शनिवार विहानै कथा खोज्न गुल्मी जाने सल्लाह भएको थियो। घडीले ९ः३० बजाउँदा पनि मनीष पन्थ आएनन्। कलाकार बेनप्रसाद थापा र मूर्तिकार हरि वयम्वू मगर अघिल्लो साँझ नै गुल्मीका सत्यवती, ठूलो लुम्पेक पुगिसकेका थिए। विहानै गुल्मीतिर जाने भनेर सुटबूट कसेर बसेको थिएँ।
पर्खिनुको समय अत्यारिलो हुँदोरहेछ !
मनीषलाई दुईपटक एसएमएस गरेपछि मेरै घरमा आए। ढिलै भए पनि जाने निधो भयो। बुटवलको पाल्पा बसपार्कबाट विहान १०ः३० वजे हाम्रो भट्भटे यात्रा सुरु भयो। गुल्मी, रिडीमा रहेको तीनमुखे पुलमा पुग्दा दिनको १२ बजेर ५६ मिनेट गएको थियो। रुद्रवेणीमा पुग्दा एक बजेर नौ मिनेट गइसकेको थियो। रुद्रवेणीबाट करिव आधा किलोमिटर उत्तरतिर अघि बढेपछि दाहिनेतिरबाट ठूलो लुम्पेकतिर हानियौं। त्यहाँबाट करिव ११ किलोमिटर दूरी पार गरेपछि अस्लेवा हुँदै ठूलो लुम्पेक पुगिने रहेछ।
ठुलो ‘लुम्पेक’ गाउँ
ल्हुम्पेक खास नाम भए पनि चलनचल्तीको ‘लुम्पेक’ पुग्दा दिउँसोका दुई बज्नै आँटेको थियो। मनीषले हाँकेको भट्भटे एक्कासी अस्लेवामाथि डाँडोमा रोकियो। सायद यति लामो दूरीसम्म नरोकिइकन भट्भटे हाँकेको यो नै पहिलोपटक होला। कच्ची र ग्राभेल बाटो कटेपछि ठूलो लुम्पेक पुगेर बेनुलाई फोन गर्दा उनीहरू हचिङकोट दरबार क्षेत्रमा बुद्धको प्रतिमा राख्न फाउण्डेसन तयार गर्न थालेको थाहा पायौं।
बेनुको माल्दाइकहाँ खाना खाएपछि सत्यवती–३, ठूलो लुम्पेकको वडा कार्यालयमा आयोजित अन्तरपुस्ता सम्वाद तथा अभिमुखीकरण कार्यक्रम (जहाँ व्याचलर र डिग्री पढ्दै गरेका विद्यार्थी र पुराना पुस्ताबिचको छलफल कार्यक्रम)मा हाजिर भयौं। कार्यक्रम सुरु भइसकेको रहेछ।
आतिथ्यता ग्रहण गरी हाम्रोछातीमा अतिथिको बिल्ला भिरियो।
मनीषले वक्ता र सहजकर्ताका भिडियो खिचे।
मैले ‘माल्दाइ म पनि गाउँ आएँ’ शीर्षक कविता वाचन गरेपछि थपडी पाएँ। खुसीले मेरो नाक टिप्न बिर्सिएको घिरौंला जत्रो भयो। सायद मेरो कविताले सहभागीलाई सोडाको काम गरेको हुनुपर्छ।
खुमा सिंजाली बहिनीको ‘नमुछे आमा दहीमा टीका...’ बोलको गीतले सबैलाई भावुक बनायो। गायिका बहिनी भक्कानिएर रोइन् पनि।
युवा अभियन्ता पासाङ सिंजालीले सहभागीलाई शिक्षासम्बन्धि विषयमा प्रस्तुतिकरण दिइन्। उत्प्रेरक एवम् बहुमूल्य उनको सहजीकरणको उच्च प्रशंसा गरे धेरैले।
सामाजिक एवम् शैक्षिक युवा अभियन्ता पासाङ सिंजालीले सहभागीलाई शिक्षासम्बन्धि विषयमा प्रस्तुतिकरण दिइन्। उत्प्रेरक एवम् बहुमूल्य उनको सहजीकरणको उच्च प्रशंसा गरे धेरैले। यो उमेरमा उनमा देखिएको शैक्षिक लगावले पक्कै पनि ठूलो लुम्पेकको मात्र होइन, देशकै गौरव बढाउने छ। होनाहार युवाको त्यो किसिमको शैक्षिक सुझबुझ र प्रस्तुति शैलीले नयाँ आयाम थपेको थियो।
