यात्रा पनि किसिम किसिमका हुन्छन्। कुनै विशुद्ध मनोरञ्जनका लागि गरिन्छ भने कुनै कुनै यात्रा निश्चित उद्देश्य प्राप्तिका लागि। यस्तै एउटा अर्थपूर्ण यात्रा गर्ने अवसर जुट्यो–घरपझोङ काव्ययात्रा २०८३ ।
काव्ययात्राको निम्तो पाएदेखि नै मनमा हुटहुटी बढेको थियो। वि.सं. २०८३ वैशाखतिरै यात्रा हुने जानकारी पाएको थिएँ। तर असार १३ गते मात्र साइत जुर्यो। साथीहरू काठमाडौंबाट पोखरासम्म उडेपछि एउटा माइक्रो बसमा बेनी बजार आइपुगे।
गलेश्वरधाममा काव्ययात्री
अमृत र म भने बेनीबजारमै बसेका थियौं। खासमा हामी बागलुङको ढोरपाटन घुमेर अघिल्लो दिन बेनीमा आइपुुगेका थियौं।
बेनीबजारमा हामीले साथीहरूको स्वागत गर्योैं। र, त्यहाँ नुवाकोटे भाइ राजन लामाले खोलेको ‘लामा कुदाप’ होटलमा मिठो खाना खायौं। यी लामा भाइको जीवनसङ्घर्ष प्रेरणादायी रहेछ।
नुवाकोटबाट मजदुरी गर्न बेनीबजार आइपुुगेका उनले सुरुका दिनमा होटलमा भाँडा माझ्ने, खाना पकाउने र सरसफाइ गर्ने काम गरेछन्। सङ्घर्ष गर्दागर्दै उनले आफैं होटल सञ्चालक बन्न सफल भएका रहेछन्। उनकी जीवन साथी सलिना पनि मिहिनेती रैछन्।

खानापछि हामी १५ जनाको टोली गलेश्वर मन्दिरमा पुुग्यो। ९ रोपनीको एउटै चक्रशिलामा महादेवको मन्दिर। त्यहाँ कामधेनु गाईको पनि दर्शन गरियो। हामीलाई त्यहाँका मूल पूजारी र व्यवस्थापन समितिका पदाधिकारीले न्यानो स्वागत गरे। उनीहरूले टीका र रुद्राक्षको माला लगाइदिए।
पूजारीले हामीलाई गलेश्वरको महिमा पनि सुनाए।
गलेश्वरधामबाट बिदा भएर यात्रा निरन्तर अघि बढ्यो। खोंचमा गहिरिएर बगेकी कालीगण्डकीको किनारै किनार हाम्रो बस गुडिरह्यो। हामीले झ्यालबाट बाहिरी दृश्य हेरिरह्यौं।
मार्फा गाउँ
रुप्से झरना पुगेसी हाम्रो गाडी पुनः रोकियो। हामी ओर्लिएर त्यो मनमोहक झरनामा रमायौं। त्यसलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्यौं। टिकटक पनि बनायौं। यसरी हामी त्यहाँ रमायौं।
हाम्रो काव्ययात्राको पहिलो दिनको गन्तव्य थियो, मार्फा गाउँ। त्यसैले हामी गाडीमा सरर मार्फातिर सोझियौं।
छयो गाउँ पुुगेर रोकियौं। त्यहाँबाट हामीले धौलागिरि हिमालको दर्शन गर्यौं। हिमाललाई कहिले बादलले डम्मै ढाक्ने र कहिले खुल्ने गरिरहेको थियो। त्यहाँ पनि केही बेर हामी रुप्से झरनामाझैं रमायौं।
हामी मार्फा गाउँमा पुग्दा झिमिक्क साँझ परिसकेको थियो। मार्फा पुग्नुअघि हामीले बाटोबाट निलगिरि हिमालको पनि दर्शन पाएका थियौं।
मुुक्तिनाथसम्म सडक सञ्जाल जोडिनुअघि मार्फा हुँदै पर्यटक हिँडेर ओहोरदोहोर गर्थे। अचेल सडक सुविधाले यातायातका साधनमा हुइकिन्छन्। यद्यपि पछिल्ला केही वर्ष यता मार्फामा चहलपहल बढेको छ। मार्फा पर्यटकीय हब बनेको छ।

मार्फा नघुुमी मुस्ताङ यात्रा अपुुरो हुन्छ। विशेषतः नेपाली र भारतीय पर्यटक यहाँका गल्लीमा डुल्छन्। हिमाली र थकाली पहिरन लगाएर तस्बिर खिच्छन्। टिकटक र रिल्स बनाउँछन्।
गाउँमा बगान भएकाले स्याउबारीमा पनि रमाउँछन्। झुुरुप्प बस्तीमा होटल तथा रेस्टुराँ सुविधा छ।
