मुस्ताङका मार्फा, जोमसोम, ठिनी, स्याङ र चिमाङ लगायतका गाउँ घुमेर काठमाडौ“ फर्केको पनि धेरै दिन भइसक्यो । तर, आँखाभरि झल्को उतैको छ– कालीगण्डकीको कलरवता । वारिपारि सोलीडोली भएर बसेका स्याङ, ठिनी, चिमाङ र छैरो गाउँहरू । ती गाउँलेको हार्दिकतापूर्ण सरलता । यही कारण यो मन छैरो झरना भएको छ । हिमालपारिको त्यो आत्मीय भूगोलबाट जति यता झार्न खोजे पनि मन उँभोउँभो उतै उडिहराउँछ । म छक्क परिरहेछु ।
यसरी मन चोर्ने दुई सुन्दरीहरू धौलागिरि र नीलगिरि पनि हुन् । यी हिमशृङ्खला ती सबै यहाँबाट दक्षिणतर्फ पर्ने रहेछन् । हिमाल उत्तरमा पर्छ भन्ने मेरो बुझाइ गलत ठहरियो । नीलगिरि जति सुन्दरी छिन्, लजालु पनि उत्तिकै। बर्खामास भएर होला बादलुको पछ्यौरीभित्र मुख लुकाइरहिन् । नलजाउन् पनि कसरी ? यसो खुल्यो कि उनीतर्फ मोबाइल क्यामेरा तेस्र्याइहाल्थ्यौ“ । यस्तैयस्तै मायाले होला मुटु उतै ढुम्बातालमा छोडी आएको छु ।
ढुम्बाताल
पत्रकारिताका माध्यमबाट देशको पर्यटन प्रवद्र्धनमा होमिएका पत्रकार मित्र अमृत भादगाउँलेको संयोजनमा सहृदयी लेखकहरूको टोली ‘घरपझोङ काव्ययात्रा’ का व्रmममा मुस्ताङको घरपझोङ गाउँपालिकामा वि.सं. २०८३ असार १३ गते पुगेको थियो ।
हाम्रो टोलीमा सागर उदास, अभय श्रेष्ठ, भूपिन खड्का, लक्ष्मण थापा, दीपेन्द्रसिंह थापा, सुमन थापा ‘सङ्गम’, कल्पना पलक, प्रगति राई, अनुपम रोशी, शिव प्रकाश लगायत १५ जना थियौ“ । हामी कोही काठमाडौ“बाट । कोही चितवनबाट । कोही दमौलीबाट । कोही सल्यान त कोही रोल्पाबाट थियौ“ ।

काठमाडौ“बाट जाने टोली हामी बिहानको फ्लाइटमा पोखरा उड्यौ“ । सबैजना पोखरामा भेला भएर गाडीमा बेनीबजारतिर लाग्यौ“ । हाम्रा कार्यव्रmम संयोजक भादगाउँले र गीतकार सागर उदास हामीलाई बेनीबजारमा कुरी बस्नुभएको थियो ।
बेनीबजार पहिला पनि एक पटक पुगेको थिएँ । त्यसबेला तातोपानी र मुक्तिनाथ जाऊँजाऊँ लागेको थियो तर भ्याइएन ।
हामी बेनी पुगेपछि कालीगण्डकी किनारमा अवस्थित गलेश्वरधाम गयौ“ । त्यहाँको एउटा आश्चर्यलाग्दो पक्ष भनेको एउटै शिला नौ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसलाई चव्रmशिला भनिन्छ ।
म्याग्दीको गलेश्वरधाममा
त्यो मध्याह्नको चर्को घामले रापिएको चव्रmशिलामाथि हामी खाली खुट्टामा थियौ“ । धन्न खुट्टा पिल्सिएनन् । हामीलाई पुजारीले त्यहाँका बारेमा विस्तृत जानकारी गराउनुभयो ।
म्याग्दीको गलेश्वरधाम
त्यहाँबाट हाम्रो यात्रा अघि बढ्यो । मेरा लागि अब सबै नौलो हुँदै गयो । रमितै रमिता देख्न थालियो । रुप्से झरना कति मनमोहक ! त्यहाँ मुक्तिनाथ हिँडेका भारतीय पर्यटकको भिड रहेछ । हामी पनि केही बेर रमायौ“ ।
तल पहाडले च्यापिएर साँघुरो खोच भएर बगेकी कालीगण्डकी । शालिग्राम पाइने अद्भुत र पवित्र नदी ।
हामी गलेश्वरबाट, बाँसखर्क, तातोपानी, दाना, रुप्से, घाँसा, लेते हुँदै कालोपानीमा पुगेर एकक्षण बिसाउँदा पो थाहा भयो कि हामी त हिमालपारि पुगिसकेछौ“ । पूर्वी–दक्षिण दिशामा चाँदीझै टल्केको गगनचुम्बी नीलगिरि देख्दा भूस्वर्गमा आइपुगेको अनुभूति भयो ।
दक्षिण–पश्चिमतर्फ अर्को मनमोहक हिमशृङ्खला अन्नपूर्ण रहेछ । हिमालसित हामी नेपालीको यति प्रगाढ सम्बन्ध छ कि जहाँबाट हिमाल देखिन्छ, त्यही नै आफ्नो गन्तव्यजस्तो लाग्ने । डुब्दो घामको लालीमा टल्किएका हिमचुलीहरू हाम्रै लागि भनेर घरीघरी पलभरका लागि मुस्कुराइदिन्थे ।

तलतिर लेते, घाँसातिर जस्तो होइन रहेछ यता कालीगण्डकी खोच र गल्छी भएर बग्ने । कोबाङ छिचोल्दै टुकुचेतिर पुग्दा फराकिलो फाँटमा सललल बगेको पाइयो । जोमसोम, मार्फा, टुकुचेलगायतका बस्ती कालीले बनाएको समतल भूभाग रहेछ ।
