काठमाडौं ।
रोल्पा, प्युठान र बागलुङको सिमामा अवस्थित कोठिभिर (३,६५९ मिटर)लाई पर्यटन गन्तव्य बनाउने अभियान सुरु गरिएको छ। कन्सेप्ट लुम्बिनीले आइतबार त्यहाँ पर्यटन बहस कार्यक्रम राखेर अभियान शुभारम्भ गरेको हो।
हरियालीले ढपक्कै ढाकेको कोठिभिरबाट हिमाल, सूर्योदय र सूर्यास्तको चित्ताकर्षक दृश्य देखिन्छ। त्यहाँबाट माछापुच्छे«, धौलागिरी, पुठा हिमाल, मानाचुली, सिस्ने हिमालसम्मको लामो सृङ्खला देखिने पर्यटन अभियन्ता बाल्कुराम पुन बताउँछन्।

तीनै जिल्लाबाट पदयात्रा गरेर पुग्न सकिने कोठिभिरलाई पदयात्रा गन्तव्य र हिल स्टेसनका रुपमा विकास गर्ने उद्देश्यले पर्यटन बहस गरिएको पुनले बताए। उनी भन्छन्, कोठिभिरले लुम्बिनी र गण्डकी प्रदेशको पर्यटनमा नयाँ आयाम थप्नेछ।
पत्रकार एवम् पर्यटन अभियन्ता बाल्कुराम पुन
‘लुम्बिनीको समुन्नति समिट कोठिभिर’ विषयक पर्यटन बहस कार्यक्रममा प्रमुख अतिथि समाजसेवी नरेन्द्र घर्तीमगरले भने, ‘यहाँका प्राकृतिक सम्भावना उजागर गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ। यसले मानव सभ्यता र यहाँको संस्कृति संरक्षणमा योगदान पु¥याउने विश्वास लिएको छु।’

कार्यक्रममा नौबहिनी गाउँपालिका प्युठानका जनप्रतिनिधि, सुनछहरी गाउँपालिका रोल्पाका बुद्धिजीवी, युवा नेता, पर्यटनर्मी लगायतले आआफ्नो धारणा राखेका थिए।
उनीहरूले कोठिभिर क्षेत्रका सम्भावना उजागर गरेर पदमार्ग, खानेपानी, विश्रामस्थल जस्ता आधारभूत पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए।

‘सरकारले केही नगरेको होइन, तर ढिला भयो जति गर्नुपर्ने हो त्यति भएको छैन’, निवर्तमान वडा सदस्य पुर्ण बुढामगरले भने, ‘गुरिल्ला पदमार्ग, यार्सा पदमार्ग र ढोरपाटन क्षेत्रलाई जोड्ने राउन्ड कोठिभिर चक्रिय पदमार्ग बनाउन सकिन्छ। साथै हामीले मौलिकता जोगाउन पनि सचेत हुनु पर्दछ।’

कार्यक्रममा कोठिभिरको सम्भावना, डिजिटल रुपान्तर, पर्यटन विकास, स्टार्टअप व्यवसाय र संस्कृति संरक्षणका विषयमा छलफल गरियो।

पर्यटन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकुराम पुनका अनुसार, लुम्बिनी प्रदेशको दिगो विकासका लागि पर्यटन र प्रबद्र्धन एकअर्काका परिपूरक हुन्। यस कार्यक्रमले दुई प्रदेशलाई जोड्ने काम गरेको छ।
‘बहसबाट प्राप्त सुझाव तथा निष्कर्षहरू प्रदेश पर्यटन सरकारलाई नीति निर्माणमा मार्गदर्शन गर्न सहयोगी बन्ने छ’, उनले भने।

सञ्चारकर्मी खुमबहादुर सुनारको सहजीकरणमा सञ्चालन भएको कार्यक्रमले नीति निर्माता, राजनीति दल, पर्यटन अभियन्यता, विशेषज्ञ र पर्यटन व्यवसायीलाई एउटै मञ्चमा जमघट गराएको थियो।
