कुमारी हिमाल माछापुछ्रेको आँगन पोखरामा जन्मेहुर्केका खडकराज पौडेल (गनेस) पर्यटन मन्त्रीको जिम्मेवारीमा छन्। साहित्य र कुराकानीमा अध्यात्मको चर्चा गर्न रुचाउने पौडेलको चाहनामा सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गऱ्यो। कति मिठो खबर, अब पर्यटनमा नेपालको नयाँ ब्रान्ड बन्ने भयो!
आधुनिकता, विकास र व्यस्त जीवनशैलीका कारण संसारभरका मानिस तनावमा छन्। उनीहरू निरोगी र आनन्दित हुन चाहन्छन्। त्यसैले शारीरिक र मानसिक शान्तिको खोजिमा भौतारिरहेका छन्।
आरोग्य वर्षको कुरा गर्दा एउटा ऐतिहासिक क्षण सम्झेर गौरवबोध गर्नै पर्छ। त्यो के भने, नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई ‘विश्व आरोग्य दिवस’का रूपमा मनाउने घोषणा गऱ्यो। यो हाम्रा लागि गौरवको विषय हो।
रामग्राम चैत्य परिक्रमा ।
हामीले पनि सन् २०२६ मा पहिलो पटक आरोग्य दिवस मनायौं। त्यही दिन (२ वैशाख २०८३) मन्त्री खडकराजले टुँडिखेलमा ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरेका हुन्।
पक्कै हाम्रो देश आरोग्यधाम बन्न सक्छ। नेपाल प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधाम हो।
बुद्ध हाम्रै पावनभूमि लुम्बिनीमा जन्मेका हुन्, यहाँ सयौं ऋषिमुनि जन्मेका थिए, हाम्रो वातावरणले नै हिलिङ गर्छ भनेर मात्र पर्यटक आउने होइनन्, त्यसअनुरुप उनीहरूलाई आवश्यक वातावरण, गतिविधि र सेवासुविधा चाहिन्छ।
‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा भएको ५ महिना बितिसक्यो, खोई सरकार र पर्यटन बोर्डले संसारभर सूचना प्रवाह गरेको? खोई विदेशी मिडिया र सामाजिक सञ्जालमा नेपालका सुन्दर तस्बिर, भिडियो र जानकारी छाएको?
नेपाल पवित्र भूमि हो। योग, ध्यान र साधनाका लागि अनुपम गन्तव्य। राम्रो तयारी गरेर बजारीकरण गर्न सकेमा नेपाललाई विश्वमै अतुलनीय आरोग्यधामका रूपमा चम्काउन सकिन्छ। त्यसका लागि धेरै काम गर्न बाँकी छ। पहिलो काम, नागरिकमा जागरण ल्याउनु पर्दछ। दोस्रो काम, आरोग्य नेपाल निर्माणमा लागेका संघसंस्था र व्यक्तिलाई समेट्नु पर्दछ। तेस्रो काम, आवश्यक पूर्वाधार विकासमा सरकारले हातेमालो गर्नु पर्दछ। चौथो काम, सरोकारवाला मिलेर आकर्षक प्याकेज बनाउनु पर्दछ। पाँचौं काम, सरकार, नेपाल पर्यटन बोर्ड र पर्यटनकर्मी मिलेर एग्रेसिभ मार्केटिङ गर्नु पर्दछ।
यसो सम्झौं त, गाउँघरमा कुनै शुभकार्य गर्दा घरआँगन लिपपोत गर्ने, सफाइ गर्ने, खानेबस्ने व्यवस्था मिलाउने, पाहुना सहभागी हुने क्रियाकलापको चाँजोपाँजो मिलाउने लगायत सबै बन्दोबस्त गरिन्छ। बल्ल पाहुना रमाउँछन्।