हामी टुकुचेमा पुग्यौ“ । हाम्रा महान् कवि भूपी शेरचनको गाउँमा । हाम्रा लागि पवित्र धाम । टाढैबाट मनमनै उहाँप्रति नमन व्यक्त गर्दै अघि बढ्यौ“ ।
झम्के साँझमा बल्ल मार्फा गाउँको ‘रोयल मार्फा होटल’मा पुग्यौ“ ।
प्राचीनता र आधुनिकताको संयोजन भएको नगरी रहेछ मार्फा । अधिकांश घर परम्परागत शैलीका । आपसमा जोडिएका पनि । ढ्ङ्गा, माटो र काठबाट बनाइएका एकदुई तले मुण्डे घरहरू । उचाइ कम तर चौडा जगमा बनाइएका । भूकम्प र हिउँ प्रतिरोधात्मक । बाक्लो पर्खाल र भुइँमा काठको प्रयोगले वातानुकूलित वातावरण । छतमा थाक मिलाएर राखिएका दाउरा । व्यवस्थित गल्ली र चोक । सफा एवम् सुन्दर मार्फा ।
गीतकार सागर उदास र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका साथमा लेखक ।
हामी होटलमा झोला बिसाएर मार्फा भ्रमणमा निस्कियौ“ । हामी बसेको एउटा रेस्टुराँमा आइपुग्नुभयो घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन । अत्यन्त सरल मान्छे । त्यो साँझ हामीले उहाँबाट धेरै जानकारी पायौं।
मेरो रुमपार्टनर थिए लेखक शिवप्रकाश । हाम्रो स्वभाव मिल्दोरहेछ राती नघुर्ने । त्यसैले सुताइ आरामदायी भयो ।
भोलिपल्ट बिहान घुमफिर गर्ने मुख्य दिन । राजकुमार, अभय, सागर लगायतका साथी सबेरै उठेर घुमिसक्नुभएको रहेछ ।
कति कञ्चन वायुमण्डल ! हिमाली भेग भएर पनि ठिहि¥याउने चिसो थिएन । सडकपारि स्याउको बगान । मास्तिर गुम्बाहरू– भिरगुम्बा, रिसुम गुम्बा, साम्तेलिङ गुम्बा आदि । गहिरो आनन्द र शान्तिको आभास भयो ।
साथीहरू स्याउ फार्मभित्र भेटिनुभयो । योग गरेर रमाइरहनु भएको रहेछ । अध्ययन–लेखनमा मात्र होइन, योगामा पनि सिद्ध हुनुहुन्छ अभयजी ।
सम्तेलिङ गुम्बामा भूपिन, अभय श्रेष्ठ, व्याकुल माइला र शिव प्रकाश ।
योगध्यान टुङ्ग्याएर फोटो सेसन गरी हामी होटलतर्फ फर्कियौ“ । गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली आइसक्नुभएको रहेछ । केही बेरमा अध्यक्ष पनि आउनुभयो । हाम्रो स्वागतमा उहाँहरूले खादा ओढाउनुभयो । यस व्रmममा सागर उदासजीले हात खेर नजाने चिट्ठा उपहार कार्यव्रmम राख्नुभयो ।
सागरजी काव्ययात्राका एक सारथी । अमृतसँगै पर्यटन प्रवद्र्धनमा सव्रिmय । उहाँसँग पहिलो भेट वि.सं. २०६६ मा भएको थियो, गण्डकी वाङमय प्रतिष्ठान, दमौलीले आयोजना गरेको ‘दमौली–मानहुँकोट पर्यटन पदयात्रा’मा ।त्यो बेला मानहुँकोट अग्लो पहाडबाहेक केही थिएन । यो ठाउँ पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ भन्ने सागरजीहरूको दृष्टिकोण थियो । र, बनाउनुपर्छ भन्ने चाहना थियो । त्यस कार्यव्रmमको म प्रमुख अतिथि थिएँ । त्यही बेलादेखि मैले अमृत र सागरहरूजीको लगाव बुझेको हुँ ।
त्यसको केही वर्षपछि हामीले लमजुङको सुन्दरबजार, बगर, गहते, कोटडाँडा लगायतका ठाउँमा सँगै काव्ययात्रा ग¥यौ“ । समयव्रmममा राराताल, खप्तड, मिक्लाजुङतिर पनि पुगियो । यी सबै कार्य पर्यटन प्रवद्र्धनका लागि गरिएका अभियान हुन् । ठाउँ चिनाउने । चेतना जगाउने । दस्तावेजीकरण गरेर साहित्य अभिवृद्धि गर्ने, स्थानीय इतिहास निर्माण तथा संरक्षण गर्ने अभियान ।
केही वर्षको अन्तरालमा हामी फेरि काव्ययात्रामा जोडिन पाएका हौ“ । अमृत त मेरा दुःखसुखका साथी एवम् भाइ, मैले भन्न नसकेका कतिपय कुरा उहाँले लेखेर भनिदिनुभएको छ । उहाँको शिष्टता, विनयशीलता, दृढता र इमान्दारीकै कारण यस्तो यात्रामा हिँड्न लालायित हुन्छु ।
काव्ययात्राका संयोजक अमृत भादगाउँले ।
यसपाला गएको फागुन अन्तिमतिर भाइले घरपझोङको निम्तो दिनुभएको थियो । बिचमा म धेरैतिरका कार्यव्रmममा व्यस्त भएँ । जता कुदे पनि फोनमा भन्थे“, ‘अमृत सर, मलाई नछुटाउनुस् है’ !
