काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि छिमेकी मुलुक भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दिउँसो नयाँ दिल्ली पुगेका बालेन सोमबार बेलुकीसम्म त्यहाँ रहनेछन् ।
भारत भ्रमणका क्रममा बालेनले मोदीसँगै राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा नेपाल र भारतबीचको आपसी सम्बन्ध सुधार, पूर्वाधार विकास, लगानी र कनेक्टिभिटीलगायत विषयमा छलफल हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
४२ महिनापछि प्रधानमन्त्री तहबाट भएको भारत भ्रमणबाट नेपालको पर्यटन क्षेत्रले उचित निर्णयको अपेक्षा गरेको छ । आपसी सम्बन्धमा सुधार, कनेक्टिभिटी र पर्यटन पूर्वाधारमा लगानीजस्ता कुरालाई विशेष महत्त्वका साथ हेरिएको छ ।
बालेनको भारत भ्रमणमा नेपालको पर्यटन क्षेत्रले खासगरी कनेक्टिभिटीको विषयमा अपेक्षा राखेको छ । नेपाल र भारतबीचको कनेक्टिभिटीलाई सहज बनाएर बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउने लक्ष्यमा नेपालको पर्यटन क्षेत्र छ ।
जनकपुरधाम–अयोध्या रेल सेवा
प्रधानमन्त्री बालेन दिल्ली उड्नुअघि नै भारतले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणसँग जोडिएको जनकपुर–अयोध्या रेल सेवा सञ्चालनले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रस्तावित रेल सेवाले नेपालको जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण शहर तथा बस्तीहुँदै यात्रा गर्नेछ ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम स्टेसन रहनेछन् भने जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाममा व्यावसायिक प्रयोजनका लागि रेल रोकिनेछ ।
यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।
नयाँ रेल सेवाले नेपाल र भारतबीच सीमा पार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकलाई यसबाट प्रत्यक्ष लाभ पुग्नेछ । यसबाट नेपालको पर्यटन आगमनमा वृद्धि हुने देखिन्छ ।
भैरहवा र पोखराबाट नियमित हवाई
नेपालले भारतसँग पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन लामो समयदेखि आग्रह गर्दै आएको छ । अहिले अधिकांश अन्तर्राष्ट्रिय विमान सिमराहुँदै नेपाल प्रवेश गर्नुपर्ने अवस्था छ । पश्चिमी क्षेत्रबाट आउने विमानले पनि लामो दूरी घुमेर नेपाल प्रवेश गर्नुपर्दा इन्धन खर्च र उडान समय बढ्ने गरेको छ । महेन्द्रनगरलगायत पश्चिमी क्षेत्रबाट दुईतर्फी हवाई प्रवेशमार्ग उपलब्ध भएमा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री बालेनको यो भ्रमणमा गौतम बुद्धको जन्मस्थललाई जोड्ने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको पर्यटनको राजधानी पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल–भारत नियमित उडानको निर्णय हुनसक्ने अपेक्षा गरिएको छ ।
साढे चार वर्षअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले नियमित उडान हुन सकेको छैन । यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको पहिलो कारण राज्यको व्यवस्थापकीय कमजोरी हो । त्यसमा भारतीय भू–भागमा पर्ने रुटमा भारतले उडान अनुमति नदिनु पनि अर्को कारण हो । यदि बालेनको यो भ्रमणमा भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुट अनुमति दिएमा यसको प्रत्येक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने देखिन्छ ।
त्यस्तै, बालेनको भारत भ्रमणमा पोखराबाट भारतका विभिन्न शहरमा नियमित हवाई उडान सञ्चालनबारे निर्णय हुन सक्ने चर्चा गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय भए पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । करिब दुई महिनादेखि फ्लाई दुबईले नियमित उडान गरिरहेको भए पनि पोखराको पर्यटनका लागि पर्याप्त हुन सकेको छैन । बालेनको भारत भ्रमणमा पोखराबाट भारतका शहरमा नियमित उडान सञ्चालनबारे निर्णय र कार्यान्वयनको अपेक्षा पर्यटन क्षेत्रको छ ।
भारतीय पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण आधारशिविर र त्यस आसपासका क्षेत्र तथा मुक्तिनाथ मन्दिर पर्ने गरेको छ । यदि भारतका विभिन्न शहरबाट पोखरामा नियमित उडान हुन सकेमा पोखरा र मुक्तिनाथ क्षेत्रको पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकको योगदान ठूलो छ । नेपाल पर्यटन तथ्यांक २०२५ अनुसार उक्त वर्ष भारतबाट २ लाख ९३ हजार ३८४ पर्यटक नेपाल आएका थिए । यो नेपाल आएका कुल विदेशी पर्यटकको करिब २५.२४ प्रतिशत हो । छिमेकी मुलुकबाट ठूलो संख्यामा पर्यटक आउने सम्भावना रहेकाले हवाई तथा स्थलमार्गको कनेक्टिभिटी सहज बनाउन सके नेपालको पर्यटन आगमन थप बढ्न सक्ने अपेक्षा पर्यटन व्यवसायीको छ ।
यति मात्रै नभएर नेपालको पर्यटन क्षेत्रले पर्यटन पूर्वाधार विकासमा भारतीय निजी लगानीको अपेक्षा पनि राखेको छ । प्रधानमन्त्री बालेनसँगै नेपालको निजीक्षेत्रका करिब तीन दर्जन व्यवसायी भारत पुगेका छन् । उनीहरू र भारतीय व्यवसायीबीच छलफल पनि भइरहेको छ । यी छलफलले पर्यटन क्षेत्रमा भारतीय लगानीकर्ता आकर्षित हुन सक्ने विश्वास पनि गरिएको छ ।