गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकमा रहेको सत्यवती क्षेत्र समुद्री सतहदेखि करिब दुई हजार एक मिटर उचाइमा रहेको पहाडी भूभाग हो। यस क्षेत्रको आफ्नै भौगोलिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचान छ। मगर र दलित समुदायको उल्लेख्य बसोबास रहेको यस भूगोलमा श्रम, संघर्ष, परम्परा र सामुदायिक जीवनका अनेकौँ आयामहरू भेटिन्छन्।

समशीतोष्ण तथा शीतोष्ण हावापानी रहेको यस क्षेत्रमा ऋतु परिवर्तनसँगै प्रकृतिका फरकफरक रूप देख्न पाइन्छ। फागुनदेखि भदौसम्म करिब १० देखि २८ डिग्री सेल्सियस र असोजदेखि माघसम्म ५ देखि २५ डिग्री सेल्सियससम्म तापक्रम रहन्छ। यहाँको पहाडी परिवेश, प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले सत्यवतीलाई आफ्नै विशिष्ट पहिचान दिएको छ।
सत्यवती बज्यूसँग जोडिएको जनविश्वासअनुसार यहाँ चिच्याएर वर माग्दा पूरा हुन्छ। विशेषगरी सन्तान प्राप्ति, सुख, शान्ति, समृद्धि लागि भक्तजनहरू यहाँ पुगेर मनोकामना व्यक्त गर्छन्।
सत्यवती मेरो स्मृतिमा एउटा धार्मिक स्थल वा पर्यटकीय गन्तव्यका रूपमा मात्र छैन। यो त मेरो बालापन, पारिवारीक सामूहिकता, पुर्खाहरूका पदचाप र समयसँगै फेरिँदै गएको हाम्रो सामाजिक जीवनको एउटा सुन्दर दस्तावेज समेत हो।
सत्यवतीको मन्दिर
सत्यवती बज्यूसँग जोडिएको जनविश्वासअनुसार यहाँ चिच्याएर वर माग्दा मनोकामना पूरा हुन्छ। विशेषगरी सन्तान प्राप्ति, सुख, शान्ति, समृद्धि लागि भक्तजनहरू यहाँ पुगेर मनोकामना व्यक्त गर्छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमामा यहाँ परम्परागत मेला लाग्छ। धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र प्रकृतिको अनुपम सौन्दर्य बोकेको यस स्थलले पर्यटकीय महत्व समेत प्राप्त गरेको छ।
नेपालका सय पर्यटकीय गन्तव्यमा सूचीकृत यस क्षेत्रको पहिचान धार्मिक विश्वासमा मात्र सीमित छैन। कतिपय ठाउँहरू केवल भूगोलमा सीमित हुँदैनन्। ती ठाउँसँग हाम्रो बालापन जोडिएको हुन्छ, पुर्खाहरूका पदचाप मिसिएका हुन्छन्। परिवारको सामूहिकता गाँसिएको हुन्छ र जीवनका अविस्मरणीय अनुभूतिहरू सञ्चित भएका हुन्छन्।
सत्यवती मेरो स्मृतिमा त्यस्तै एउटा ठाउँ हो, जहाँ पुग्दा म एउटा धार्मिक स्थलमा पुगेको महशुस मात्र गर्दिनँ, बरु आफ्नै बालापन, आफ्ना पुर्खाहरू र समयले छोडेर गएका अनेकौँ दृश्यहरूसँग फेरि एकपटक भेटिरहेको अनुभूति गर्छु।
फूलहरू तैरिएका पोखरीमा भक्तजनहरू पजारी बाजेको कान नजिक पुगेर तिर्थालुहरू खुसखुसाउँथे। बाजे पोखरीको पानीमा हात डुबाएर फूलहरू टिप्नुहुन्थ्यो र भक्तजनले सुनाएका मनोकामनाअनुसार ठूलो स्वरमा सत्यवती बज्यूसँग आशीर्वाद मागि दिनुहुन्थ्यो।
पूजारी बाजे
