छठ पर्वको दिन। दशैँ र तिहारले विधिवत् बिदा लियो। काठमाडौँ उपत्यकाको भीडभाड सुरु भइसकेको छैन। बिहानको आठ बजेकाले होला शान्त छ वातावरण। अरू बेला पनि यस्तै भए पो काठमाडौँँ मानिसै मानिस र गाडी नै गाडीको निस्साँसिदो वातावरणमा जिउन थालेको पनि दुई दशक नाघिसक्यो। मनमा यिनै कुरा खेलाउँदै फटाफट पाइला लम्काइरहेकी छ्ु पुतलीसडकतर्फ। नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान’ नियात्राकार घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई अर्पण गर्दै छ। यही कार्यक्रमको साक्षी बस्ने निम्तो मैले पनि पाएकी छु। कार्तिक महिना सकिन लाग्यो, जाडोले पनि बिस्तारै शिर उठाउँदै छ। बिहानै पारिलो घाम लागेकाले धर्तीमा न्यानो छरिइरहेको छ। म पुग्दा साहित्यकारहरू आउदै हुनुहुँदो रहेछ। पुरस्कृत हुन लाग्नु भएका दुवै व्यक्तित्व आइसक्नुभएको रहेछ।
बिहानको समय महिलामैत्री हुँदै होइन, करिब पचास जना पुरुष साहित्यकारको माझमा हामी पाँच जना महिला मात्र परेछौँ। फेरि नियात्रा लेखनमा महिलाको उपस्थिति पनि कमै छ। इन्दिरा दीक्षित र इल्या भट्टराई दिदीसँगै बसेर कार्यक्रम सुरु नभइन्जेल गफिन थाल्छौँ। उहाँ भर्खर चाइना घुमेर फर्किनुभएको छ भने इन्दिरा पनि बेलायत।

कार्यक्रमको उद्घोषण भवानी खतिवडाबाट हुन थालेपछि हामी सर्तक बन्छाँै र सम्पूर्ण ध्यान कार्यक्रमतर्फ खिच्छौँ। मञ्चमा बसिरहनु भएका राजकर्णिकारज्यूको शालीन र भद्र व्यक्तित्व आँखामा छाइरहन्छ। उहाँलाई देख्दा मेरो मनमा कविशिरोमणि लेखनाथ पौड्यालको कवितांशको याद आउँछ।
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो निहुरिन्छ निरन्तर ।
माथिको कवितांश शायद यस्तै व्यक्तित्वबाट प्रभावित भएर रचिएको होला! उहाँलाई पवन आलोक नियात्रा सम्मानस्वरुप दोसल्ला ओढाएर सम्मान पत्र र ५० हजार राशिको पुरस्कार प्रमुख अतिथि रोचक घिमिरे र पुरस्कारदाता रेखा कँडेलले अर्पण गर्नुुहुन्छ। व्यक्तिगत तबरबाट ५० हजार राशिको पुरस्कार प्रदान गरिनु सामान्य कुरा हुँदै होइन। हरेक वर्ष नियात्रा साहित्यमा योगदान पु¥याउने स्रष्टालाई प्रदान गरिने यो पुरस्कारको जति चर्चा गरे पनि कम हुन्छ। पुरस्कारदाता पवन आलोक र उहाँकी पत्नी रेखा कँडेलप्रति पनि असीम श्रद्धा उत्पन्न हुन्छ।
पुरस्कार प्रदान गर्नुअघि पुरस्कृत व्यक्तित्वबारे नियात्राकार विष्णुप्रसाद शर्माले बोल्नुभएको थियो। त्यसपछि शुभकामना दिने क्रममा पवन आलोक पुरस्कार छनोट समितिका संयोजक श्रीओम श्रेष्ठले पनि राजकर्णिकारको समाजसेवी व्यक्तित्वबारे बोल्नुभयो। प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतीक ढकाल, इल्या भट्टराई, अशेष मल्ल, चन्द्रप्रसाद भट्टराईले पनि उहाँको बहुआयामिक व्यक्तित्वबारे बोल्नुहुँदा माथिको कवितांश सार्थक भएझैं लाग्यो। साहित्यिक कार्यक्रमका लागि सहयोग माग्न जाँदा कार्यक्रममा खाजाका लागि आप्mनो उद्योगबाट कुकिज र पाउरोटी दिएर सहयोग गर्दा त्यो जमानामा कति ठूलो गुन हुन्थ्यो भन्नुभएको थियो। त्यसका अतिरिक्त अन्य साहित्यिक सहयोगका बारेमा पनि बोलिरहनुभयो। जो मान्छे धनभन्दा मन ठूलो र साहित्यकर्मलाई महत्व दिन्छ उसले पाउने भनेको यस्तै सम्मान पनि हो। पाठकले दिने सम्मान त झन् अतुलनीय छँदै छ भन्ने लाग्यो।
