रोल्पा।
क्रान्तिकारीहरूको जिल्ला रोल्पा र रुकुमका बासिन्दाले ‘शान्तिका लागि पर्यटन’ भन्ने मूलमन्त्र आत्मसाथ गरि नयाँ पदमार्गको अवधारणा अघि बढाएका छन्। प्रकृति, संस्कृति र अध्यात्मको स्वाद दिलाउने यस पदमार्गमा पर्यटकले एक साता पदयात्रा गर्न सक्नेछन्।
मगर खाम पदमार्गमा आन्तरिक पर्यटक
पत्रकारिता र पर्यटनकर्म मार्फत् रोल्पा तथा रुकुमका पर्यटकीय सम्भावना उजागर गर्दै आएका अभियन्ता बाल्कुराम पुनको अगुवाइमा उनीहरूले ‘मगर खाम पदमार्ग’ को अवधारणा अघि बढाएका हुन्।
उनीहरू मन खोलेर पाहुनाको स्वागत गर्छन्।
तेलखोला गाउँमा पाहुनाको पर्खाइमा
रोल्पाको जेलबाङबाट थबाङ, उवा, जन्तरेडाँडा भएर बागलुङका निसि र भल्कोट हुँदै चङु्ग्री बुकी, तकसेराको शिर हुँदै हुकाम, पेल्माबाट यो पदमार्ग मैकोटसम्म जोडिन्छ।
मैकोट
स्थानीय मगर संस्कृति र जीवनशैलीले पर्यटकलाई लठ्ठै बनाउँछ। उनीहरूको रैथाने खाना, परम्परागत सिप, खेती प्रणालीका साथै नाचगानले मोहित बनाउँछ। लोकबाङ्गे नाच, झाँक्री नाच, सिँगारु नाच लगायत अवलोकन गर्दा रोचक अनुभूति हुन्छ।
झाँक्री नाच
सिँगारु नाच
लोकबाङ्गे नाच
‘पदयात्रीले एक साता पदयात्रा गर्न पाउनेछन्’, पर्यटनकर्मी बाल्कुराम भन्छन्, ‘छोटो, मिठो पदयात्राका लागि यो पदमार्ग उपयुक्त छ।’
पत्रकार एवम् पर्यटन अभियन्ता बाल्कुराम पुन
अहिले कतै होटल, कतै होमस्टे र कतै टेन्टमा बास बस्नु पर्दछ। पदमार्ग सुधार, क्याम्पिङ साइट निर्माण, होमस्टे प्रवद्र्धन लगायतका काम गरेर राम्रो प्रचारप्रसार गर्न सके यस पदमार्गको भविष्य उज्यालो देखिन्छ।
जन्तरेबाट देखिएको सिस्ने हिमाल
पर्यटनकर्मी बाल्कुरामका अनुसार पदमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ। विस्तृत अध्ययनपछि नक्साङ्कन गरिनेछ। साथै भिडियो निर्माणको काम पनि भइरहेको छ।
यस पदमार्गमा वर्षैभरि पदयात्रा गर्न सकिन्छ। कतै गामबेंसी त कतै डाँडाको थाप्लै थाप्लो पदयात्रा गर्न पाइन्छ। डाँडाबाट सिस्ने, पुठा हिउँचुलीदेखि धौलागिरि, अन्नपूर्ण हुँदै माछापुच्छे« हिमालसम्मको लामो लर्कन देख्न पाइन्छ।

गुराँस फूल्ने याम चैतवैशाखमा त यसलाई ‘गुराँसे पदमार्ग’ भन्न सकिन्छ।

हिमाली सौन्दर्य, मगर संस्कृति र जैविक विविधताको स्वाद चखाउने ‘मगर खाम पदमार्ग’ नेपाली पर्यटन उद्योगमा एउटा मिठो प्रोडक्टका रुपमा स्थापित हुन सक्छ।
केही दिनअघि आयोजना गरिएको ‘जन्तरे समिट’ले संसारको ध्यान खाम मगर पदमार्गतिर तानेको छ।
वेलनेस डेस्टिनेसन
सुन्दर, शान्त एवम् रमणीय जन्तरे प्राकृतिक ध्यान केन्द्र हो। यहाँ योग तथा ध्यान गर्न सकिन्छ। नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेका बेला जन्तरे जस्ता ठाउँलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्नुपर्ने स्थानीयको माग छ। त्यसैले जन्तरेलाई ‘वेलनेस डेस्टिनेस’ का रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकासमा तीनै तहका सरकार लाग्नु पर्दछ।

जन्तरे समिट
रोल्पा जिल्ला, थबाङ गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने जन्तरे लेक (३,३७५ मिटर)लाई जनबोलीमा ‘जन्तरे उवा’ भनिन्छ। डाँडाको थाप्लोबाट हिमालको लर्कन र गाउँबेसीको मनोरम दृश्य देखिन्छ। डाँडाको फेदीमा जन्तरे पोखरी र बराह थान छ। यहाँ साउने पूर्णिमामा मेला लाग्छ।
जन्तरे डाँडा
जन्तरेका पाटनमा जेठदेखि भदौसम्म भेडा तथा भैंसी चराइन्छ। मनुसनका बेला यहाँका पाटन रंगविरंगका फूलले ढकमक्क हुन्छन्।