सत्यवती मेलाको सम्झना गर्दा सबैभन्दा पहिले मेरो मानसपटलमा एउटा दृश्य आउँछ, पूजारी बाजे, उहाँको गलामा झुण्डिएका रुद्राक्ष मालाहरू, तल धोती बेरेर माथिल्लो शरीर अनावृत राख्दै र शिरमा कपाल नभएको स्वरूप। उहाँको हातमा फूलहरू हुन्थे। मन्दिर अलि वर सानो पोखरी थियो। धमिलो पानी माथि फूलहरू तैरिएका पोखरीमा भक्तजनहरू पजारी बाजेको कान नजिक पुगेर आफ्ना मनोकामना बिस्तारै खुसखुसाउँथे। कसैले सन्तान माग्थे, कसैले सुख, शान्ति र समृद्धि, त कसैले आफ्नो मनमा साँचेका अरू नै इच्छा। बाजे पोखरीको पानीमा हात डुबाएर फूलहरू टिप्नुहुन्थ्यो र भक्तजनले सुनाएका मनोकामनाअनुसार ठूलो स्वरमा सत्यवती बज्यूसँग आशीर्वाद मागि दिनुहुन्थ्यो। उहाँको चर्को आवाजमा विभिन्न मनोकामनाहरू गुञ्जिन्थे। फूल पानीमा भिजाएर भक्तजनलाई थमाइ दिनुहुन्थ्यो।

हामी साना केटाकेटी भने अलि पर उभिएर टुलुटुलु हेरिरहन्थ्यौँ। कसले के माग्दै होला? कसको मनमा कस्तो इच्छा होला? पूजारी बाजेले अब के भनेर चिच्याउनुहोला? भन्ने कौतूहलले हामीलाई त्यहीं अल्झाइरहन्थ्यो। अरूका मनोकामना सुन्ने त्यो बालसुलभ उत्सुकता र दृश्य हेरेर रमाउने आनन्द पनि मेलाको आफ्नै छुट्टै आकर्षण थियो। आज सम्झँदा लाग्छ, त्यो केवल धार्मिक अनुष्ठान हेर्नुको रमाइलो थिएन बरु मानिसका आस्था, विश्वास र मनका अनगिन्ती आकाङ्क्षाहरूलाई नजिकबाट नियाल्ने एउटा बाल्यकालीन अनुभव पनि थियो।
विद्या दिनुहोस् बज्यै
हामी फूल माग्थ्यौं। अनि पुजारी बाजेले ठूलो स्वरमा ‘सरस्वती, सत्यवती बज्यू, विद्या दिनुहोस्।’ भन्दै फूल दिनुहुन्थ्यो। त्यो क्षणमा उहाँको आवाज, पानीमा भिजेका फूल र हाम्रो बालसुलभ विश्वासबीच एउटा अनौठो सम्बन्ध स्थापित हुन्थ्यो। साँच्चै त्यो आशीर्वादले हाम्रो जीवनमा ज्ञानको उज्यालो थपिदिनेछ जस्तो लाग्थ्यो। त्यो एउटा बालमनले आशीर्वाद र विश्वासको अर्थ बुझ्न थालेको एउटा सुन्दर सुरुवात पनि थियो।
-1795335628.jpeg)
मन्दिरमा पूजा सकेपछि भने मेलाको अर्को संसार सुरु हुन्थ्यो। तलको चौरमा विभिन्न खेलहरू हुन्थे। गाउँगाउँबाट आएका ठूला समूहहरू आआफ्नै मौलिक पहिरनमा छमछमी नाचिरहेका हुन्थे। मादलका तालसँगै झ्याउँरे गीत, ठूलो नाच गुञ्जिन्थे। दाजुभाइ तथा दिदीबहिनीहरू आफ्ना कला, संस्कृति र पहिचान प्रदर्शन गरिरहेका हुन्थे। कतै परेवा उडाइन्थे, कतै बाख्रा र परेवा बोकेर भक्तजनहरू मन्दिरतिर लागिरहेका हुन्थे। परिवारका परिवार, गाउँका गाउँ, आफ्नै मौलिक पहिचान बोकेर मेलामा उपस्थित हुन्थे।
त्यो बेलाका मेलाका सबै दृश्य सुन्दर मात्रै थिएनन्
पुर्खाहरूका अनुभव र अग्रजहरूबाट सुनेका कथाहरूमा सत्यवती मेलाको अर्को पाटो पनि छ। पहिले मानिसहरू राति नै मेलामा पुग्ने गर्थे रे! कतिपय टोलीहरू शक्ति प्रदर्शन गर्न, रुख उखेल्न, भाँच्न र आपसमा भिड्नकै लागि जाने गर्थे रे! झगडा र लडाइँ पनि मेलाको एउटा चर्चित प्रसङ्ग हुने रहेछ। पछि हामी सानै हुँदा पनि केही मानिसहरू माथिल्लो शरीरको लुगा खोलेर, उत्तेजित हुँदै हिँडेको र आपसमा भिडेको दृश्य देख्थ्यौं।
