काठमाडौं । बंगालको खाडीमा विकसित अर्नव चक्रवातको प्रभाव नेपालमा समेत पर्ने पूर्वानुमानपछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री, पर्वतारोही, गाइड तथा सहयोगी टोलीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
टानले १२ कात्तिक (बिहीबार) रातिदेखि नेपालमा चक्रवातको प्रभाव सुरु हुन सक्ने र १३ र १४ कात्तिकमा तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको टानले जारी गरेको सूचनामा उल्लेख छ ।
चक्रवातबाट गण्डकी प्रदेश विशेष रूपमा प्रभावित हुन सक्ने पूर्वानुमान रहेकाले पदयात्रा, पर्वतारोहण तथा अन्य पर्वतीय पर्यटन गतिविधिमा संलग्न पर्यटक र सहयोगीको सुरक्षामा विशेष ध्यान दिन टानले सदस्य कम्पनीहरूलाई अनुरोध गरेको छ ।
टानले ३० र ३१ अक्टोबरमा सबै आधार शिविर, थोराङ, लार्के, काङ्ला, सारीवुड, चोला तथा सूर्यकुण्डलगायतका उच्च हिमाली भञ्ज्याङ र तिलिचोजस्ता पर्यटकीय गन्तव्यबाट सुरक्षित स्थानमा पुगिसक्न आग्रह गरेको छ । त्यस्तै, २९ अक्टोबर अर्थात् बिहीबारदेखि नै जोखिमयुक्त क्षेत्रतर्फको पदयात्रा रोक्न र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन भनिएको छ ।
पर्वतारोहणका लागि आधार शिविरतर्फ जाने तयारीमा रहेका सदस्य तथा सहयोगीलाई पनि शुक्रबार र शनिबारसम्म यात्रा स्थगित गर्न वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन टानले आग्रह गरेको छ ।
मध्य तथा उच्च पहाडी क्षेत्र र नदी तटीय मार्गमा पदयात्रा गर्दा बाढीको जोखिम भएका खोला तथा नदी आसपास र पहिरोको सम्भावना रहेका क्षेत्रमा नबस्न तथा आवतजावत नगर्नसमेत सूचनामा भनिएको छ ।
टानले मनास्लु क्षेत्रमा तातोपानी, खोर्लाबेँसी, जगत, लोक्या र नामरुङ तथा मनाङ क्षेत्रमा खोत्रो, कोतो र चामेलगायतका स्थानमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्तै, म्याग्दी र मुस्ताङ क्षेत्रका पोखरे बगरलगायतका स्थानमा बाढी तथा पहिरोपछि अस्थायी रूपमा मर्मत गरिएका सडक, पदमार्ग र पुल प्रयोग गर्दा सतर्क रहन आग्रह गरिएको छ ।
सम्भावित जोखिमबारे आफ्ना गाइड, सहयोगी तथा पर्यटकलाई समयमै जानकारी गराउन र आवश्यक पूर्वतयारी गर्न पनि टानले सदस्य कम्पनीहरूलाई भनेको छ ।
मौसमसम्बन्धी जानकारीका लागि ११५५ तथा विपत्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिने टानले जनाएको छ । थप जानकारी तथा सहयोगका लागि टान सचिवालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाद्वारा जारी सूचनामा पर्वतीय पर्यटनमा संलग्न सबै पक्षलाई मौसमको अवस्थाअनुसार यात्रा योजना बनाउन र पर्यटकको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ ।
सूचना