेफेन्स कलेजमा अध्ययनका लागि भारत सरकारको छात्रवृत्ति पनि प्राप्त भएको थियो। तर दुर्भाग्यवश, त्यो छात्रवृत्ति पत्र आइपुग्दा उहाँ मलायामा हुनुहुन्थ्यो, किनकि उहाँ त्यसअघि नै ब्रिटिस गोर्खा सेनामा भर्ना भई रोयल मिलिटरी एकेडेमी, स्यान्डहस्र्टमा पठाइँदै हुनुहुन्थ्यो।
सन् १९५६ को अन्त्यतिर उहाँ ब्रिटिस सेनामा प्रवेश गरी बेलायतको रोयल मिलिटरी एकेडेमी, स्यान्डहस्र्टमा प्रशिक्षणका लागि जानुभयो। सन् १९५८÷५९ मा उहाँ स्यान्डहस्र्टबाट कमिसन प्राप्त गर्ने दोस्रो गोर्खा अधिकृत बन्नुभयो। पहिलो गोर्खा ताराबहादुर थापा सन् १९५५ मा तालिम पुरा गर्न असफल भएका थिए। उहाँभन्दा अघि चन्द्रबहादुर राई स्यान्डहस्र्टबाट कमिसन प्राप्त गर्ने गोर्खा अधिकृत हुनुहुन्थ्यो जो पछि क्याप्टेन पदबाट अवकाश लिनुभयो।
सन् १९५९ मा रोयल मिलिटरी एकेडेमी, स्यान्डहस्र्टमा १६० क्याडेटमध्ये २०औँ स्थानमा उत्तीर्ण हुँदै उहाँले न्युक्लियर फिजिक्स मा ४०० मध्ये ३४० अंक प्राप्त गर्नुभयो, जुन त्यस समयसम्मकै उच्चतम स्कोर थियो। यस उपलब्धिका लागि उहाँलाई विज्ञान पुरस्कार प्रदान गरियो। सम्भवतः उहाँ स्यान्डहस्र्टको भित्तामा नाम कुँदिने एकमात्र एसियाली क्याडेट हुनुहुन्थ्यो।
उहाँभन्दा एक सेमेस्टर अगाडि नेपाली सेनाका धर्मपालवरसिंह थापा (पछि प्रधानसेनापति), कृष्णनारायणसिंह थापा (पछि लेफ्टिनेन्ट जनरल) र रघुचन्द्रसिंह (पछि लेफ्टिनेन्ट जनरल) अध्ययनरत थिए। सिंहराज उपाध्याय उहाँका ब्याचमेट हुनुहुन्थ्यो।
उही वर्ष उहाँ पहिलो बटालियन, दोस्रो गोर्खा राइफल्समा सेकेन्ड लेफ्टिनेन्टका रूपमा नियुक्त हुनुभयो। ८ डिसेम्बर १९६२ मा ब्रुनाई विद्रोहका क्रममा उहाँ सक्रिय रूपमा संलग्न हुनुभयो। विद्रोहका बेला इस्ताना दरुस्सलाम दरबार सुरक्षित रूपमा नियन्त्रणमा नआन्जेलसम्म ब्रुनाईका सुल्तान सिर मुदा ओमर ‘अली सैफुद्दिन साअदुल खैरी वद्दिनलाई बन्दर सेरी बेगावानस्थित एक सुरक्षित भवनमा राख्ने जिम्मा लेफ्टिनेन्ट लालबहादुर पुनकै हातमा थियो। त्यसपछि उहाँ र सुल्तानबीच गहिरो व्यक्तिगत निकटता रह्यो।
सन् १९६३ मा उहाँ १७ औँ डिभिजन, फार–इस्ट ल्यान्ड फोर्सका कमान्डर मेजर जनरल डब्ल्यु सि वाकर (पछि जनरल सर वाल्टर वाकर) का एडिसी (निजी सहायक) नियुक्त हुनुभयो। सन् १९६३ देखि १९६६ सम्म उहाँ बोर्नियो सङ्घर्षमा संलग्न रहनुभयो।
सन् १९६९÷७० मा उहाँ ब्रिटिस सशस्त्र बलको इतिहासमै रोयल मिलिटरी स्टाफ कलेज, क्याम्बर्ली, युकेबाट अध्ययन पूरा गर्ने पहिलो गोर्खा अधिकृत बन्नुभयो। सन् १९७१ मा उहाँ हङकङस्थित मुख्यालय ल्यान्ड फोर्समा प्रशिक्षणसम्बन्धी स्टाफ अफिसर नियुक्त हुनुभयो।
सन् १९७९ मा उहाँ ब्रिटिस सेनाको इतिहासमै पहिलो गोर्खा लेफ्टिनेन्ट कर्नेल बन्नुभयो र हङकङस्थित गोर्खा ब्रिगेडको तालिम केन्द्रको कमान्डेन्टको जिम्मेवारी सम्हाल्नु भयो। उहाँको धारणा अनुसार नेपाली सेनाका केही जर्नेलहरूको आपत्तिका कारण उहाँको लेफ्टिनेन्ट कर्नेल तथा त्यसपछिको पदोन्नति करिब तीन वर्ष ढिला भएको थियो।
सन् १९८२ मा उहाँ लेफ्टिनेन्ट कर्नेलकै हैसियतमा हङकङको कोउलुनस्थित ५१ ब्रिगेड अन्तर्गत सपोर्ट दस्ताको सेकन्ड–इन–कमान्ड (कर्नेल तहको पद) बन्नुभयो। सन् १९८४ मा उहाँ बेलायतस्थित वार्मिन्स्टरको स्कुल अफ इन्फ्यान्ट्री, स्मल आम्र्स विङ्गका प्रमुख प्रशिक्षक नियुक्त हुनुभयो।
सन् १९८८ मा ब्रुनाईका उपरक्षा मन्त्री ब्रिगेडियर जनरल हाजी इब्नुको अनुरोधमा गोर्खा रिजर्भ युनिटको कमान्डेन्ट बन्न उहाँले ब्रिटिस सेनाबाट राजीनामा दिनुभयो। तर भूराजनीतिक कारणले उहाँले उपकमान्डरका रूपमा कार्यभार सम्हाल्नु प¥यो। सन् १९९७ मा जिआरयु सेनाभित्र भएको आन्तरिक विद्रोहपछि उक्त युनिटको भूमिका केवल सुरक्षा कार्यमा सीमित गरियो। त्यसपछि कमान्डेन्ट हटाइएपछि उहाँले एकैसाथ कमान्डेन्ट, उपकमान्डेन्टको जिम्मेवारी वहन गर्नुभयो। सन् २००० मा उहाँ ब्रुनाईको गोर्खा रिजर्भ युनिटबाट सेवा समाप्त गरी नेपाल फर्कनुभयो।
सम्मान तथा अलङ्कार
उहाँले आफ्नो दीर्घ सैनिक सेवाका क्रममा विभिन्न उच्च सम्मान प्राप्त गर्नुभयो। सन् १९६५ मा सरावाक, बोर्नियोमा पहिलो बटालियनको सैन्य कारबाही सफलतापूर्वक नेतृत्व गरेबापत उहाँलाई मिलिटरी क्रस (एम्.सी.) प्रदान गरियो। सन् १९८१ मा उहाँलाई अर्डर अफ द ब्रिटिस एम्पायर (ओबिई) अधिकारी पदले विभूषित गरियो।