हामी ‘रोयल मार्फा’ होटलमा झोला बिसाएर साँझको मार्फा घुम्न निस्कियौं। बाहिरबाट हेर्दा झुरुप्प स्यानो देखिने गाउँ, भित्र डुल्दै जाँदा घुमेरै नसकिने रहेछ। कति रमाइला गल्लीहरू ! होटल, रेस्टुराँ, र विभिन्न किसिमका पसलहरू ।
राष्ट्रियगानका लेखक व्याकुल माइलासँग गीतकार सागर उदास
सफा घरआँगन, र गल्लीहरू। ढुङ्गा र माटोबाट बनाइएका घर। सबैमा सेतो रङ्ग पोतिएको।
मार्फा अर्थात् थकाली बस्ती। घरपझोङ गाउँपालिकामा पर्छ मार्फा। यस गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन पनि मार्फाकै रहेछन्। त्यसो त सिङ्गो गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ।
साँझ हामी एउटा रेस्टुराँमा स्थानीय मदिरा ‘उवाको रक्सी’ चाख्दै थियौं। त्यहीँ टुप्लुक्क आइपुगे अध्यक्ष मोहनसिंह। उनले हामीलाई हिमाली सभ्यता, थकाली जीवनशैली र घरपझोङका विषयमा जानकारी गराए।
गाउँपालिकामा उनको नेतृत्व आएपछि कृषि उत्पादन, पर्यटन विकास र संस्कृति संरक्षणमा धेरै काम भएको रहेछ। उनले हामीलाई जलवायु परिवर्तनको प्रभावका विषयमा पनि अनुभव सुनाए।
यसरी पहिलो दिनको यात्रा मिठो कुराकानीमा पुरा भयो।
गीतकार सागर उदास
भोलिपल्ट ब्रेकफास्ट टाइममा गाउँपालिकाका अध्यक्ष मोहनसिंह र उपाध्यक्ष जमुना थकाली थापामगर पनि हामी बसेकै होटलमा आइपुुगे। उनीहरू आएपछि मैले ‘हात खाली नजाने उपहार’ खेलाएँ।
यात्रालाई रोचक बनाउन मैले सधैं केही सामान किनेर लाने गरेको छु। सबै सहभागिले गोला थुतेर त्यसमा जे लेखिएको छ, त्यो सामान प्राप्त गर्छन्। सबैभन्दा पहिला अध्यक्ष मोहनसिंहले गोला थुते, उनलाई ट्वाइलेट पेपर उपहार प¥यो। एवम् रितले चाउचाउ, क्याटबरी, जुस, ब्रसमञ्जन आदि पाए साथीहरूले।
पोखरेली स्रष्टा लक्ष्मण थापालाई भने मग्मगाउँदो परफ्युुम उपहार प¥यो।
हामी बिहानी खाजा खाएर फेरि गाउँ घुम्न निस्कियौं। महिलाले थकाली पहिरन लगाए भने हामी पुरुषले हिमाली पहिरन।
जिन्दगीमा पहिलो पटक हिमाली पहिरन लगाउँदा बेग्लै आनन्दको अनुभूति भयो। हामीले घण्टौंसम्म तस्बिर खिच्यौं। त्यही पहिरनमा मार्फाका गल्ली डुल्यौं। माथि गुम्बामा पनि पुग्यौं।
हाम्रो यात्रामा राष्ट्रिय गानका लेखक व्याकुल माइला पनि थिए। ज्यादै सरल र मिलनसार माइलासँगै खप्तडपछि फेरि यात्रा गर्ने अवसर मिल्यो।

मार्फाबाट हामी तीन ओटा जिपमा चिमाङ गाउँ गयौं। डाँडामा रहेछ बस्ती। बस्ति मुन्तिर स्याउ बगान। बारीमा थरिथरिका तरकारी। कृषि उत्पादनका लागि चिमाङ प्रख्यात रहेछ।
चिमाङलाई आँखाले र मनले खिचेपछि हामी हिँडेरै ओरालो झ¥यौं। तल केही घर देखिए, छैरो गाउँको। छैरोमा पनि स्याउको बगैंचा रहेछ।
एक छेउमा प्राचीन गुम्बा पनि छ, छैरो छहरा गुम्बा। १६ औं शताब्दीमा बनाइएको गुम्बा। आकर्षक कलाकृति र मूर्तिहरूले भरिपूर्ण। गुम्बाको मूल भवन बाहिर अर्को भवनमा गुरु रिम्पोचे (पद्यसंभव)को विशाल मूर्ति रहेछ।
गुम्बामा पुग्दा मनमा शान्ति छायो। मैले रिम्पोछे सामुुन्ने उभिएर एकछिन आँखा चिम्म गरें। म त कता हराएँ कता!
