कपिलवस्तु । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य सचिवले कपिलवस्तु जिल्लामा रहेका महत्त्वपूर्ण पुरातात्विक तथा ऐतिहासिक स्थलहरूको अवलोकन तथा निरीक्षण गरेका छन् ।
उनीहरूले शुक्रबार गोटिहवा, कुदान र तिलौराकोटस्थित पुरातात्विक सम्पदाहरूको भ्रमण गर्दै त्यहाँ भइरहेका संरक्षण, विकास तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यहरूको निरीक्षण गरेका हुन् ।
क्रकुच्छन्द बुद्ध तथा शाक्यमुनि बुद्धसँग सम्बन्धित ऐतिहासिक महत्त्वका यी स्थलहरूको भ्रमणका क्रममा कोषका पदाधिकारीहरूले सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवर्द्धनका विषयमा सम्बन्धित पक्षसँग छलफलसमेत गरेका थिए ।
भ्रमणका क्रममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको संरक्षण र विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको थियो । साथै, बौद्ध तीर्थयात्री तथा पर्यटकलाई कपिलवस्तुका सम्पदासम्म आकर्षित गर्न आवश्यक पूर्वाधार र पर्यटकीय सुविधाको विकास गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ ।
लुम्बिनी आउने पर्यटकहरूको भ्रमणलाई कपिलवस्तुका महत्त्वपूर्ण बौद्ध सम्पदासम्म विस्तार गर्ने उद्देश्यले आगामी दिनमा एकीकृत विकासका योजना तथा कार्यक्रम अघि बढाइने कोषले जनाएको छ ।
करिब एक महिनाअगाडि उपाध्यक्षमा नियुक्त भएकी डोल्माले बुधबार लुम्बिनी पुगेर पदभार ग्रहण गरेकी थिइन् । त्यसपछि उनले बुद्धभूमिमा सक्रियता बढाएकी हुन् ।
तस्वीर स्रोत : लुम्बिनी विकास कोष