शनिवार साँझको ७ः३८ मिनेट जाँदै थियो। ‘घुम्ने किताव कार्यक्रम’की सञ्चालक सरिता श्रीसको मेसेञ्जरमा फोेन आयो–दाइ पाल्पा, तिनाउको डुम्रेमा पहिरो गएरको कारण तिनाउ नदि थुनियो रे ! के यो सत्य हो? साथीहरुले फेसबुकमार्फत् यस्तो सूचना प्रवाह गरेको कुरा सुनाइन्। म अवाक भएँ। मैले सम्बन्धित क्षेत्रका साथीसँग सम्पर्क गरेर सूचना दिन्छु भनें।

पाल्पा, डुम्रेमा रहेको मस्याम एकीकृत क्याम्पसका क्याम्पस प्रमुख गोपाल श्रेष्ठसँग कुरा गरें। उनले आफू भरखरै डुम्रेक्षेत्र डुलेर घर आइपुगेको, यस क्षेत्रमा कुनै पनि पहिरो नगएको, भीषण वर्षा समेत नभएको जानकारी दिएपछि मेरो मन हलुङ्गो भो। त्यसैगरी मैले महिला उद्यमी माया दर्लामी मगरसँग बाढी र पहिरोको बारेमा जिज्ञासा राख्दा उनले आफ्नो घर डुम्रेखोलाकै नजिक भए पनि कुनै समस्या नआएको, यताकतै पहिरो नगएको, बाढी नआएको र खोला नथुनिएको खबरले ‘फेसबुके पहिरो र बाढी’ मात्र रहेछ भन्ने हेक्का भयो।
रातभर सुत्नै नसकिने गरी गरिएका अनावश्यक हल्लाहरूले शारीरिक एवम् मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने देखिन्छ।
थप औपचारिक जानकारीका लागि जोरधारमा रहेका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठसँग सम्पर्क गरेर झुम्साखोला थुनिएको, त्यहाँ कतै पहिरो गएको हो र भनी जिज्ञासा राख्दा उनले त्यस्तो नभएको, झुम्सामा रहेको सशस्त्र प्रहरी बलले खोलामा निगरानी निरन्तर गरिरहेको तर यतिबेला यहाँ बिजुली नभएको कारण रातमा टर्च बालेर खोलातिर हेर्दा नथुनिएको बताए।
झुम्सामा रहेका महेन्द्र पाण्डेय, टंक बस्याल, गोविन्द पाण्डेयसँग लगातार सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन। मोबाइलमा कुराकानी हुने कुरै भएन। झुम्साकै गणेश पाण्डेय र सुसन पुरीसँग बाढी र आकासेपानीका बारेमा कुरा भो। दिउँसोको तुलनामा बाढी र आकसेपानी धेरै परेको उनीहरूले बताएपछि मैले आफ्नो फेसबुकवालमा जानकारीका लागि भनेर एउटा स्टाटस लेखें। त्यो स्टाटसले धेरैलाई राहत दिएको हुनुपर्छ। तिनाउ नदी थुनिएको र डुम्रेमा गएको भनिएको पहिरो हल्ला रहेछ भन्ने सबैले थाहा पाए। सूचनाको शक्ति कति हुँदोरहेछ र सही सूचनाले मानिसलाई कति राहत र गलत सूचनाले कति आहत पुराउँदो रहेछ भन्ने कुरा सोही स्टाटसमा लेखिएको कमेन्ट र गरिएको सेयरबाट हेक्का भयो मलाई।

त्यसपछि मैले जल मापनका लागि मौसम पूर्वानुमान शाखाले तिनाउ खोलामा (दोभाननजिकै) राखेको पानी नाप्नेयन्त्र र यसको व्यवस्थापन एवम् संयोजनमा सहयोग गर्ने दोभान माविका शिक्षक सन्तोष शेरचनसँग सम्पर्क गर्दै प्राप्त सूचनालाई फेसबुकमार्फत् प्रवाह गर्न थालें । त्यसका लागि दोभानमै रहेर सिद्धबाबा मन्दिर विकास समितिका सचिव विष्णुप्रसाद पाण्डेयले गरेको सहयोगका कारण बाढीको वहाव र मापनलाई छिनछिनमा जानकारी गराउँदै जान पाएँ। धेरै पत्रकार, राजनीतिज्ञ, सामाजिक व्यक्तित्वहरूले मेरो सोही जानकारीमूलक स्टाटसहरूलाई सेयर गर्ने, साभार गर्ने र अन्य व्यक्तिलाई समेत जानकारी दिने काम गरे। राति ११ बजे तिनाउमा बाढीको वहाव ६ः६२ मिटरसम्म पुग्यो। ७ मिटर पुगेपछि उच्च जोखिम हुने सन्तोषले बताइरहेछ।
पाल्पा, कचलतिरबाट आउने खोलालाई दोभान खोला र पाल्पा, तानसेन, माडीतिरबाट आउने खोलालाई झुुम्सा खोला भनिन्छ। यही खोला दोभानको डुमै भन्ने स्थानमा आएर मिसिन्छ। त्यहाँबाट बुटवलतिर बग्दै आउँदा यसलाई तिनाउ नदि भनिन्छ। गतराति रैनादेवी–छहरा, कचल, ओखलढुंगा, बगाह, खुर्साने, झ्याङ्गला, चिसापानीतिर पानी कम परेको कारण दोभान खोलामा बाढी आएन नत्र झुम्साखोलाजत्रै दोभानखोला उर्लिएको भए बुटवलमा सम्भावित ठूलै घटना घट्न सक्थ्यो। संयोगले दोभानखोला नबढेको कुरा संरक्षणकर्मी राजेश श्रेष्ठसँगको कुराकानी र मोबाइल सम्पर्कबाट जानकारी लिँदा थाहा पाएको थिएँ। भूतखोलामा पानीको कस्तो अवस्था थियो भनी दिलकुमारी दिदीसँग जानकारी लिएँ। सिद्धबाबा नजिकैको अबस्था बुझ्न सिद्धबाबा मन्दिरमा रहेका नारायण, लक्ष्मी गुरु, फूलप्रसादी व्यवसायी गोरखनाथ कानूसँग मोबाइल टावरको अभावले कुराकानी गर्न सम्भव रहेन।

