काठमाडौं ।
भरियाबाट उठेर नेपालको पर्यटनमा स्थापित भएका धेरै नाम छन्। गरुङ्गो भारी बोकेर उकालीओराली गर्दै उनीहरू अघि बढ्छन्। समयको गतिलाई पक्रन सक्नेहरू आफैं कम्पनीको मालिक बन्न पुग्छन्।
पदयात्रामा पर्यटकको भारी बोकेर हिँड्ने श्रमजीवीको नेपाली पर्यटनमा ठुलो योगदान छ। तर, उनीहरूले सम्मानजनक व्यवहार पाउँदैनन्। न राम्रो ज्याला पाउँछन्, न त गतिलो सुत्ने ठाउँ नै।
‘हाम्रो ज्याला नै कम छ, दिनको दुई हजार पाइन्छ। त्यो त खानामै सकिन्छ’, विगत ८ वर्षदेखि भरिया काम गर्दै आएका सन्दिप कुलुङ भन्छन्, ‘हामीले दैनिक ३ हजार रुपैयाँ पाउनै पर्छ।’
उनी २० वर्षका भए। कक्षा १२ उत्तीर्ण भइसके। उनको जन्मथलो सोलुखुम्बु जिल्ला, महाकुलुङ गाउँपालिका वडा नं. १, गत्तेल गाउँ। त्यहीँको सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ७ मा छँदा उनी पहिलो पटक पर्यटकका भारी बोकेर लुक्लाबाट सगरमाथा आधारशिविर पुगेका थिए।
भिडियो :
त्यतिबेलाको कमाइबाट उनले विद्यालयको फिस तिरे, स्कुल डे«स किने र दुई ओटा बाख्रा पनि किने। अचेल बाख्रा पालन गरिरहेकै छन्।
भारी बोकेर उनी धेरैतिर पुगिसके। ‘सिजनमा भारी बोक्दै अरु बेलामा पढें’, उनी भन्छन्, ‘आखिर कुनै पनि काम आफैंमा सानो वा ठुलो हुँदैन। बस्, काम पाउनु प¥यो।’
उनले भारी बोक्न सुरु गर्दा दिनको १५ सय रुपैयाँ ज्याला पाउँथे। अचेल बढेर २ हजार पुगेको छ। तर, यसमै उनीहरूले खाना र बासको जोहो गर्नु पर्दछ। पर्यटकले राम्रै टिप्स दिए मात्र रकम बच्छ।
उनी धेरैतिर पुगिसके। एभरेस्ट बेसक्याम्प, धौलागिरि बेसक्याम्प, कञ्चनजङ्घा, अन्नपूर्ण बेसक्याम्प, राउन्ड अन्नपूर्ण, रोल्वालिङ क्षेत्र आदिमा । यसरी घुम्न पाउँदा उनी मक्ख छन्।
उनी पर्यटकर्मी छिरि राईको कम्पनीबाट काम गर्छन्। उनका तीन दाजुभाइ पर्यटनमै छन्। काइँलो दाजु प्रदीप पनि टे«किङ गाइड हुन्। उनले पनि गत अक्टुबरमा गाइडको लाइसेन्स लिइसके। यतिबेला भने जर्मन र चिनियाँ भाषा सिक्दैछन्।
भविष्यका योजनाबारे भन्छन्, ‘विदेश जाने सोच छैन। नेपालमै पर्यटनमा काम गर्छु। आफैं कम्पनी खोलेर धेरै पर्यटक ल्याउने विचार छ।’
अन्त्यमा, सन्दिपजस्ता पर्यटन मजदुरले न्यायोचित पारिश्रमिक, बिमा र सम्मान पाउने ग्यारेन्टी हुनुपर्दछ।
सगरमाथा चढ्नेछु
म स्वदेशमै बस्नेछु। पर्यटनबाटै नाम र दाम कमाउनेछु। पदमार्गमा भारी बोकेर हिँड्दा उज्याला हिमालहरू देख्दा खुसी लाग्छ। मलाई हिमाल चढ्ने रहर छ। चुलु फारवेस्ट (६,४१९ मिटर) चढिसकें। कुनै दिन सर्वोच्च शिखर सगरमाथा चढेर कीर्तिमान राख्नेछु।