शैक्षिक नीति, योजना, कार्यक्रम र कार्यान्वयनलाई जनस्तरसम्म पुराउन कसले के गर्ने र रैथाने ज्ञान, सीप र व्यवहारसँग शिक्षालाई कसरी जोड्ने भन्ने विषय नै प्रभावकारी देखिन्थ्यो। ढुक्क भएर शालीन तरिकाले आफ्नो विषयवस्तुमा उनले देखाएको प्रतिभा नै काफी थियो।
पासाङको परिवारसँग
सोही कार्यक्रममा युवा अध्येयता तथा राजनीतिकर्मी खोमा तरामूले ठूलो लुम्पेकको कला, संस्कृति, सभ्यता र रैथानेबालीका बारेमा गहन विषयवस्तु प्रस्तुत गरेका थिए। पौने घण्टा बढी उनले धाराप्रवाह प्रवचन दिएका थिए। खोज, अध्ययन र अनुसन्धानमूलक उनको प्रिजेन्टेसनले सहभागीलाई आफ्नै गाउँ, ठाउँ चिन्ने सुनौलो अवसर प्रदान गरेको थियो। उक्त प्रस्तुतिलाई बुकलेटका रुपमा प्रकाशन गर्न सकिएमा धेरैले ठूलो लुम्पेकको इतिहास, वर्तमान र भविष्यका बारेमा जान्ने सुवर्ण अवसर प्राप्त गर्नेछन्।
काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक भुवन थापा बहुवीको मूर्तिकलामा खास दक्षता भएपनि चौतर्फी ज्ञानको दायराले उनलाई गाउँको हीरा बनाएको छ। उनले आफ्नो ज्ञान, सीप र क्षमता मात्र प्रदर्शन गरेनन् बरु नयाँ पुस्तालाई गाउँको सर्वाङ्गीर्ण विकासका लागि आफूहरु समर्पित हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका मुख्य वक्ता काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक भुवन थापा बहुवी थिए। बहुप्रतिभाका धनी उनले महालुम्पेकको अवधारणा प्रस्तुत गर्दै कला, साहित्य र सिर्जनाले नै आफ्नो गाउँको परिचय फराकिलो बनाउन सकिने तर्क पेस गरे।
बहुवीको मूर्तिकलामा खास दक्षता भएपनि चौतर्फी ज्ञानको दायराले उनलाई गाउँको हीरा बनाएको छ। उनले आफ्नो ज्ञान, सीप र क्षमता मात्र प्रदर्शन गरेनन् बरु नयाँ पुस्तालाई गाउँको सर्वाङ्गीर्ण विकासका लागि आफूहरु समर्पित हुनुपर्नेमा जोड दिए।
वडा नं. २ का वडाध्यक्ष खड्कवीर थापाले ठूलो लुम्पेकको श्रमशीलता, कर्मशीलता, मिलनसारिता र भावनामा एकरुपता छ भन्न्ने कुरालाई छर्लङ्गै पारे। उनले आफ्नो वडालाई ठूलो लुम्पेकको दाँजोमा उभ्याउन नसकेकोमा दुःख मनाउ समेत गरे। वडा नं ३ का वडाध्यक्ष जीतु तरामूले आफ्नो वडाको गौरव नै शिक्षित युवा, उनीहरूका ज्ञान, सीप र क्षमता रहेको वर्णन गर्दै युवा र पुरानो पुस्ताबिचको सम्वादले नै गाउँको विकास सम्भव हुने ठहर गरे।
जितु र शिल्पा तरामू
ल्हुम्पेक सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष हुमी सिंजालीले कार्यक्रमको बीट मारिन्। कार्यक्रम सकिएपछि चियापान। घुमाउने रोटी अर्थात् सेलरोटी, कुखुराको फुल र अचार खाएर बीट मारियो।
