हरायो मन ओझेल परेको स्वर्ग कोठीको भिरैमा ,
कथा र व्यथा संस्मरण लेख्छु बसेर शिरैमा।
सबैले बुझून्, सबैले पढून्, यही मेरो शिक्षा हो,
नवोदित स्रष्टा, स्वीकार्नुस् यो मेरो भिक्षा हो।
अघिल्लो दिन (भदौ ४ गते) म फूलबारी लेकको फेदी नजिकै गोठाला गर्दै थिएँ। दिनभरि झरी परेको थियो। निथ्रुक्क भिजेको शरीर र थकानले अल्छी लागिरहेका बेला, रेनकोट र ज्याकेटको भित्री गोजीभित्र प्लास्टिकमा पोका पारेर सुरक्षित राखिएको मोबाइल बज्यो। म अक्सर फोन मिस्ड गर्दिनँ। फोन, कन्सेप्ट लुम्बिनीका संस्थापक अध्यक्ष बाल्कुराम पुनको थियो, जसले मलाई कामकै सिलसिलामा सम्झिरहनुहुन्छ।
एल. बी. मगर
अत्यन्तै शालिन स्वरमा उहाँले रोल्पा, प्युठान र बागलुङको सिमानामा पर्ने सबैभन्दा अग्लो टापु कोठीभिरमा ‘समिट कोठीभिर’ कार्यक्रम आयोजना हुन लागेको र साहित्यिक रचनासहित अर्को दिन बिहान ९ बजे बाहिरीगाम टोलीमा उपस्थित हुन अनुरोध गर्नुभयो।
लामो समयदेखि कोठीभीर पुग्ने मेरो तीव्र इच्छा भएकाले मैले खुसीसाथ निम्तो स्वीकार गरेँ। कोठिभीर सम्मको यात्रा तनमन र बचनले टुङ्ग्याएँ। ‘पख्नुस्, अब म कोठीभिरलाई शिरदेखि पाउसम्म चिरफार गर्छु!’
झरी, उकालो र रातको यात्रा
रातभरि मलाई कोठीभीरले बोलाइरह्यो। बिहानै मैले आफ्नो यात्राको इच्छा परिवारसामु राखेँ। जीवनसाथीले एकाबिहानै उठेर भात मात्र पकाइनन्, बाटोको अर्नीसमेत प्याक गरिदिइन्। घरको आँगनबाट पाइला बढाउँदा आकाश पसिना बगाएझैँ निरन्तर रोइरहेको थियो। तर, झरीको प्रवाह नगरी म करिब ११ बजे बाहिरीगाम पुगेँ। त्यहाँ भानिज तेसन घर्तीमगर र छिमेकी भतिज निर्मल घर्तीमगरसँग भेट भयो।
टोली नेता बालकुरामको नेतृत्वमा १५÷१६ जनाको टोली अघि बढिसकेको थियो। केही विशेष कारणले हामी तीन जना ढिलो भएकाले दिउँसो ३ बजे मात्र भित्रीगामबाट हाम्रो यात्रा सुरु भयो।
दिन ढल्दै गयो, तर पानी थामिएन। रातो माटोको चिप्लो बाटोमा पहिलो गियरमा खुट्टाका १० नङ्ग्राहरु रातो माटोको हिलाम्मे बाटोमा कोतार्दै हामी उकालो लाग्यौँ। अघिल्लो टोली धेरै माथि पुगिसकेको थियो। तैपनि बाटो कटाउन गाउँ, कोठीभीर र विविध विषयमा बहस गर्दै हामी द्रुत गतिमा हिँड्यौँ। तर माथि उक्लिँदै जाँदा मोबाइल नेटवर्क गुम्यो र अघिल्लो टोलीसँग सम्पर्कविच्छेद भयो। दुवै टोली एकीकृत हुने प्रयास विफल भयो।
सिमसिमे झरी निथ्रुक्क रुझ्दै, बाक्लो कुहिरो अँध्यारी रातमा,
घ्रुरुम्म लोड्दै, जुरुक्क उठ्दै १० औँला टेकी रातो माटोमा...
यात्राको सुरुवातदेखि नै मौसमले हामीलाई दह्रो परीक्षा लिन थाल्यो। दिनभरि रिमझिम रिमझिम पानी परिरहेको थियो। रातो माटोको बाटो, त्यसमाथि निरन्तरको वर्षा। घिस्रिँदै, सम्हालिँदै हामी अघि बढिरह्यौँ। अँध्यारो रात बाक्लिँदै जाँदा बाटो ठम्याउनै गाह्रो पथ्र्यो। त्यो रातको अर्को ठूलो चुनौती थियो—खुट्टाभरि टाँसिएका जुका ! पाइलैपिच्छे जुकाको हैरानी। करिब ९ बजेसम्म निरन्तर हिँडेपछि बल्ल हामीले बासका लागि एउटा सानो गोठ भेट्यौँ।
दिनभरको थकान, भोक र चिसोका बिच त्यही गोठ हाम्रा लागि महल सरह बन्यो। संयोगवश भित्रीगामबाट आएको हाम्रै टोलीसँग भेट भयो। गोठमै सुतेर रात काट्यौँ।