शितल हावा र शान्त वातावरण भएको जन्तरेलाई हिलस्टेसनका रुपमा विकास गर्न सकिन्छ। यसको फेदी तोरीखेतसम्म सडक सञ्जाल खुलिसकेको छ। त्यहाँबाट करिब ४ घण्टा जङ्गलको उकालो चढेपछि जन्तरेमा पुुगिन्छ। डाँडामा होटल तथा होमस्टे छैन। दुई ओटा सेल्टर हाउस भने बनाइएको छ।
‘कन्सेप्ट लुम्बिनी’ को आयोजनामा यही जन्तरेडाँडामा कात्तिक ९ र १० गते ‘जन्तरे समिट–२०८३’ आयोजना गरियो। समिटमा स्थानीय गाउँपालिका र लुम्बिनी प्रदेशका जिम्मेवार पदाधिकारी, पर्यटनकर्मी, संस्कृतिकर्मी, पत्रकार र स्थानीयको जमघट थियो।

रोल्पाका मात्र होइन, रुकुमका पर्यटन अभियन्ताको पनि सहभागिता थियो। उनीहरूले रोल्पाको पर्यटनमाथि गम्भीर छलफल गरे। जन्तरेलाई मात्र होइन, समग्र रोल्पालाई कसरी पर्यटनधाम बनाउने भन्नेमा केन्द्रित उनीहरू केन्द्रित बने।

जन्तरे समिटमा विभिन्न तीन शीर्षकमा विज्ञहरूका बिचमा विमर्श गरियो। ‘दृश्यमा रोल्पा, शब्दमा रोल्पा र पर्यटनमा रोल्पा’ शीर्षकमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री तुलसीप्रसाद चौधरी, स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनमगर र प्रदेश सांसद यमुना रोकामगरका बिचमा छलफल भयो। यसको सहजीकरण पर्यटन पत्रकार अमृत भादगाउँलेले गरे।

त्यसैगरी ‘जन्तरेसँग जन्तरे बहस’मा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नीवन रोका मगर, थबाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हिक्मत घर्तीमगर र थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगर सहभागी थिए। यसकोे सहजीकरण गरेका थिए, पत्रकार महेश केसीले ।

बहसको अर्को विषय थियो, ‘हुरुक्क रोल्पा, जुरुक्क रोल्पा’। पत्रकार नन्दराम खड्काले सहजीकरण गरेको यस सत्रमा स्वास्थ्यकर्मी कुलबहादुर डाँगी, युवा नेता जीवन प्रवेश रोका मगर र परिवर्तन गाउँपालिकाकी पूर्व उपाध्यक्ष हितकुमारी बुढा मगर वक्ता थिए।

कार्यक्रममा उपश्थित सबैले जन्तरेसहित समग्र मगर खाम पदमार्गको विकासमा जोड दिए। उनीहरूले पर्यावरणमैत्री पर्यटनमा हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए।
‘जन्तरे समिट’को आयोजक ‘कन्सेप्ट लुम्बिनी’ थियो भने यसको व्यवस्थापक थबाङ गाउँपालिका वडा नं. ४ को कार्यालय। त्यस्तै लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय र होमस्टे महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा कार्यक्रम गरियो।

कार्यक्रमका साझेदार संस्थाहरूमा वन तथा वातावरण मन्त्रालय, थबाङ गाउँपालिका, अन्तर्राष्ट्रिय लायन्स क्लब, जिल्ला शाखा रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ, अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज, टे«किङ एजेन्सिज् एसोसियसन नेपाल (टान), नेपाल पर्यटन बोर्ड, युनिसेफ, युएनडिपी, सत्यम हेली, फिसटेल एयर, रेड पान्डा नेटवर्क र डब्लुडब्लुएफ थिए।
जन्तरे घोषणापत्र
जन्तरे समिटको अन्त्यमा ७ बुँदे घोषणापत्र जारी गरिएको थियो। त्यसमा भनिएको छ, मनोरम् प्रकृति, मौलिक भाषा, कला र संस्कृति एवम् अर्गानिक जीवनशैलीले भरिपुर्ण, ‘गणतान्त्रिक–राजनीतिक परिवर्तनको आधारभूमि’ रोल्पा, थबाङ गाउँपालिका वडा नं. ४ जन्तरेमा आयोजना गरिएको ‘जन्तरे समिट–२०८३’ मार्फत् हामी यस क्षेत्रको पर्यटन प्रवद्र्धन एवम् विकासका लागि आज मिति २०८३ कार्तिक १० गते मंगलवार घोषणापत्र जारी गर्दछौं ।
- जन्तरेलाई रोल्पाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामी सरोकारवाला प्रतिवद्ध छौं।
- जन्तरेको विकास तथा विस्तारका क्रममा रैथाने वास्तुशैली र पर्यावरणमैत्री संरचना निर्माणलाई प्राथमिकता दिनेछौं।
- भाषा, भेषभुषा, संस्कृति, भूूगोल, हावापानी र जीवनशैली मिल्दोजुल्दो रहेकाले रोल्पा र रुकुमको एकता, सद्भाव र सहिष्णुता कायम गर्दै एकीकृत पर्यटन विकासमा हातेमालो गर्नेछौं।
- जन्तरेसँग जोडिएको ‘मगर खाम पदमार्ग’लाई अन्य जाति र समुदायसँग जोड्दै पर्यटकीय पदमार्गका रुपमा विकास तथा विस्तार गर्नेछौं।
- सर्जक, लेखक, पत्रकार, कलाकार तथा खेलकुद गतिविधि एवम् साहसिक पर्यटन मार्फत् यस क्षत्रको पर्यटन प्रवद्र्धन गर्नेछौं।
- यस भेगको मौलिक भाषा, कलासंस्कृति र जीवनशैलीलाई जन्तरेको पर्यटन विकाससँग जोडेर प्रचारप्रसार एवम् विस्तार गर्नेछौं ।
- जलवायु परिवर्तनको अनुकुलन तथा असर न्यूनिकरणका लागि जन्तरे समिट–२०८३ मार्फत् विश्वको ध्यानाकर्षण गराउँदछौ।
जन्तरे समिटका थप तस्बिरहरू









