काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । आइतबार दिउँसो काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली पुगेका बालेन २८ घण्टामा राजकीय भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश फिर्ता भएका हुन् ।
दुई मन्त्रीसहित ३५ सदस्यी प्रतिनिधिमण्डको नेतृत्व गरेर भारत पुगेका बालेनले आफ्ना समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे । यस क्रममा नेपाल र भारत सरकारबीच २४ बुँदे सहमति भएको छ । बालेनको भारत भ्रमणमा नेपालले गरेका २४ बुँदे सहमतिमध्ये तीन बुँदा नेपालको पर्यटनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने खालका छन् ।
नेपाल–भारतबीच भएको सहमतिपत्रको आठ नम्बर बुँदामा हवाई सम्पर्कसम्बन्धी सहमति भएको छ । उक्त बुँदामा काठमाडौं–भैरहवा–लखनउबीच हाल सञ्चालनमा रहेको एकतर्फी बी ३४५ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ । यो सहमति कार्यान्वयन भएमा उक्त रुटमा दुईतर्फी उडान हुनेछ । यसबाट नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने देखिन्छ । यो रुटमा नियमित रूपमा दुईतर्फी हवाई उडान सञ्चालन भएमा खासगरी लुम्बिनी क्षेत्रमा पर्यटक बढ्ने देखिन्छ ।

त्यस्तै, दिल्लीमा भएको बालेन र मोदीबीचको उच्चस्तरीय वार्तापछि अयोध्या र जनकपुरबीच सञ्चालन हुने सर्यू–कमला एक्सप्रेस रेल सेवाको औपचारिक उद्घाटन भएको छ । यसबारे सहमतिपत्रको ११ नम्बर बुँदामा उल्लेख गरिएको छ ।
यो रेल सेवाले नेपालको जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण शहर तथा बस्तीहुँदै यात्रा गर्नेछ ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम स्टेसन रहनेछन् भने जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाममा व्यावसायिक प्रयोजनका लागि रेल रोकिनेछ ।
यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ । नयाँ रेल सेवाले नेपाल र भारतबीच सीमा पार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकलाई यसबाट प्रत्यक्ष लाभ पुग्नेछ ।
बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै रेल सम्पर्क विस्तारको सम्भावना खोज्ने सहमति पनि भएको छ । यो सहमति पनि ११ नम्बर बुँदामा उल्लेख छ ।
त्यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार सवारीसाधन आवतजावत गर्न मिल्ने पुलको आजै उद्घाटन भएको छ । यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सुधार गर्न सहयोग पुग्नेछ ।

साथै, नेपाल र भारतबीच पूर्वाधार विकास र विस्तारका लागि सहमति भएको छ । यी सहमतिले पनि पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा टेवा पुग्ने देखिएको छ ।
प्रधानमन्त्री बालेनको भ्रमणको पहिलो दिन नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, भारतीय उद्योग परिसंघ (सीआईआई) अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीसहित दुवै देशका उद्योगी व्यवसायीको सहभागितामा ‘इन्डिया–नेपाल बिजनेस राउन्ड टेबल’ कार्यक्रम भएको थियो । नेपालका पर्यटन व्यवसायीहरूसमेत सहभागी उक्त कार्यक्रममा अर्थमन्त्री वाग्लेले भारतका उद्योगी व्यवसायीलाई नेपाल लगानीका लागि उर्वर ठाउँ भएको बताउँदै लगानी गर्न आह्वान गरेका थिए । यसमा पनि भारतका उद्योगी व्यवसायी नेपालका पर्यटन क्षेत्रमा लगानी गर्न सक्ने अपेक्षा गरिएको छ ।