मिश्रबासी भन्छन्–कला मृत्युपछिको जीवन हो। अचेल मलाई यो भनाइप्रति समालोचना गर्न मन लाग्छ। हुन सक्छ, तत्कालीन समयमा उत्तम थियो होला यो विचार। मृत्युपछि उनीहरूले शव गाडेका स्थानमा शिलापत्र, मूर्ति, चित्र वा भित्तेचित्र बनाएर राख्ने परम्परा थियो। मानिसको सिमित उमेर र जीवन रहेको कारण मृत्युपछि सम्झन कलाको खास अर्थ हुन्छ भनेर विश्लेषण गर्थे। उनीहरू पुनर्जन्ममा विश्वास गर्थे। मृत्यु, अर्को जीवनको सुरुवात हो भनेर कल्पना गर्थे। उनीहरूमा मृत्युलाई बुझ्ने र व्याख्या गर्ने आआफ्नै ढाँचा र चेतना थियो।
भगवान श्रीकृष्ण भन्छन्, कर्म गर तर फलको आशा नगर। यसलाई समालोचनात्मक दृष्टिबाट हेर्दा कर्म गर्ने मानिसले फलको आश गर्नु हितकर हुन्छ। उदाहरणका लागि तपाइँले रोपेको आँपको बेर्नाले सके तपाइँकै पालामा नत्र तपाइँको छोराछोरीका पालामा फल दिओस् भनेर नै बेर्ना रोप्नु भएको होला। फल नदिने आँपको बेर्ना रोप्ने रहर कुन मानिसमा हुन्छ र?
प्रभावी र परिणामुखी कामका लागि मानिसले आफ्नै समय र आफूसँग दाँजेको हुन्छ। सकेसम्म आफ्नै आँखाले हेर्न, देख्न र हातले स्पर्श गर्न पाउने योजना बुनेको हुन्छ।
समृद्धि आफ्नै पालामा वा आफ्नै आँखाअघि भनेजस्तै कला पनि जीवनोपयोगी हुनुपर्छ। आफ्नो कलाले आफ्नै पालामा अर्थोपार्जन गरेको हुनुपर्छ। आफ्नै अघि कलाको प्रशंसा हुनुपर्छ। आफूले नै आफ्नो कलाको समीक्षात्मक टिप्पणी गरेको सुन्न पाउनुपर्छ। यो नै वर्तमान परिवेश हो। भौतिकवादीले जीवनलाई नश्वर सम्झिन्छन् र आफ्नै पालामा हरेक कुराको परिणाम खोज्छन्। मृत्युपछिको सम्मानको आशा राख्दैनन्। पुनर्जन्ममा विश्वास गर्दैनन्।
कलाकार आफ्नो गुणदोषको भागिदार आफैं हुन्छन्। आफ्नै पालामा दण्ड वा पुरस्कारको परिणाम व्यहोर्न रुचाउँछन्। मरणोपरान्त उनीहरू सम्मानको बर्को ओढ्ने मूडमा हुँदैनन्। स्वस्थ आलोचना र सकारात्मक पृष्ठपोषणको खोजी गरिरहने कलाकार कलालाई आफ्नै जीवनको सुन्दर उपहार बनाउन इच्छुक हुन्छन्।
जीवन त सजीव हुन्छ। मृत्युपछि कसरी जीवित हुने? हुन सक्छ ! कलाले बचाइ राख्ला, तर मृत्युपछि त्यो कुराको अनुभव कसैले पनि गर्न सक्दैन। केवल, कलाकारले गर्ने कुरा पनि भएन। त्यसैले कला, जीवनपर्यन्त हुनुपर्छ।
कलाकारले जुन कलाको सिर्जना गर्छ, त्यो नै जीवनमुखी हुनुपर्छ। त्यो नै उत्पादनमुखी हुनुपर्छ। सिर्जनाले सर्जकलाई चिनाउने खालको हुनुपर्छ। वर्तमानलाई सम्वोधन गर्ने खालको हुनुपर्छ। आफ्नै समयलाई बोध गर्ने खालको हुनुपर्छ। भविष्योन्मुख होलान् कला तर परिणाममुखी आजको आश्यकता हो। कलाले नै कलाकारलाई बचाउनुपर्छ, चाहे त्यो ख्यातिको रुपमा वा आर्थिक उपार्जनका दृष्टिले। आफ्नो मृत्युपछि पुनर्जन्म हुनेछ। त्यतिबेला मैले यसको साँवाव्याज असुल्न सक्नेछु भन्ने क्षणिक दूरगामी अदूरदर्शिताले दुष्परिणाम ल्याउनेछ।