त्यहाँ एउटा ठूलो पछ्यौरी वा कपडा फिँजाइन्थ्यो। अनि घरबाट ल्याइएका खानेकुरा सजाइन्थे। कसैको कोदाको रोटी, कसैको सेलरोटी, कसैको भुटेका भात, कसैको उसिनेको सखरखण्ड, कसैको मकै।
त्यस्ता दृश्यले बालमनमा एउटा अनौठो डर पैदा गथ्र्यो। मनमा प्रश्न उठ्थ्यो—मानिसहरू किन यसरी लडिरहेका होलान्? रमाइलो गर्न आएको मेलामा झगडा नगरे पनि त हुन्थ्यो नि! वरिपरिका मानिसहरू भने कतिपय अवस्थामा त्यसलाई सामान्य घटनाझैँ हेरेर बसिरहेका हुन्थे। मेला, धार्मिक आस्था र सांस्कृतिक उत्सवसँगै जोडिएका यस्ता व्यवहारले त्यस समयको सामाजिक चेतनाको एउटा पाटो पनि देखाउँथे।

समय सधैँ एकै ठाउँमा अडिँदैन। मानिसको सोच बदलिन्छ, समाज बदलिन्छ र संस्कार तथा परम्परालाई हेर्ने दृष्टिकोण पनि विस्तारै परिष्कृत हुँदै जान्छ। सत्यवती मेला पनि त्यसैगरी परिवर्तनको यात्रामा अघि बढेको देखिन्छ। पहिलेका अनियन्त्रित गतिविधिहरू क्रमशः घट्दै गए। व्यवस्थापनले प्राथमिकता पाउन थाल्यो। धार्मिक आस्था र जनविश्वासलाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रमहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने अभ्यास विकसित भयो।
सत्यवती बज्यूका विषयमा रहेका जनश्रुति, किंवदन्ती र विश्वासहरूलाई लिखित रूपमा अभिलेखीकरण गर्ने तथा खोज अनुसन्धान गर्ने कामले पनि यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व बुझ्न थप आधार दिएको छ।
सत्यवतीसँग जोडिएको मेरो सबैभन्दा प्रिय स्मृति
त्यो हो बिहान चार बजे उठेर परिवारसँगै सत्यवती जाने तयारी। भोलिपल्ट सत्यवती जाने कार्यक्रम छ भने अघिल्लो दिनदेखि नै घरमा छुट्टै उत्साह सुरु हुन्थ्यो। सखरखण्ड र तरुल उसिन्ने, सेलरोटी बनाउने, भुटेका भात तयार गर्ने र यात्राका लागि खानेकुरा पोको पार्ने। दिदी, दाइ, आमा, बाबासहित सबै जना बिहानै उठेर जाने तयारीमा जुट्थ्यौं। अँध्यारोमै बत्ती बालेर घरबाट निस्कँदा लाग्थ्यो, हामी केवल एउटा मेलामा होइन, एउटा विशेष उत्सवमा सहभागी हुन जाँदै छौं।
सबैभन्दा सुन्दर कुरा त्यो सामूहिक यात्रा थियो। कोही अगाडि, कोही पछाडि, कोही बाटोमा भेटिने, कोही कुरेर बस्ने। गाउँका दिदीबहिनी, दाजुभाइ र परिवारहरू सँगसँगै हिँड्थे। त्यो यात्रामा कसैलाई एक्लोपन महशुस हुँदैनथ्यो। बाटोको थकानभन्दा भेटघाटको उत्साह ठूलो हुन्थ्यो।
बुढी सत्यवती वा सानो सत्यवतीसम्म पुग्ने आआफ्नै गन्तव्य हुन्थे। मन्दिरमा पूजा गरेपछि वरिपरि घुम्ने, दृश्य हेर्ने र अन्ततः जङ्गलछेउको कुनै खुला चौरमा गएर बस्ने हाम्रो अर्को नियमित कार्यक्रम हुन्थ्यो। त्यहाँ एउटा ठूलो पछ्यौरी वा कपडा फिँजाइन्थ्यो। अनि घरबाट ल्याइएका खानेकुरा सजाइन्थे। कसैको कोदाको रोटी, कसैको सेलरोटी, कसैको भुटेका भात, कसैको उसिनेको सखरखण्ड, कसैको मकै। सबैले आआफ्नो भाग निकाल्थे र एकअर्कालाई बाँड्थे। गोलो घेरा बनाएर बसेका हामी सबैले थोरैथोरै खानेकुरा साटासाट गर्दै खान्थ्यौं।