त्यतिबेला अस्ताउँदो सूर्यले पश्चिमतिर ओथारो बस्नै लागेको थियो। एक हजार छ सय २८ मिटर उचाइमा रहेका थानी बजैको काखमै रहँदा चिसो हावाले खुबै कान सेक्यो।
थानी बज्यैको थान
रातको गाँस र बासको प्रवन्ध बेनुले मालदाइकहाँ मिलाए। माल्दाइकी जेठी लाहुरेनी बुहारीले खुबै मिठास तरिकाले हाम्रो स्वागतसत्कार गरिन्। साथीहरूले जाडोको दबाइले पीर बिसाए। मैले भने कुखुराको मासुले दाँत बजाएँ।
भोलिपल्ट सखारै उठी थानीबजैलाई देव्रे पारेर सत्यवती गाउँपालिकाको वडा नं.२ को थुम्कातिर ओरालियौं। भुवन थापाको घरमा पुग्दा उनी जेठान लालबीरसँग कुरा गर्दै नातिनीलाई काखमा खेलाउँदै थिए। पुरानो घर, ठूलो आँगन, भान्साघरको बाहिर कलात्मक चित्र, ढुंगाका विभिन्न आकृति झुण्डाइएका थिए। हेर्दा लाग्थ्यो, उनको घर नै कलात्मक जीवित संग्रहालय जस्तो।
उनको जीवनकथालाई द रियल स्टोरीमा समावेश गर्न मनीषले क्यामेरा तेर्साए। कहिले मुडामा बसेर, कहिले बारीका पाटामा उभिएर, कहिले भान्साकोठा भित्रबाहिर घुमेर कथाका लागि आवश्यक फुटेज लियौं। घरका भित्तामा टाँगिएका प्रमाणपत्र, सम्मानपत्र, प्रशंसापत्र देखेर हामी चकित भयौं। सायद उनको कार्यविवरण र प्रगतिको प्रमाणका साक्षी बनेर बसेका थिए ती।
उनका बारीका पाटामा फर्सी पल्टिरहेका थिए। चटेला लहरामा झुण्डिरहेका। खुर्सानीले आकाश ताकेका । फूलले तिहार कुरिरहेका। भोगटेहरु नै रुखका लागि भारी बनेका भेटिन्थे। टिम्बूरले आफ्नो परिचय दिएको थियो। केराले थाम खोजेको भान भो। ग्रामीण जीवन रहर लाग्दो थियो। भैसीको मोहीले तिर्खा मेट्न प्रयास गरेका थियौं।

विहानको खानामा सिस्नु थियो। अचार च्वाट्ट। तिख्खर सागले मुखै रसायो। थपिथपि ग्रहण गरियो। सिस्नु थप्दै खाएका थिए छिमेकी बेनुले भसक्कै । प्राङ्गारिक खानाले मनै रमायो।
खाना खाइवरी हामी गाग्रीढुंगा, खुल्ला जाँतो संग्रहालय र हेलीप्याड हेरेर फर्किदा मध्यान्हको १२ बजिसकेको थियो। मन आत्तिएको थियो। हामीलाई पुग्नु थियो ल्हाँचे पल्लोखोला, पासाङको घरमा।
मोटरसाइकिलमा हुँइकिएर हामी ठूलो लुम्पेकतिर लाग्दै गर्दा बाटामा यामबहादुर थापाको ससुराली थुम्का, धनुबाँस कुलोमूनि पस्यौं। त्यहिनेर क्षितिजा राहादी, अमर सिंजापतिलाई समेत भेट्न अवसर मिल्यो। ठूलो लुम्पेकहुँदै हामी ल्हाँचे, पल्लोखोला पुग्दा दिनको एक बजिसकेको थियो। ओरालो तर गेग्रान कच्ची, ग्राभेल र आरसीसी गरिएको बाटो काटेपछि पासाङको घरमा पुगेका थियौं।
