तिहारमा औंशीको साँझ। बजारबाट ल्याइएका झिलिमिली बत्तीहरूले घरका झ्यालढोका र आँगन उज्याला थिए। तिहारको चहलपहल थियो। पूजा गर्ने सामग्री, फूलमाला, मिठाई, नयाँ लुगा र आफ्ना मान्छेहरूको जमघट थियो। बाहिर झिलिमिली बत्तीको कुनै कमी थिएन। तर, मनभित्र भने कताकता अँध्यारो र रित्तोपन थियो। सबै कुरा भएर पनि केही नभए जस्तो!
बजैहरू
साँझपख मेरा दुई जना बजैहरू आपसमा गफिँदै हुनुहुन्थ्यो। उमेरले सत्तरी काटि सक्नुभएका उहाँहरू बिहान नियमित औषधि खानुहुन्छ। साँझ परेपछि आफ्नै लोकल औषधि पनि छुटाउनुहुन्न! बिहानको औषधिले शरीरको हिसाबकिताब मिलाउँछ। साँझको लोकल औषधिले जीवनभरको सुखदुःखको हिसाब मिलाउँछ। त्यो उहाँहरू नै जान्नुहोला! त्यसपछि सुरु हुन्छ पुराना दिनका कुरा। अलि लड्बडिएको बोली, बारम्बार दोहोरिने एउटै वाक्य—‘ए ! के जमाना आयो यस्तो, हाम्रो पालामा यस्तो कहाँ हुन्थ्यो र ?’
पासाङ सिंजाली
म भने उहाँहरूका कुरा कान थापेर सुनिरहेकी थिएँ। उहाँहरूको त्यो लड्बडिएको बोलीभित्र कताकता आफ्नै बाल्यकालका तिहारहरू सुनिरहेको जस्तो लाग्थ्यो। उहाँहरूका कुरा सुन्दा लाग्यो–अहिलेको समयसँग पुरानो समयको अदृश्य बहस चलिरहेको छ। मलाई, त्यही साँझ एउटा प्रश्नले घच्घच्याइरहेको थियो–तिहार त आयो, सबै कुरा छन्। तर, मन किन यति रित्तो, किन तिहार तिहारजस्तो लागिरहेको छैन?
खरबारीबाट बाबियो र खर ल्याइन्थ्यो। ठूलो बुवा आँगनको छेउ, पिर्कामाथि बसेर बावियाका लामा चुल्ठी बाट्नु हुन्थ्यो। बावियो सर्कसर्क गर्दै उहाँका हातहरू चलिरहेका हुन्थे। हामी साना केटाकेटीहरू भने फूलका थुँगा टिप्न दौडिन्थ्यौं।
एकातिर बज्यैहरूको पुस्ताले अनुभव गरेको खल्लोपन थियो। अर्कातिर मैले आफैँ महशुस गरेको खल्लोपना। आखिर यी दुई खल्लोपनभित्र के कुरा लुकेको छ? के हामीले साँच्चै केही गुमाउँदै गएका छौं, कि समयसँगै परिवर्तन भएको उत्सवलाई स्वीकार गर्न नसकेको मात्र हो?
मैले आफूलाई सम्झाएँ। बाल्यकाल फर्केर नआएपछि यस्तै लाग्ने होला। उमेर बढ्दै जाँदा रमाइलो गर्ने क्षमता समेत घट्दै जाने हो कि? तर, मनले त्यति सजिलै चित्त बुझाएन। पहिलेभन्दा अहिले हामीसँग धेरै सुविधा छन्। बजारमा चाहिएका सबै सामग्री पाइन्छन्। सजिलै घर सजाउन सकिन्छ। राम्रा लुगा लगाउन सकिन्छ। मन लागेको खानेकुरा छिट्टै बनाउन सकिन्छ। फोटो खिच्न क्यामेरा छ। गीत बजाउन मोबाइल छ। नाच्न साउन्ड सिस्टम छ। तिहार मनाउन चाहिने सामानको सूचीमा त केही छुटेको छैनजस्तो लाग्छ। तर, खुसीको सूचीमा चाहिँ कुन वस्तु छुट्यो त?
