शनिवार, बुटवलको श्रीनगर फोटो स्टुडियोमा सल्लाह भएबमोजिम बिहान सातै बजे बुटवल छाड्ने र पाल्पा तिनाउको कोल्डाँडा जाने कुराले आइतबार सार्थकता पायो।
दोभानखोला पुल
बुटवलको गोलपार्क, सिद्धबाबा, दोभान, झुम्सा, पानीमिल, सिसुवा, चौबीसमाईल, केराबारी, जोरधाराहुँदै नयाँ जोरधारामा पुग्दा बिहानको आठ बज्नै आँटेको थियो। अमित रेस्टुरेन्टमा खाजा खान बस्यौं। पूर्णबहादुर खाम्चा मगरका राइँलो छोरो बीरबहादुरले आफ्नो छोराको नाममा सञ्चालन गरेको उक्त रेस्टुरेन्टमा फिल्म निर्देशक मनीष पन्थ, वकिल कृष्ण गाउँले आर्टिस्ट बेनुप्रसाद थापा र मैले चिया, चना र प्याजको पकौडी खायौं। मनीषले तीन सय ३० रुप्पे खाजामा खर्चिए। हुन त बेनुले पैसा तिर्न खल्ती नछामेका भने होइनन्।
गणेशको घरमा आसनग्रहण
पाल्पा, तिनाउको नयाँ जोरधारामा पकौडी, चिया, बटुक, सेलरोटीको खाजा खान पाइन्छ। नयाँ जोरधाराले खाजाका लागि मार्केट लिइसकेको छ। रेस्टुरेन्ट सञ्चालक बीरबहादुर र उनकी श्रीमतीसँग पूर्णबहादुर बाजेको रेफ्रेन्स लिएर बोल्यौं। उनीहरूले बाजेको रियल स्टोरी हेरेका रहेछन्। खुबै मन परेको कुरा पनि सुनाए। उनीहरूले आफ्ना सन्तान सबैले उक्त स्टोरी फेसवुक वालमा सेयर गरेको कुरा पनि सुनाए।

उता कोल्डाँडाबाट गणेश रास्कोटीले फोन गरिरहेका थिए। उनकै घरमा खाना खाने कुरो भएको थियो अघिल्लो दिनै। सायद हामी आउने, नआउने क्लियरेन्स खोजेका होलान्। मैले नास्ता खाएर आउने सन्देश मोबाईलमार्फत् जानकारी गराएँ।
सिद्धार्थ लोकमार्गको बुटवल तानसेन खण्डमा पर्ने चर्चरेबाट थोरै अघि पुगेर दाहिनेतिर ग्राभेल बाटो मोडियौं ओरालोमा। अनि दोभानखोला पुल तरेपछि सुतिखोला लघु–जलविद्युत भवननिर पुगेर दाहिनेतिर कच्चीबाटो माथितिर उक्लियौं। करिब आधाघण्टा कच्ची, कतै ग्राभेल, कतै आरसिसि ढलाई, कतै रातोमाटोमा चिप्लिँदै कन्याडी गाउँ पुग्यौं। हामीलाई गणेश रास्कोटीले कुरेर बसेका रहेछन्। फराकिलो आँगन, चिटिक्क बार्दलीसहितको उनको घरमा पुगेपछि पानी पियौं। कुर्चिमा आसनग्रहण गर्यौं। हामी पुग्दा उनकी आमाले घरको छतमा नाम्लो बुन्दै थिइन्। गणेशजीको अनुरोधमा खाना खाने तरखर गर्यौं। घरभित्र ओछ्याइएका गुन्द्रीमा पाहुना बनेर चाकलमाँडेर बस्यौं। गणेश र उनकी श्रीमतीले हाम्रा लागि खाना ब्यवस्थापन गरे।

मिठो तरकारी, गाउँले काँक्रा, स्वादिलो अचारसहित खानाले सुगरपीडित मलाई भात थप्ने मेसो मिल्यो। साथीहरूले भात थप्ने आँटै गरेनन्। कृष्ण गाउँले नौली दुलहीजस्तै लजाए। मनीषले मसुरोको दाल बटुकाबाट सुरुप्पै पारे। बेनुले काँक्रालाई धूलोपीठो पारे। साथीहरू गाउँको मिठो अर्गानिक खानाले मस्त भए। मख्ख परे।