गुम्बा दर्शनपछि हामीले तिब्बती शरणार्थी क्याम्प घुम्यौं। उहिल्यै चीनले तिब्बतलाई अधिनमा लिएपछि दलाई लामासहित उनका अनुयायी भागेर कोही नेपाल त कोही भारतमा पुगेका थिए। त्यतिबेलै आएका तिब्बतीहरूलाई यहाँ बास दिइएको रहेछ।

शरणार्थी क्याम्प नजिकै एउटा अनौठो झरना पनि देख्यौं, ‘छैरो छहरा’। माथिबाट बगेको पानी बिचमा पुगेर हावाको वेगका कारण माथितिरै फर्केको अथवा भनौं उडेको दृश्य रोचक थियो।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पथप्रदर्शक बनाएर यात्रा गर्न पाउनु आफैंमा सुखद् थियो। त्यसमाथि बेग्लै हिमाली भूदृश्यले मोहनी लगाइरह्यो।
ढुम्बा ताल
हामी त्यहाँबाट डाँडाको टुप्पामा रहेको कुछप तेरेङ्गा गुम्बामा पुग्यौं। दर्शन ग¥यौं। गुम्बाको आँगनबाट हामीले मार्फा, जोमसोम र ठिनी गाउँको सुन्दर दृश्यावलोकन पनि ग¥यौं।
दोस्रो दिनको बास ठिनी गाउँमा थियो। ठिनी झर्नुअघि हामी एउटा रमाइलो तालमा पुग्यौं, ‘ढुम्बा ताल’मा। त्यहाँ पुग्दा हावा यति चलेको थियो कि, मेरो त क्याप नै उडायो।
हामीले एक फन्को तालको चक्कर लगायौं। स्यानो तर सुन्दर ताल। तालको सौन्दर्यमा डुबुल्की मारेपछि हामीले त्यहाँको क्याफेमा कालो चियाको चुश्की लियौं।
हामी त्यहाँबाट ठिनी गाउँमा पुग्दा होमस्टे सञ्चालकहरू फूलमाला र याक नाचसहित तयारी अबस्थामा बसेका रहेछन्।
उनीहरूले सेतो टीका र खादाले सम्मान गरे। र, याक नाच नाच्दै उनीहरूले गाउँ बिचको खुला ठाउँमा पुर्याए।
त्यहाँ पुुगेपछि हामी पनि याक र स्थानीय आमा समूहसँगै नाच्यौं।
ठिनी गाउँमा याक नाच
कहिल्यै नदेखेको याक नाच हेर्न पाइयो। आमाहरूले हामीलाई चिया र भुटेको मकै खुवाए।
कति मिठो आत्मीयता !