पोखराको उत्तरी डाँडो सराङकोटमा एक ध्यानी।
आरोग्य वर्ष भनेको त राष्ट्रिय अभियान हो। राज्यले औपचारिक रूपमा घुम्न आऊ भनेर आह्वान गरेको अवसर। त्यसैले व्यापक तयारीबिना घोषणा गर्दा उपलब्धि हासिल हुँदैन।
आरोग्य वर्षको घोषणा पनि हतारमा गरिएको पुष्टि भइसक्यो। घोषणा गरेको पनि ५ महिना नाघिसक्यो। तर, सरकारले प्रभावकारी रुपमा तयारी गरेको देखिँदैन।
खासमा यो अभियानले नेपालमा आरोग्यको अभ्यास गरिरहेका संघसंस्थाहरू जस्तो कि ओशो तपोवन, मनोक्रान्ति, प्रकृतिप्रेमी समूह, पतञ्जली योग, जीवन विज्ञान, ह्वाइट गुम्बा, कपन गुम्बा, योग गराउने संघसंस्थालगायत पर्यटनकर्मीलाई समेट्नै पथ्र्यो। पर्छ। उनीहरू सबैका अनुभव सुनेर हातेमालो गर्नु पर्छ कि पर्दैन ? मुलुकमा राष्ट्रिय अभियान सुरु गर्दा उनीहरूले अपनत्व लिने वातावरण बनाउनु पर्छ कि पर्दैन? वर्षौंदेखि आरोग्यका क्षेत्रमा काम गरिरहेकाहरूको प्रत्यक्ष सहभागिता गराउनु पर्छ कि पर्दैन ?
एउटा पर्यटकले ‘आरोग्य वर्षमै मैले नेपाल किन घुम्ने’ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाउनु पर्दछ। उसले विशेष सुविधा वा आकर्षण के के पाउँछ? यसको उत्तर सरकारले दिनै पर्छ।
विगतको इतिहास हेर्दा भ्रमण वर्ष कहिल्यै सफल भएको देखिँदैन। हामीले भ्रमण वर्षमा जति पर्यटक भिœयाउने लक्ष्य राखेका थियौं, त्यति पर्यटक नआएपछि सफलता मिल्यो भन्न मिल्दैन। त्यसैले हाम्रा भ्रमण वर्षका कार्यक्रमहरू कर्मकाण्डी मात्र बनेका इतिहास छ।
कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा योग गर्दै पर्यटक ।
नेपालमा बेलाबेलामा भ्रमण वर्ष मनाइयो। नेपाल भ्रमण वर्ष १९९८, नेपाल पर्यटन वर्ष २०११, नेपाल भ्रमण वर्ष २०२० आदि। यी कार्यक्रमबाट केही पनि भएन भन्न त मिल्दैन, स्वदेशभित्र केही न केही गतिविधि भएको देखिन्छ। तर, विश्वबजारमा आक्रामक मार्केटिङ भएको पाइँदैन। त्यसैले हामीले भ्रमण वर्षमा चाहे जति पर्यटक कहिल्यै ल्याउन सकेनौं।
वास्तविकता के हो भने, काठमाडौंको टुँडिखेलमा बाजा बजाएर घोषणा गर्दैमा पर्यटक नेपाल आउने होइनन्। त्यसका लागि भ्रमण वर्ष सुरु हुनु पहिल्यै विदेशमा राम्रो मार्केटिङ गर्नै पर्छ।
एउटा पर्यटकले अरू बेलामा भन्दा ‘पर्यटन वर्षमै मैले नेपाल किन घुम्ने’ भन्ने प्रश्नको जवाफ पाउनु पर्दछ। उसले विशेष सुविधा वा आकर्षण के के पाउँछ? यसको उत्तर सरकारले दिनै पर्छ।
विगतलाई हेर्दा कस्तो विडम्बना देखियो भने, पर्यटकहरू काठमाडौं उत्रेपछि मात्र नेपाल भ्रमण वर्षको बारेमा जानकारी पाउँथे!