कतिपय टोलीहरू शक्ति प्रदर्शन गर्न, रुख उखेल्न, भाँच्न र आपसमा भिड्नकै लागि मेलामा जाने गर्थे रे! केही मानिसहरू माथिल्लो शरीरको लुगा खोलेर, उत्तेजित हुँदै हिँडेको र आपसमा भिडेको दृश्य देख्थ्यौं।
आजका महँगा होटल र आकर्षक परिकारसँग तुलना गरेर त्यो भोजनको मिठास बुझाउन सकिँदैन। त्यसको स्वादमा गाउँले सम्बन्धको न्यानोपन थियो र साझा खुसीको मिठास थियो। सायद त्यसैले आज पनि मलाई त्यो सामूहिक भोजनको सम्झना सबैभन्दा प्रिय लाग्छ। त्यतिबेला मेलाको वरिपरि अहिले जस्ता होटल र व्यापारिक स्टल हुँदैनथे। हामी आफ्नै घरबाट बोकेर ल्याएका खानेकुरा खान्थ्यौं।
आज समय फेरिएको छ। सत्यवती मेला पनि नयाँ स्वरूपमा विस्तार हुँदै गएको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको यस स्थानले अहिले सांस्कृतिक, प्राकृतिक, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिको सम्भावना पनि बोकेको छ।
यही मंसिर ७ र ८ गते आयोजना हुन गइरहेको मेलामा अहिले विभिन्न व्यवस्थापकीय पक्षमा सुधार देखिन्छ। खानेपानी, शौचालय, बिजुली, बाटोघाटो र पार्किङजस्ता आधारभूत सुविधाहरू व्यवस्थित हुँदै गएका छन्। विभिन्न व्यापारिक स्टलहरू सञ्चालनमा आउन थालेका छन्। स्थानीय उत्पादन र व्यवसायलाई प्रवद्र्धन गर्ने अवसर सिर्जना भएको छ। मौलिक पहिरनमा सजिएर तस्बिर खिचाउने, फोटोग्राफरको सहयोग लिने र विभिन्न सांस्कृतिक पहिरनमा आफ्नो पहिचानलाई तस्बिरमा अनुबन्ध हुने सुविधा पनि थपिएको छ।
सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारसम्मको प्रस्तुति रहने गरेको छ। परम्परागत नृत्य, भेषभूषा, लोकगीत र मौलिक संस्कृतिका झलकहरूले मेलालाई अझ जीवन्त बनाउने छन्।
-1795335676.jpeg)
यसका अतिरिक्त सत्यवतीको अर्को महत्त्वपूर्ण पक्ष यसको प्राकृतिक सौन्दर्य हो। हरियालीले भरिएका खुला चौर, वनजङ्गल, शान्त वातावरण र वरिपरिका मनोरम हिमाली दृश्यहरूले यस ठाउँलाई प्रकृतिप्रेमीहरूका लागि पनि आकर्षक गन्तव्य बनाएका छन्। यहाँबाट देखिने ३६० डिग्रीको प्राकृतिक दृश्य, शान्त वातावरण र खुला प्रकृतिले ध्यान, मेडिटेसन तथा नेचर वाकका लागि उपयुक्त परिवेश सिर्जना गर्छन्। क्याम्पिङ तथा प्रकृतिसँग केही समय बिताउन चाहनेहरूका लागि पनि यो ठाउँले विशेष सम्भावना बोकेको छ। विदेशी पर्यटकहरू समेत यहाँको प्राकृतिक शान्ति र सौन्दर्य अनुभव गर्न आइपुग्ने गरेका छन्। यसरी हेर्दा सत्यवती अब केवल पूजा गर्न जाने धार्मिक स्थलमा सीमित छैन। यो धार्मिक आस्था, मौलिक संस्कृति, स्थानीय व्यापार, प्राकृतिक पर्यटन र सामाजिक भेटघाटको साझा गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