राति सवा १२ बजेसम्म सन्तोष र विष्णुसँग पानीको मापन लिने काम भइरह्यो। पछि सम्पर्क हुन सकेन। उनीहरू तिनाउ रिसोर्ट नजिकै गएर झुम्साखोला खिच्न थालेका रहेछन्। राति सवा १ बजे उनीहरूले मेसेञ्जरमा फोटो पठाए। रिसोर्ट नजिकै तारजाली लगाएको स्थानमा झुम्साखोला पुगेको उनीहरूले बताए। जोखिम मोलेर भए पनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उनीहरूले दिएको सही सूचनाले सतर्क रहन मद्दत पुरायो।
सम्भावित घटनाबाट जोगिनका लागि तिनाउ नदीका किनारमा रहेका केही घरपरिवारलाई बुटवलको कान्ति माविमा प्रहरीमार्फत् दिउँसै सारिएको थियो। राति आएको बाढीले बुटवल–११, टप मझुवामा रहेका पाँच घरहरूलाई बगाएर लगिदियो। करिब ४ घर पूर्णक्षति भएका छन्। नदीले धेरै नै कटान गरेको रहेछ। बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार गत वर्ष समेत उक्त क्षेत्रमा बाढीले स्थानीयलाई घरबारविहीन बनाएको, वडाले सहयोग पु¥याएको बताए। औद्योगिक कोरिडोर क्षेत्रमा रहेका ती सबै घरलाई अन्यत्र व्यवस्थापन गर्न सकेमा धनजनको सुरक्षा हुन सक्ने उनको तर्क थियो।
तिनाउ नदीको बीचमै सुकुम्बासी बस्ती बसाउने, पानीधाराको प्रवन्ध गर्ने, बाटो, खेलमैदानको व्यवस्थापन गर्ने, विजुली पु¥याई भोट बैंक बनाउने काम जसले गरेपनि निन्दनीय नै छ। उल्टै लालपूर्जा दिन्छु भनेर नेता बन्ने काम जो जसले गरे पनि शोभनीय रहेन। बाढी आउनेबेला त्यहाँको बस्तीलाई अन्तकतै व्यवस्थापन गर्ने भन्ने, अरुबेला चुपचाप लाग्ने संस्कारले छेपारोको कथालाई सम्झाउँछ।

पाल्पाको पूर्वखोला वडा नं.४ देवीनगर, लेमधेम र पाल्पा रैनादैवी–छहराको वडा नं.४ मेहल्धापमा नै तिनाउ नदीको मुहान छ। मुहानदेखि दशगजासम्म करिब ९७ किलोमिटर बग्ने तिनाउ नदी संसारकै सानो नदि भए पनि बहुप्रयोगी नदी हो। यही नदिबाट लघुजलविद्युत निकालिएको छ। खानेपानीको प्रबन्ध भएको छ। यही तल्लो तटीयक्षेत्रमा सिंचाइको प्रबन्ध मिलाइएको छ। तल्लो तटीय क्षेत्रका स्थानीय सरकारले तिनाउले बगाएका ढुंगा, गिट्टी, बालुवा बेचेर बर्षेनी करौडौँ राजस्व संकलन गरिरहेका छन्। तर, सोही राजस्वबाट उठेका पैसाले तिनाउ नदी व्यवस्थापनका लागि कति रुपैयाँ खर्चिएका छन्? माथिल्लो तटीय क्षेत्रको वन, वातावरण र जैविक विविधता संरक्षणमा कति रुपैयाँ सहयोग गरेका छन् ? वातावरणीय सेवा भुक्तानी ऐन बन्न नसक्दा यो कुराले प्राथमिकता पाउन सकिरहेको छैन।
बुटवल नजिकै तिनाउ नदि क्षेत्रमा रहेका कैयौं मानिसले ढुंगा, गिट्टी र बालुवा बोकेर ज्यान पालेका छन्। नदी किनारमै झुप्रो हालेर जीवन गुजारेका छन्। नदीबाट उठेको राजस्वले उनीहरूको जीवन सुरक्षा र जीविकोपार्जनमा केही सहयोग गर्न सकिन्न? प्रश्न यही छ। वर्षामास् सधैं भागाभाग गर्नुपर्ने, ज्यान जोखिममा राख्नुपर्ने, सरकारले राहत बाँड्न बाध्य हुनुपर्ने कुराले राम्रो सन्देश दिएकै छैन।
नेपाल मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुने र बाढीपहिरो जान सक्ने कुराको जानकारी दिइरहे पनि अनावश्यक हल्ला र कूप्रचारका कारण नागरिक बढी त्रसित हुने अवस्था सिर्जना गरिनु शोभनीय हुँदैन। यसका लागि आधिकारिक निकाय र संस्थालाई थप जिम्मेवारी बनाउनुपर्ने अबस्था देखियो।
रातभर सुत्नै नसकिने गरी गरिएका अनावश्यक हल्लाहरूले शारीरिक एवम् मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने देखिन्छ।