संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्ड र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीमा बुधबार साँझ आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा उनले पर्यटन क्षेत्रले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्री पौडेलले नेपाल–भारत सम्बन्ध कूटनीतिमा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको उल्लेख गर्दै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि स्वागत गर्न नेपाल सधैँ तयार रहेको बताए ।
उनले नेपालको धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने धारणा राखे । साथै, पर्यटन प्रवर्द्धनका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजीक्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमका क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्य विस्तारबारे छलफल गरेका थिए ।