उत्तर खोज्न मैले आफूलाई बाल्यकालतिर फर्काउने प्रयास गरें। सम्झनाहरू अलि धमिला भइसकेका थिए। ती सम्झनालाई अझ स्पष्ट बनाउन बज्यैहरू र आमाहरूसँग फेरि बसेर तिहारका पुराना दिनबारे कुराकानी गरें। पहिले तिहार कसरी मनाइन्थ्यो, के–के गरिन्थ्यो, कोको सहभागी हुन्थे, के कुराले तिहार आएको अनुभूति हुन्थ्यो भन्नेबारे लामो विमर्श भयो। बिर्सिएका दृश्यहरू एकपछि अर्को गर्दै आँखाअघि आउन थाले। कतिपय कुरा त मैले बिर्सिसकेकी रहेछु। उहाँहरूले सम्झाइ दिनुभयो। कतिपय कुरा उहाँहरूले सुनाउनु भयो, जुन मैले बाल्यकालमा देखेकी थिएँ। तर, त्यसको महत्व त्यतिबेला बुझ्न सकेकी थिइनँ। तिहारको सम्झना मेरो व्यक्तिगत बाल्यकालसँग मात्र जोडिएको रहेनछ। यो त धेरै पुस्ताले सँगै बाँचेको एउटा सामूहिक स्मृति समेत रहेछ।
आज उपहारको मूल्य, ब्रान्ड र आकर्षक प्याकिङले धेरै ठाउँ ओगटेको छ। उपहारको प्याकिङ खोल्नुअघि नै त्यसको फोटो खिच्ने चलन छ। उहिले आफ्नो घरमा भएको अन्न, पशु वा श्रम समेत सम्बन्धको सम्मानमा अर्पण गरिन्थ्यो।
तिहार, काग तिहारबाटै फरक उत्साहका साथ सुरु हुन्थ्यो। कागलाई चिउरीको पातमा भात र खानेकुरा राखेर खुवाउने चलन थियो। कुकुर तिहारमा कुकुरलाई माला लगाइदिने, पूजा गर्ने र चौबाटोमा लगेर खाना दिने गरिन्थ्यो। पशुपंक्षी, प्रकृति र आफ्नो वरिपरिको जीवनसँग जोडिएका यी संस्कारहरू पर्वका अभिन्न हिस्सा बनेका थिए। तिहार केवल मानिसले रमाइलो गर्ने चाड हो भन्ने लाग्दैनथ्यो। यसले संसारलाई सम्झिन, त्यसको अस्तित्व स्वीकार गर्न र सम्मान गर्न पनि सिकाउँथ्यो।
स्मृतिमा सबैभन्दा गहिरोसँग बसेको दृश्य: औँसीको बिहान
बिहान झिसमिसेमै गाउँका गन्यमान्य व्यक्तिहरू, अध्यक्षहरू तथा घरका ठूला प्रतिनिधिहरूका आँगनमा सोरठी समूह परम्परागत पोसाकमा सजिएर आउँथे। ठूला–साना मादलहरू ल्याएर आँगनमा ठोक्न राखि देवीको सम्झना गरिन्थ्यो। जसलाई मादल फुकाउने भनेर बुझिन्थ्यो। मादलका छालाहरू मिलाउँदै, ताल मिलाउँदै बजाउन थालेपछि एकाएक गाउँ नै ब्युँझिएजस्तो लाग्थ्यो। ड्वाङड्वाङ बजेका ती मादलका आवाजहरू आज पनि मेरा कानमा गुञ्जिरहेका छन्।

