धैर्यताको बाँध टुटेपछि विद्रोहको बिगुल फुकिन्छ अनि क्रान्तिको उन्मादले नयाँ स्वरुप लिने गर्दछ। २५ वर्षभित्र उमेरका मानिस किशोर अवस्था पार गरेर युवा अवस्थामा चढेका हुन्छन्। उनीहरूमा जीवनप्रतिको कर्मबोध कम तर जिज्ञासा र उत्साहको भकारी ठुलो हुने गर्दछ। चञ्चलेपनमात्र होइन, जिम्मेवारीबोधले च्याप्न थालेको हुन्छ। नेतृत्व सम्हाल्न सक्छु भन्ने हिम्मत बढेर आए पनि अनुभवको कमीले अवसरको सही सदुपयोग गर्न सकिरहेको अवस्था कमजोर भेटिन्छ।
नेपा–लय पब्लिकेसनले प्रकाशन गरेको ‘२५ वर्षका २५ कविता’ नामक कवितासङ्ग्रह हात परेपछि रजतवर्षका युवाका कविता पढ्न म स्वर्णवर्ष कटेको मान्छेलाई धैर्य रहन कठिन भयो। भनेपछि मलाई २५ वर्षे तन्नेरीका कवितामा के विषयवस्तु समेटिएका होलान्, कस्ता भावना र भाषा समाहित होलान्, घरपरिवार, समाज एवम् देशलाई कसरी बुझेका होलान् भन्ने प्रश्नले मस्तिष्कमा झटारो हानिरहेको थियो।

सुनेको थिएँ–जीवनमा एकपटक सबै मानिस कवि हुन्छन्। फरक यति हो, कतिजना टिक्छन् र कवि बन्छन्। यो कुराले मलाई सम्झना आउँछ, दहि मथेर नै घिउ बनेको हो। जीवनलाई नजिकबाट बुझ्न र बुझाउन मानिस कवि बन्दोरहेछ। कविता, शब्दको थुप्रोमात्र होइन, बरु यो भावनाको झिल्को हो, जसले धेरैका मन सल्काउन सक्छ। विचारको विस्फोट गराउन सक्छ।
सडकको छातीमा भोकभोकै
पल्टिरहेछन्
–रहरहरू
–सपनाहरू
–बाध्यताहरू
कविताको यो हरफले युवा पुस्ताको बाध्यता, व्यावधान र विवशता बुझ्न काफी छ। लाग्छ, सुगन्ध दिने फूलजस्तै हुन् रहरहरू, जो क्षणमै सुगन्धसहित भूइँमा खस्छन्। फर्सी गुल्टिएकाजस्ता उनीहरूका सपना गुल्टिएका छन्। हुटिट्याउँलेजस्तै आकास थाम्नुपर्ने बाध्यता युवामा नभएको कहाँ हो र ? तैपनि कवि तीर्थराज विश्वकर्मा आफ्नो ‘समयको चित्र’ शीर्षक कवितामा बाध्यताका शब्द उरालिरहेका छन्। समयको चित्र सबैसामू देखाइरहेका छन्।
बारी न हो बन्जर भए नि ठिकै छ
मै ‘साला’ न हुँ भुइँफूल भए नि ठिक छ
तिमी गुराँस हुनू
म पलास नै खुसी
तिमी गुलाब हुनू
भ भुइँकमल नै सही ।
माथिको बिम्बात्मक कविता हरफमा प्रेमिल त्याग–समर्पण भेटिन्छ। आफू मरिचजस्तै खुम्चिएर पनि कमलफूल जस्तै फक्रिएको माया, ममता र स्नेह भेटिन्छ। सहनुको समर्थन जीवन हो। सहनशील भएर अघि बढ्नेहरूले नै सगरमाथा चुमेका छन्। युवामा त्याग, समर्पण, सहनशीलता यथेष्ट हुनुपर्छ भन्ने सन्देशसहित ‘तिमी अहिले नआउ’ कवितामा नवीनकुमार नेपाली सबैलाई आह्वान गर्छन्।
कवि रसिला धमला ‘म माइतीघर मण्डल’ शीर्षक कवितामा यसरी पोखिएकी छिन्–
हुन त गणतन्त्र आएको छ,
हजारौँ राजाहरू छन् आजकाल
जनता ढुक्क बोल्न पाउँछन्
कहिलेकाहीँ रोक्ने कानुन ल्याउन खोज्छन् ।
राजा फालेर ल्याइएको गणतन्त्रमा फेरिपनि नयाँ–नयाँ राजा जन्मिनु पक्कै सुन्दर पक्ष होइन। कविले गणतन्त्रलाई बिम्ब बनाएर यसका सञ्चालकमाथि गतिलो झापड हानेकी छन्। जनताका दुःखलाई थाँती राखेर जनतामाथि नै राजतन्त्रात्मक शासन चलाउनु न्यायोचित नहुने तर्क हो कविको।
अब
आस ओइलाउने बेला आएको छ,
यहाँ
उजाडिनेहरू
जोडपछि घटाउको नियम मान्ने गरी
कहिल्यै नआइपुगून् ।

युवा अवस्थामा प्रेमको राप चर्को हुन्छ। विपरित लिङ्गप्रतिको आकर्षण सामान्य ठानिन्छ। गहिरो प्रेमको यात्रामा कहिलेकाहीँ पहिरो गएपछि बिछोडको सागर फराकिलो बन्दोरहेछ। जहाँ डुब्ने इच्छासहितको नियत मनमा जागृत हुन पनि सक्छ। जब त्याग, समर्पण र योगदानमा आधारित प्रेममा ओरालो लाग्छ, तब आस पनि ओइलाउने कुरा कवि सुजता बस्यालले ‘ढुङ्गा’ कवितामा पोखेकी छिन्। युवाका मन नौनी हुनुपर्नेमा ढुङ्गा बनेपछि हामीले चाहेको समाज कस्तो बन्ला?
