गण्डकी प्रदेशको राजधानी पोखरा। रमणीय पर्यटकीय सहर। पोखरा अर्थात् हाम्रो ‘ट्रान्जिट’। मैले वि.सं. २०५९ देखि पोखरालाई यसरी बुझ्दै आएको छु।
चाहे छेवैका कुश्मा या बागलुङ हुँदै ढोरपाटनसम्म बसबाट यात्रा गर्नुहोस्। चाहे पोखराबाट जहाज वा स्थलमार्ग भएर, काठमाडौं, भैरहवा र मुलुकका अन्य ठाउँमा जाँदा पोखरालाई ट्रान्जिट बनाएको छु।
त्यसो त पोखरा आफैंमा पूर्ण गन्तव्य हो। हामी मध्यपश्चिमका मानिसका बिचमा पोखरेलीको माया पनि उस्तै छ।
ढुम्बाताल
घरपझोङ एउटा भूगोल मात्र होइन, यो त आत्मालाई शुद्ध पार्ने ठाउँ रहेछ! मानिसलाई प्रकृतिको वास्तविक मूल्य बुझाउने एक जीवन्त पाठशाला पो रहेछ!
यसपटक पनि मैले पोखरालाई ट्रान्जिट बनाएँ। केही दिनका लागि जन्मथलो रोल्पाबाट यात्रामा निस्कनु थियो। नेपालका ७७ जिल्लामध्ये ७२ वटा टेकिसकेको थिएँ। कर्णालीको हुम्ला, गण्डकीका मनाङ र मुस्ताङ तथा सुदूरपश्चिमको बाजुरा आदिको स्पर्श गर्ने अवसर पाइसकेको थिइनँ।
यसपटक यात्रामा मुस्ताङ थपिँदै थियो। यही कारणले पनि होला, बिहानैदेखि एक प्रकारले उद्वेलित थिएँ। मनमा नयाँ हलचल, जिज्ञासा र उत्सुकता मिश्रित योजनाको ऊहापोह।
हाम्रो काव्ययात्रा ‘मिसन मुस्ताङ’ भए पनि पहिले जानुपर्ने पोखरा नै थियो। फेरि पनि पोखरा नै ‘ट्रान्जिट’ बन्यो।
म रोल्पाबाट बसमा आएर बुटवल झरें। बुटवलबाट रात्री बस चढेर पोखरामा उत्रिएँ। सोचिरहेको थिएँ, बुटवलबाट पोखरासम्म ७÷८ घण्टाको यात्रा एक्लै कसरी गर्नु? तर अब समस्या थिएन, भारतीय पर्यटक भेटिए रुपा, उनी मुक्तिनाथ धामका लागि निस्केका रहेछन। उमेर त्यस्तै ३०÷३५ वरिपरि हुँदो हो।
घरपझोङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँगै घरपझोङ काव्ययात्राका सहभागि
बुटवलदेखि पोखरासम्मको यात्रा शानदार बन्यो। हामी सिटमा बस्नेबित्तिकै गफिन थाल्यौं। केही नेपाली पर्यटनका कुरा, केही भारतीय पर्यटनका कुरा। केही नेपाल भारतका सिमा बीचका कुरा र केही मुक्तिनाथका कुरा।
कहिलेकाहीँ देश र प्रदेशका कुरा र स्मृति अत्यन्त उपयोगी हुन्छन्। बिहान करिब ४ बजिरहेको थियो। म पोखरामा बसबाट ओर्लिएँ।
पोखरा पुगेपछि फोटो पत्रकार घनश्याम पौडेल दाइलाई फोन गरें, एकैछिनमा आफ्नै कार लिएर उहाँ आउनु भयो। उहाँसँग अघिल्लो वर्ष अपी हिमाल गाउँपालिकाको आयोजनामा भएको ‘अपी काव्ययात्रा’मा चिनजान भएको थियो। सँगै दार्चुला यात्रा गरेका थियौं हामीले।
हामी बिचमा निकै घनिष्ठता छ। भेटघाट कमकमै हुन्छ तर एकार्काबारे निकै सकारात्मक धारणा छ।
