काव्ययात्रा भाग दुईको योजना बुटवलको हिमालय बुक हाउसमा बनेको थियो। कात्तिक महिनाको अन्तिम बिहिबार माधव गौतम, कृष्ण पााण्डेय र म मिलेर यात्राको मिति, समय र स्थान तोकेका थियौं। पहिलो काव्ययात्रा करिव दुई वर्षअघि पाल्पा, तिनाउको मस्यामदेखि पाल्पाकै नुवाकोटसम्मको नूनतेल मार्गमा गरेका थियौं। यसपालिको काव्ययात्रामा साहित्यकार, पत्रकार र कलाकार गरी १४ जना थियौं।
खानासँगै गफैगफमा चिउरीको दुईचार रसले साथीहरूका मुख, अन्न नलीहुँदै आमाशयमा आक्रमण गर्न थालेपछि कुरोको चुरो सुन्न लायक थियो ।
कार्तिक महिनाको अन्तिम शनिबार, बिहान सात वजे बुटवलको मिलनचोकबाट तिनाउको पाटन गाउँ जाने निधो भएपछि आवश्यक तयारीका लागि माधव गौतमलाई टेण्डर परेको थियो। उनले १५ जनाको नाम लिस्ट तयार गरे पनि जानेबेला पत्रकार कृष्ण मल्ल गयल भए। उनको स्थानमा मूर्तिकार हरि वयम्बूलाई हाजिर गराइयो। यात्रामा सात बजे निस्किने भने पनि साथीका मिनेट सूईले हिँड्नेबेला ५४ मिनेट लेट हान्दियो।

बुटवलमा साथीहरू बटुलिनै ढिला भयो। समयको पालना नगर्ने हाम्रा साथीलाई देखेर दिक्क लागे पनि भ्रमणको पथप्रदर्शक भएको नाताले नजाति मान्नै भएन।
मुस्ताङे जिमा मरेक पुग्दा
बुटवल छाडेपछि चिडियाखोला, सिद्धबाबा मन्दिर, दोभान कटेपछि झुम्साको सडक विभाग क्याम्पदेखि पश्चिम–उत्तरतिर जिप मोडियो। जिपले लौग्धुवा गाउँको चौपारीमा पुगेर विश्राम लियो। फराकिलो फाँटमा पुगेर साथीहरूले फोटो खिच्ने छाँट निकाले। कोही बसेर, कोही उभिएर फाँटलाई पृष्ठभूमिमा पारेर राखेर फोटा खिचियो। अनि भित्र रहेका साथीहरू जिपको आँटीमा चढेर, परालमा बसेर विदेशी पर्यटकजस्तै हावा खाँदै सरररररर गुडे। जब हामी चढेको जिप मरेक गाउँमा रोकियो तब साथीहरू चाँहि कुटेभट्टीमा पसेर पाडाको सुकुटी र कुुखुराको मासु चरप्पै पारे। केही साथीले अग्निरस सेवन पनि गरे। यात्रामा रमाइलाका लागि सेवन गरिने यस्ता पदार्थले खासै महत्व लिँदैन।