‘तपाईं छुट्नु हुन्न दाइ ढुक्क हुनुहोस’ भन्नुहुन्थ्यो । यसरी सँगै यात्रा गर्न चाहनुका पछाडि हामीसँग कतिपय रोचक र रोमाञ्चक, कतिपय हृदयस्पर्शी र मार्मिक घटना, परिघटना तथा संयोगहरू छन् ।
अँ, साँच्ची हिजो मार्फा आइपुग्दा कवि भूपिन मिल्यो भने राती विश्वकप फुटबल हेर्ने मुडमा हुनुहुन्थ्यो । सन् २०१० मा काव्ययात्राकै व्रmममा राराताल जाँदा झरीबादल छल्ने व्रmममा तीन दिन सुर्खेतमा बस्दा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप धित मरुञ्जेल हेरेका थियौ“ । त्यसपटक पनि स्पेनले विश्वकप जितेको थियो । संयोग यसपटक पनि जित्यो ।
रारा यात्रामा प्रसिद्ध गजलकार प्रकट पगेनी ‘शिव’ पनि हुनुहुन्थ्यो । असाध्यै मिलनसार दाइ । अब उहाँ हामीमाझ हुनुहुन्न ।
त्यतिबेला सुर्खेत घुम्ने व्रmममा काँव्रmेविहारको भग्नावशेषमाथि उभिएर त्यसको पुनर्निर्माण तथा संरक्षणको सम्बन्धमा अमृतले सोध्नुभएको प्रश्नको उत्तर दिँदा गला अवरुद्ध भएको थियो । खुसीको कुरा त्यो अद्वितीय सम्पदाको पुनर्निर्माण भइसकेको छ ।
भादगाउँले पर्यटन पत्रकारिता क्षेत्रका एक आइकन । अथक अभियन्ता । हामी कुनै ठाउँमा पुग्यौ“ भने त्यहाँ दोहो¥याएर जान झिजो मान्छौ“ । तर, उहाँमा कमिला संस्कृति छ । पर्यटनसम्बन्धी खजाना खोज्दै देशको चारदिशा चक्कर मार्नुहुन्छ । जब पत्ता लगाउनुहुन्छ, विषयवस्तुको गहिराइसम्म पुग्नुहुन्छ । त्यसपछि फर्किएर साथीभाइको टोली लिएर जानुहुन्छ । त्यहाँ पर्यटनको माहोल बनाउने वातावरण सिर्जना गर्नुहुन्छ ।
काव्ययात्रामा सहभागी स्रष्टालाई कथा, कविता मात्र होइन यात्रा संस्मरण पनि लेख्न झक्झक्याउनुहुन्छ । यही सिलसिलामा ‘घरपझोङ काव्ययात्रा, २०८३’ सम्पन्न भएको हो ।
साहित्यकारहरु सुमन थापा सङ्गम, कल्पना पलक, अनुपम रोशी, प्रगति राई र गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली ।
मार्फाको बिहानी रमाइलो भयो । राष्ट्रिय समाचार समिति (रासस) का मुस्ताङ प्रतिनिधि पत्रकार सुन्दरकुमार थकाली पनि हामीलाई खोज्दै आइपुग्नुभयो । उहाँको नम्बर राससका महाप्रबन्धक प्रिय भाइ सन्दिप राईले काठमाडौ“बाट यता आउनु अघिल्लो साँझ दिनुभएको थियो ।
ब्रेकफास्टपछि फेरि मार्फा घुम्ने पालो आयो । यसै व्रmममा व्यानरसहित सामूहिक तस्बिर खिचियो । त्यसपछि मूल सडक हुँदै जेरीगल्लीतिर पस्यौ“ । पर्यटक आकर्षित गर्न सजाइएका घरहरू । उनै पर्यटकहरूलाई लक्षित गरी खोलिएका पसलहरू । काठमाडौ“का हनुमानढोका, मंगलबजार, असनबजार र ठमेल झल्को दिने मार्फा बजार ।
पालिका उपाध्यक्षज्यू स्थानीय थकाली सांस्कृतिक पोसाक तङसारो, नोगान, फिगी, तेलु, कण्डी, फ्याङविन र कदेम (व्रmमशः कालोचोली, रातो लेहेङ्गा, हरियो पटुकी, कालो फेरो, माला र घुम्टो) मा रैथाने महिला देखिनुहुन्थ्यो। हामीले पनि हिमाली पहिरन लगायौ“ । यसैगरी पालिका अध्यक्षज्यू पनि दौरासुरुवाल र ढाकाटोपी लगाएर निस्कनुभयो ।
डमी याक माथि ।