ठिनी गाउँका महिला
हिजो मार्फामा हामी सबै काव्ययात्री एउटै होटलमा बसेका थियौं। यहाँ भने घरघरमा बाँडिएर बस्यौं। आखिर होमस्टेको विशेषता भनेकै यही त हो।
ठिनी नेपालकै पहिलो थकाली सामुदायिक होमस्टे। संसारले थकाली खाना मन पराउँछ। स्वदेशमा मात्र होइन, विदेशमा पनि ‘थकाली थाली’ ब्रान्डका रुपमा स्थापित भइसकेको छ।
हामी त्यही थकाली समुदायको आदिम भूमिमा पुग्दा गद्गद् भएका थियौं।

हाम्रो होमस्टेमा अमृत, म र कवि दीपेन्द्रसिंह थापा तीन भाइ बस्यौं। दीपेन्द्र कवि मदिरापानबाट टाढा छन्। त्यसैले अमृत र मैले होमस्टेकी बहिनीले भुटेको याकको मासुसुँगै उवाको रक्सी चाख्यौं।
स्वाद ? ज्यादै मिठो थियो।
साँझको खाना भने होमस्टेको भवनमा सामूहिक रुपमा खुवाइयो। त्यहाँ पनि हामीले थप्यौं उवाको जुस। शिव प्रकाश, भूपिन, अनुपम रोशी, राजकुमार गजुरेल, प्रगति राईसहित हामीले एकछिन खानपिन गर्यौं।
भोलिपल्ट बिहान निलगिरि हिमाल खुल्ने आशा थियो, तर खुलेन। हामीले घरको छतबाटै माथिको ‘घरपझोङ किल्ला’ अवलोकन गर्यौं। पहिला त्यहीँ थियो रे थकालीको बस्ती। त्यहाँ राजा ठोकरचेनले शासन गर्थे रे। पछि त्यहाँबाट सरेर ठिनी, स्याङ, छैरो, चिमाङ, मार्फा र जोमसोमतिर फैलिएको रहेछ।
छैरो छहरा गुम्बामा
बिहान हामीले घरघरमै ब्रेकफास्ट खायौं। कोदोको रोटी, तरकारी र चिया।
गाउँपालिका उपाध्यक्ष जमुना बहिनीको घर पनि ठिनीमै रहेछ। उनले हामीलाई भुटेको मकै र चियाले स्वागत गरिन्। हँसिली, फरासिली र सहयोगी रैछिन् जमुना पनि।
खाजापछि हामी थकाली सामुदायिक सङ्ग्रहालय घुम्यौं। त्यहाँबाट जोमसोम बजारको दृश्यावलोकन ग¥यौं। कालीगण्डकी तिरमा बसेको जोमसोम आधुनिक बजार भइसकेको रहेछ। पक्की सडक, बैंक, एटिएम, कफी सप, बेकरी सप, होटल, रेस्टुराँ आदि सुविधायुक्त बजार।
जोमसोममा विमानस्थल पनि छ।
हाम्रो निर्धारित कार्यक्रमअनुसार जोमसोमको जनहित माध्यमिक विद्यालयमा राष्ट्रिय गानमा सरिक हुनु थियो। त्यसैले बिहानको दश नबज्दै हामी त्यहाँ पुग्यौं। सयौं विद्यार्थीका अघिल्तिर उभिएर हामी सबैले गायौं, ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ।’
राष्ट्रिय गानका लेखक व्याकुल माइला
राष्ट्रिय गानका लेखक व्याकुल माइलासँगै यसरी गाउँदा विद्यार्थी र शिक्षकले मात्र होइन, हामी स्रष्टाले पनि गौरवबोध गर्यौं।
व्याकुल माइलाले विद्यार्थीलाई प्रेरक मन्तव्य पनि दिए। उनले राष्ट्रप्रेममा जोड दिए।
त्यो क्षण हामी सबै भावुक बन्यौं। नोस्टाल्जिक भयौं। र, हामीले आआफ्नो स्कुले जीवन सम्झियौं।
त्यहाँबाट हामी मुक्तिनाथ यात्रामा निस्कियौं।
मुक्तिनाथ र कागबेनी घरपझोङ गाउँपालिकामा पर्दैनन्। यद्यपि आफूले निम्त्याएका पाहुनालाई मुक्तिनाथसम्म घुमाउने योजना बनाएका थिए, मोहनसिंह र जमुनाले।
हामी मुक्तिनाथको दर्शन गरेर फर्कियौं जोमसोममा। जोमसोम बजारमा गाउँपालिकाको भव्य भवन रहेछ। त्यहाँबाट हामीलाई अध्यक्ष मोहनसिंहले नवनिर्मित मूर्ति बगैंचामा डुलाए।
अहो, त्यहाँ त शिव, पार्वती, पद्यसंभव, चैत्य आदिका मूर्ति बनाइएको रहेछ। यति मात्र होइन, कालीगण्डकीको विशाल शालिग्राम शिलालाई कुँदेर आकर्षक बनाइएको। ती सबै मूर्तिमा हामीले मनफूल चढायौं।