साथीहरू काठमाडौंबाट बुद्ध एयरको पहिलो उडान मार्फत् पोखरा आउँदै गर्दा हामी केहीबेर गफियौं। यही बेला पोखराकै रैथाने साहित्यकार लक्ष्मण थापा दाइ पनि आइपुग्नु भयो।
केहीबेरमा सल्यानकी प्रभावशाली कवि कल्पना पलक पनि रात्रीबस चढेर आइपुग्नु भयो।
एउटा कुरा भने सारमा भन्न चाहन्छु – पोखरा पुरानो सहर भए पनि यहाँका मेरा सम्बन्धहरू भने नित्य नयाँ तरिकाले स्थापित भइरहेका छन्।
बिहानको नौ बजेतिर हामीले पोखराबाट मुस्ताङ यात्रा प्रारम्भ ग¥यौं। करिब २४ किलोमिटर दूरीमा रहेको नौडाँडा कट्नेवित्तिकै वातावरणमा अचानक परिवर्तन आयो। गर्मी हरायो। शितलता थपियो।
बेनीबजारमा पुगेर हामीले खाना खायौं। खानापछि गलेश्वरधाम पुग्यौं। गलेश्वरका पूजारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले हाम्रो स्वागत गर्नु भयो। कालिगण्डकी तिरमा ९ रोपनी जमिनको एउटै चक्रशिलामा अवस्थित गलेश्वरधाम अनौठै लाग्यो।
त्यहाँबाट हामीले मुस्ताङमार्ग समात्यौं। चालकले गाडी हुइँक्याए। हामी बसभित्र गफिँदै अघि बढ्यौं। घरिघरि झ्याल बाहिर आँखा पुग्थे, बेग्लै भूस्वर्गमा आएको अनुभूति हुन्थ्यो।
मार्फा गाउँ
साँझपख हामी मार्फा गाउँमा पुग्यौं। मार्फा अर्थात् स्याउको राजधानी। होटलमा झोला बिसाएर हामी मार्फाका बस्ती छिचोल्न निस्कियौं। बिजुलीको उज्यालोमा मार्फाका गल्लीहरू मुस्कुराइरहेका थिए। त्यहाँ हामीले पुराना घर, गल्ली, होटल आदि हे¥यौं। अँध्यारोमा स्याउका चिचिला भने राम्रोसँग देख्नै पाएनौं।
भोलिपल्ट बिहानै उठ्यौं। स्याउबारीतिर टहलियौं। स्याउका चिचिलाले रुख ढपक्कै थिए। अलिक तल कालीगण्डकी बगिरहेकी। लाग्थ्यो, हाम्रै स्वागतमा उनी सुसेली खेलीहरेकी छिन्।
मुस्ताङ आफैंमा एउटा रहस्यले भरिएको पोको। इतिहास, प्रकृति र संस्कृतिको पावनधाम मात्र होइन, यसले धेरै प्रभावशाली साहित्यकार पनि जन्माइसकेको छ। भूपि शेरचन, विनोद गौचन, उषा शेरचन, मनिषा गौचन र रोशन शेरचन मुस्ताङकै माटोबाट उदाएका स्रष्टा हुन्।
मार्फाको स्याउबारीमा उभिएर मैले मनमनै उहाँहरूलाई नमन गरें।
केही वर्ष यता मार्फा नेपाली र भारतीय पर्यटकको आकर्षण केन्द्र बनेको छ। नेपाली चलचित्रहरू कबड्डी कबड्डी, जेरीलगायतको छायाङ्कन यहाँ भएपछि चर्चा चुलिएको हो। मार्फामा त यिनै चलचित्रका नामबाट गल्लीले नयाँ नाउँ पाएका छन्, जेरी गल्ली, ढाक्रे गल्ली आदि।
मार्फा गाउँमा पर्यटन अभियन्ता एवम् लेखक बाल्कुराम पुन