मेरो मनले भने उहाँसँगको चिनजानको मिति घोत्लिन लगायो। वि.सं. २०५७ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर पढ्न जाँदा गुरुहरूले उहाँको लेखनी र नियात्राकार व्यक्तित्वबारे चर्चा गरेको सम्झिएँ। उहाँ ठूलो उद्यमी पनि हो, कमलपोखरीमा कृष्ण पाउरोटी भन्ने पुरानो ठूलो उद्योग छ। त्यही उद्यमी व्यक्तित्वले पनि होला शायद उहाँलाई यात्राका सिलसिला जु¥याइरहन्छ।’, प्रा. राजेन्द्र सुवेदीले भन्नुभएको कुरा मलाई अझै स्मरण भइरहन्छ।

हुन त मैले मधुपर्क र गरिमामा पनि उहाँका यात्रा संस्मरण पढ्दै आइरहेकी थिएँ। त्यति बेलाको समयमा देशविदेश घुम्नु, घुमेका कुरा अभिलेखीकरण गरी प्रकाशन गर्नु चानचुने कुरा होइन। त्यो चेतना र जाँगर सबै मान्छेमा हुँदैन। उहाँको साहित्य प्रेम कति अगाध भनेर मैले मनमनै सोचिरहेकी पनि थिएँ।
घनश्याम राजकर्णिकारज्यूसँगको पहिलो भौतिक भेट भने २०७२ सालमा भयो। नियात्रा समाज नेपालका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराईमार्फत् नियात्रा क्षेत्रका धेरै सर्जकसँग भेट हुने मौका अन्तर्गतमा राजकर्णिकार पनि हुनुहुन्थ्यो। नरेन्द्रराज पौडेलज्यूलाई पनि मैले यही संस्थामार्फत् चिनेकी हुँ। हास्यव्यङ्ग्य लेखकका रूपमा पनि उहाँलाई पढ्दै आएकी थिएँ। नियात्राकार व्यक्तित्वका रूपमा अझ बलियो पहिचान बनाइसक्नु भएको रहेछ। झन् उहाँको ‘सिडियोको १७ वर्ष’ पढेपछि अझै उहाँलाई चिन्ने मौका पाएँ। महासचिवका रूपमा निसनेमा म रहेकै बखत २०७८ सालको तारानाथ शर्मा नियात्रा सम्मान पनि घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको थियो। त्यसपछि पनि निसनेकै कार्यक्रममा धेरैपटक उहाँसँग भेटघाट बाक्लिदै गयो।
सुस्तरी बोल्ने, मीठो बोल्ने र मलाई बहिनी भनी स्नेह गर्नुहुने उहाँको स्वभावबाट म प्रभावित भएँ। उहाँका फुटकर लेखहरू साहित्यिक पत्रपत्रिकामा पढे पनि सिंगो पुस्तक पढ्ने मौका जुरेको थिएन। २०३७ सालमा नै उहाँको ‘विदेशको यात्रा स्वदेशको सम्झना’ नामक संस्मरण पुस्तक प्रकाशन भइसकेको रहेछ। हालसम्म यसको छैटौँ संस्करण प्रकाशित छ।
मैले देखेको र सुनेको मानिसभन्दा उहाँको लेखनी नै पढेर अझ उहाँका बारेमा जानूँ बुझूँ भने झै लाग्यो। कृष्ण पाउरोटी भनेर बनेको ब्रान्डको के रहस्य छ बुझ्न मन लाग्यो। एकदिन एउटा भेटमा मलाई उहाँका पुस्तकहरू पढ्न तीव्र रुचि भएको कुरा अभिव्यक्त गरेँ। उहाँले मीठो मुस्कानसहित भन्नुभयो, ‘मेरा हालसम्म प्रकाशित पुस्तकहरू कृष्ण पाउरोटी भएको भवनको काउन्टरमा उपहारस्वरूप छोडिदिन्छु, आप्mनो समय मिलाएर लैजानु।’
उहाँले यति भनेपछि मलाई धेरै खुसी लाग्यो। एकदिन उहाँको पसलमा गएर पुस्तक लिएँ। मलाई दिनुभएका पुस्तकमा ‘विदेशको यात्रा स्वदेशको सम्झना’, ‘बौद्ध तीर्थयात्रा नालन्दादेखि लुम्बिनीसम्म’, ‘यात्रा अमेरिकाको माया नेपालको’, ‘देश प्रदेशको भ्रमण’, ‘पवित्र सम्झना आमाको’ थिए। केही समयपछि ‘घामै प्यारो आमै प्यारो’ बालनियात्रा सङ्ग्रह पनि प्राप्त गरेँ।