मरेक गाउँ, पुराना नूनतेल मार्गको महत्वपूर्ण मुकाम हो। यहाँ २०१४ सालमा स्थापना भएको सरस्वती प्रावि छ। यही मार्ग हुँदै दक्षिणतिर रानीबास, सालबास, बोटेगाउँ, दोभान पुगिन्छ र दोभानको पुल तरेर नुवाकोट हुँदै बुटवल पुगिन्थ्यो। सोही मरेक गाउँबाट उत्तरतिर लागेमा सिस्नेखोला हुँदै मस्याम हटिया पुगिन्थ्यो। सिस्नेखोला नजिकै उतिबेला सिस्नुका घारी थिए रे। उक्त खोलामा असला माछा विपत्तै पाइन्थ्यो रे। मानिस दुवाली थुनेर माछा मार्थे रे। साथीहरूलाई मरेकका बारेमा थोरबहुत कुराको निःशुल्क जानकारी दिएँ।
जाम हिँड पाटन, पाटनमा पिरति साटन
जिप अघि बढ्यो। सिस्नेखोला पार गर्दै अर्खले गाउँ हुँदै हामी सुडुङ्ग पार गरेर पाटन गाउँ (१५१२ मिटर) पुग्यौं। गाउँमा १० वर्षअघिसम्म कुवाबाट पानी खानुपथ्र्यो। सोलार बाल्थे गाउँलेहरूले। चर्पी थिएन। स्वास्थ्य केन्द्र थिएन। पाँच कक्षासम्म पढाइ हुने पाटन प्रावि थियो। श्रमदान गरेर, पैसा उठाएर खनिएको बाटो थियो। अचेल, यसमा धेरै सुधार भएको देखियो।
वि.सं. २०६६ सालतिर साविक दोभान स्रोतकेन्द्र अन्तर्गतका प्रअहरूको अवलोकन यात्रामा हामी पाटन पुगेका थियौं। त्यतिबेला तिलोत्तमा माविका तत्कालीन प्रअ भोजबहादुर रायमाझी सरले भनेका थिए–पाटन गाउँ त दोभानकै सगरमाथा रहेछ। सोही मौकामा चिरिप्प पारेर गायक तथा शिक्षक हुकुमबहादुर जीसीले एउटा मन छुने गीत गाएका थिए –जाम हिन पाटन, पाटनमा पिरति साटन।

डम्म कुहिरो थियो, हामी पाटन पुग्दा। न उत्तरतिरका हिमाल हाँसे हामीलाई देखेर, न बुटवल, भैरहवालाई औंलाले देखाउन पाइयो। साथीहरूलाई जेनतेन पाटन तलतिर रहेको अजङ्गको भकारलुङ्ग(मगर भाषामा यसको अर्थ : भकारीजत्रो ढुंगा लाग्दोरहेछ।) देखाउने अवसर मिल्यो। पाटनको शीर अनि भीरमा उभिएर रमेश पाण्डेयले घडीमा जिपिएस लगाएर हेर्दा त्यहाँको उचाइ एक हजार पाँच सय ४७ मिटर देखायो। बाबियो समाउँदै साथीहरू ओरालिएको दृश्य हेर्न लायक देखिन्थ्यो।
तोरी र फापरका फूलले हामीलाई स्वागत गरिरहे। त्यसैमा हामीले मन बुझायौं। मौरीजस्ता मिहिनेती किसानका रहरलाई बारीका पाटामा हेरेर मन सन्तोष गरियो। गाउँका अगुवा तथा शिक्षाप्रेमी हस्तवीर अर्घलीको मृत्युले दुःखी बनायो। उनको घरमा घोत मिसाइयो। उनकी श्रीमती विष्णुमायासँग हस्तवीरको मृत्युबारेमा हल्का सोध्ने अवसर मिल्यो।
गाउँको विकासमा उनको महत्वपूर्ण योगदान थियो। शिक्षामा उनले खेलेको भूमिका अविस्मरणीय छ।
चिउरीको रस चिरिप्पै : मासुमा कर्णाली
पदमबहादुर सोमै मगरको गाउँले सोल्टी होटलमा बिहानको भोजन पौने १२ वजे खान सुरु गरियो। भातलाई लोकल कुखुराको झोलले चुर्लुम्मै डुबाइयो। अघिल्लो साँझ पदमलाई मैले भनेको थिएँ–लोकल कुखुराको झोल खाने हो। मासुमा कर्णाली बगाउनू। नभन्दै सोही अनुसार थियो। दाल पकाउन परेन। झुसे करेला र आलुुको तरकारी, मूलाको अचारसँग टन्नै खाना खाइयो। पेटमा ल्वाँङ राख्ने स्थान समेत खाली नराखी खाना खाँदाको मज्जा भनीसाध्य छैन। जनही चार सौ रुप्पे नगद बुझाइयो।
नाम उल्लेख नगर्ने सर्तमा केही साथीले चिउरीको रस चिरिप्पै पारे। खानासँगै गफैगफमा दुई, चार माना रसले साथीहरूका मुख, अन्न नलीहुँदै अमाशयमा आक्रमण गर्न थालेपछि कुरोको चुरो सुन्न लायक भएको पाइयो। मैले भनेको थिएँ–चिउरीको रस, भित्र खाँदा बाहिर बसाउँछ। पक्का हो रहेछ। खानापछि एकछिन टहलियौं। अनि सुरु गरियो काव्ययात्राको दोस्रो भाग अर्थात् कविता वाचन। गिरि श्रीस मगरले तीन वटा गतिला कविता सुनाए। शंकर भण्डारीले आफ्ना दुईवटा दमदार कविता वाचन गरेपछि वाहवाही प्राप्त गरे। मैले पनि दुईवटा कविता, स्रोतालाई पाहुर दिएँ। हाम्रा कविताले पाटनको जाडोलाई हायलकायल बनायो।