त्यसमा गाउँको ठूलाबडाप्रति सम्मान, परम्परा, सामूहिकता र सांस्कृतिक पहिचान जोडिएको थियो। आज ती दृश्यहरू सम्झिँदा कुनै सपना जस्तो लाग्छ। सायद बज्यैहरूका लागि ती सम्झना सपनाजस्तै भइसकेका होलान्। गोवर्धन पूजाको दिनको तयारी, कम रमाइलो हुँदैनथ्यो। खरबारीबाट बाबियो र खर ल्याइन्थ्यो। ठूलो बुवा आँगनको छेउ, पिर्कामाथि बसेर बावियाका लामा चुल्ठी बाट्नु हुन्थ्यो। बावियो सर्कसर्क गर्दै उहाँका हातहरू चलिरहेका हुन्थे। हामी साना केटाकेटीहरू भने फूलका थुँगा टिप्न दौडिन्थ्यौं। बुकीका फूल, पीपलको पात, आँपको पात र अरू रङ्गीचङ्गी फूलहरू खोजेर ल्याउँथ्यौं। फूलका साना गुच्छा बनाएर ठूलो बुवालाई दिन्थ्यौं। ती गुच्छाहरू तोरणमा मिलाएर झुन्ड्याउनु हुन्थ्यो।
न हामीसँग महँगा पोसाक थिए, न आकर्षक साउन्ड सिस्टम। आफ्नो आवाज र सीपले उत्सव सिर्जना गर्ने आत्मविश्वास थियो।
घरधुरी कटाउने गरी लामो तोरण बाटिन्थ्यो। त्यसलाई सबै मिलेर घरको धुरीमा पु¥याउँथ्यौं। चिउरीको पातमा अक्षता राखेर गाईगोठ जान्थ्यौं। गाईलाई टीका लगाउने, पूजा गर्ने र गोठमा पनि फूलसहितको तोरण झुन्ड्याउने गरिन्थ्यो। घर, गोठ, पशु र प्रकृति सबैलाई समेटेर तिहार मनाइन्थ्यो। ती काममा सहभागी हुन पाउनु नै ठूलो खुसी लाग्थ्यो। ती गतिविधिभित्र कति ठूलो सांस्कृतिक शिक्षा लुकेको रहेछ भन्ने महशुस हुन्छ। कसैले छुट्टै कक्षा लिएर सिकाएका थिएनन्। न त कुनै पाठ्यपुस्तकमा त्यसको पाठ थियो। तर, काम गर्दै, हेर्दै र सघाउँदै धेरै कुरा सिकिरहेका हुन्थ्यौं।
तिहारमा दिदीबहिनीहरू माइतीको दाजुभाइका घरमा टीका लगाउन आउँथे। बज्यैहरूका सम्झनामा त्यी दृश्य जीवित छन्। नयाँ मकै रातभरि भिजाएर बिहान कुट्ने, निफन्ने र त्यसबाट मकैका रोटी बनाउने गरिन्थ्यो रे। सेलरोटी र अन्य परिकारहरू तयार पारिन्थे रे। मखमलीका फूल, ओखर र रक्सी बोकेर दिदीबहिनीहरू माइती पुग्थे रे। दाजुभाइलाई टीका लगाउने, माला पहि¥याउने, मिठा परिकार खुवाउने र आशीर्वाद दिने चलन थियो रे।
भैलोको प्रस्तुति र दक्षिणा संकलनबीचको दूरी यति छोटो भएको छ कि दर्शकले ताली बजाउन नपाउँदै सहयोगको थैली अगाडि आइपुग्छ। कला र संस्कृतिका नाममा प्रस्तुत गरिने कुरालाई हेर्ने, सुन्ने र सम्मान गर्ने वातावरण पनि त चाहियो नि होइन र?
