नेपालको हिमाली पर्यटन क्षेत्रमा मनास्लु पदमार्ग साहसिक आकर्षण केन्द्र बन्दै आएको छ। बेसिसहरदेखि सुरु हुने यो पदयात्रा ताल, नेचै, तिल्चे, गोवा हुँदै मनास्लु आधारशिबिर (मनाङतिर) र भिम्थाङदेखि लार्के पाससम्म पुग्ने गर्छ। यो सम्पूर्ण पदयात्रा साँच्चिकै रमणीय र मनमोहक छ।

पदयात्रामा पर्यटकले नेचै जस्तो अर्गानिक गाउँको मौलिक जनजीवन नजिकबाट अनुभव गर्न पाउँछन्। साथै, मनास्लु, अन्नपुर्ण २, लम्जुङ हिमाल, लार्के पिक, थुलागि हिमाल, डा हर्क चुली, काङगारु, तिल्जे, हिमाल चुली, पानबारीलगायत अन्य मनोरम हिमालहरूको दृश्यावलोकन गर्नका लागि यो क्षेत्र अत्यन्तै उपयुक्त मानिन्छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस मार्गमा पोन्कर हिम नदी, ताल र ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मिलेरेपा गुफा लगायतका आकर्षक स्थलहरूको अवलोकन गर्न सकिन्छ।
क्यामेरामा कैद गर्नलायक अनगिन्ती दृश्यहरू, हिमालहरूको काखमा लुकेका बस्तीहरू र साहसिक लार्के पासको यात्राले यहाँ आउने प्रत्येक पर्यटकलाई छुट्टै किसिमको आनन्द प्रदान गर्दछ। मनास्लु क्षेत्रको यो पदयात्रा प्रकृति, संस्कृति र फोटोग्राफीका शोखिनहरूका लागि जीवनभर स्मरणीय उत्कृष्ट गन्तव्य हो।