पोसाकघर बाहिर ‘मार्फा सेल्फी याक’ चोक देखियो । उभिरहेको एउटा याक देखे“ । हान्ला कि भनेर डराएँ । एक स्थानीयले हाँस्दै ‘यो नक्कली याक हो’ भन्नुभयो । डमी (सुकाइएको छाला, खुट्टा र टाउकोबाट बनाइएको) याक पो रहेछ । दुरुस्तै देखिने । हामीले याक चढेरे पालैपालो तस्बिर खिच्यौ“ । त्यसपछि गुम्बातिर लाग्यौ“ । गुम्बामा पुग्दा शान्ति र आनन्द अनुभूति भयो । हामीले त्यहाँ ध्यान ग¥यौ“ ।
महिला साथीहरू थकाली पहिरनमा धपक्कै बल्नुभएको थियो । हामीले त्यहाँका गल्लीमा फोटो सेसन ग¥यौ“ । यसरी मार्फामा तीन घण्टा बितेको पत्तै पाइएन ।
मार्फाली आमासँग ।
मार्फाली थकालीहरू सभ्य, सुसंस्कृत र सम्पन्न रहेछन् । यताका समुदाय पनि जेम्स एफ. फिसरले भनेको ट्रान्स हिमालयन ट्रेडर्सजस्तै हुन् । उनीहरू याम एवम् मौसम हेरेर उहिल्यैदेखि समाज, भूगोल र परिस्थिति अनुरूप भोट–मधेस गर्दै व्यापार–व्यवसाय गर्ने पौरखी हुन् ।
त्यहाँबाट हामी चिमाङ गाउँतिर प्रस्थान ग¥यौ“ । हामीलाई चिमाङ, छैरो, ठिनीलगायतका गाउँ घुमाउन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै जनाले साथ दिनुभयो ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसँग ।
घरपझोङका सबै गाउँबस्तीहरूलाई जोड्ने चव्रmपथ ट्र्याक खोल्ने काम भइसकेको रहेछ । हामी कालीगण्डकी पुल तर्दै चिमाङतर्फ उक्लियौ“ । उक्लिने व्रmममा म अध्यक्षज्यूको निजी गाडीमा उहाँसँगै बसे“ । यताको नालीबेली सोध्दै अघि बढियो । उहाँ दिलदार र जानकार मानिस तर धेरै सुन्ने र कम बोल्ने स्वभाव रहेछ । मेरा जिज्ञासाका सटीक उत्तर दिनुभयो ।
स्याउ फार्म जताततै फस्टाउँदो देखियो । बोटबिरुवा तथा अन्नबाली भनेको माटोअनुसार नभई हावापानी अनुसार हुने रहेछ । यहाँको माटो बलौटे, ग्रेगर, सुक्खा र चाम्रो जस्तो देखिए पनि अत्यन्त उर्बर रहेछ । स्याउका झ्याङहरू जताततै कलकलाउँदो देखिन्थ्यो ।
हामी चिमाङ गाउँ घुम्यौ“ । सामुदायिक भवन, कुलो, उवा सुकाउने तरिका, स्याउखेती, रैथाने घरको बनावट आदि जनजीवनलाई नजिकबाट नियाल्यौँ ।
केही घरका छतमाथि पनि चढ्यौँ । यहाँ लिस्नुलाई ‘धोस्योथेन’ भनिँदो रहेछ । एक ठाउँ धुपीको बुढो रुख र त्यसछेउमा लिस्नुसहितको घरमा पुगियो । फोटोका लागि भनेर लिस्नु चढे“ । बहिनी अनुपम रोशी पनि फोटो खिच्न तम्सिनुभयो । माथिबाट मैले उहाँलाई हातबाट तानेकै अवस्थामा बुढो रुखलाई पृष्ठभूमि बनाएर फोटो खिच्ने चाह गर्नुभयो । पछि बताउनुभयो, ‘बुढो रुखको प्रेम विज्ञप्ति’ भन्ने कथा लेख्नुभएको कुरा ।
कवि अनुपम रोशीसँग चिमाङमा ।
कथावस्तुसँग मेल नखाला तर मलाई साक्षी राखेर यस रुखसँग कथाकार स्वयंले यसरी फोटो खिच्दा कथा जीवन्त रहेजस्तो र रुख अर्थपूर्ण भएजस्तो लाग्यो । यो बुढो रुख कति वर्ष पुरानो होला ? बहराइनका साखिर मरुभूमि क्षेत्रमा एउटा करिब चार सय वर्ष पुरानो मानिएको खरीजस्तो देखिने रुख छ, जसलाई ‘ट्रि अफ लाइफ’ भनिन्छ । त्यो हेर्न बर्सेनि हजारौ“ पर्यटक पुग्छन् । हामीसँग यस्ता रुख कति छन् कति, तर न हामीले चिन्यौ“, न अरूलाई चिनाउन जान्यौ“ ।