त्यतिबेला महँगा उपहार हुँदैनथे होला। बजारबाट ल्याइएका झिलिमिली बत्ती पनि हुँदैनथे तर, दाइभाइप्रतिको माया, सम्मान र आशीर्वादमा कुनै कमी हुँदैनथ्यो। बज्यैहरू सुनाउनुहुन्छ–दिदीबहिनीलाई दक्षिणा दिने चलन थियो। दाजुभाइसँग पैसा नभएको अवस्थामा कतिपयले बाख्रा वा गाईसमेत दक्षिणाका रूपमा दिने गर्थे रे। दाजुभाइलाई रोटी र स्थानीय पेय पदार्थले सत्कार गर्थे। टपरीमा खाना खुवाउँथे रे।
यी कुरा सुन्दा अहिलेको उपहार संस्कृतिसँग तुलना गर्न मन लाग्छ। आज उपहारको मूल्य, ब्रान्ड र आकर्षक प्याकिङले धेरै ठाउँ ओगटेको छ। उपहारको प्याकिङ खोल्नुअघि नै त्यसको फोटो खिच्ने चलन छ। उहिले आफ्नो घरमा भएको अन्न, पशु वा श्रम समेत सम्बन्धको सम्मानमा अर्पण गरिन्थ्यो। वस्तुको मूल्यभन्दा त्यसमा मिसिएको भावना ठूलो हुन्थ्यो। अहिले उपहार सानो भयो भने मन सानो भएको त होइन भन्ने शंका लाग्ने जमाना पो आयो नि।
तिहारको अर्को रमाइलो पक्ष कौडा खेल्नु थियो। सानादेखि ठूलासम्म एकै ठाउँमा भेला भएर कौडा खेल्थे। ‘चौका प¥यो, छक्का प¥यो’ भन्दै हाँसो र रमाइलो चलिरहन्थ्यो। कतिपय ठाउँमा तास पनि खेलिन्थ्यो। हारजित हुन्थ्यो। जित्नेको अनुहारमा खुसी, हार्नेको अनुहारमा असन्तुष्टि भए पनि खेल सकिँदा गफ र हाँसो सबैको साझा हुन्थ्यो। कौडा खेल्नेहरूलाई त रात बितेको पत्तै हुँदैनथ्यो। दाउमा चाखे थाप्नेहरू पनि कम्ति हुन्थेनन् ।
त्यसपछि सुरु हुन्थ्यो देउसीभैलोको रौनक
आजजस्तो साउन्ड सिस्टम, मोबाइल, उफर वा रेडिमेड गीतको व्यवस्था थिएन। आफ्नै स्वर, चुट्की, मादल र भट्याइका भरमा भैलो खेल्थे। समूहमा पालैपालो भट्याउने चलन थियो।
‘रातो माटो, चिप्लो बाटो’ जस्ता स्थानीय भाकाहरू गाउँदै घरघर पुगिन्थ्यो। भट्याउनेको स्वर अलि चर्को, मादलको ताल अलि बेसुरे र पछाडि गाउनेहरूको स्वर एकअर्कासँग नमिले पनि त्यसमा एउटा छुट्टै मिठास हुन्थ्यो। कसैले ताल बिगार्दा पनि कसैले माइक खोसेर सच्याउनुपर्ने अवस्था थिएन। सबैको सहभागिता नै मुख्य सङ्गीत थियो।
भैलो खेल्न जानुअघि ठोकन राखेर देवीको सम्झना गर्दथे। त्यो पूजा हेर्न मानिसहरू जम्मा हुन्थे। आँगनदेखि करेसासम्म मानिसको भीड लाग्थ्यो। युवाहरू, वृद्धवृद्धा, बालबालिका सबै उत्सुकतापूर्वक हेर्न आउँथे। मादल बज्न थाल्थ्यो। भट्याइ सुरु हुन्थ्यो र रात उत्सवमा बदलिन्थ्यो। घरबेटीले दियो बालेर सुपोमा दान सजाएर ल्याउँथे। पानसमा फूल राखिएको हुन्थ्यो, चामलमाथि नोट राखिएका हुन्थे। भैलिनी समूहले दीयो, फूल र अक्षता हातमा लिएर घरबेटीलाई आशीर्वाद दिन्थे।
‘यो घर, दरबारजत्रो। यहाँका छोराछोरी डाक्टर, इञ्जिनियर, पाइलट बनून्। मनका धनी बनून्। सुख, शान्ति र समृद्धि छाओस्’ भन्दै मिठामीठा आशीर्वाद भट्याइन्थ्यो।
