लघुकथा छोटो र सटिक कथा हो। यो संक्षिप्त एकल कथा हो। पात्रहरूको भीड नलगाई थोरै घटनालाई समेटेर तयार पारिएको शब्दमा साँघुरो तर भावनामा विराट कथा। रहस्यपूर्ण सुरुआती, आकस्मिक एवम् दरो उठान, चोटिलो प्रहार अनि सन्देशमूलक नै लघुकथाका विशेषता हुन्।
४५ वटा लघुकथाको सङग्रह बोकेर आइपुगेको ‘चौतारो चिन्तन’ का लेखक हुन्, डा.हिमलाल श्रेष्ठ। यस कृतिमा पर्यावरण, जनयुद्ध र जनजीविका, समाज र परिवर्तन, आदर्श र कोरोना विशेष खण्ड छुट्याइएका छन्। प्रत्येक खण्डअनुसार कथा समावेश छन्।
पर्यावरणलाई नवौ रङ्गले सुन्दर बनाएको डाँफे कतै राष्ट्रिय चराबाट विमुख हुनुपर्ने आकस्मिकता आइलाग्ने त होइन?
पर्यावरण खण्डमा डाँफेको एकालाप, चिलहरूको वार्तालाप, काग र कोइलीको हानथाप, सोलीफिस्टो, बार्दलीको रौनकता, कोप–२८ सम्मेलन, जिद्दी केटो र सालक, फुर्के पोखरी, चौतारो चिन्तन, माछा किन मारिस््?, अङ्कमाल, मुसाको आन्दोलन, व्यापार, मुढालाई अङ्कुसे, तामाको टुसा, शालिग्राम गरी १६ वटा लघुकथा सङ्गृहित छन्।

मैले पर्यावरण लघुकथालाई मात्र अध्ययन गरी सोही विषय प्रसङ्गमाथि विचरण गर्ने मनसाय राखेको छु। त्यसैले पर्यावरणलाई मूल विषय बनाइएका लघुकथालाई केलाएको छु। पर्यावरणलाई साहित्यसँग कसरी जोडिएको रहेछ, मानिसले यसलाई कसरी लिएका रहेछन्, दिनप्रतिदिन पर्र्यावरणीय शिक्षा र चुनौतीका बारेमा उठेका प्रश्नहरूमाथि सोच्न बाध्य भएको छु।
हिमलाल ‘डाँफेको एकालाप’ लघुकथामा लेख्छन्–राष्ट्रिय चरा भन्यो भनेर मख्ख पर्नुपर्ने पनि केही छैन, संक्रमणकाल छ। कति खेर कुन चरा मन पर्ने हो, के थाहा ? रङ्गीचङ्गी प्वाँख भनेर मख्ख पर्नु पनि बेकार छ। खरमजुर र मयुरको पछि दर्गुन पनि कत्ति बेर लाग्दैन। मलाई त मान्छे भन्ने जातको कत्ति भर लाग्दैन।
यो लघुकथाले अस्थिर राज्य सञ्चालकलाई डाँफेको एकलाप मार्फत् झटारो हानेको छ। पर्यावरणलाई नवौ रङ्गले सुन्दर बनाएको डाँफे कतै राष्ट्रिय चराबाट विमुख हुनुपर्ने आकस्मिकता आइलाग्ने त होइन? इतिहास मेटिने शंका जन्माइएको छ। खास कारणले नै डाँफेलाई नेपालको राष्ट्रिय चरा बनाइएको हुनुपर्छ। राष्ट्रिय चरा फेरिंदैमा देश र नागरिकको अवस्था फेरिने त हैन होला नि?
‘बार्दलीको रौनकता’मा कथाकारले बढो राम्रो व्याख्या गरेका छन्। उनले मानिसलाई प्रकृति र यहाँ रहेका चराचरसँग खेल्दै, रमाउँदा आफूमा भएको रोग समेत न्यूनीकरण हुँदै जाने कुरा उठाएका छन्। कथामा भनिएको छ, नर्स नानी आइन्। रक्तचाप नापेर भनिन, ‘आज त एकदम ठिक छ बुवा। हिजो के भयो त्यस्तो? हिजो हजुरको अवस्थाले त म पो झण्डै बेहोस भएको। ल अब आराम गर्नुस् है।’
बार्दलीबाट देखिने प्रकृतिको मनोरम रुप, प्राकृतिक छटा, त्यहाँबाट देखिने चराचर, उनीहरू खेल्दै गरेका दृश्यले रोगी मानिसलाई समेत रोगबाट टाढा राख्न सक्दो रहेछ भन्ने सन्देश छ। बार्दलीबाट राजनीतिक सन्देशमात्र होइन, स्वास्थ्य सन्देश समेत दिन सकिने रहेछ।
-1790433779.jpg)
उनले हात हल्लाउँदै भनिन् ‘मेरी हजुरआमा पनि वन विज्ञान पढेर त्यसैमा काम गर्थिन्। तिमीले सोधिनौ? म चाहिँ एअरलाइन्समा काम गर्छु, पाइलटका रुपमा। जब म आकासमा जहाज उडाउँदै हुन्छु तब म एकातिर मेरी हजुरआमाको हरित् अभियान सम्झन्छु भने अर्कोतिर मेरो यथार्थ तुलना गर्छु कि म भने आकासमा कार्वन उत्सर्जन गरिरहेको छु।’