चिमाङको जानकारी गराउँदै गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन ।
अब छैरो गाउँ घुम्नु थियो । चिमाङबाट ओरालो झ¥यौँ । यस व्रmममा संभवतः वि.सं. २०४० सालतिर होला खोटाङको कृषि वैज्ञानिक काका मदन राई जिल्ला कृषि कार्यालय मुस्ताङको कृषि अधिकृत पदमा रहेर यहाँ व्यावसायिक स्याउखेती प्रवद्र्धन तथा विकासका लागि जोडतोडले लाग्नुभएको थियो । यही विषयमा उपाध्यक्षज्यूसँग कुरा गरियो । उहाँको स्याउ फार्म र घर देखाउनुभयो । चिमाङ गाउँको फेदीमा रहेछ ।
यसअघि उपाध्यक्षज्यूसँग सामान्य चिनजान मात्र भएको थियो । अहिले अरू साथीहरू पछि छाडिए । राम्ररी कुराकानी गर्न पाइयो । हामी दाजुबहिनी गफिँदै जाँदा चिरपरिचित आफन्तजस्तो महसुस भयो । अझ भन्नुपर्दा हलेसी तुवाचुङकी मेयर विमला तिलुङ राई भेटे जस्तो लाग्यो ।
गाउँपालिका उपाध्यक्ष जमुना थकाली थापामगरसँग छैरो गाउँ नियाल्दै ।
विमलाले २०८३ जेठ १५ गते दुधकोसी र सुनकोसी सङ्गमस्थल जोर्तीघाटको नवनिर्मित दुईमुखे पुल उद्घाटन र सोही बखत त्यहाँ जिल्ला समन्वय समिति ओखलढुङ्गाको आयोजनामा सम्पन्न गरिएको गणतन्त्र दिवस, २०८३ लाई भव्य बनाउन आफ्नो गाउँबाट साकेला नृत्यकर्मीहरू ल्याएर ठुलो गुण लाउनुभएको थियो । त्यसपछि जोर्तीघाटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन मुन्धुम पदमार्गसँग जोड्ने बाटो तथा विकासका संरचना निर्माण गर्न नगरपालिकाबाट दश लाख रुपैयाँ विनियोजन गर्नुभएको छ । यो मेरो भावना र आग्रहलाई गर्नुभएको सम्मान । यसरी दाजुको भावना बहिनीले बुझ्छन् । सम्मान गर्छन् ।
बिमलाजस्तै अर्की चेली जमुना एक्कासि भेट हुँदा साह्रै नजिकको बहिनीजस्तो लाग्यो । यहाँ उपाध्यक्षज्यूको सामाजिक र सांस्कृतिक धरातल असाध्यै मजबुत पाएँ । ठुलो र फाल्तु कुरा एक शब्द पनि नबोल्नु हुने रहेछ । राजनीतिक भन्दा व्यावाहारिक स्वभाव ।
उहाँले भन्नुभयो, ‘हाम्रो मोहन दाइ ज्यादै भिजनरी मान्छे हुनुहुन्छ । इमान्दार र मिहनेती । यस ठाउँलाई साँच्चै राम्रो बनाउन लागिपर्नुभएको छ । राम्रो काम गर्नेलाई काम गर्न दिनुपर्छ । त्यसैले म उहाँलाई चुपचाप सहयोग गरिरहेकी छु ।’
ठिनीमा गाउँपालिका उपाध्यक्ष जमुना थकाली थापामगर ।
व्यापारिक पृष्ठभूमिका उहाँ आफ्नो देश एवम् गाउँठाउँको विकास गर्ने हुटहुटीले पालिका अध्यक्ष हुनुभएको रहेछ । घरपझोङ गाउँपालिका तुलनात्मक रूपले बढी सुदृढ र जनउत्तरदायी रहनुको कारण यस्ता कुशल, सक्षम र असल नेतृत्व पाएकाले रहेछ । यी दुई जनप्रतिनिधिका समझदारी देखेर सबैतिर यस्तै भएदिए हुन्थ्यो भन्ने लाग्यो ।
हामी हिँड्दै हिँड्दै छैरो गाउँमा पुग्यौ“ । छैरो छहरा गुम्बा अवलोकन ग¥यौ“ । प्राचीन गुम्बा । भव्य र व्यवस्थित । छैरो गुम्बा हेरेपछि यस क्षेत्रमा बौद्ध धर्म, संस्कृति एवम् सभ्यता परापूर्वकालदेखि नै उर्वर थियो भन्ने बुझिन्छ ।