आज हामी एआई युगमा छौं अर्थात् डिजिटल युगमा। पैसा, समय र विवेक भयो भने एउटा कुनामा बसेर संसारभर हाम्रो सूचना फिजाउँन सकिन्छ। अहिलैकै कुरा गर्दा खोई नेपाल सरकार र नेपाल पर्यटन बोर्डले संसारभर ‘नेपाल आरोग्य वर्ष २०२७’ को सूचना प्रवाह गरेको? खोई विदेशी मिडिया र सामाजिक सञ्जालमा नेपालका सुन्दर तस्बिर, भिडियो र शब्द खर्च गरेको ?
पर्यटन प्रवद्र्धन गर्न एग्रेसिभ मार्केटिङ जरुरी छ। कर्मकाण्ड मात्र पूरा गरेर हुँदैन।
‘जस्तो आहार, उस्तै विचार’ । हाम्रो भोजनले शरीर र मन दुवैलाई प्रभावित गर्दछ। हामीले आरोग्य वर्ष मनाउँदा सात्विक आहार र सरल जीवनशैलीका पक्षमा पैरवी गर्नै पर्दछ। सरकारले यसमा किन ध्यान नदिएको ?
आरोग्यका बारेमा सरकार र पर्यटन बोर्डसँग कति जानकारी छ? उनीहरूले कति अध्ययन गरेका छन्? उनीहरूसँग सूचना, तस्बिर र भिडियोको भण्डार कति छ? अनि कहाँ छ?
सरकारले आरोग्य वर्ष २०२७ का लागि राष्ट्रिय आरोग्य पर्यटन रणनीतिमा ४ क्षेत्र तोकेको छ। पहिलो स्पा तथा मसाज सेवा, दोस्रो आयुर्वेद क्लिनिक, तेस्रो योग तथा ध्यान र चौथो प्राकृतिक उपचार तथा आध्यात्मिकता।
के यति गतिविधिमा सहभागी हुनेबित्तिकै मान्छे निरोगी भइहाल्छ? मानसिक सुख एवम् शान्ति मिल्छ? उचित आहार र विचारलाई जोड दिनु पर्दैन?
आयुर्वेदअनुसार आरोग्य भन्नाले शरीर, इन्द्रिय, मन र आत्माको सन्तुलित तथा स्वस्थ अवस्था हो। त्यसैले रोग नहुनु मात्र आरोग्य होइन, शरीर र मनको स्वाभाविक सन्तुलन कायम रहनु पर्दछ।
यसका लागि उचित आहार, विहार र विचार आवश्यक हुन्छ।
‘जस्तो आहार, उस्तै विचार’ भन्ने भनाइ नै छ। हाम्रो भोजनले शरीर र मन दुवैलाई प्रभावित गर्दछ। आयुर्वेद भन्छ, ‘निरोगी शरीर र शान्त एवम् प्रसन्न मनका लागि सात्विक आहार।’
हामीले आरोग्य वर्ष मनाउँदा सात्विक आहार र सरल जीवनशैलीका पक्षमा पैरवी गर्नै पर्दछ। विडम्बना ! सरकारले यसमा ध्यान दिएको देखिँदैन।
म्याग्दीको बेनीबजार नजिकैको सिंघा तातोपानी कुण्ड ।
के ‘वेलनेस इयर २०२७’ जपेर मात्र कार्यक्रम सफल हुन्छ? सन् २०२७ सुरु हुन अब अढाई महिना मात्र बाँकी छ, आजसम्म ‘नेपाल वेलनेस इयर २०२७’ लाई हाँक्ने सचिवालय बनाइएको छैन। अथवा, कुनै संस्थालाई जिम्मेवारी दिइएको छैन।
पर्यटन मन्त्रीज्यू ! खोई आरोग्य वर्षको सचिवालय? खोई आरोग्य वर्षमा गरिने कार्यक्रमहरूको क्यालेन्डर ? को हो, यस अभियानको प्रवक्ता?
