दोलखा । दोलखाको जिरीमा खेलकुदको विकास र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको फाइभ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको हो ।
तीन विधामा सञ्चालन भएको प्रतियोगितामा भेट्रान्स, महिला र खुलातर्फका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए ।

जिरी निर्माण व्यवसायी र एक्सप्लोर नेपाल नेटवर्कको संयुक्त आयोजना तथा जिरी नगरपालिकाको सह–आयोजनामा भएको प्रतियोगिताको भेट्रान्स (४० वर्षमाथि) विधामा टिम जिरी प्रथम र जिरी उद्योग वाणिज्य संघ द्वितीय भए । यस विधामा एचबीसी हाटडाँडा र भूमेथान टोल सुधार समिति सेमिफाइनलमा पुगेका थिए ।
महिलातर्फ जिरी नगरपालिका प्रथम र जिरी अस्पताल द्वितीय भए । खुलातर्फ टिम जिरीले उपाधि जित्दा चरिकोट खेलकुद विकास समाज दोस्रो भयो । खुला विधाको सेमिफाइनलमा पुगेका सीवाईसी ठोसे र जिरी माध्यमिक विद्यालयले पनि जनही ७ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा भेट्रान्सतर्फ प्रथम र द्वितीय हुने टोलीले खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने सेमिफाइनलमा पुगेका टोलीलाई एक–एकवटा भाले प्रदान गरिएको थियो । महिला विधाका विजेता टोलीले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी खुलातर्फ विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ भेट्रान्समा टिम जिरीका दोर्जे शेर्पा (सञ्जु शेर्पा) सर्वाधिक गोलकर्ता र जिरी उद्योग वाणिज्य संघका शरणबहादुर जिरेल उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ जिरी नगरपालिकाकी सजिना जिरेल सर्वाधिक गोलकर्ता र फुडोमा शेर्पा उत्कृष्ट खेलाडी बने । खुलातर्फ चरिकोट खेलकुद विकास समाजका अनिस बस्नेत सर्वाधिक गोलकर्ता तथा टिम जिरीका लाक्पा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।

जिरी स्पोर्ट्स एकेडेमी स्थापना गर्ने योजना
प्रतियोगितालाई खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नराखी जिरीमा खेलकुदको दीर्घकालीन विकासको आधार बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा उपयोग गरी जिरीमा ‘जिरी स्पोर्ट्स एकेडेमी’ स्थापना गर्ने योजना अघि सारिएको छ ।
प्रस्तावित एकेडेमीमार्फत १६ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीलाई फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायतका खेलमा नियमित प्रशिक्षण दिने आयोजकको योजना छ । स्थानीयस्तरमा लुकेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई जिल्ला, प्रदेशहुँदै राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसमेत राखिएको छ ।

प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेल प्रमुख अतिथि र केशवकुमार कार्की (माडे) अध्यक्ष थिए ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने नगरपालिका, प्रायोजक, सहयोगी संस्था, खेलाडी, रेफ्री, स्वयंसेवक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा दर्शकप्रति आयोजकले आभार व्यक्त गरेको छ ।