कालीगण्डकी तिरमा शालिग्राम शिलासँगै गीतकार सागर उदास
तेस्रो दिनको बास थियो, स्याङ गाउँमा। हामी साँझ त्यहाँको होमस्टेमा पुग्यौं। गाउँमा पुग्नेवित्तिकै हामीलाई आमा समूहले फूल र टीकाले स्वागत गरे। त्यसपछि होमस्टेकी सचिव उमा थकालीको घरमा सामूहिक भान्छाको व्यवस्था मिलाइयो।
स्याङ गाउँका महिला
खानाअघि हामीले सांस्कृतिक कार्यक्रम ग¥यौं। सुमन थापा ‘सङ्गम’, कल्पना ‘पलक’, अभय श्रेष्ठ, दीपेन्द्रसिंह लगायत सबै साथीले कविता सुनाए। त्यति मात्र होइन, जीवनमै पहिलो पटक कविता सुनाए रोल्पाली पत्रकार बाल्कुराम पुन र पोखरेली पत्रकार घनश्याम पौडेलले पनि।
त्यो साँझ रङ्गीन बन्यो। हामीसँगै गाउँपालिकाकी उपाध्यक्ष जमुनाले पनि नाचगान गरिन्।

हाम्रो बास फरकफरक घरमा थियो। हामी बिहान उठेर गाउँलेकी इष्टदेवी ‘फोला’, रिम्पोछे पार्क र गाउँघर डुल्यौं।
फोला मन्दिर, स्याङ गाउँ
हाम्रो यात्राको अन्तिम दिन गाउँपालिकामा औपचारिक कार्यक्रम थियो। त्यसैले आआफ्नो होमस्टेमा खाजा खाएर हामी जोमसोम प्रस्थान गर्यों। त्यहाँ घुमफिर गर्यौं।
स्याङ गाउँमा
खानापछि गाउँपालिकाको सभा हलमा कार्यक्रम सुरु भयो। काव्ययात्राका संयोजक अमृत भादगाउँलेले कार्यक्रम सञ्चालन गरे। कार्यक्रमलाई तीन चरणमा बाँडिएको थियो, पहिलो चरणमा कवि भूपिनले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अन्तरक्रिया गरे।
भुइँमान्छेहरूको सम्मान
दोस्रो चरणमा त्यहाँ तीन जना भुइँमान्छेलाई सम्मान गरियो। राष्ट्रिय गानका लेखक व्याकुल माइलालाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा आरनको कामबाट समाजलाई योगदान पु¥याउँदै आएका चिमाङ गाउँका ७५ वर्षे साइला विश्वकर्मा, काष्ठकला मार्फत् समाज सिंगार्दै आएका स्याङ गाउँका ७२ वर्षे मनप्रसाद विश्वकर्मा र लुगा सिलाइकटाइ मार्फत जनसेवा गर्दै आएकी ६२ वर्षे कुमारी नेपालीलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरियो।
यसरी भुइँमान्छेको अनुहारमा खुसी देख्दा म भावुक बनेको थिएँ।
कार्यक्रमको तेस्रो चरणमा स्थानीय दुई कविसहित हामी काव्ययात्रीले आआफ्ना रचना सुनायौं।
त्यो दिन हामीलाई फर्कनु थियो। हामीलाई गाउँपालिकाले स्थानीय उत्पादन खुर्पानी, आलुका साथै रायो र धनियाँको बिउ उपहार झोलाभरी उपहार दिएर बिदा गर्यो। त्यसो त अघिल्लो दिन नै उसले हामीलाई टोपी पनि उपहार दिएको थियो।

हामी गह्रौं मन बनाएर काठमाडौंका लागि निस्केको नाइट गाडी चढ्यौं।
गाडीमा बसिरहँदा मैले समग्र काव्ययात्राको समीक्षा गरें। हामी घरपझोङ गाउँपालिकाको सम्मान र हरेक गाउँका आमाबुबा र दिदीबहिनीले देखाएको आत्मीयताको भारी बोकेर फर्कियौं।
काव्ययात्राको आयोजक घरपझोङ गाउँपालिका र संयोजन गर्ने कन्सेप्ट नेपाललाई धन्यवाद !
म पटकपटक मुस्ताङमा पुुगे पनि यो यात्रामा फरक अनुभूति सँगाल्न पाएँ। यसपटक गाउँबस्तीका गल्ली गल्लीमा डुल्ने अबसर पाइयो। घरपझोङले मोहित बनायो।
आखिर घरपझोङ त स्वर्गकै टुक्रा पो रहेछ !