त्यसैले वर्तमानमा कलाकारले आफ्नो सिर्जनालाई सिर्जनात्मक बनाऔं। मिहिनेत गरौं। आफ्नो कर्ममा विश्वास गरौं। पुरस्कार वा सम्मानका लागि कलाकारिता नगरौं। भनसुन र मनसुनमुखी कलाकारिता क्षणभङ्गुर हुनेछ।
कलालाई कर्मशील बनाऔं। आफ्नो साधन र स्रोतको अधिकतम प्रयोग गरौं। कलालाई आफ्नो घरपरिवार, समाज र देशप्रति समर्पण गरौं। सोहीअनुसार निर्माण गरौं। मूर्त वा अमूर्त जे जस्ता कला भएपनि समय सुहाउँदो र परिवेश अनुरुपको बनाऔं। कला नै वर्तमान जीवनको आधार हो।
रानीकुवा चित्रकला कार्यशाला
बुटवलबाट १० किलोमिटर पश्चिममा पर्ने सैनामैना नगरपालिका वडा नं.१, वनकट्टाको रानीकुवामा पुग्दा चारजना कलाकार भाइटिकाको अघिल्लो दिन मङ्गलबार क्यानभासमा चित्र कोर्न तम्तयार थिए। चारैजना कलाकार बुटवल र सैनामैना क्षेत्रका। सुमित्रा राना, सुत्पराईले रानीकुवा संरक्षण क्षेत्रमा रहेको शिवालय मन्दिरको चित्र उतारिन्। त्यसैगरी बेनप्रसाद थापाले रानीकुवाको आकृति आफ्नै पारामा क्यानभासमा उतारे। त्यस्तै राजा कुवामा रहेको मूर्तिलाई मोबाइल फोनको ग्यालरीमा सेभ गरेपछि यमबङले क्यानभासमा दुरुस्तै उतारे। अर्का कलाकार हरिबहादुर थापा वयम्बू भने आफ्नै लयमा चित्र कोर्न थाले।
रुपन्देहीमा व्यावसायिक कलाकार धेरै नै भएपनि सिर्जनशील कलाकार थोरै भेटिन्छन्। यी चार जनामध्ये तीन जना कलाकार कला विषय नै अध्ययन गरेका कलाकार हुन्। उनीहरूले पर्वको अवसर पारेर ‘रानीकुवा चित्रकला कार्यशाला’ राखेका थिए।
-1794398614.jpeg)
चित्रकला मार्फत् उक्त क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्वलाई उजागर गर्ने प्रयास गरिएको कार्यशालाका संयोजक थापाले बताए।
कलाकारको प्रतिभा तिखार्न र कलामा सिर्जनशीलता अभिव्यक्त गर्न यस्ता कार्यशाला नियमित गर्दै आइरहेको कलाकार सुमित्राले बताइन्।
उनीहरुको मिहिनेत देखेर खुसी लाग्यो। उनीहरूले चित्र कोरेको हेर्नेहरूको बाक्लो उपस्थिति थियो। सरकारीस्तरमा कलाकारलार्य प्रोत्साहन गर्न स्थानीयस्तरमा कुनै कलाप्रतिष्ठान नहुनु, ग्यालरी नहुनु दुःखको कुरा रहेको मूर्तिकार हरिले सुनाए।
साहित्य र सङ्गीतको सङ्गम बुटवल क्षेत्रमा कलाकारलाई प्रोत्साहन, पुरस्कार र सम्मानको अवस्था नहुनु वा कम हुनु पक्कै राम्रो पक्ष होइन। कला, सिर्जनामार्फत् सबैसँग परिचित हुन र कलाबाट जीवन जिउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न समेत कार्यशाला राखिएको कलाकार यमबङको तर्क थियो।