मिठो कति थियो बयान गरी साध्य छैन। गणेश र उनकी श्रीमतीको स्वागतसहित खानाले हामी औधी खुसी भयौं। हात मीठो हो कि भात ! छुट्याउनै सकस भो हामीलाई।
हाम्रो धन्यवाद् उनको धनियाँपात
खानापछि गणेशसँग कार्यक्रम घुम्दैफिर्दैको रेकर्डिङ्गमा लाग्यौं। धनियाँ र खुर्सानी बारी हेरियो। यतिबेला बुटवल बजारमा कोल्डाँडाको धनियाँपात किलोको तीनसय पचास रुपैयाँमा बिक्दोरहेछ। खुर्सानी त स्वात्तै घटेर ३० रुप्पे किलो रे ! यी सबै कुरा गणेशले सुनाए। बाख्रासँगै महारा जाने तयारीमा थिइन् गणेशकी श्रीमती। हामीले खाना र कार्यक्रमका लागि धन्यवाद् दियौं। उनले हामीलाई धनियाँपात दिए।
गापडाँडामा रहेको आले कृषि तथा पशुपंक्षी फार्म पुग्दा मध्यान्हको १२ बज्दैथियो। चन्द्रकुमारी आले र हुमबहादुर आले श्रीमानश्रीमती रैछन्। दुबैजना खोर तथा गोठतिरै भेटिए। चन्द्रकुमारीले बाख्राको बयान थालिन्। मनीषले क्यामेराले भिडियो खिच्न थाले। मभने उनीसँग कुरा गर्न तम्सिएँ।

करिब ४० वटा जमुनापारि र काँठे बाख्रा रहेछन् उनीसँग। दुईवटा कात्र्तिकमा ब्याउने भैंसी रहेछन् अनि एउटा पाडो पनि। बाख्रापालन, यसका समस्या, चुनौती र यसबाट आएको आम्दानीले गरेका उन्नति र प्रगतिका बारेमा खुलेर ब्याख्या गरिन् उनले। खोर र गोठ भएको ठाउँमा बिजुली नभएको कुराले मनै अमिलो बनायो। वडाध्यक्ष इन्द्रा चिदीको पहल भएपनि बिजुली नआउँदा मनै अँध्यारो भएको कुरा सुनाइन्। बाख्रा र भैंसी ब्याउँदा उज्यालो नहुँदा सकस भएको खुलेर बताइन्।
चन्द्रकुमारी दिदीले बोका खसी बेचेर मनग्यै पैसा कमाइने बताइन्। महङ्गो भएकाले बाख्राको बीमा नगरेको सुनाइन्। कमाएको पैसाले बोलेरो जिप किनेर मधेशमा जग्गा जोडेको कुरा सुनिरहँदा मनै हरक्कै भो मेरो त।
‘यत्रो कमाइ हुँदो रहेछ’ भनेर बेनुले जिब्रो टोके। कृष्ण गाउँले झन दङ्ग परे। गणेशले ‘दिदीभेनाको आम्दानी रहर लाग्दो छ’ भनेर तारिफ गरे। गाउँमा बसेर बाख्रा, भैसीबाट राम्रै आम्दानी हुने कुराले स्वदेशमा केही छैन भन्नेहरूलाई गतिलो सन्देश हुन सक्ला।
भेनाका कुरै रमाइला
हिँड्नेबेला हुमबहादुर आले भेनाले आफ्नै बारीका रैथाने काँक्रा नूनखुर्सानी र धनियाँको चट्नीसँग चखाए। ‘बसौं एकैछिन भाले काट्छु’ भने। रम पनि चखाउँछु भन्न भ्याए। भेनाका कुराले रमाईलो गरायो एकछिन। दिदीभेनाको हार्दिकता, मिठास बोली र रहर लाग्दो ब्यवहारले ग्रामीण जनजीवन पुनः सम्झियौं। घर टाढा भए पनि नजिकको सम्बन्ध हुँदोरहेछ भन्ने प्रमाणित भो। साथीहरूले दिदीभेनाको धनियाँ बारी हेरे। पानी रिचार्ज पोखरी भेटे। गणेश र मैले गाउँमा आम्दानीका बाटा केके छन् भनेर कुुराकानी गर्यौं। दालचिनीबाट गाउँलेहरूले घरखर्च चलाएको कुरा सुन्दा खुसी लाग्यो।
