गत ११ अक्टोबरमा बुढीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त मनास्लु क्षेत्रका पदमार्ग, पुल, सडक तथा चिया घर (टी हाउस) हरूको आंशिक मर्मतपछि पदयात्रा पुन: सञ्चालनमा आएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मनास्लु सर्किट (लार्केपास हुँदै) र त्सुम उपत्यका पदयात्रा दुवै मार्ग सञ्चालनमा आएका जनाएको छ ।
टानका अनुसार पदयात्रीहरू माछाखोलासम्म सवारीसाधनमार्फत पुगेर लार्केपास तथा त्सुम उपत्यकातर्फको पदयात्रा सुरु गर्न सक्नेछन् । यारु बगरमा जोखिमपूर्ण खण्ड पार गर्न वैकल्पिक रूपमा करिब १० मिनेटको नयाँ पदमार्गसमेत तयार गरिएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले पनि सम्बन्धित पदयात्रा अनुमतिपत्र जारी गर्ने प्रक्रिया खुला रहेको पुष्टि गरेका छन् । यद्यपि, पदयात्री तथा सहयोगी टोलीका सदस्यलाई सावधानीपूर्वक यात्रा गर्न र पदमार्गको पछिल्लो अवस्थाबारे स्थानीय बासिन्दासँग जानकारी लिएर मात्र अघि बढ्न टानले आग्रह गरेको छ ।
लार्केपास पदयात्रा पूर्ण रूपमा सञ्चालनमा
टानका अनुसार मनास्लु लार्केपास पदयात्रा केही दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । माछाखोलादेखि खोरलबेसी, जगत, फिलिम र न्याकफेदीहुँदै मर्मत गरिएका खण्ड पार गरेर पदयात्रीहरू सामागाउँ र धर्मशालासम्म पुगिसकेका छन् ।
बाढीका कारण अवरुद्ध भएका विभिन्न खण्डको मर्मतपछि यस मार्गमा पदयात्रा पुनः सहज हुन थालेको टानले जनाएको छ । तर, मार्गको अवस्था ठाउँअनुसार फरक हुन सक्ने भएकाले यात्राका क्रममा सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
स्थानीयको पहलमा त्सुम उपत्यकाको पदमार्ग खुला
बाढीबाट प्रभावित त्सुम उपत्यका पदयात्रा मार्ग पनि स्थानीय समुदायको पहलमा मर्मत गरिएपछि पुनः सञ्चालनमा आएको छ ।
स्थानीय बासिन्दाले सार्दीखोलाको आसपासका पदमार्ग मर्मत गर्नुका साथै चारवटा नयाँ काठे पुल निर्माण गरेका छन् । उक्त काम सम्पन्न भएपछि छेकम्पार र मु गुम्बातर्फ जाने पदमार्ग पुन: खुला भएको टानले जनाएको छ ।
टानले जारी गरेको सूचनामा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र स्थानीय युवा अगुवा सेराप गुरुङसँग जानकारी पुष्टि गरिएको उल्लेख छ ।