उनीहरूले बनाएका कलालाई ग्यालरीमा सजाउन मात्र होइन, बेचेर आर्थिक लाभ लिन सकिए अझै उत्तम हुने थियो। यसो गर्न सकिएमा कलाकार आफ्नै पेसामा समर्पित हुने थिए र वैदेशिक रोजगारका लागि मातृभूमि छाड्नुपर्ने बाध्यता आउने थिएन कि ?
रुपन्देहीका चार तारा
रानीकुवा चित्रकला कार्यशालामा मङ्गलबार चित्र बनाइरहेका प्रतिभाशाली कलाकारसँग कुराकानी गर्दा मभित्र ऊर्जा बढ्यो। यी चारै जना कलाकारलाई शुभकामना !
बेनप्रसाद थापा
उमेरले ५४ टेक्दै गरेका बेनप्रसाद थापाले चित्रकला र मूर्तिकलामा समय खर्चिएको ३३ वर्ष वितिसक्यो। गुल्मी जिल्ला, सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा जन्मि÷हुर्किएका उनले स्याङ्गजाको लसर्गामा रहेको आदर्श माविबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्।

पढाइ र कामको खोजीमा बुटवल झरेका उनले बुटवल बहुमुखी क्याम्पसमा आइएल पढ्दै वकिलसँग कानुनी सेवा केन्द्रमा रहेर काम सिक्न थाले। अदालतमा मिसिल सार्ने, मुद्दामामिलाका फाइल बोक्ने काम गरे। त्यहाँ बसेर बाँच्ने आधार कम देखेपछि विभिन्न ठाउँमा काम खोज्दै भौतारिए।

बुटवलमा रहेको आरके आर्टस्मा उनले राजुकमार लिगलसँग काम सिके। त्यो नै उनको जीवन जिउने र आत्मनिर्भर हुने गतिलो उपाय बन्यो। सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्दै धनपैसा कमाउन थाले। ब्यानर लेखे, बोर्ड लेखे। बुटवलको ट्राफिकचोकमा नेपाल आट्र्स खोलेर आफू स्वरोजगार त भए नै, केही कलाकारलाई रोजगारी समेत दिए।

यतिबेला उनले आफ्नो आर्टस् पसल बुटवल–१३ को बेलबासमा सञ्चालन गरिरहेका छन्। ब्यानर र बोर्ड लेख्ने कामसँगै उनले चित्रकला तथा मूर्तिकला बनाउने, कार्यशालामा भाग लिने र आर्थिक उपार्जन गर्दै आएका छन्। नेपाल व्यवसायी कलाकार संघ, रुपन्देहीको अध्यक्ष भइसकेका उनले कलाबाटै आफूलाई उकासेका छन्। सन्तानको पालनपोषण सबैको मुख्यस्रोत नै कलाकारिता रहेको उनी बताउँछन्।