घरबेटीले पानसको दीयो ननिभोस् भनेर हातले हावा छेक्दै भित्र पु¥याउँथे।
कति फरक थियो त्यो समय। न हामीसँग महँगा पोसाक थिए, न आकर्षक साउन्ड सिस्टम। आफ्नो आवाज र सीपले उत्सव सिर्जना गर्ने आत्मविश्वास थियो। नाच्ने, गाउने र आशीर्वाद दिने सबैजना एउटै सांस्कृतिक यात्राका सहयात्री थिए। कसैले राम्रो नाच्यो भने सबैले प्रशंसा गर्थे। कसैले बिर्सियो भने अर्कोले सम्झाइदिन्थ्यो। त्यहाँ प्रतिस्पर्धाभन्दा सहकार्य ठूलो हुन्थ्यो। फर्केर हेर्दा ती गतिविधिहरूमा केवल मनोरञ्जन मात्र थिएन, बरु सामूहिक कला थियो। पुस्तान्तरण थियो र समुदायसँग जोडिने अवसर थियो।
अहिले तिहारको भैलो हेर्दा धेरै ठाउँमा स्वरूप बदलिएको देखिन्छ। भैलो खेल्न गाउँका घरआँगनभन्दा बजार र पसलहरू रोजिन्छन्। कतिपय ठाउँमा सांस्कृतिक कार्यक्रमभन्दा पैसा उठाउने उद्देश्य ठूलो भएको अनुभूति हुन्छ। समूहहरू गीत बजाउँछन्, नाच्छन्। आफैँ ताली बजाउँछन्। आफैँ हौसला दिन्छन्। कला हेर्नुपर्ने मानिसहरूलाई फुर्सद हुँदैन। व्यापारीहरू आफ्नो व्यापारमा व्यस्त हुन्छन्। समूहले प्रस्तुति सकाएर दक्षिणा उठाउने पालो पर्खिन्छन्।
भैलोको प्रस्तुति र दक्षिणा संकलनबीचको दूरी यति छोटो भएको छ कि दर्शकले ताली बजाउन नपाउँदै सहयोगको थैली अगाडि आइपुग्छ। पैसा उठाउनु गलत होइन। समूहलाई खर्च चाहिन्छ तर कला र संस्कृतिका नाममा प्रस्तुत गरिने कुरालाई हेर्ने, सुन्ने र सम्मान गर्ने वातावरण पनि त चाहियो नि होइन र? खल्लो लाग्ने कुरा यही हो—कला प्रस्तुत गर्नेहरू छन्। कला हेर्ने र त्यसको सम्मान गर्ने फुर्सद कम हुँदै गएको छ। भैलो सांस्कृतिक कार्यक्रमजस्तो देखिन्छ तर त्यसले बोकेको सांस्कृतिक मर्म कताकता कमजोर हुँदै गएको अनुभूति हुँदैछ।
गाउँघरमा पनि बालबालिकाहरू भैलो खेल्न छोड्दै गएका छन्। खेले पनि कतिपय ठाउँमा मोबाइल बुफर र साउन्ड सिस्टममा रेडिमेड गीत बजाएर नाच्ने चलन बढेको छ। नयाँ गीतमा नाच्नु वा प्रविधि प्रयोग गर्नु नराम्रो होइन, प्रविधि त आफैमा दोषी छैन। दोष हाम्रो प्रयोगमा हुन सक्छ। आफ्नै गाउँका भाका, मादलको ताल, ठूलो नाचको लय र पुराना आशीर्वादका शब्दहरू सिक्ने अवसर पाउनुपर्छ नि!
अहिले त मोबाइलमा गीत खोज्न दुई सेकेन्ड लाग्छ तर आफ्नै गाउँको पुरानो भाका सम्झिन दुई घण्टा लाग्न सक्छ। त्यो पनि कसैले सम्झाइदिए मात्र। हामीले प्रविधिमा धेरै कुरा सुरक्षित राख्यौँ, तर आफ्नै स्मृतिमा रहेका कुरा सुरक्षित राख्न कति समय निकाल्यौं? डाँडापारिबाट सुनिने मादलका ढ्याङढ्याङ आवाज दिने बाजेहरू आज धेरैजसो यो संसारमा हुनुहुन्न। उहाँहरूले बजाएका बाजा, भट्याएका भाका र सिकाएका सीपहरू पनि उहाँहरूसँगै बिस्तारै हराउँदै त छैनन् ? नयाँ पुस्ताले ती कुरा कहाँबाट सिक्ने ? कसले सिकाउने ?