असार १३ देखि १६ गतेसम्म भएको हाम्रो ‘घरपझोङ काव्ययात्रा –२०८३’ का १५ जना सदस्यहरू पनि आफैंमा चर्चित लेखक हुनुहुन्छ।
व्याकुल माइला अर्थात् नेपालको राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी नेपाली’ का रचनाकार, कवि एवम् आख्यानकार भूपिन, दार्शनिक चेतका कवि शिवप्रकाश, पत्रकार एवम् आख्यानकार अभय श्रेष्ठ, पर्यटन पत्रकार अमृत भादगाउँलेसहित अन्य चर्चित लेखकहरू लक्ष्मण थापा, कल्पना पलक, सुमन थापा ‘सङ्गम’, अनुपम रोशी, प्रगति राई, सागर उदास, दीपेन्द्रसिंह थापा, राजकुमार गजुरेल, घनश्याम पौडेल र म थियौं।
मार्फाको गुम्बामा काव्ययात्री
हामी यात्रामा रहँदा भारतीय पर्यटकको राम्रो चहलपहल देख्यौं। साँच्चै दिनदिनै सयौं पर्यटक मुस्ताङ भ्रमण गर्छन्। भारतीय र नेपालीको मुख्य आकर्षण मुक्तिनाथ मन्दिर। अरु विदेशी भने अन्नपूर्ण चक्रिय पदमार्गबाट थोराङ्ला भन्ज्याङ पार गरेर मुक्तिनाथ झर्छन्। कतिपय विदेशी भने उल्लो मुस्ताङ लोमन्थाङसम्म पुग्छन्।
हाम्रो यात्राको उद्देश्य भने घरपझोङ गाउँपालिकालाई एक्सप्लोर गर्नु थियो। यही गाउँपालिकाले नै काव्ययात्रा आयोजना गरेको। कार्यक्रमको संयोजन भने कन्सेप्ट नेपालको थियो।
घरपझोङ गाउँपालिकाका मार्फा, छैरो, चिमाङ, ढुम्बाताल, ठिनी, जोमसोम, स्याङलगायत गाउँबस्ती हाम्रो भ्रमण तालिकामा समावेश थियो।
बिहान ज्यादै रमाइलो क्षण आयो, मार्फामा हामी सबैले हिमाली पहिरन लगायौं। नअघाउन्जेल तस्बिर खिच्यौं। टिकटक र रिल्स बनायौं। त्यही पहिरनमा गल्लीमा डुल्यौं। गुम्बाको दर्शन पनि ग¥यौं।
हिमाली पहिरनमा जातीय सहिष्णुता र सद्भावको सुगन्ध मग्मगाएको थियो।
बिहानैदेखि हामीसँगै हुनुहुन्थ्यो घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली थापामगर।
निलगिरी हिमालको काखमा बसेको छ, मार्फा गाउँ। मौसम धुम्मिएकाले हामीले हिमालको उज्यालो देख्न पाएनौं। तर, मार्फालीको उज्यालो अनुहार पढ्दै हिँड्यौं।
थकाली सभ्यताका केही झलक अनुभूत ग¥यौं। जीवनशैलीलाई नजिकबाट नियाल्ने प्रयास ग¥यौं।

साँच्चै पर्यटकलाई खुसी बनाउने कला रहेछ, मार्फालीको।
यात्राको दोस्रो दिन साँझ ठिनी गाउँमा बास बस्ने योजना। दिनभरका लागि पथप्रदर्शकको भूमिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै भएपछि हामीलाई धेरै सजिलो भयो।
मुस्ताङ पुग्दा हामी जति उत्साहित थियौं, त्योभन्दा बढी उहाँहरू हुनुहुन्थ्यो। उहाँहरूका अनुहारमा देखिएको चमकले त्यसै भनिरहेको थियो।
