काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले देशको पर्यटन प्रवर्द्धनमा नयाँ शैलीमा जोडन दिन थालेको छ । परम्परागत शैलीलाई परिवर्तन गर्दै बोर्डले प्रविधि र कन्टेन्ट क्रिएटरमा जोड दिन थालेको हो ।
बोर्डले हालै मात्र विश्वका विभिन्न देशका चर्चित कन्टेन्ट क्रिएटरहरूलाई नेपालमा भ्रमण गराएको थियो । बोर्डले टिकटकसँगको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूलाई नेपाल भ्रमण गराएको हो ।
उनीहरूले पोखरा, चितवन र बर्दियामा भ्रमण गरेर कन्टेन्ट निर्माण गरी सामाजिक सञ्जालमा पोस्ट गरी विश्वबजारमा नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्नेछन् । यसबाट नेपालका गन्तव्य अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया जनाएका छन् ।
यसका साथै, बोर्ड नेपालका २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्ने योजनासहित नयाँ कार्यक्रमसमेत अगाडि सारेको छ ।
बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याएर त्यहाँको खानपान, भेषभूषा, ट्राभल, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा लाइफ स्टाइललगायत विधामा सक्रिय क्रिएटरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने योजना ल्याएको हो ।

यति मात्रै नभएर बोर्ड विश्वचर्चित सामाजिक सञ्जालसँग सहकार्य गरेर ‘भिजिट नेपाल’ नामक डिजिटल अभियान पनि सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको अभियानको उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने हो ।
यस अभियानअन्तर्गत टिकटकमा विशेष ह्यासट्याग पेज सञ्चालन गरिनेछ । नेपाली सेलिब्रेटी र स्थानीय कन्टेन्ट क्रिएटरसँग सहकार्य तथा पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिम पनि गरिनेछ । यो अभियान २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ ।
बोर्डले यसअघि पनि पर्यटन प्रचारलाई डिजिटल बनाउन पर्यटनमा टिकटकलगायत सामाजिक सञ्जाल प्रयोगको विषयमा तालिम सञ्चालन गरेको थियो ।
नेपालले पर्यटन प्रवर्द्धनमा नयाँ शैली अपनाउन नसकेको भन्दै आलोचना भइरहेका बेला बोर्डले डिजिटल माध्यम र विश्वभरी प्रभाव राख्न सक्ने कन्टेन्ट क्रिएटर तथा शेलीब्रेटीहरूको सदुपयोगका जोड दिएको छ । यो शैलीले नेपालका गन्तव्यहरूलाई विश्वमा चिनाउन टेवा पुग्नुका साथै स्वदेशमा पनि घुमफिरको परम्परालाई प्रेरित गर्ने विश्वास सरकारको रहेको छ ।