ज्यादै ढिलो गरि भर्खरै नेपाल पर्यटन बोर्डको वार्षिक बजेट आयो। यसमा उसले आरोग्य आरोग्य वर्षका लागि १८ करोड रुपैयाँ छुट्याएको छ। यति बजेटले के के काम गर्ने? विदेशमा विज्ञापन गर्ने कि, स्वदेशमा तयारी? प्रवद्र्धनात्मक सामग्री उत्पादन गर्ने कि अन्य काम?
यति रकम त अन्तर्राष्ट्रिय मिडियामा एग्रेसिभ विज्ञापन गर्न हात्तीको मुखमा जिरा जस्तै हुन्छ।
रमाइलो कुरा त के छ भने, निमित्त सिइओका रुपमा काम गरिरहेका नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने केटाकेटी खेल पनि खेलियो। के पर्यटन बोर्डका कर्मचारीलाई यसरी सरुवा गर्न मिल्छ? त्यो अधिकार कसैलाई छ?
तितो सत्य, आजका दिनमा पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) विहीन छ। सरकारले सिइओ नियुक्ति प्रक्रिया त सुरु गरेको छ, तर साह्रै धिमा गतिमा। नयाँ बोर्ड सदस्यहरू नियुक्त भएकै समयमा सिइओको आवेदन खुलाएको भए, यतिबेला बोर्डले सिइओ पाइसकेको हुन्थ्यो? किन ढिलाइ गरियो?
रमाइलो कुरा त के छ भने, निमित्त सिइओको काम गरिरहेका बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने केटाकेटी खेल पनि खेलियो। यद्यपि अहिले उनी बोर्डमै फिर्ता भइसकेका छन्।
के पर्यटन बोर्डका कर्मचारीलाई यसरी सरुवा गर्न मिल्छ? त्यो अधिकार कसैलाई छ? किन कानुनी उपचारमा गएनन्, ती कर्मचारी? चिन्ता बुढी मरी भन्ने होइन, काल पल्क्यो भन्ने हो।
घटनाक्रम हेर्दा जेनजीको बलिदानीको बलमा स्थापित दुई तिहाईको सरकार पनि कर्मकाण्डी मात्र होइन, महाकर्मकाण्डी हुने देखियो। कम्तीमा पहिला पहिला भ्रमण वर्ष हुँदा सचिवालय गठन हुन्थ्यो, केही कार्यक्रमहरू घोषणा हुन्थे। भलै ती अभियानको मुख्य उद्देश्य पूरा भएन, केही न केही काम त हुन्थ्यो!
दोलखा र रामेछापको सङ्गम सैलुङ
यसो फर्केर हेरौं त, नेपाल भ्रमण वर्ष १९९८ मा ५ लाख पर्यटकको लक्ष्य राखिएकामा ४ लाख ६३ हजार ६८४ पर्यटक नेपाल आए। त्यस अभियानले स्वदेशभित्र केही जागरण र उत्साह भने ल्याएको थियो।
सन् १९९७ भन्दा करिब १० प्रतिशत मात्र पर्यटक वृद्धि भएको थियो, यसलाई भ्रमण वर्षको उपलब्धि मान्ने कि अर्गानिक ग्रोथ ?