पासाङका बाबा एकोहोरो परिचित मेरा साथी रहेछन्। पासाङको परिवारले हामीलाई फूलको गुच्छाले भव्य स्वागत र सम्मान ग¥यो। उनका बाबा भरतजीसँग करिब चार वर्षअघि दाङको कुनै कार्यक्रममा भेटिएका रहेछौं हामी। कुराकानी र चियापानी खाँदै गर्दा उक्त कुराको मालुम भो।
तार्किक एवम् धाराप्रवाह रुपमा उनले मेरा प्रश्नका जवाफ फर्काएकी थिइन्। मनमा लागेका र भन्न मिल्ने जति कुरा उनले भनिन्। कतिपय व्यक्तिगत प्रश्नले उनलाई असहजता महसुस गराएको हो कि भन्ने मेरो मनमा शंका रह्यो।
सामाजिक एवम् शैक्षिक युवा अभियन्ता पासाङ सिंजालीसँग उनको जीवन, संघर्ष र सफलताका लागि चालिएका कदमका बारेमा करिव तीन घण्टा द रियल स्टोरीका लागि भिजुअल् कुराकानी गर्यौं। मन्टेश्वरी शिक्षा, नेपालको बालशिक्षा, रैनाथे ज्ञान, सीपसँग कसरी जोड्ने विषयमा मात्र होइन, उनले व्यतित गर्दै गरेकोे वर्तमान जीवनका अनेक पाटामा गहन वार्ता गरेका थियौं।
तार्किक एवम् धाराप्रवाह रुपमा उनले मेरा प्रश्नका जवाफ फर्काएकी थिइन्। मनमा लागेका र भन्न मिल्ने जति कुरा उनले भनिन्। कतिपय व्यक्तिगत प्रश्नले उनलाई असहजता महसुस गराएको हो कि भन्ने मेरो मनमा शंका रह्यो। तर उनमा मैले कुनै पनि असहजता र अमिलोपना देखिनँ। त्यो नै उनको खास गुण रहेछ। जे आउँछ, सहजै पचाउने उनको बानी र पाचक उस्तैउस्तै लाग्यो मलाई।
कोजाग्रत पूर्णिमाको अघिल्लो दिन हामीले उनको घरमा खीरसँगै खाजा खायौं। बेनु र हरि आत्तिएर हचिङकोटतिर लागे हामीलाई छाडेर। हामीले बाँकी दृश्य खिच्यौं। पासाङको परिवारसँग मनीष र मैले फोटो खिच्ने अवसर मिल्यो। त्यतिबेला हाम्रा खुसीले पहाड चढेका थिए।
हार्दिकतापूर्ण विदाइसँगै ठूलो लुम्पेकको सामुदायिक होमस्टेमा भेट्ने वाचाका साथ छुट्टियौं।
साँझपख ठूलो लुम्पेकको सामुदायिक होमस्टेका दिदीबहिनीले हामीलाई स्वागत गरे। करिव डेढघण्टा जति होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धि तालिमको सहजीकरण गर्ने अवसर मिल्यो। दिदीबहिनी हतारमा भएका कारण मेरो मनपनि स्थीर हुन सकेन। जेजति समय तालिम भयो, उपलब्धिपूर्ण भएको सहभागीले बताए। एकछिन बेनु, पासाङलगायतका साथी मादल र गीतको तालमा नाँचे।

कलाकार सुमित्रा रानाको माइतीघरमा रातिको खाना खाइयो। सुत्न भने माल्दाइकहाँ पुगियो।
यात्राको तेस्रो दिन हचिङकोट ऐतिहासिक दरवार संरक्षण क्षेत्रमा पुग्दा विहानको आठ बज्नै लागेको थियो। कलाकार बेनुले आफ्ना बाबा बलबहादुर थापा र आमा खगी अनि भाइ बाबु थापाको स्मृतिमा बुद्ध प्रतिमा स्थापना गरेका थिए। सोही अवसरमा स्थानीय प्रकाश राना, जुक्तबहादुर थापा, केशव रानालगायतका इष्टमित्रको सहभागितामा बुद्धको प्रतिमा राखिएको थियो। पूजापाठ गरि बेनुले कार्यक्रमलाई अघि बढाउँदा भावुक भए उनी।