यहींनेर फेरि बज्यैहरूको आवाज सम्झिन्छु—‘के जमाना आयो, के जमाना आयो !’
साँझको त्यो कुराकानीबाट सुरु भएको मेरो प्रश्न अहिले अझ स्पष्ट हुँदै गएको छ। उहाँहरूलाई आफ्नो समयको सामूहिकता, आत्मीयता र सांस्कृतिक जीवनको अभाव महशुस भइरहेको रहेछ। मलाई पनि त्यही कुराको अभाव खट्किरहेको रहेछ। उमेर फरक भए पनि हामी दुवै पुस्ताको खल्लोपनको जरो कतै एउटै ठाउँमा जोडिएको रहेछ। यसमा नयाँ पुस्तालाई मात्र दोष दिएर पुग्दैन। उनीहरूले जे देखे, जे सिके र जे अभ्यास गर्ने अवसर पाए, त्यही त निरन्तरता दिने हुन्। हामीले उनीहरूलाई के सिकायौं? के हस्तान्तरण ग¥यौं? आफ्ना अग्रजहरूबाट सिकेका कुरा कति सुरक्षित राख्यौं? बालबालिकालाई आफ्नै संस्कृति, गीत, बाजा र परम्परासँग जोड्ने कति अवसर दियौं? यी प्रश्नहरू हामी आफैतिर फर्काउनुपर्छ।
भैलोको प्रस्तुति र दक्षिणा संकलनबीचको दूरी यति छोटो भएको छ कि दर्शकले ताली बजाउन नपाउँदै सहयोगको थैली अगाडि आइपुग्छ। कला र संस्कृतिका नाममा प्रस्तुत गरिने कुरालाई हेर्ने, सुन्ने र सम्मान गर्ने वातावरण पनि त चाहियो नि होइन र?
हामीलाई पुरानो तिहारको मादल सम्झना छ, तर त्यो मादल बजाउन जान्ने हातहरूलाई कति समय दियौं? पुरानो भैलोको भाका मन पर्छ, तर त्यो भाका सिक्न कति पटक बज्यैहरूका छेउमा बस्यौं? संस्कृति हरायो भनेर चिन्ता गर्न हामीलाई सजिलो छ; तर त्यसलाई जोगाउन आफ्नो समय, श्रम र रुचि दिन चाहिँ कति तयार छौं? सायद यही प्रश्नको उत्तर खोज्नु अहिलेको आवश्यकता हो।
संस्कृति जोगाउनु भनेको पुरानै कुरामा अड्किएर बस्नु होइन। आधुनिकता र प्रविधिलाई अस्वीकार गर्नु पनि होइन। नयाँ पुस्ताको सिर्जनशीलतालाई ठाउँ दिनुपर्छ तर, नयाँ कुरा थप्दै गर्दा पुरानो पुस्ताले सुम्पिएको ज्ञान, सीप, मूल्य र आत्मीयताको धागो भने चुँडाउनु हुँदैन।
हामीले हाम्रा बाजे बज्यैहरू र अग्रजहरूसँग बसेर उहाँहरूका कथा सुन्नुपर्छ। उहाँहरूले जानेका भाका र बाजा सिक्नुपर्छ। खरको तोरण कसरी बाटिन्थ्यो, फूलका गुच्छा कसरी बनाइन्थ्यो, भैलो कसरी भट्याइन्थ्यो, पानसको दीयो कसरी घरभित्र पु¥याइन्थ्यो भन्ने कुरा नयाँ पुस्तालाई पनि देखाउनुपर्छ। नव पुस्तालाई नाच सिकाउँदा त्यसको कथा सुनाउनुपर्छ। गीत सिकाउँदा त्यसले बोकेको इतिहास र सामाजिक सम्बन्ध बुझाउनुपर्छ।