मार्फाबाट हामी तीन ओटा जिपमा चिमाङ गाउँतिर लाग्यौं। जङ्गलको छेउमा बसेको स्यानो गाउँ रहेछ, चिमाङ। ढुङ्गा, माटो र काठबाट बनेका घर। गाउँमुन्तिर स्याउबारी। परिश्रमी किसानको बस्ती।
गाउँलेपनको मिठो सुवास बोक्यौं हामीले। अनि तिनै स्याउबारी हुँदै पैदल छैरो गाउँमा झ¥यौं। छैरोमा केही घर छन्। बस्ती छेउमा एउटा प्राचीन गुम्बा रहेछ, ‘छैरो छहरा गुम्बा’। १६ औं शताब्दीमा निर्मित गुम्बामा अनुपम कलाकृति छन्। गुरु रिम्पोछेको बास त हुने नै भयो।
गुम्बा दर्शनपछि हामी छिमेकमै रहेको तिब्बती शरणार्थी क्याम्प पनि डुल्यौं। अनि त्यहाँबाट छैरो छहराको दृश्यमा रोमाञ्चित भयौं। केहीबेर छहराको जादु हेरेर हामी कुछप तेरेङ्गा गुम्बातिर लाग्यौं।
डाँडाको टुप्पामा अवस्थित गुम्बामा पुग्दा हावा जोडले चलिरहेको थियो। त्यहाँ हामीले बुद्धको दर्शन मात्र गरेनौं, बाहिरबाट मार्फा, स्याङ, ढुम्बाताल, घरपझोङ किल्ला, ठिनी र जोमसोमसम्मका दृश्य नियाल्यौं। बडो मिठो दृश्य।
यात्रामा भेटिएका पात्रसँगको संवाद पनि मिठो हुन्छ। उनीहरूका सङ्घर्ष, उत्साह र मिहिनेतले हामीलाई प्रेरित गरिहन्छ।
आफू हिँडेको बाटो, देखेको दृश्य र भेटेका मान्छेलाई बिर्सनै सकिँदैन। घरपझोङका हरेक गन्तव्यले हामीभित्र ऊर्जा थपिरहेका थिए। समाजलाई बुझ्ने नयाँ दृष्टि दिइरहेका थिए।
हिमाल, पहाड, पहरा र छहरा, ताल, गुफा, खोला आदि सम्पदाको भण्डार हो मुस्ताङ।
कुछप तेरेङ्गाको काखमा बसेको ढुम्बाताल कोरा गर्दा मनमा धेरै कुरा उब्जिए। यसरी प्रकृतिको अँगालोमा बेरिँदा मैले आफैंलाई बिर्सिएँ।
मुटु आकारको स्यानो तलाउको नाम छ, ढुम्बाताल। यसको राम्रो मार्केटिङ भएको छ। त्यसैले मुस्ताङ पुग्ने नेपाली यहाँ टिकटक नबनाई फर्कंदैनन्।
ठिनी गाउँमा याक डान्स
तालबाट हामी ठिनी गाउँमा पुग्दा फेरि आत्मीय स्वागत पाइयो। गाउँलेहरू याक नाचसहित अक्षता र खादा लिएर उभिनु भएको रहेछ। उहाँहरूले न्यानो स्वागत गर्नु भयो।
याकको भेषमा सजिएका दुई जना र बाद्यवादकसँगै हामीलाई गाउँ प्रवेश गराउनु भयो। गाउँको डबलीमा उहाँहरूसँगै हामी पनि नाच्यौं। नाच्दै नाच्दै हामीले थकाली उत्सव मनायौं।
मार्फामा हामी होटलमा बसेका थियौं, ठिनीमा भने थकाली सामुदायिक होमस्टेमा हाम्रो बास भयो। हामी विभिन्न घरमा बाँडिएर बस्यौं।
थकाली समुदायको आदिम बस्ती ठिनी। नेपालको पहिलो थकाली सामुदायिक होमस्टे पनि ठिनी नै रहेछ। ठिनीमा पनि पर्यटनको घाम झुल्किएको रहेछ। खुसी लाग्यो।