विमानस्थलमा
बालाई अँगालेर खुब रोएको थिएँ म
बा पनि रुनुभयो सायद पहिलोपल्ट
मेरो सामु मेरो अँगालोमा
अनि पहिलोपल्ट नै होला
बाले मलाई त्यति कसेर अँगालो हाल्नुभएको
कहिलेकाहीँ त्यही लुगा लगाउँदा
चिसोपन महसुस गर्छु
बाका आँसुहरु सायद अझै नसुकेको भएर होला ।
बाप्रतिको नोस्टाल्जिया झल्किन्छ कवितामा। परदेसिनुको पीडा कसलाई के थाहा? एउटै बलो र खाँबोभित्रको घरमा सँगै बस्न नपाउनुको पीर अनि एउटै चुल्होमा पकाएको खाना खान नपाउनुको दुःख कवितामा बग्रेल्ती छन्। सन्तानको स्नेह र अभिभावकको ममतालाई कवि अनुपा गैरेले ‘एउटा वाचा मेरो पनि’ कवितामा दमदार भावना प्रस्तुत गरेकी छिन्। देशमा जुनसुकै शासन आएपनि युवाहरू विदेसिने परम्परा आज पनि थामिएको छैन। युवा परदेश जानु रहरमात्र होइन, बाध्यताको एउटा कडी पनि हो।
छन्दोवद्ध कविता ‘पर्दैन भो फर्कन’मा कवि उत्सव आचार्य कडाका साथ प्रस्तुत भएका छन्। मनै कुँडाएर उनी आफ्ना कवितामा यसरी छचल्किएका छन् –
प्यारो हुन्छ सधैँ–सधैँ मुलुकको माटो र पानी तर
तिम्रा लागि पराइको धन भयो प्यारो अहो ! सुन्दर
ढुङ्गाको पछि लाग्दछौ किन हीरा सक्थ्यौ र ठम्याउन
तिम्रो जीवन होस् उतै चीरमुखी पर्दैन भो फर्कन ।
जाँदाजाँदै आर्य निरौलाको ‘डोरी’ शीर्षक कविता तपाइँलाई चखाउन मन लाग्यो। युवा मनोविज्ञानको ज्वलन्त वर्तमानलाई कवि निरौलाले यसरी अभिव्यक्त गरेका छन् –
आत्महत्याका निम्ति प्रयोग भएको डोरी
आखिर सोच्दो हो !
एउटा जिन्दगीको अन्त्य गरेँ
या
छटपटिएको प्राणीको उद्धार गरेँ ?
यही प्रश्नको उत्तर पाउन
एक कवि
आफ्नै घाँटीमा
डोरीलाई वासुकि बनाउँदैछ ।
सबैभन्दा धेरै लेखिने विधा नै कविता हो। तर, बजारमा अत्यन्तै कम बिक्री हुने विधा पनि कविता नै हुने गर्छ। नेपा–लयले २५ वर्ष उमेरभित्रका युवासँग कविता आह्वान गरेकामा नेपाली युवाबाट तीन सय दुईवटा कविता प्राप्त भएको थियो। त्यसमा पनि २५ थान कविताले प्रकाशन हुने स्थान पाउनु अनि स्थान पाउने तन्नेरी कवि धन्यवादका पात्र हुन्।
यहाँ समावेश २५ कवितामध्ये एउटा मात्र छन्दोवद्ध र बाँकी सबै गद्य कविता हुन्। यसमा अङ्ग्रेजी भाषामा समेत लेखिएको कविता समावेश छ। कविता छान्ने कविहरू भूषिता वशिष्ठ, श्रवण मुकारुङ र नारायण वाग्ले थिए।
तातो जोशयुक्त मनहरूले लेखेका कविता पढिरहँदा आनन्द लाग्यो, यी कविहरूले बाँचुञ्जेल कविता लेखिरहून् । शुभेच्छा ।