सायद संस्कृति जोगाउने सबैभन्दा सरल तरिका यही हो। अघिल्लो पुस्तासँग संवाद गर्ने, उनीहरूबाट सिक्ने र आफूले जानेका कुरा पछिल्लो पुस्तालाई सिकाउने। नत्र कुनै दिन हामी पनि आफ्ना नातिनातिनालाई ‘हाम्रो जमानामा यस्तो हुन्थ्यो’ भनेर सुनाउनेछौं। उनीहरूले चाहिँ ‘त्यो बेला भिडियो खिच्नुभएको छैन ?’ भनेर सोध्नेछन्। त्यसपछि सम्झना सुनाउने हामीसँग कथा त होला, तर त्यसलाई अनुभव गराउने अभ्यास नहुन सक्छ।

फेरि त्यही औंशीको साँझ सम्झिन्छु। बाहिर झिलिमिली बत्ती बलिरहेका थिए। दुई जना बजै आफ्नै पुराना दिन सम्झेर कुरा गर्दै हुनुहुन्थ्यो। उहाँहरूको कुरा सुन्दै आफ्नै बाल्यकालका तिहारहरू खोजिरहेकी थिएँ। त्यतिबेला महशुस भयो, मलाई तिहारमा कुनै वस्तुको अभाव खट्किएको रहेनछ। बरु ती वस्तुसँग जोडिएका मान्छे, आवाज, सीप, सम्बन्ध र सामूहिक अनुभूतिको अभाव खट्किएको रहेछ। घरको आँगन उज्यालो पार्न बजारबाट बत्ती ल्याउन सकिन्छ। फूल किन्न सकिन्छ, मिठाई र उपहारले थाली भरिभराउ बनाउन सकिन्छ। फोटो खिचेर सम्झना सुरक्षित राख्न सकिन्छ तर पुस्तौंदेखि बग्दै आएको आत्मीयताको नदी बजारबाट किनेर ल्याउन सकिँदैन। त्यसका लागि त मानिसबीचको भेट, संवाद, सहभागिता र अभ्यास चाहिन्छ।
घरआँगनहरू झिलिमिली हुँदा पनि मनका आँगनहरू रित्तो लागेका रहेछन्।
मलाई अब तिहार फेरि पहिलेजस्तै हुनुपर्छ भन्ने लाग्दैन। समयलाई पछाडि फर्काउन पनि सकिँदैन। न त पुरानो मादलको तालसँग नयाँ गीतलाई प्रतिस्पर्धा गराएर जिताउनुपर्ने हो। नयाँ पुस्ताले नयाँ गीतमा नाच्दा पुरानो भाका सम्झियोस्। मोबाइलमा भिडियो खिच्दा बज्यैको कथा पनि रेकर्ड गरोस्। साउन्ड सिस्टम बज्दा मादलको आवाज हराउन नदियोस्। परिवर्तनलाई रोक्ने होइन, परिवर्तनभित्र आफ्नो मौलिकता जोगाउने हो।
त्यो मादल बजाउन जान्ने हातहरूलाई कति समय दियौं? पुरानो भैलोको भाका सिक्न कति पटक बज्यैहरूका छेउमा बस्यौं? संस्कृति हरायो भनेर चिन्ता गर्न हामीलाई सजिलो छ; तर त्यसलाई जोगाउन आफ्नो समय, श्रम र रुचि दिन चाहिँ कति तयार छौं?
भोलिका बालबालिकाले तिहारमा झिलिमिली बत्ती मात्र नदेखून्। उनीहरूले ठूलो नाचको मादल सुनून्, खरको तोरणमा फूल उनेको देखून्, भैलोका आशीर्वाद सिकून्, बज्यै कथा सुनून् र आफ्नै गाउँको संस्कृतिमा आफूलाई भेट्न सकून्। तिहार मनाउनु एउटा परम्परा हो तर, त्यसको आत्मा पुस्तौंसम्म जीवित राख्नु हाम्रो साझा जिम्मेवारी हो। घर उज्यालो पार्ने बत्ती त हामीले बाल्यौँ। अब, मन र संस्कृतिका आँगन उज्यालो राख्ने जिम्मेवारी हामीले नै लिनुपर्नेछ।
(लेखक गुल्मीमा कार्यरत मन्टेस्वरी प्रशिक्षक हुन्।)