बिहान ठिनीका गाउँबस्ती डुल्यौं। गाउँको शिरमा रहेको थकाली सङ्ग्रहालय पनि अवलोकन ग¥यौं। बिहान गाउँपालिकाकी उपाध्यक्ष जमुना म्यामको घरमा खाएको चिया र भुटेको मकै झलझल्ति सम्झिरहेको छु।
ठिनीका थकाली महिला
हाम्रो यात्राको तेस्रो दिन, जोमसोम बजारको जनहित माविका विद्यार्थीसँगै राष्ट्रिय गान गाउने कार्यक्रम थियो। हामी दश नबज्दै त्यहाँ पुग्यौं। विद्यार्थी भाइबहिनी, शिक्षक, कर्मचारी र काव्ययात्रीले सँगै राष्ट्रिय गान गायौं।
कार्यक्रमको केन्द्रबिन्दुमा हुनुहुन्थ्यो राष्ट्रिय गानका सर्जक व्याकुल माइला।
उहाँलाई नजिकबाट देख्न पाउँदा, सँगै गाउन पाउँदा विद्यार्थी त खुसी भए नै, हाम्रा आँखा पनि रसाए। आखिर यस्तो महत्वपूर्ण अवसर सबैले पाउँदैनन् पनि।
विद्यालयबाट हामी मुक्तिनाथ मन्दिर गयौं। त्यहाँ पुगेर पूजापाठ ग¥यौं। फर्कंदा कागबेनीलाई झलक्क हे¥यौं।
साँझ हामी जोमसोमबजार आइपुग्दा गाउँपालिकाका अध्यक्ष मोहनसिंह हाम्रै प्रतिक्षामा हुनुहुन्थ्यो। उहाँले हामीलाई नजिकैको मूर्ति बगैंचामा डुलाउनु भयो। उहाँकै सपनाअनुसार शिव, पार्वती, बुद्ध, पद्यसंभव, याक आदिका विभिन्न मूर्ति बनाएर एउटा बगैंचा नै बनाइएको रहेछ।
कालिगण्डकी तिरमा शालिग्राम
जोमसोममा नयाँ पर्यटकीय आकर्षण थपिएको छ। यति मात्र होइन, कालिगण्डकीको एउटा विशाल शिलालाई शालिग्रामका रुपमा सजाइएको छ। नदीमा रहेको शालिग्रामको तस्बिर खिच्दा त्यसको शिरमा निलगिरी हिमाल मुस्कुराइरहको थियो। अहा, कति मिठो दृश्य !
वास्तवमा जोमसोम सबै सुविधायुक्त बजार बनिसकेको छ। विमानस्थल पनि छ। होटल, रेस्टुराँ, एटिएम सुविधासहितका बैंक त आदि धेरै कुरा छन्। थकाली खाना मात्र होइन, क्यापाचिनो र अमेरिकानो कफी पनि पाइन्छ।
साँझको बास स्याङ गाउँमा थियो। हामी त्यहाँ पुग्दा स्याङ फोला सामुदायिक होमस्टेकी अध्यक्ष असिता थकाली, जनप्रतिनिधि वीरप्रसाद थकालीसहितको समूहले हाम्रो स्वागत ग¥यो।
स्याङ गाउँको स्वागत
हामी फेरि एक पटक भावुक बन्यौं। होमस्टेकी सचिव उमा थकालीको घरमा सामूहिक खानपिनको वातावरण मिलाइएको रहेछ। खानासँगै कविता, गीत र नाचगानको स्वाद पनि मिसियो।
बिहान हामी स्याङ गाउँ घुम्यौं। गुम्बा, फोलादेवी आर्दिको दर्शन ग¥यौं। ज्यादै रमाइलो स्याङ गाउँ।
यहाँ एउटा कुरा लेख्न छुटाउनु हुँदैन कि, गाउँपालिकाको नेतृत्व भिजनरी रहेछ। विकासमा यहाँका जनप्रतिनिधिहरूले हातेमालो गरिरहेका रहेछन्। उहाँहरूको एकतालाई सलाम !