यस ठाउँको अर्को आकर्षण भनेको छैरो झरना रहेछ । अचम्म के भने पहराबाट खसेको छहरा तल भुइँमा नझरी मास्तिरै फर्किने रहेछ । उँभो बगेजस्तो । हावा हुरी नचलेको बखत मात्र भुुइँमा खस्न भ्याउने रहेछ ।
छैरो छहरा ।
गुम्बा नजिकै तिब्बती शरणार्थी क्याम्प पनि रहेछ । त्यहाँबाट हामी कालीगण्डकी किनारको स्याउखेती हेर्दै अघि बढ्यौ“ । अहो, पहाडको यी पाटो, गल्छी र कुइनेटातिर त कत्रो हावा चल्दो रहेछ । गाडी नै पल्टाइदेला जस्तो । केही बेर ओर्लिएर सामुन्नेको मार्फा हेर्नु मन लाग्यो । फोटो खिच्न मन लाग्यो । ओर्लियौ“ पनि ।
मैले जीवनमा सबैभन्दा बढी फोटो खिचेको दिन त्यो । जता हेरे पनि नौलो, सुन्दर र महङ्खवपूर्ण लाग्ने प्राकृतिक दृश्य परिदृश्य एवम् सामाजिक र सांस्कृतिक परिवेश । मन लोभ्याउने यही वातावरणका कारण पर्यटक मुस्ताङ घुम्न आउने रहेछन् । यहाँ नघुम्नु भनेको जीवन अधुरै राख्नु रहेछ ।
हामी सुन्दर दृश्यावलोकन गर्दै ढुम्बातालतर्फ अघि बढ्यौँ । यो नीलगिरिको फेदी रहेछ । यहाँबाट सर्वत्र दृश्यावलोकन गर्न सकिन्छ । मार्फा, जोमसोम, जोमसोम एयरपोर्ट, घरपझोङ, ठिनीगाउँ, ढुम्बाताल, स्याउका बगान, कालीगण्डकीले बनाएको विशाल र मनोरम फाँट एवम् उपत्यका । अझ पर र माथिमाथि हेरियो भने अग्लाअग्ला सुक्खा पहाड देखिन्छन् ।

हामीले डाँडामा कुछप तेरङ्गा गुम्बा दर्शन ग¥यौ“ । गुम्बा हाताबाट जोमसोम हेरिरहँदा कान्छा काका अविनाथ राईको याद आयो । वि.संं २०४२–०४३ सालतिर होला जोमसोममा साझा विकास अधिकृत भएर करिब दुई वर्ष उहाँले सेवा गर्नुभएको थियो । अलिकति नै भए पनि पितापुर्खा एवम् पूर्वजका पसिनाले सिञ्चित भूमिप्रति अपनत्वबोध हुने रहेछ । जीवनमा पहिलो पटक जोमसोमलाई नियाल्दै गर्दा यही कुरा अनुभूति भयो ।
अर्को मनमोहक ठाउँ ढुम्बाताल रहेछ । यहाँ बेस्सरी हुरी चलेर समुद्रमाझै“ तुफान आउन खोज्दो रहेछ । ताल प्राकृतिक रुपमै पानको पात आकारको रहेछ । तालमा प्रवेश गर्ने पानीको स्रोत कतै पनि देखिएन । ताल प्रेमिल लाग्यो । तालको छेउमै बसिरहूँ लाग्यो । तर, अझ अघि बढ्नु थियो । मुटु भने तालसित साटेर हिँडेजस्तो महसुस भयो । यस अवस्थाको वर्णन गर्न यहाँ सक्दिनँ । मलाई भरोसा छ कि हाम्रा कवि मित्रहरूले कविताको माध्यमबाट जरुर वर्णन गर्नुहुने छ ।

यसपछि हामी साँझको गन्तव्य ठिनीतिर सोझियौ“ । उपाध्यक्षज्यूको गाउँ यही रहेछ । ताल र ठिनीको बिचमा घरपझोङ दरबार (किल्ला) रहेछ ।
ढुम्बातालमा ।
हामी ठिनीमा पुग्दा हाम्रो स्वागतमा इष्टमित्रहरू तम्तयार बस्नुभएको रहेछ । लाइनबद्ध भएर स्वागतको सगुन, फूल र टीका ग्रहण ग¥यौ“ । स्वागतकै व्रmममा याकनाचको झाँकी कोतघर (सामुदायिक भवन) तर्फ अघि बढ्यो ।
ओ ओ ह्या...
कोलोङ कोलोङ हया...
ठिनी घरपझोङले ह्या...
क्या फोप्पे ह्या...
भम फप्पे ह्या...
केथुरफप्पे ह्या..
छुकुरफप्पे ह्या..
याफाजे ह्या...
अर्थात् कति राम्रो याक, कलङ कलङ घन्ट बजाउने याक, ठिनी घरपझोङको याक, क्या फोप्पे खलकको याक, भमफप्पे खलकको याक, केथरफप्पे खलकको याक, छुकुरफप्पे याक, धन्यवाद याक..)
