काठमाडौं ।
डोल्पाको फोक्सुन्डो ताल क्षेत्रमा फोक्सुन्डो कला प्रदर्शनी आयोजना गरिएको छ। यही असोज २ गतेदेखि तीन दिन स्थानीय गुम्बामा आयोजित प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ ओटा थाङ्का चित्र प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

नेपाल पर्यटन बोर्डको फोटोनेपाल अभियान अन्तर्गत् भएको प्रदर्शनीको अन्त्यमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। प्रदर्शनीले डोल्पाको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको कला, संस्कृति र जीवनशैलीलाई समेत पर्यटन प्रवद्र्धनको कथासँग जोडेको छ।

‘फोटोनेपाल ले सुरुदेखि नै नेपालका कथा जहाँ छन्, त्यहीँ पुगेर ती कथा प्रस्तुत गर्ने प्रयास गर्दै आएको छ। फोटोग्राफीसँगै अन्य दृश्य कलालाई पनि यस अभियानसँग जोड्दै कलाकार, समुदाय र पर्यटकबीच सम्बन्ध स्थापित गर्नु यसको उद्देश्य हो। फोक्सुन्डोजस्तो प्राकृतिक तथा सांस्कृतिक रूपमा विशिष्ट स्थानमा कला प्रदर्शनी आयोजना हुनु फोटोनेपाल यात्राको अर्को महत्वपूर्ण आयाम हो’, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत तथा फोटोनेपाल प्रदर्शनी अभियानका नेतृत्वकर्ता सुधन सुवेदीले भने।

उनले कला प्रदर्शनीका लागि सहरका ग्यालरीमै सिमित हुन आवश्यक नरहेको बताउँदै भने, ‘कहिलेकाहीँ हिमाली गाउँ, गुम्बा वा स्थानीय समुदाय र पर्यटक भेटिने सार्वजनिक स्थल नै कला प्रस्तुत गर्ने उत्कृष्ट ठाउँ बन्न सक्छ। यस्ता कार्यक्रमले गन्तव्यलाई केवल प्राकृतिक दृश्यबाट मात्र नभई त्यहाँका मानिस, परम्परा, सिर्जनशीलता र जीवन्त संस्कृतिबाट पनि बुझ्ने अवसर दिन्छ।’
सन् २०१६ मा नेपाल पर्यटन बोर्डबाट सुरु भएको फोटोनेपाल नेपालका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, जनजीवन र गन्तव्यलाई फोटोग्राफी तथा दृश्य कथामार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अभियानका रूपमा अघि बढ्दै आएको छ। अभियानअन्तर्गत् नेपालका विभिन्न गन्तव्य तथा स्वदेश र विदेशका विभिन्न स्थानमा फोटो तथा कला प्रदर्शनी आयोजना हुँदै आएका छन्। हालसम्म फोटोनेपालका सयभन्दा बढी प्रदर्शनी आयोजना भइसकेको छ।

फोक्सुन्डो आर्ट एक्जिबिसन नेपाल पर्यटन बोर्ड, फार ग्यालरी, तेच्र्हु निर्माण सेवा प्रा.लि., वज्र प्रिन्ट्स तथा एक्सप्लोर डोल्पो ट्रेक एन्ड एक्सपिडिसन प्रा.लि.को सहकार्यमा आयोजना गरिएको हो। प्रदर्शनीले डोल्पाको कला, संस्कृति र गन्तव्य पहिचानलाई दृश्य माध्यमबाट थप उजागर गर्नुका साथै फोटोनेपालका माध्यमबाट नेपालको विविध पर्यटन कथालाई स्थानीय तहसम्म पु¥याउने प्रयासलाई निरन्तरता दिएको छ।
