काठमाडौं।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजले मनोविज्ञानमा मास्टर्स (स्नातकोत्तर) कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौं विश्वविद्यालयको कन्स्टिच्युएन्ट कार्यक्रमका रूपमा सञ्चालन हुने यो कार्यक्रम टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज, मुम्बईको सहकार्यमा अगाडि बढाइने जनाइएको छ।
यस कार्यक्रमलाई नेपालमा परिपक्व मनोविज्ञान शिक्षा, व्यावसायिक प्रशिक्षण, अनुसन्धान तथा प्रमाणमा आधारित मनोवैज्ञानिक अभ्यासलाई थप सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
दुई वर्ष तथा चार सेमेस्टरको यो स्नातकोत्तर कार्यक्रम जम्मा ६० क्रेडिट आवरको हुनेछ र यसलाई व्यावहारिक तथा प्रयोगमुखी बनाइएको छ। यो कार्यक्रमको औपचारिक शुभारम्भ यही असोज २२ गते बिहीबार नेसनल कलेजको सभाहलमा आयोजना गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
कार्यक्रम शुभारम्भ समारोहमा काठमाडौं विश्वविद्यालयका अधिकारी, मनोविज्ञानका प्राध्यापक तथा विज्ञ, सरकारी तथा स्वास्थ्य क्षेत्रका अधिकारी, अनुसन्धानकर्ता, शिक्षाविद्, मनोवैज्ञानिक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ।
“यस मास्टर्स कार्यक्रमले शैक्षिक ज्ञान, व्यावसायिक प्रशिक्षण, अनुसन्धान र व्यावहारिक सिकाइलाई एकीकृत गर्दै व्यक्ति, समुदाय र समाजका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न सक्षम मनोविज्ञानका जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ,” नेसनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले भने।
यस कार्यक्रमले परिस्कृत सैद्धान्तिक ज्ञान, अनुसन्धान क्षमता, व्यावसायिक दक्षता र व्यावहारिक अनुभव भएका सक्षम मनोविज्ञानका जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ। शिक्षा, स्वास्थ्य, सामुदायिक विकास, अनुसन्धान, संघसंस्था तथा अन्य नयाँ क्षेत्रहरूमा दक्ष मनोविज्ञानका जनशक्तिको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम तयार गरिएको हो।
“समाजका विभित्र क्षेत्रमा दक्ष र योग्य मनोविज्ञानका जनशक्तिको आवश्यकता बढ्दै गएको छ । यस कार्यक्रमले त्यही आवश्यकतालाई सम्बोधन गर्नेछ,” नेसनल कलेज मनोविज्ञान विभागकी प्रमुख प्रा. डा. रिता श्रेष्ठले भनिन्।
कार्यक्रममा मनोविज्ञानका निम्न छ वटा क्षेत्रहरु समेटिनेछन्ः
क्लिनिकल मनोविज्ञान
परामर्श मनोविज्ञान
जेरोसाइकोलोजी (ज्येष्ठ नागरिकसम्बन्धी मनोविज्ञान)
फोरेन्सिक मनोविज्ञान
बाल तथा किशोर मनोविज्ञान
समुदाय, विपद्, मानसिक स्वास्थ्य तथा ट्रमा मनोविज्ञान
प्रा. डा. श्रेष्ठका अनुसार, व्यक्ति, परिवार, संस्था र समाजले सामना गरिरहेका समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न मनोविज्ञानको भूमिका महत्वपूर्ण रहँदै गएको छ। यस कार्यक्रमले शैक्षिक ज्ञानलाई व्यावहारिक तथा समुदायमा आधारित मनोवैज्ञानिक अभ्याससँग जोड्ने लक्ष्य राखेको छ।
“विद्यार्थीहरूले मनोवैज्ञानिक सिद्धान्त तथा दृष्टिकोणको अध्ययन गर्ने, व्यावहारिक सिकाइमार्फत् व्यावसायिक सीप विकास गर्ने, अनुसन्धानमा संलग्न हुने, प्रमाणमा आधारित ज्ञान निर्माण गर्ने, सुपरिवेक्षणसहितको व्यावहारिक तथा विषयगत अनुभव प्राप्त गर्ने, मनोविज्ञान तथा मानसिक स्वास्थ्यका नयाँ क्षेत्रबारे अध्ययन गर्ने र भविष्यको शैक्षिक तथा व्यावसायिक विकासका लागि आवश्यक सीप हासिल गर्ने अवसर पाउनेछन्,” प्रा. डा. श्रेष्ठले भनिन्।
कार्यक्रममा व्यावसायिक नैतिकता, अनुसन्धान, समुदायसँगको सहकार्य, अन्तरविषयगत सिकाइ तथा प्रमाणमा आधारित अभ्यासलाई विशेष प्राथमिकता दिइनेछ। कार्यक्रमले मनोविज्ञान शिक्षामा शैक्षिक आदानप्रदान, व्यावसायिक सञ्जाल, अनुसन्धान सहकार्य तथा अन्तर्राष्ट्रिय सहभागितालाई समेत प्रोत्साहन गर्नेछ।
प्रा.डा. श्रेष्ठका अनुसार यस कार्यक्रमले कक्षाकोठामा आधारित सिकाइ, अनुसन्धान, प्रयोगात्मक सिकाइ, सुपरिवेक्षणसहितको व्यावसायिक अनुभव तथा विषयगत अभ्यासलाई एकीकृत गर्नेछ। शिक्षण–सिकाइ पद्धतिमा व्याख्यान, सेमिनार, छलफल, केसमा आधारित सिकाइ, प्रयोगात्मक अभ्यास, विषयगतकार्य, अनुसन्धान, प्रस्तुति तथा सुपरिवेक्षणसहितको व्यावसायिक अभ्यास समावेश गरिनेछ।
‘‘यस कार्यक्रमले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी वास्तविक जीवनका समस्या र परिस्थितिमा मनोवैज्ञानिक ज्ञानको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। अनुसन्धानलाई कार्यक्रमको महत्वपूर्ण अंगका रूपमा समावेश गरिएको छ। विद्यार्थीलाई समसामयिक मनोवैज्ञानिक तथा सामाजिक विषयमा व्यवस्थित र प्रमाणमा आधारित अनुसन्धान गर्न प्रोत्साहित गरिनेछ,’’ प्रा. डा. श्रेष्ठले भनिन्।
नेसनल कलेजले यस कार्यक्रमलाई नयाँ पुस्ताका मनोविज्ञानका व्यावसायिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद् तथा अभ्यासकर्ताहरू तयार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। उनीहरूले व्यक्ति, समुदाय, संस्था र समग्र समाजको हितमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
“मनोवैज्ञानिक ज्ञान, व्यावसायिक अभ्यास, अनुसन्धान र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक सहकार्यका अवसर सिर्जना गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान दिनेछ,” प्रिन्सिपल न्यौपानेले भने।
मास्टर्स मनोविज्ञान कार्यक्रमको शुभारम्भले नेपालमा गुणस्तरीय उच्च शिक्षाको विस्तार तथा बदलिँदो व्यावसायिक र सामाजिक आवश्यकतालाई सम्बोधन गर्दै नवीन शैक्षिक अवसर सिर्जना गर्ने कलेजको विश्वास छ।