हामीले कार्यक्रम घुम्दैफिर्दैका लागि भिजुअल् तयार पार्यौं। हचिङकोेटमा रहेको भग्वनावेश दरवार, टिकटक पार्क, यहाँ भइरहेका भौतिक निर्माण, गुराँस महोत्सव गर्ने विषयमा स्थानीयसँग घुम्दैफिर्दै कार्यक्रम तयार बनाइयो। फर्किदा ड्रोन छाडेर पो आइएछ।
थुम्का गाउँ
माल्दाइकहाँ खाना खाइवरी पाती हाल्ने सेनी दिदीको स्टोरी खिच्न उनकै घरमा गइयो। उनको खास नाम नर्मी राना मगर रहेछ। ७६ वर्षीया नर्मी रानाको संघर्षपूर्ण जीवन, लाहुरबाट भागेका आफ्ना श्रीमान, नौ पढ्दै गर्दा मेननजाइटीसका कारण जेठो छोरोले श्रवणशक्ति गुमाउनुको पीडा कम्तिको छैन। शारीरिक अपाङ्गताभित्रको सशक्त ब्यक्तित्व नर्मी रानाको बटौलीसम्मको नून–तेल यात्रा रोमाञ्चक लाग्यो। मोहोरमा किनेको चप्पल घरि खुट्टामा घरि हातमा लगाएर हिँड्दाको किस्सा रोचक छ। बारुले गीत गाइन्। मीठो स्वर।
दर्जन सन्तान जन्माए पनि आठजना जीवित रहेछन्। सन्तानको पालनपोषण, शिक्षादीक्षा, स्वास्थोपचारका लागि उनले हड्डी घोटिन्। कहिले भैसी पालिन्, कहिले चिया बेचिन्। तन्दुरुस्त र टाठी नर्मी रानाको कथालाई द रियल स्टोरीमा समावेश गर्न पाउँदा खुसी छौं।
पूर्णिमाको साँझपख हिमालय युवा क्लवले आयोजना गरेको भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हेर्न गइयो तर भीडका कारण धेरै बेर बस्न कठिन भो। सुमित्राकी आमा, निर्मलाको जीवनकथालाई रेकर्ड गर्न उनको निवासतिर लाग्यौं।
निर्मला आमैको द रियल स्टोरी प्रसारण भइसकेको छ । धेरैले हेरेर प्रतिक्रिया दिइरहेका छन्। सकारात्मक पृृष्ठपोषणले हामी प्रफूल्लित छौं। ७२ वर्षीया निर्मला आमाले पाँच पास भएपछि चार महिना शिक्षण सेवा गरिन्। महिला स्वास्थ्य स्वयमसेविका भइन्। सुँढेनी बनेर गर्भवती महिलालाई सहयोग गरिन्। महिला मण्डल खोलेर महिला सशक्तिकरणमा टेवा पुराइन्। भूमिगतकालीन अवस्थाममा नेतालाई ताउलोभरि खाना पकाएर खुवाइन्। सेवा गरिन्। सुरक्षा दिइन्। तर उनमा कत्ति पनि केही गुनासो छैन।
निर्मला आमा
आमाले अत्यन्तै रोचक पारामा प्रश्नका जवाफ दिएकी छिन्। अभिनयमा समेत पारङ्गत उनलाई फिल्ममा खेलाउने हो भने उत्तम अभिनय गर्न सक्छिन् भन्ने कुरा फिल्मनिर्देशक मनीषले बताए।
सुमित्रा, केशव, बालचन्द्र, निलिमा, लोकबहादुर सरसँग बिदा मागेर माल्दाइकहाँ खाना खाएर सुत्न पुग्यौं। यसपालि बुढी सत्यवती जान नपाइने कुराले मनमा दुःख लाग्यो। तैपनि मन बुझाउने काम भयो। भोलि बिहानै बुटवल झर्ने सुन्दर सपना साँचेर राति ११ वजेतिर सुत्यौं।