देवकुमारी दिदीले मलाई झुसेकरेला पाहुर दिइन्। मैले पनि गणित उपहार दिएँ। हाम्रा साथीहरू केहीबेर क्यारेमबोर्ड खेलेर मज्जा माने। गाउँमा झुसेकरेला, काँक्रा, अदुवा, मटर, चुत्रा, चिउरी, टिम्बूर, अमिलो, भब्बु निकै फल्ने गर्छन्।
लुलीभट्टीमा चियासँगै पाउरोटी
रिब्दिकोट गाउँपालिकाको सानो तर चिटिक्क परेको बजार लुलीभट्टीमा पुगेर मैले चिनी नराखेको चियामा पाउरोटी डोबेर खाँदा विगतको याद आयो। पैसा नभएर चियामा पाउरोटी डोब्न नपाउँदाको पीडा कम्तिको थिएन मेरो। यही कुरा मैले कतिपटक साथीहरूलाई सुनाउँदा खिसी गरेर उडाएका छन् मलाई।
केही साथीले चिउरीको रसमा चुत्राको जुस मिसाएपछि कुरा पनि गरामागरम भयो। धन्न साथीहरूले कविता सुनाम भनेनन्। नत्र हामीलाई मस्यामहुँदै बुटवल फर्किन ढिला हुने थियो। बेनु, हरि, पाण्डेय, सुरेशहरूले जिपको आँटी छाडेनन्। उनीहरूले पाल्पाका सुन्दर स्थलका दृश्यावलोकन गरे। भिडियो खिचे। उनीहरूले किन्न नसक्ने मज्जा लिए।
गाउँतिर कोदो, चुत्रा, चिउरी, खुदी, पाखनवेदका रक्सी प्रशस्तै भेटिन्छन्। खाँदा स्वादिला तर झ्याप्पै लाग्ने भएकाले हाम्रा साथीले कति सेवन गर्दा लाग्छ, भेउ पाउने कुरै भएन। उनीहरूले यस्तै यात्रामा न हो हल्का चार्ज गर्ने। विचराहरूलाई यस्ता जुस, रस बजारमा खाने अवसर कहाँ मिल्छ र ? धन्न हिमालय बुक हाउस, बुटवलका सञ्चालक माधव गौतम जिउँदा रहेछन् र यस्तो सुनौलो अवसरको व्यवस्थापन गरे।
उनलाई लाख सलाम दिँदा पनि कम हुन्छ ।

जिटिपिएस प्रणाली लागू : सबैले गणित माधवलाई बुझाए
मस्यामको हटियामा केहीबेर बसेर हामी माथिल्लो जोरधारामा रहेको प्रमिलाको बटुक पसलमा बटुक, चुकौनी, चिया, पकौडी खान ओर्लियौं। प्रमिलाले हाम्रो टोलीलाई हतार हतारमा करिब एक हजार दुई सय रुप्पेको अर्नि खुवाइन्। हामीले यात्रामा लागेका खर्चलाई बराबर बिलो लगाएर पैसा उठायौं। भात, खाजा, खाना र जिपलाई गरेर करिब एक हजार तीन सय ५० रुपैयाँ जनही उठाइयो। खचाञ्जी बनेका थिए माधव नै। जिटिपिएस(गोइङ्ग टुगेदर पे सेप्रेट) प्रणाली लागू गरेपछि सबैलाई सजिलो हुने माधवले सुनाए। यसो गर्दा कसैलाई भार र कसैलाई हलुका नहुने रहेछ। यो कुरा सुनाइरहँदा मज्जा आइरहेको छ।
बुटवल झरियो साँझ पाँच बजे। हरि र बेनुको पेट बटारेछ। झर्न नपाउँदै बटौलीको नालामा हरिले पाटनको भात ह्वाल्लै खनाए।