कलाकारितामा ‘बेथा’ उपनामले चिनिने बेनप्रसाद थापाका आफ्नै कथाव्यथा छन्। आफ्नो ठाउँमा सरकारी ग्यालरी नभएको हुँदा चिन्ता लाग्दोरहेछ उनलाई। ग्यालरी भएको भए, आफ्ना कला त्यही सजाउने र बिक्रीबाट आर्थिक उन्नतिको बाटो समाउन सहज हुने उनको तर्क छ। त्यतिमात्र होइन, आफ्नो कला थप परिमार्जित हुँदै कलाकारका हैसियतमा देशविदेश सयर गर्ने अवसर समेत जुट्न सक्ने उनको आशा छ।
समयसमयमा विभिन्न खालका पुरस्कार, सम्मान, कदरपत्र र प्रशंसा बटुलेका उनले त्यसबाट हौसला मिलेको सुनाए।
हरिबहादुर थापा वयम्बू
हरिबहादुर थापा वयम्बू आइएफए गरेको १० वर्षपछि यतिबेला बिएफए गर्न बुटवलबाट ललितकला क्याम्पस काठमाडौं हान्निएका छन्। उनले २०६३ सालमा कान्ति मावि, बुटवलबाट एसएलसी गरेका थिए। सानैदेखि मूर्तिकलामा रुची राख्ने उनले चित्रकला कार्यशालामा समेत शान्दार प्रस्तुति दिँदै आएका छन्। बुटवलमा रहेको कालिका मानवज्ञान माविमा २०८२ सालदेखि सञ्चालन भएको ललितकला विषयमा उनले कक्षा ११ का विद्यार्थीलाई एक वर्ष पढाए।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा मूर्ति विधातर्फ ‘समसामयिक मूर्तिकला‘ लुम्बिनी प्रदेशस्तरीय पुरस्कार–२०८१ प्राप्त गरेका उनी कम बोल्छन्। उनलाई आफ्नो कला आफैं बोलोस् भन्ने लाग्छ।
उनीसँग नझ््याम्मिएका कतिपय मानिस भन्छन्–उनले बनाएका मूर्ति बोल्लान् तर उनी बोल्दैनन्। आफ्ना कलामा लीन भइरहेका बेला उनलाई कसैसँग बोल्न मन लाग्दैन, बरु आफ्नो कलामा आफूले खोजेको आकृति निर्माणमा तल्लीन हुन रुचाउँछन्।

हरिको पहाड घर पूर्वी पाल्पाको निस्दी अर्चले हो। उनी बुटवलमै जन्मी÷हुर्किए। उनलाई महिलासम्बन्धि अमूर्त मूर्ति र चित्र कोर्न रहर लाग्छ। हुन त उनले सबै खालका सयौं मूर्ति बनाइसकेका छन् र चित्र कोरिसकेका छन्। उनले बनाएका मूर्तिमध्ये पछिल्लो मूर्ति मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको मूर्ति बगैंचामा छ।
-1794397985.jpg)
अविवाहित हरि कलामा लागेपछि विवाह गर्ने आफूमा सोच र समय नै नआएको बताउँछन्। साना गाँठीका उनको शारीरिक अवस्थाले मूर्तिकलाबाट आकास छुन खोजेको भान हुन्छ।
यमबङ थापा मगर
यमबङ थापा मगर (मगर भाषाको शब्द यमबङको अर्थ हुन्छ, हिमालको राजा) काठमाडौंको ललितकला क्याम्पसबाट एमएफए सैद्धान्तिक कक्षा सकेर नेपाली आर्ट मार्केट विषयमा थेसिस गर्दै छन्। उनको मुख्य विषय सिर्जनशील चित्रकला नै हो। २०६८ सालमा एसएलसी गरेका उनले व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि ललितकलामा स्नातक गर्न काठमाडौंतिर लागे। बाबुआमाका जेठा सन्तान यमबङको पहाडघर स्याङ्जाको कालीगण्डकी गापा, वइघा गाउँमा हो। यतिबेला उनको परिवार बुटवलको बेलबासमा स्थायी रुपमा बस्दै आएको छ।

सानैदेखि चित्र भनेपछि हुरुक्कै हुने यमबङ चित्रकलामा नै मास्र्टस् गर्न पाउँदा अति नै हर्षित छन्। चित्रकलामा साधना गर्दै अघि बढ्ने सपना साँचेका उनले निकट भविष्यमै काठमाडौंमा चित्रकलाको एकल प्रदर्शनी गर्ने योजना बुनेका छन्। चित्रकलामा लाग्दा अति नै ध्यानपूर्वक लाग्नुपर्ने बताउने यमबङ आफूले पढेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्न तल्लीन छन्। यतिबेला उनी थेसिस तयार पार्दैछन् भने विभिन्न स्थानमा पुगेर क्यान्भासमा कूची दौडाई रहेका छन्।