जादुमयी कोठीभिर
बिहान सबेरै उठेर अर्नी गरेपछि यात्रा अघि बढायौँ। देउराली छेडा पुग्दा नेटवर्क आयो र पछिल्लो टोलीसँग सम्पर्क भयो। त्यहाँ हामीले देउरालीमा फूल चढायौँ। मौसम सफा थियो, कोठीभिरका चुचुरोहरू मुस्कुराइरहेका थिए।
माहिलो कोठीको काख हुँदै हामी जेठो कोठीतर्फ लम्कियौँ। सुनछहरी–३ बाहिरीगामले कान्छी कोठी भीरसम्म तथा नौबहिनी गाउँपालिका स्याउलीबाङले माहिलोदेखि जेठो कोठीसम्म पैदलमार्ग निर्माण गरिदिएकाले यात्रा निकै सहज भएको रहेछ। पहिले यात्रीहरू अलमलिने र हराउने गर्दथे। तर कान्छीदेखि माहिलो कोठी र जेठी कोठीको फेदीसम्म अझै पैदलमार्ग नभएकाले नयाँ यात्री अलमलिन सक्ने सम्भावना छ।

जब हामीले कोठीभीरको प्राङ्गणमा पाइला टेक्यौँ, रङ्गीविरङ्गी फूलहरू र अमूल्य जडीबुटीहरू देखिन थाले। हाम्रा आँखाहरू त्यहाँको सौन्दर्यमा दौडिन थाले, मीठो सुवासले मनै हरिलगत्तै पार्यो। भारी जिउ हलुका भयो र बाटोका सम्पूर्ण सास्ती एकाएक गायब भए। कोठीभिर साँच्चिकै जादुमयी थियो; वैद्य आउँदा वर्षौँको बिरामी निको भएजस्तै अनुभूति भयो।
जति माथि उक्लियो, मन उति नै आनन्दित हुँदै गयो। कुमकोठीमा रहेको देउरालीमा सिमेभूमे देवीदेउरालीलाई फूल चढायौँ।
कुमकोठीबाट करिब ६०० मिटर अगाडि ठूलो कोठीको चुचुरो भेटिन्छ। चुचुरोमै कार्यक्रम गर्ने संयोजक बालकुराम पुनको योजना भए पनि बाक्लो कुहिरो र पानीका कारण हामी सुनछहरी–२ घ्वाखोला निवासी श्री गौमन घर्तीमगरको भेडीगोठतिर लाग्यौँ। १८ जनाको हाम्रो टोलीलाई गौमन दाइले गाँस र बासको साह्रै न्यानो व्यवस्थापन गरिदिनुभयो; उहाँलाई दर्बिलो सलाम छ!
साँझपख चिसो सितनहरूसँगै लोकदोहोरी घन्किन थाल्यो र त्यो रात पूर्ण रूपमा सङ्गीतमय बन्यो।
समिट कोठी
रातभरि ‘भोलि मौसम खुल्ला कि नखुल्ला?’ भन्ने चिन्ता थियो। तर बिहान उठ्दा आकाश छ्याङ्गै उघ्रिएको थियो। पहेंलो घामका किरणहरू पोखिएर कोठीभिरको सुन्दर रूप झलमल्ल टल्किएको थियो। बिहान ६ बजे चियापान लगत्तै हाम्रो जम्बो टोली सूर्योदयको अलौकिक दृश्य अवलोकन गर्न र ‘समिट कोठीभिर’ कार्यक्रमका लागि चुचुरोतर्फ उक्लियो। उज्यालो प्रकाशमा चम्किएको त्यो दृश्यमा फोटो खिचाउनेहरूको घुइँचो नै लाग्यो।
प्युठानको नौबहिनी गाउँपालिका स्याउलीबाङबाट समाजसेवी नरेन्द्र घर्तीमगर, निवर्तमान सदस्य एल. पी. शेरचन, पूर्णबहादुर बुढा र नौबहिनी स्पोट्र्स क्लबका अध्यक्ष शिवलाल घर्तीमगर लगायत थुप्रै आत्मीय साथीहरू आइपुग्नुभएको थियो।

