दोलखा । दोलखाको जिरीमा खेलकुदको विकास र नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले ५ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना हुँदै छ । भोलिदेखि शनिबारसम्म जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा खुला, महिला तथा ४० वर्षमाथिका पुरुष खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिताअन्तर्गत खुलातर्फको विजेता टोलीले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने टोलीलाई ७ हजार ५०० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
महिलातर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ जिरी नगरस्तरीय तथा नगरभित्रका आधिकारिक संस्थामा कार्यरत महिलाले सहभागिता जनाउन पाउनेछन् ।
त्यस्तै, ४० वर्षमाथिका पुरुषको भेट्रान्स विधामा विजेता र उपविजेता टोलीले एक–एकवटा खसीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने टोलीलाई एक–एकवटा भाले प्रदान गरिनेछ । यस विधामा जिरी नगरस्तरीय तथा नगरभित्रका आधिकारिक संस्थामा कार्यरत ४० वर्षमाथिका पुरुषले सहभागिता जनाउन पाउनेछन् ।
भेट्रान्स विधामा सहभागी हुन चाहने टोलीले बिहीबार बिहानसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । प्रत्येक टोलीले दुई हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । टोली दर्ताका क्रममा सात जना खेलाडीको नाम, टोलीको नाम, कप्तानको नाम, सम्पर्क नम्बर तथा खेलाडीको विवरण बुझाउनुपर्नेछ । खेलाडीको नागरिकता अनिवार्य गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल हुने दिन चेर्दुङ कला मञ्च जिरीको देउसीभैलोसहित विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट संकलन भएको रकम तिहारको केही दिनपछि जिरीमा स्पोर्ट्स एकेडेमी स्थापना गर्न खर्च गरिने आयोजकको भनाइ छ । एकेडेमीमार्फत १६ वर्षमुनिका बालबालिकालाई फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेलकुदको प्रशिक्षण दिने योजना रहेको छ ।
खेलकुदको विकास, पर्यटन प्रवर्द्धन तथा नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । खेलप्रेमी, पूर्वखेलाडी, अभिभावक तथा नयाँ पुस्तालाई एउटै मञ्चमा जोड्ने आयोजकको लक्ष्य छ ।
प्रतियोगिताको उद्घाटन बिहीबार बिहान ११ बजे जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा हुनेछ ।
प्रतियोगिता निर्माण व्यवसायी जिरी, दोलखा र एक्स्प्लोर नेपाल नेटवर्कले आयोजना गरेका हुन् भने सह-आयोजकको रूपमा जिरी नगरपालिका रहेको छ ।