शान्त मन, स्थिर बसाइ, एकोहोरो लगाव र बस्तुनिष्ठताले नै चित्रकलामा पारङ्गत हुन सकिने उनको भनाइ छ। खोज, अध्ययन र अनुसन्धानमा रुची राख्ने उनमा चित्रकलाप्रतिको लगाव कम्तिको छैन। बनाइएको चित्र हुबहु र सजीव हुनुपर्नेमा उनको जोड छ।

अविवाहित यमबङले चित्रकलालाई पेसागत रुपमा विकास गर्दै आर्थिक समृद्धिको पाटो बनाएपछि बिहे गर्ने सोचेका छन्। यही विषयको माध्यमबाट जीविकोपार्जनसहित चित्रकलामा आफ्नो प्रतिभा उजागर गर्दै लैजाने उनको योजना छ।

निरन्तरको अभ्यासले नै चित्रकलामा निख्खरता आउने उनको भनाइ छ। विभिन्न प्रतियोगितामा सहभागिता जनाई पुरस्कृत उनले यतिबेला कीर्तिपुरको एउटा संस्थागत विद्यालयमा विगत चार वर्षदेखि आर्ट विषय अध्यापन गराउँदै आएका छन् ।
सुमित्रा राना
सुमित्रा राना, सुत्पराईले २०५६ सालमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नंं. ३ ठूलो लुम्पेकको धर्मपुर माविबाट एसएलसी गरेपछि ललितकला क्याम्पस, काठमाडौंबाट एमएफएसम्म पढ्नि। आइएफए पढेर पास भएपछि उनको विवाह गुल्मी, कालीगण्डकी गाउँपालिका–५, फोक्सिङ, लम्कराका लिलु सुत्पराईसँग भयो।

वैदेशिक रोजगारमा रहेका लिलुले सुमित्रालाई अध्ययनका लागि निरन्तर सहयोग गरे। दुई दशकअघि बिहे गरेका सुमित्रा र लिलुको एक्लो सन्तानका रुपमा एलिस पनि कक्षा ११ अध्ययरत् छन्।
लिलुले सक्दो पढ्न उत्प्रेरित गरिरहे भने सुमित्राले मन लगाएर पढिन्। यतिबेला सुमित्राले बुटवलमा रहेको कालिका मानवज्ञान माविमा बिहानी सत्रमा ललितकला विषयमा अध्यापन गराउँदै आएकी छिन्। दिउँसो उनले बुटवलकै दीप आवसीय माविमा चित्रकला विषय पढाउँदै आएकी छिन्।
-1794397700.jpeg)
सुमित्राले गत वर्ष मात्र आफ्नै निवास, रुपन्देही, सैनामैना नपा–१, वनकट्टामा सुमित्रा थ्रि एल ग्यालरी सञ्चालनमा ल्याएकी छिन्। फुर्सदको समयमा ग्यालरीमा बसेर प्रतिभा तिर्खाछिन्। व्यावसायिक कलाकार बनेर अघि बढ्ने योजना बनाएकी उनले ग्यालरीलाई सिर्जना र आम्दानीको थलो मान्दै आएकी छिन्।
एकल तथा संयुक्त चित्रकला प्रदर्शन गरिसकेकी उनले कलालाई नै जीवनोपार्जनको गतिलो माध्यम बनाउने सोचेरै ललितकला विषयमा प्रवेश गरेको बताइन्। उनले नेपाल सरकारबाट लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रतिभा पुरस्कार–२०७६ प्राप्त गरेकी छिन्। साथै विभिन्न पुरस्कार, सम्मान, प्रशंसा र कदरपत्र प्राप्त गरेकी छिन्।
-1794397731.jpeg)
भविष्यमा ग्यालरीमार्फत् आफूलाई स्थापित गर्ने सपना उनेकी सुमित्राले कलाबाट जिउन सिर्जना र निरन्तरको अभ्यास जरुरी हुने बताइन्। निवृत्त जीवन, कलाकारितामा बिताउने र गरिखाने विषयका रुपमा स्थापित गराउन आफू सदैव समर्पित हुने उनको चाहना छ।
