हिमाली भेगमा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु हुन्, रिम्पोछे अर्थात् पद्मसंभव। उनकै पालादेखि हिमाली बस्तीमा वर्षेनी ध्येकप महापूजा सुरु भएको हो। गुम्बामा तीन दिनसम्म धुमधामसँग यो पूजा गरिन्छ।

बौद्ध मन्त्रोचारण, परम्परागत बाद्यवादन र देवदेवीको भेषमा नृत्य गरेर महापूजा गरिन्छ। पूजाको तेस्रो दिन विभिन्न देवदेवी, जोगी र रिम्पोछेको भेषमा गुम्बाको आँगनमा नृत्य गरिन्छ। गुरु पद्मसंभवको भेषमा पनि नृत्य गरिन्छ।

यस वर्ष मुस्ताङ जिल्लाको प्रख्यात पर्यटकीय गाउँ मार्फाको सम्तेलिङ छोलिङ गुम्बामा आइतबार ध्येकप पूजा सम्पन्न गरियो। पूजामा स्थानीय थकाली समुदायका साथै आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो सहभागिता थियो। पर्यटकले स्वाद मानेर देवनृत्य अवलोकन गरे।

गुम्बाका खेम्पो पेमा हिराचनका अनुसार जीवनमा आउने बाधाअड्चन पन्छाउने कामलाई ध्येकप भनिन्छ। ग्रहदशा शान्ति होस् भन्ने कामनाले पूजा गरिन्छ। महापूजाको तेस्रो दिन मुख्य पूजा हुन्छ।
खेम्पो पेमा हिराचन
जहाँ देवता हुन्छन्, त्यहाँ भूतप्रेत पनि हुन्छन्। त्यसैले तिनलाई वशमा ल्याउन गुरु पद्मसंभवले क्रोधी रुप धारणा गरेर नाचेका थिए। त्यही समयको स्मरणमा महापूजामा नाचगान गरिन्छ।

गुम्बाका लामा उर्गेन हिराचनका अनुसार मानिसको जीवनमा आउने बिध्न बाधाहरू जस्तैः विभिन्न रोग, अकाल मृत्यु, लडाई, झगडा, बाढीपहिरो, अनिकाल र अनेकौ ग्रहदशा निवारणका लागि महापूजा गरिन्छ।

‘यो पूजाको रचना स्वयं गुरु पद्मसंभवले गर्नुभएको हो। त्यसैले मनोरञ्जनतिर नगई, यस महापूजाको केन्द्रबिन्दु मानव कल्याण, शान्ति र निर्वाण प्राप्तिका लागि तिर्थालुले भित्री आत्माबाट भगवानको दर्शन गर्नुु पर्दछ’, उनले भने।

ध्येकपप्रति स्थानीयको ठुलो आस्था र विश्वास रहेको छ। लौरोको सहराले सिंढी चढेर गुम्बामा पुगेका ८३ वर्षे समाजसेवी समाजसेवी विष्णुराज हिराचन भन्छन् ‘विश्व शान्ति र मानव कल्याणको कामनासहित ध्येकपमा सहभागि हुन पाउनु गौरवको कुरा हो।’

रोचक एवम् धार्मिक कथा भएको पवित्र यस महापूजाका अवसरमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सरोकारवालाहरूले ध्यान दिनु पर्ने देखिन्छ।
