गाउँको माथि डाँडामा कोल्डाँडा मगर सङ्ग्रहालय निर्माण भएको रहेछ। लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगरले २०८३ जेठ ३० गते, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसँगै उद्घाटन गरेका रहेछन्। सङ्ग्रहालयभित्र मगर जातिका पुराना प्रयोगीबस्तु खोजबिन गरेर राखिएका रहेछन्। हेर्ने मौका मिल्यो। हामीलाई बुद्ध विकास माविका प्रअ विष्णु दर्जीले अवलोकन गराए।
उनीप्रति हामी आभारी भयौं। करिब ७ रोपनी जग्गामा पर्खाल लगाइए पनि नवनिर्मित सङ्ग्रहालय अघितिर पर्खाल र गेट नबनेका कारण कति सुरक्षित रहला भन्ने शंका लाग्यो। प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्मित उक्त सङ्ग्रालय परिसरमा मगरसंस्कृति भवन, कार्यालय सञ्चालन सचिवालय भवन र चर्पी बन्ने डिपिआर रहेता पनि यतिबेला सङ्ग्रहालय टिलिक्कै छ। कसले गर्ला रक्षा? कसले जोगाउला सिंगो भवन? चिन्ताको भारी बोकेर हामी ओरालो झ¥यौं।

चुत्रोको रक्सी
टुनीको मौरीघार बनाउने उद्योग हेरेर पसलमा आएर पोलेको मकै खायौं। बेनुले साहुनीसँग चुत्राको रक्सी एकमाना किने। उक्त जिनिस पाहुना आउँदा टकार्न उपयुक्त होला भनेर झोलामा घुसारे। साथीहरूले मङ्गै बसाउने टिम्बुरको दाना समेत झोलामा राख्न बिर्सिएनन्।
हामीले वडाध्यक्ष इन्द्राकुमारी चिदी र यमबहादुर चिदीसँग भेट्न इच्छा राखे पनि उनीहरूको समयाभावले भेट्न सम्भव भएन। बिस्नुडाँडामा ९४ वर्षे नन्दलाल र उनका छोरा चुरे विकसँग भेटेर कुराकानी गरियो। तिनाउ गापाकी कार्यपालिका सदस्य कुमारी विक वनजङ्गलतिर भएका कारण भेट्ने अवसर जुरेन। घुँघँुराछापमा स्थानीय शिक्षक फोनिसरा घर्तिसँग भेट्ने मौका मिल्यो।
साँझको ६ः३० तिर हामी सुतिखोला नजिकै रहेको तिनाउ गापा, वडा नं. ५ को वडा कार्यालयमा ओरालियौं। दोभान खोला पुलबाट कन्याडीतिर गणेश लागे हामी चारजना चर्चरेडाँडातिर उक्लिएर नयाँ जोरधारा प्रमिला रास्कोटीकहाँ बटुक, चिया, पकौडीले पेट सेक्यौं। यसपालि भने खाजाको दुई सय ३० रुप्पे बेनुले हतारमा तिरे।
बुटवल आइपुग्दा पौने आठ बज्दैथियो। कृष्ण र बेनु घरतिर लागे। म र मनीष श्रीनगर अनलाइनको अपिसमा घुम्दैफिर्दै कार्यक्रमको इडिटिङतिर धस्सियौं। रातको १० बजे मात्र म घरतिर लागें।
रमाइलो, मनमोहक कोल्डाँडा, बिस्कुनडाँडाको यात्राले हामीलाई खुबै उत्साह दियो। गाउँलेसँग भेटघाट गरी कुराकानी गर्ने अवसर जुरायो। गाउँको मोहप्र्रति जागरुक हुने मौका मिल्यो। गाउँका बाटा हेर्ने, हिँड्ने समय जुर्यो। उनीहरूका भोगाइका साक्षी बन्ने समय जुट्यो।