ब्रेकफास्टपछि हामी जोमसोमतिर सोझियौं। हाम्रो यात्राको अन्तिम दिन, जोमसोमको गाउँपालिका भवनमा औपचारिक कार्यक्रम थियो।
त्यहाँ जलवायू परिवर्तनले पारेको प्रभावका विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग भूपिनजीले विमर्श चलाउनु भयो। हामीले जलवायू परिवर्तनको प्रभाव बुझ्न पायौं। यो विश्वव्यापी समस्याबाट जुध्न साझा धारणा बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाले यही भदौ ३० र ३१ गते जोमसोममा जलवायू सम्मेलन गर्दैछ।
पुरस्कृत भुइँमान्छेहरू साइला विक, कुमारी नेपाली र मनप्रसाद विक
पहिलो शत्रको विमर्श कार्यक्रमपछि काव्ययात्राका संयोजक भादगाउँलेले केही भुइँमान्छेहरूलाई अगाडि बोलाउनु भयो। उहाँहरू हुनुहुन्थ्यो, सिलाइकटाइ व्यवसायमा समर्पित जोमसोमकी ६० वर्षे कुमारी नेपाली, चिमाङ गाउँका ७५ वर्षे आरन व्यवसायी साइला विक, स्याङ गाउँका ७० वर्षे काष्ठकला व्यवसायी मनप्रसाद विक।
जीवनभर आफ्नो सुकर्मबाट समाजलाई योगदान पु¥याएस्वरुप उहाँहरूलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो। प्रमुख अतिथिका रुपमा हाम्रो काव्ययात्री व्याकुल माइला दाइका हातबाट खादा, सम्मानपत्र र नगद बुझेपछि उहाँहरू मुस्कुराउनु भयो।
भुइँमान्छेको सम्मान आफैंमा उदाहरणीय काम हो। मैले मनमनै तीनै जना भुइँमान्छेलाई शुभकामना दिएँ।
त्यसपछि सबै काव्ययात्रीले कविता सुनाउनु भयो। हामीले केही स्थानीय कविका सिर्जना पनि सुन्यौं।
बस्न मन त थियो नि, तर फर्कनु पर्ने बाध्यता पनि त थियो। त्यसैले कार्यक्रमपछि गाउँपालिकाले झोलाभरि स्थानीय खुर्पानी, मार्फा रायोको बिउसहित हामीलाई बिदाई ग¥यो।

हामी मनभरि उहाँहरूको माया बोकेर फर्कियौं। हाम्रो काव्ययात्राले थकाली समुदायको उद्गम थलो घरपझोङलाई उजागर गर्ने अवसर दिलायो। यो यात्रा जीवनभरका लागि अविस्मरणीय बनिरहने छ।
घरपझोङ एउटा भूगोल मात्र होइन, यो त आत्मालाई शुद्ध पार्ने ठाउँ पो रहेछ! मानिसलाई प्रकृतिको वास्तविक मूल्य बुझाउने एक जीवन्त पाठशाला पो रहेछ !
राती गाडीबाट पोखरामा झर्ने बेलामा पनि मेरा कानमा ‘ॐ मणि पद्मे हुँ’ गुञ्जिरहेको थियो। अहिले पनि मेरो मन मुस्ताङका डाँडापाखामा डुलिरहेको छ।