‘कोप (जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन, पक्ष राष्ट्रहरूको सम्मेलन)–२८’ सम्मेलनको प्रसङ्ग जोडेर कथाकारले कस्तो मज्जाको जानकारी दिएका छन्। परिवारकै एकजना सदस्य पृथ्वी जोगाउन प्रयासरत छन् भने परिवारका अर्का सदस्य कार्वन उत्सर्जन गरिरहेका छन्। दिनप्रतिदिन वातावरण बिग्रिँदै गएको छ। विश्वव्यापी तापमान वृद्धिले प्रकृति र जीवनजन्तुलाई क्षति पु¥याइरहेको छ। जलवायु परिवर्तनका कारण नेपालजस्ता देश मारमा परिरहेका छन्। सम्मेलन र सम्बोधन हुन्छन् तर कार्यान्वयन हुन नसक्दा नेपाल सारै पीडामा छ। यो कुरा भरखरै भोटेकोसीमा गएको बाढीले समेत संकेत गर्छ।
‘जिद्दी केटो र सालक’ लघुकथामा समाधान नहुने त समस्या नै होइन भनिएको छ। कस्तो राम्रो समाजशास्त्रीय सन्देश! यो पर्यावरणीय कथामा सालकको बयान गरिएको छ। यसको परिचय दिइएको छ। यसको चोरीसिकारी हुने कुरा समेत बताइएको छ। यो खास गरी किसानको साथी हो। यसको संरक्षणका लागि खेल्नुपर्ने भूमिकालाई विस्तार गरिएको छ। सालक पार्क नै बनेपछि जिद्दीवाल केटोले संरक्षण पुरस्कार प्राप्त गरेको टच्ची कथाले मनै खुसी हुन्छ।
संरक्षण रहरको विषयमात्र होइन, बरु यो निरन्तरता र आवश्यकताको विषय हो भन्ने कुरा ‘फुर्के पोखरी’ कथामा कथाकारले छर्लङ्गै पारेका छन्। जनप्रतिनिधिका चेतनाको स्तर नाप्न यो कथा प्रभावकारी छ। भौतिक संरचना बनाउने सवालमा खुसी छन्। खेलमैदान, भवन निर्माण, तारजाली भर्ने काम, वृक्षरोपण गरेको फोटो खिचाउन आत्तुरहरू किन पानी पुनर्भरण( रिचार्ज सेन्टरका रुपमा रहने पानी पोखरी) खन्न रुची राख्दैनन् ? मज्जाको प्रश्न छ। अनि पानी पुनर्भरण पोखरी निर्माणका लागि दातृसंघसंस्थासँग हात थाप्नै पर्ने हो र ? तर, मुस्ताङको घरपझोङ गाउँपालिकाले ७५३ पालिकालाई बोलाएर गरेको जलवायु सम्मेलन उदाहरणीय कर्म हो।
‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रहको मूल कथा हो। नवयुवालाई यो कथाले वातावरणीय चेत दिन्छ। वातावरणसम्बन्धी खोज, अध्ययन, अनुसन्धानमा तल्लीन नयाँ पुस्ताले यो कथा पढिरहँदा हराउँदै गएका वरपीपल चौतारा विनासका विरक्त लाग्दो रुप थाहा पाउँछन्। चौतारो फालेर बनाइएका नयाँ संरचना हेर्न पर्यटक त आए होलान् तर हाम्रो सभ्यता, संस्कार र संस्कृति बोकेका चौतारो लोप हुँदा हाम्रो मन कस्तो हुँदो हो ? पुराना सबै अगतिला र नयाँ सबै गतिला हुन्छन् भन्ने नेपाली मानसिकता कति दरिद्र छ, यो कथा पढेपछि प्रष्ट हुन्छ।
चुरे कमलो र कान्छो पहाड हो। अति चरिचरन र यसप्रतिको परनिर्भरताले नै चुरेको विनास निम्त्याएको छ। चुरेमा केरा, अदुवा, हर्दि, दालचिनी खेती अति राम्रो हुने गर्छ। यसको संरक्षणका लागि बाँस खेती अनिवार्य छ। नेपालको चुरेमा बस्ने करिव ५० लाख मानिसले आफू बसेको ठाउँको संरक्षण गर्न बाँस खेतीलाई प्राथमिकता दिनुपर्छ।
‘तामाका टुसा’ कथामार्फत् चुरेको संवेदनशीलता झल्काइएको छ। बाँसखेती र चुरे संरक्षणका कुरा गरिरहँदा तामाका टुसा खान थालेपछि कसरी संरक्षण होला चुरेको, प्रश्न उठाएका छन् कथाकारले।
वन तथा वातावरण साहित्यिक समूहसँग आवद्ध डा.हिमलाल प्राध्यापन पेसामा आबद्ध छन्। उनले वातावरण विज्ञानमा नै विद्यावारिधि गरेका हुन्। वन विज्ञानमा उनी स्नातक हुन्। वि.सं. २०६५ मा उनले ‘युगीन’ कवितासङ्ग्रह प्रकाशन गरिसकेका थिए। ‘चौतारो चिन्तन’ चाहिँ २०८२ मा प्रकाशित भएको हो।
यसरी पर्यावरणीय साहित्यमा सक्रिय डा.हिमलाल श्रेष्ठलाई शुभकामना !