बिर्सनु नहुने हाम्रो मौलिकता
भौतिक पूर्वाधार थपिनु राम्रो हो। व्यापार बढ्नु पनि राम्रो हो। पर्यटक आउनु राम्रो हो। आधुनिक सुविधाहरू थपिनु झन् राम्रो हो तर यी सबैको बिचमा हाम्रो पहिचान, परम्परा, प्रकृति र सामाजिक आत्मीयता जोगाइराख्नु उत्तिकै आवश्यक छ। सत्यवतीको वास्तविक सौन्दर्य केवल त्यहाँ खिचिएका आकर्षक तस्बिरमा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका विश्वास, संस्कार, कथा, गीत, नृत्य र सामूहिक अनुभूतिमा पनि छ।
सत्यवतीको वास्तविक सौन्दर्य केवल त्यहाँ खिचिएका आकर्षक तस्बिरमा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका विश्वास, संस्कार, कथा, गीत, नृत्य र सामूहिक अनुभूतिमा पनि छ।
आज म बाल्यकालको सत्यवती र अहिलेको सत्यवतीलाई सम्झेर तुलना गर्छु। पहिलेको सत्यवतीमा अभावहरू थिए, अव्यवस्थित पक्षहरू थिए, तर आत्मीयता र सामूहिकता पनि थियो। अहिलेको सत्यवतीमा व्यवस्थापन, सुविधा र नयाँ सम्भावनाहरू थपिएका छन्। यी दुवै समयका सकारात्मक पक्षलाई समेट्दै अझ सभ्य, सुन्दर र व्यवस्थित गन्तव्य बनाउने जिम्मेवारी हाम्रो पुस्ताको हो।

मलाई लाग्छ, सभ्यता भनेको मानिसले लुगा लगाउनु, सडक बनाउनु वा सुविधा थप्नु मात्रै होइन । सभ्यता त मानिसको व्यवहारमा देखिनुपर्छ। प्रकृतिप्रतिको सम्मानमा देखिनुपर्छ। धार्मिक आस्थालाई मर्यादित बनाउने चेतनामा देखिनुपर्छ। आफ्नो संस्कृति जोगाउँदै अरूको संस्कृतिलाई सम्मान गर्ने संस्कारमा देखिनुपर्छ।
सत्यवतीको मेला हाम्रा लागि एउटा अवसर हो। पुर्खाले छोडेका पदचाप बुझ्ने, आफ्ना बाल्यकालका स्मृतिहरू फेरि भेट्ने, मौलिक संस्कृतिको उत्सव मनाउने र प्रकृतिसँग नजिक हुने अवसर।
यसपटक पनि सत्यवती पुग्दा कसैले पुजारी बाजेको हातबाट फूल लिएर सन्तान प्राप्तिको कामना गर्नुहुनेछ। कसैले विद्याको आशीर्वाद माग्नु हुनेछ। कसैले स्थानीय संस्कृति हेर्नु हुनेछ, कसैले मनपर्ने कलाकारको प्रस्तुति सुन्नु हुनेछ। कसैले स्थानीय उत्पादन किनेर आफ्नो गाउँको अर्थतन्त्रमा योगदान दिनुहुनेछ। अनि कसैले शान्त चौरमा बसेर हिमालको दृश्य हेर्दै प्रकृतिसँग केही पल बिताउनु हुनेछ।
आआफ्नै रुचि, उद्देश्य र अनुभूति हुनेछन् तर ती सबैलाई जोड्ने साझा थलो हुनेछ हाम्रो सत्यवती ।
यसपटक मंसिर ७ र ८ गते सत्यवती मेलामा भेटौँला। आउनुहोस्, आस्थाको सम्मान गरौँ, मौलिक संस्कृतिको उत्सव मनाऔं। प्रकृतिको सौन्दर्यमा रमाऔं र परिवर्तनसँगै हाम्रो पहिचानलाई पनि जीवन्त राखौं। सत्यवतीलाई एकपटक आफ्नै आँखाले हेर्नुहोस्, आफ्नै अनुभूतिले महशुस गर्नुहोस् । यहाँ तपाईंको रुचिको कुनै न कुनै संसार अवश्य भेटिनेछ। मनलाई जोड्ने मन्दिर,आस्थालाई जोड्ने सत्यवती बजैको मेलामा भेट्दा कसो रमाइलो न लाग्ला र ?
पासाङ सिंजाली