याकनाच डरमर्दो सिङसहितको याकमाथि चढेजस्ता देखिन नर्तकहरू र अन्य संस्कृतिकर्मी गोलबद्ध भएर नाचिँदो रहेछ । थकाली भाषामा भाले याकलाई ‘ह्या’ र पोथी याकलाई ‘प्री’ भनिँदोरहेछ । याकनाचको ओरिजिन आज थाहा पाइयो । यो त थकाली समुदायको लोकनृत्य रहेछ । उहिले यहाँ याक पालन हुन्थ्यो । हरेक भदौमा तीन दिने ‘तोपथाङ जात्रा’ लाग्ने रहेछ । त्यसै अवसरमा याकनाच नाचिने रहेछ । यसको अतिरिक्त जोगीनाच पनि नाचिने रहेछ । जोगीको भेष र हाउभाउ प्रदर्शन गर्दै नाचिन्छ रे ।
ठिनीको स्वागत ।
हाम्रो गाउँमा पनि उहिले बाजेबराजुका पालामा थियो तर अहिले लोप भइसक्यो । उता नाचिने यो नाच भने मारुनीकै एक स्वरुप थियो । ठिनीमा लोकसंस्कृति जीवितै रहेछ । याक नाच सामुदायिक चोकमा झन जम्यो । यस्ता सामाजिक तथा सांस्कृतिक कार्य र खेलकुद गतिविधिमा स्थानीय जनमुक्ति युवा क्लब सव्रिmय रहेछ ।
थकाली समुदायले सामाजिक, सांस्कृतिक एवम् धार्मिक गतिवधि सञ्चालन गर्न यस प्रकारका सामुदायिक भवन हरेक गाउँमा बनाएको पाइयो । यसले गर्दा संस्कृति बच्यो । सभ्यताको निर्माण भयो । यस भवनलाई थकाली मातृभाषामा ‘हिलडिम’ भनिँदोरहेछ ।
यहाँका हरेक गाउँमा मुखिया व्यवस्था रहेछ । मुखियाले समुदायलाई व्यवस्थित बनाउने रहेछ । यहाँको चालचलनबारे स्थानीय चालचलनबारे बलबहादुर थकाली (७५) सँग कुराकानी गर्दैगर्दा भुटेको मकै र चिया आइपुग्यो । साँझ पनि पर्दै गयो । हामी ठिनीको थकाली सामुदायिक होमस्टेमा बस्यौ“ । होमस्टेमा गाउँलेले पाहुनाका सङ्ख्या मिलाएर घरघरमा राख्नुहुन्छ ।
ठिनीको याकनाच ।
शिवप्रकाश र म दिदी बत्तीमाया थकालीको घरमा प¥यौ“ । दिदी अत्यन्त जाँगरिलो, फरासिलो र जिम्मेवार । हामीले सोधेका कुरा झन्झट नमानी बताइदिनु हुन्थ्यो । गाउँलेको एकता अद्वितीय पाइयो । सबै एकाघरका सदस्य जस्ता । यही जगमा उपाध्यक्ष जमुनाज्यू उभिनुभएको रहेछ । उहाँ सबैको प्रिय र मान्य चेली हुनुहुँदोरहेछ । उहाँले सिङ्गो समाजलाई परिवारजस्तै माया गर्नुहुँदो रहेछ । समाजका लागि उभिइदिने, बोलिदिने अगुवा । फलस्वरुप यहाँ यति राम्रो एकता, सद्भाव र समझदारी पाइयो । गाउँका यस्ता अगुवा हाम्रा आदर्श हुन् ।
त्यो रातको भोजन माथि सामुदायिक भवनमा थियो । खाना खाएर झर्दा रातको एघार बजिसकेको थियो । हाम्रो मूल गेट बन्द भइसकेको रहेछ । केही पटक फोन ग¥यौ“ तर, उठेन । ‘आज हाम्रो सडकस्टे हुने भो’ भने“ । त्यही बेला फोन उठेछ । भित्रबाट आग्लो खोल्ने तरिका सिकाइदिनुभयो । हामी चकित प¥यौ“ । कति गजबको रैथाने प्रविधि !
भित्र पसेपछि शिवप्रकाश सरले सोध्नुभयो, ‘ज्ञानमा सबैभन्दा ठुलो के रहेछ ?’ मैले अलि घुमाउरो उत्तर दिन खोजेपछि उहाँले भन्नुभयो, ‘लोकज्ञान‘ अर्थात् कमनसेन्स नै सबैभन्दा ठुलो ज्ञान हो ।’
साँझ मस्तले निदाइयो । बिहान घरभेटी दिदीसँग बिदा हुनु पहिले थकाली भाषामा नमस्ते जनाउने शब्द ‘याफाजे’ र धन्यवाद भन्ने शब्द ‘होर्छे’ सिक्यौ“ । र, उहाँलाई नै ‘दिदी होर्छे है’ भन्दै बिदा भयौ“ ।
नेपालकै पहिलो थकाली सामुदायिक होमस्टे ठिनीमा लेखक शिवप्रकाश ।
हामो यात्राको तेस्रो दिन अर्थात् असार १५ गते । त्यस दिन जोमसोम हुँदै, मुक्तिनाथ घुमेर साँझ स्याङ गाउँमा पुग्नु छ । हामी सामुदायिक चोकमा भेला भएर हिजो स्वागत गरिएको ठाउँ हुँदै माथि पुग्यौ“ । थकाली सङ्ग्रहालय अवलोकन ग¥यौ“ । ठिनीगाउँको सम्झनामा फोटा खिच्यौ“ र जोमसोमतर्फ झ¥यौ“ ।
