भक्तपुर ।
कवि सूर्यप्रसाद लाकोजूको नवीनतम् कविता सङ्ग्रह ‘एक झुल्को घाम’ को आइतबार मध्यपुर थिमीमा लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकार्पण गरेका हुन्।
कार्यक्रममा उनले लाकोजूको कविता कृतिको नामै आकर्षक भएको बताए। समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’माथि समीक्षात्मक मन्तव्य राखेका थिए। उनीहरूले कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे व्यापक चर्चा गरे।
वक्ताहरूले ‘एक झुल्को घाम’लाई लाकोजूको साहित्यिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा चर्चा गर्दै यसमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक सरोकार, समकालीन जीवनबोध र काव्यिक सौन्दर्यका विविध पक्षमाथि आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा कवि लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभव बाँडे। कवि वसन्त नकर्मीको सभापतित्वमा भएको कार्यक्रममा कवि राजुराम मुनकर्र्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त अबसरमा ‘एक झुल्को घाम’ कविताकृतिबाट बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कविता बाचन गरेका थिए।
लाकोजूका कविताहरूले नेपाली समाज, राजनीति, संस्कृति, मानवीय संवेदना, प्रेम, सङ्घर्ष, प्रकृति र समयका विविध आयामलाई सरल तर प्रभावशाली भाषामा अभिव्यक्त गरेका छन्। अँध्यारो जतिसुकै गाढा किन नहोस्, जीवनमा आशाको एउटा झुल्को घाम सधैँ बाँकी रहन्छ भन्ने भाव कवितासङ्ग्रहले बोकेको लाकोजू बताउँछन्।
उनको यो सातौँ कविताकृति हो । तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद, कथा जस्ता विधामा कलम चलाउँदै आएका छन्।