बिहान ९ बजे कन्सेप्ट लुम्बिनीका संस्थापक अध्यक्ष बालकुरामको अध्यक्षता, समाजसेवी नरेन्द्र घर्तीमगरको प्रमुख आतिथ्यता तथा खुमबहादुर सुनारको सञ्चालनमा ‘समिट कोठीभिर’ कार्यक्रमको भव्य उद्घाटन भयो।
लगत्तै एल. बी. मगरको सहजीकरणमा भएको ‘साहित्यिक रचना वाचन’ सेसनले वातावरणलाई कविता, गजल र मुक्तकमय बनायो। अन्तमा तेजमाया घर्तीमगर र नरेन्द्र घर्तीमगरको चोटिलो दोहोरीले सबैको ध्यान खिच्यो। लाग्यो— कोठीभीरको चुचुरो गीत–सङ्गीत र विचारले गुञ्जिरहेको छ र कोठीभीर स्वयं प्रसन्न भएर हाम्रो अभिभावक बनिरहेको छ।
कोठीभिरको शिरमा गुन्जियो साहित्यक रचना वाचन र दोहोरी ।

करिब २ घण्टा चलेको यो विशेष कार्यक्रमपछि, दुवै जिल्लाका साथीहरूबिच पुनः भेट हुने र कोठीभिरको प्रचारप्रसार, विकास तथा संरक्षणमा निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धताका साथ हामीले बिदाइका हातहरू हल्लायौँ।
फर्किँदा बाटैभरि कार्यक्रमको सार्थकता र औचित्यको समीक्षा गर्दै हिँड्दा भित्रीगाम आइपुगेको थाहै भएन।
तीता–मीठा यथार्थ र मेरो दृष्टिकोण
मानिससँग करोडौँको सम्पत्ति होला, तर खुसी र सन्तोष मन नहुन सक्छ। मान्छेका अनेकौँ ईच्छा र रहरहरु हुन्छन्, जसमध्ये आज धेरैलाई कोठीभिर जाने तीव्र रहर छ, तर ‘कसरी जाने? कहाँ जाने?’ भन्ने सूचनाको अभाव छ।
रोल्पाको बाहिरीगाम र प्युठानको स्याउलीबाङ दुवैतिरबाट पैदल मार्ग निर्माण गरिए तापनि बाटामा अनेकौँ शाखाहरू भएकाले नयाँ पर्यटकहरू अलमलिने तथा ठाउँको नाम थाहै नहुने समस्या छ।

त्यसैले, तत्काल सम्बन्धित निकायले दोबाटो र दोधार भएका ठाउँहरूमा स्पष्ट सूचनामूलक बोर्डहरू राख्न अति आवश्यक छ। बेस क्याम्पमा रहेको प्रतिक्षालयलाई व्यवस्थित बनाउनुपर्छ।
साथै, यति सुन्दर कोठीभिरको पहिचान मेटिने गरी चुचुरोमा राखिएको ‘झण्डा गाडे’ नामको बोर्डलाई तत्काल सच्याइनुपर्छ। पर्यटकका लागि गाँस र बासको सहज व्यवस्थापनमा पनि सम्बन्धित पक्षको ध्यान जान जरुरी छ।
वास्तवमा, कोठीभिर प्युठान, रोल्पा र बागलुङ— यी तीन जिल्लाको साझा गन्तव्य हो। कसैको भूभाग थोरै वा कसैको धेरै होला, तर यी तीन जिल्ला ओदानका तीन खुट्टा हुन्। एउटा खुट्टा बिना ओदानले पूर्णता पाउन सक्दैन। लिपूलेक र कालापानी नेपालकै भूमि हो भनिरहेको बेला कोठीभीर पनि हामी सबैको साझा धरोहर हो। यसको विकास, संरक्षण र व्यवस्थापनमा हामी सबैले सकारात्मक सोचका साथ होस्टेमा हैंसे गर्दै हातेमालो ग¥यौं भने मात्र कोठीभीर साँच्चिकै ‘कोठीभिर’ बनेर चम्किरहनेछ।

जय कोठीभिर, जय पर्यटन!
(लेखक एल. बी. मगर रोल्पा जिल्ला, सुनछहरी गाउँपालिका वडा नंं. ४, सिउरीका बासिन्दा हुन्।)