वि.स. २०३७ सालदेखि हालसम्म अविच्छिन्न रूपले नियात्रा क्षेत्रमा साधना गरिरहनुभएका उहाँका लगायत आधा दर्जनभन्दा बढी नियात्रा कृति प्रकाशित भएका रहेछन्। पोखरा, स्वयम्भू र लुम्बिनीका बारेमा पनि उहाँले मिहिनेत गरेर लेख्नुभएको रहेछ। व्यवसायमा लागेको मानिसलाई पुस्तक समाउने र लेख्ने फुर्सद कहाँ हुन्छ र भन्नेहरूका लागि उहाँ उदाहरण बनेर उभिनुभएझैँ लाग्यो। उहाँको नियात्रा लेखनको प्रेम बडो प्रेरणादायी थियो। नियात्रा लेखनले लेखकको घुमाइको मात्र अभिलेखीकरण गर्दैन, फरक देशको संस्कृति, भूगोल, विकास र आर्थिक अवस्थालाई पनि देखाएको हुन्छ। जुन कुरा समाज विकासको गतिलो इतिहास मान्न सकिन्छ।
मानिसको उचाइ उसको पद वा धनले निर्धारण नगरी उसले लेखेको शब्दको गहिराइ, विचारको व्यापकता र समाजमा पारेको प्रभावले निर्धारण गर्छ भन्ने कुराको साक्षी हुनुहुन्छ उहाँ। समयसँगै मानिसको शरीर बूढो हुन सक्छ, उसको उपस्थिति ओझेल पर्न सक्छ, तर लेखनीले निर्माण गरेको उचाइ भने पुस्तौँसम्म जीवित रहन सक्छ। शायद यही कुराको बोध उहाँलाई समयमै भएको हुनुपर्छ नत्र व्यापारको दुनियाँमा छिरेर सफल भइसकेको मानिसले अर्कोतर्फ गरेको साहित्य प्रेम, निरन्तरता र जाँगर दिगो हुने थिएन। वास्तवमा मान्छेको वास्तविक उचाइ उसको कदमा होइन, उसले लेखेका शब्दले छोएको चेतनाको उचाइमा हुन्छ भन्ने उदाहरण उहाँ हुुनुहुन्छ।
-1794815306.png)
खासमा मानिसलाई अमर राख्ने उसको कीर्तिले हो, पैसाले होइन भन्ने चेतना उहाँले प्राप्त गर्नुभएकै कारण पुस्तकप्रतिको लगाव तीव्र भएको अनुमान गर्न सकिन्थ्यो। आमासँग पनि उहाँ उत्तिकै प्रभावित हुनुहुँदो रहेछ। आमाको बारेमा ‘पवित्र सम्झना आमाको’ नामक पुस्तक नै लेख्नुभएको छ। आप्mना पिता कृष्णबहादुर राजकर्णिकारको लगनशीलता र मिहिनेतको प्रभाव उहाँमा परेको रहेछ। नेपालमा पहिलोपल्ट पाउरोटी भित्र्याउने र व्यवसायिक रूपमा अघि बढाउने पिताको धारणाले नै उहाँ पनि व्यवसायिक तथा सामाजिक व्यक्तित्व बन्न पुग्नुभयो। पिताको लगानी उहाँमा देखिएकैले होला उहाँको व्यवसायिक व्यक्तित्व अझ बढी उर्वर बन्न पुग्यो।
पिताको बारेमा पनि उहाँले पुस्तक प्रकाशन गर्नुभएको छ। उक्त पुस्तक पढ्ने मौका मिलेको छैन। बौद्धमार्गी उहाँले बुद्ध दर्शनका बारेमा पनि गहिरो ज्ञान राख्नुभएको कुरा उहाँको पुस्तक ‘बौद्ध तीर्थयात्रा: नालन्दादेखि लुम्बिनीसम्म’ भन्नेबाट पनि थाहा हुन्छ। बौद्ध तीर्थयात्रासँग सम्बन्धित यो पुस्तकमा बौद्ध ज्ञानका बारेमा गहिरो चिन्तन पाइन्छ।
आज समय बदलिएको छ। कथा, कविता, उपन्यासहरू एआईले पनि सजिलै लेखिदिने भएकाले सक्कली लेखक चिन्न गाह्रो छ। तर नियात्रा एआईले लेख्न सक्दैन यसका लागि यात्रा गर्नैपर्छ, अनुभूति ग्रहण गर्नैपर्छ। वास्तवमा साँचो साहित्य नियात्रा पो हो भन्ने लाग्न थाल्छ मलाई। दिनप्रतिदिन नियात्रा साहित्य लोकप्रिय हुँदै गएको छ। आगामी दिनमा पनि नेपाली साहित्यमा नियात्रा साहित्यका अझ बढी कृतिहरू प्रकाशित हुँदै जाऊन्। घनश्याम राजकर्णिकार जस्ता स्रष्टाको साधनाले नयाँ पिँढीलाई पनि यही प्रेरणा दिन्छ।