दश लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल पर्यटन वर्ष २०११ घोषणा गरियो। जबकि त्यो वर्ष जम्मा ७ लाख ३६ हजार २१५ जना पर्यटक मात्र नेपाल आएको तथ्याङ्क देखिन्छ।
त्यसैगरी २० लाख पर्यटक भित्र्याउने योजनासहित ‘नेपाल पर्यटन वर्ष २०२०’ घोषणा गरिएको थियो। तर, सन् २०१९ मा कोभिडका कारण कार्यक्रम रद्द गरियो। सत्य के हो भने, कोभिड नआएको भए पनि हामीले २० लाख पर्यटक पु¥याउने सम्भावना थिएन। पर्यटन वर्ष सचिवालयले प्रभावकारी काम गरेकै थिएन। न त विश्व बजारमा पर्यटन वर्षको सन्देश पुगेकै थियो, न स्वदेशमा प्रभावकारी कार्यक्रम भएका थिए।
एउटा सानो उदाहरण, त्यतिबेला उसले पर्यटन वर्षको मस्कट भनेर यतीको प्रतिमा बनाएको थियो, जुन आकारमा सुमो जस्तो थियो। त्यसमा न यतीका विषयमा समाजमा स्थापित चित्र थियो, न नेपालीपन नै। त्यसैले त्यो कामको विरोध भयो।
अब कहिल्यै यस्तो खेलाँची नगरौं।
एकैछिन गत वर्षको तथ्याङ्क हेरौं, सन्, २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आए। यो अर्गानिक ग्रोथ हो, निजी व्यवसायी र नेपालप्रेमी विदेशीको यसमा योगदान छ। अर्को कुरा, घरपरिवार भेट्न आएका गैरआवासीय नेपालीलाई पनि यसमा गणना गरिएको छ। प्राविधिक हिसाबले उनीहरू पर्यटक नै मानिन्छन्।
विश्व बजारमा नेपालको मार्केटिङ गर्ने प्रमुख जिम्मा पाएको नेपाल पर्यटन बोर्डले अरबौं रुपैयाँ बजेट खर्च गरिसक्यो, त्यसको परिणाम खोई? कहाँ गयो त्यत्रो बजेट? सेतो हात्तीका रूपमा बोर्डलाई पालिराख्ने कि खारेज गरेर पर्यटन प्राधिकरण बनाउने ?
हाम्रोमा कुनै पनि अभियानको उद्घाटनमा तामझाम गरिन्छ। त्यसपछि पर्याप्त बजेट, भिजन र कार्यक्रम अभावमा अभियान केवल कर्मकाण्डी बन्छ।
खोटाङको हलेसीधाम ।
प्रवद्र्धनको प्रमुख दायित्व सरकार र पर्यटन बोर्डको हो। विश्व बजारमा नेपालको मार्केटिङ गर्ने मुख्य जिम्मा पाएको नेपाल पर्यटन बोर्डले अरबौं बजेट खर्च गरिसक्यो, त्यसको परिणाम खोई? कहाँ गयो त्यत्रो बजेट? सेतो हात्तीका रुपमा पर्यटन बोर्डलाई पालिराख्ने कि पुर्नसंरचना गर्ने? बोर्ड खारेज गरेर पर्यटन प्राधिकरण किन नबनाउने ?
नेपालमा पर्यटन सुरु भएको ७ दशक नाघिसक्दा पनि हामीले वार्षिक १२ लाख विदेशी पर्यटक पनि ल्याउन सकेका छैनौं? कहाँ चुक्यौं हामी? के सरोकारवाला सबैले आत्मसमीक्षा गर्नु पर्दैन? यसमा गम्भीर बन्न ढिला भइसक्यो।
बुद्ध जन्मस्थल लुम्बिनी ।
अब के गर्ने त? विगतबाट पाठ सिकौं, हतारमा कुनै अभियान घोषणा नगरौं। राम्रो सुझबुझ, तयारी र कार्यक्रमसहित घोषणा गरौं। अनि, बेलैमा विश्व बजारमा पुगौं।
नेपालीमा एउटा उखान छ, हात्ती आयो हात्ती आयो फुस्सा ! आरोग्य वर्ष पनि त्यस्तै हुने लक्षण देखिन्छ। हामी कामना गरौं, त्यस्तो नहोस्, किनकि राष्ट्रिय अभियान असफल हुनु भनेको हामी नागरिकको पनि असफलता हो।
हामी सबै आजै गम्भीर बनौं। ढिलो भइसक्यो, यद्यपि जति पहल गर्न सकिन्छ गरौं।
पर्यटन मन्त्रीज्यू ! चाँडै शुभ सङ्केत देख्न पाइयोस्।
बडादसैँको शुभकामना !
अमृत भादगाउँले