कालिकास्थानका बिर्खबहादुरहरू
कटुन्जेका न्यौपाने बाजेहरू
धुन्चेका केरसिङहरू,
भार्खुका ग्युर्मी, सानो भार्खुका शेरपहरू
सिमुटारका गोरे साहूहरू
उहिले केरुङबाट
बगलका बगल भेडा–च्याङ्ग्रा ल्याउँथे
रसुवागढी, टिमुरे, स्याफ्रुवेशीको गोरेटो भएर
र, धपाउँदै पुर्याउँथे धुन्चे, बेत्रावती, त्रिशूली र काठमाडौँसम्म
भार्खुकै तेन्जिन, सानो भार्खुका मिङ्ग्युर, च्याङ्बा दोर्जेहरू नुन, जुत्ता र जिम्बु ल्याउँथे
टिमुरेकै ब्रेसाङ र ङोरीहरू थरमस, कपडा र ऊनका भारी ल्याउँथे
भार्खुको म्हानीगङ् टोलदेखि यावे म्हानी डाँडासम्म
भरिया र व्यापारीहरूको ताँती लाग्थ्यो
यी दृश्य देख्ने मै पनि साक्षी हुँ।
दशक अघिदेखि पुरानो दृश्य लोप भयो
केरुङसम्मै सडकले जोड्यो
मालगाडी र जिपहरू लस्करै गुड्न थाले
पाए युवाले रोजगार
राज्यले पाए भन्सार–कर
कैलाश यात्री र व्यापारीहरूले
भरिए स्याफ्रुवेशी, टिमुरे, रसुवाढी–घट्टेखोलाका होटल–लजहरू
यी दृश्य देख्ने मै पनि साक्षी हुँ।
हेर्दाहेर्दै मानिसका जीवनमा देखिए परिवर्तन
पेशा–व्यवसायले थपिए व्यवसायीमा उज्यालो मुस्कान
यी दृश्य देख्ने मै पनि साक्षी हुँ।
तर, भदौ दशमा अचानक हिमबाढी आयो र,
बगायो रसुवागढी, घट्टेखोला, टिमुरे, स्याफ्रुवेशी...लाई
ऐतिहासिक रसुवागढी नामेट भयो
बगायो बेत्रावती बजारसँगै नेपाल–तिब्बत सन्धी ढुंगा
हराए बाढीमै हजारौं असल जनहरू
पुरियो हजारका हजार सपनाहरू
यी दृश्य देख्ने मै पनि साक्षी हुँ।।