यसै व्रmममा काकालाई फोन गरेर जोमसोम पुग्नै लागेको कुरा सुनाएँ । उहाँ मुस्ताङ रहँदाको एउटा किस्सा सुनाउनुहुन्थ्यो । एकपटक आफू यहाँ कतिको चिनिएको रहेछु भनेर जान्न मन लागेछ । तब खाममा अस्पष्ट ठेगाना केवल ‘श्री अविनाथ राई, सिडिओ (कोअपरेटिभ डिस्ट्रिक्ट अफिसर)’ मात्र लेखेर पत्रमञ्जुषामा खसाल्नु भएछ । त्यो टुप्लुक्कै भोलिपल्ट नै उहाँको हातमा आइपुगेछ । त्यस दिनदेखि बल्ल आफ्नो लागि जोमसोम नौलो ठाउँ होइन रहेछ भन्ने महसुस गर्नु भएछ । त्यो बेला सहकारी वित्तीय व्यवस्थालाई प्रवद्र्धन र नियमन गर्न सरकार स्वयं अग्रसर भएर लागेको थियो । यसरी कुनै बेला काकाले परिचय खोज्नुभएको र बनाउनुभएको ठाउँमा धेरैपछि आइपुगियो ।
जोमसोम पुग्दा बिहानको दश बज्दै थियो । आज श्री जनहित मा.वि.को प्रार्थनासभामा विद्यार्थी भाइबहिनीसँगै राष्ट्रियगान गाउनु छ । केही अनुभव साटासाट गर्नु छ । त्यसैले सरासरी विद्यालय हाताभित्र प्रवेश ग¥यौ“ । विद्यालय परिवारबाट स्वागत भयो ।
हेडसरको कार्यकक्षमा केही क्षण बसियो । विद्यार्थी भाइबहिनी तयार भएको जनाउ आएपछि प्राङ्गणमा झरियो र हामीले सँगसँगै राष्ट्रिय गान गायौ“ । छोटो मन्तव्यका साथ विद्यार्थी भाइबहिनीकै लागि लेखिएको एउटा कविता वाचन गरे“ ।
जोमसोमको जनहित मा.वि.मा ।
वि.सं. २०११ सालमा स्थापना भएको यो देशकै नमुना विद्यालयभित्र पर्दो रहेछ । त्यहाँबाट बिदा भएर हामी मुक्तिनाथ उकालियौ“ । मुक्तिनाथ धेरै टाढा होइन रहेछ । दर्शन गरीवरी करिब दिउँसो जोमसोम फर्कियौ“ ।
मुक्तिनाथमा सल्यानकी कवि कल्पना पलकका साथमा ।
अनि हामीले घरपझोङ गाउँपालिका कार्यालय अवलोकन ग¥यौ“ । जोमसोम बजार घुम्यौ“ । पालिकाले प्रस्तर मूर्तिकला पार्क बनाएको रहेछ । अवलोकन ग¥यौ“ । कालीगण्डकी किनारमा ठुलो शालिग्राम पनि कुँदिएको रहेछ। त्यो पनि दर्शन ग¥यौ“ ।
कालीगण्डकीमा शालिग्राम ।
यसरी दिन सार्थक बन्यो । साँझपख हामी बासका लागि स्याङतर्फ लाग्यौ“ । स्याङ तीन गाउँ (ठिनी, चिमाङ र स्याङ) भित्रको एक गाउँ । यहाँ करिब एक सय बिस परिवार रहेछ ।
घरपझोङ गाउँपालिकाको वडा नं.१, मा चिमाङ र छैरो गाउँ, वडा नं. २ मा मार्फा, वडा नं. ३ स्याङ, एअरपोर्ट, वडा नं. ४ जोमसोम र वडा नं. ५ मा ठिनी पर्दो रहेछ । नीलगिरि हिमाल झलल देखिने अत्यन्त सुन्दर गाउँ स्याङ। मार्फा र जोमसोमको बिचतिर मूल सडकभन्दा अलिक माथि फाँटमा बसेको बस्ती ।
स्याङ गाउँको थकाली महिलाका साथमा ।
स्याङ पुग्दा थकाली होमस्टेका महिलाले हामीलाई स्वागत गर्नुभयो । त्यसपछि हामी होमस्टेकी सचिव उमा थकालीको घरमा भेला भयौ“ । उवाको सातु र चिया खायौ“ । रैथाने स्वाद मिल्यो ।
भोजनपश्चात् केही बेर नाचगान भयो । त्यसपछि विभिन्न घरतिर बाँडियौँ । हामी दुई जना चाहिँ त्यही घरमा बस्यौ“ ।
भोलिपल्ट हामी सबेरै उठ्यौ“ । गाउँका गुम्बा र देवीथानतिर घुम्न निस्कियौ“ । यहाँका समुदाय बौद्धमार्गी भए पनि खोलाढोला र देवी मान्दा रहेछन् । वर्षका दुई पटक खोलाढोला तथा देवदेवीका पूजा गर्दा रहेछन् । यहाँको सामाजिक तथा सांस्कृतिक थिति मिलाउने काम मुखियाले गर्नुपर्दो रहेछ । मुखिया दुई जना हुने रहेछन् । वडा सदस्य वीरप्रसाद थकालीका अनुसार मामाचेली र फुपूचेलीबिच बिहाबारी चल्ने परम्परा कायमै छ ।
फोला देवी थानमा ।
हरेक भदौ १० गतेभित्र नयाँ मुखिया चुन्ने चलन रहेछ । सहयोगी चार जना कटुवाल हुने रहेछन् । ‘थुइमे थेवा’ मुखिया पाको र अर्को अलि कम उमेरको हुने रहेछ । दसै“को सट्टा ‘टिङखामेर’ अर्थात् फागुपूर्णिमा धुमधामसँग मानिँदो रहेछ । घरको पितृथानलाई ‘सबाङकु’ भनिँदो रहेछ । पितृलाई चढाइने सबै कुरा यसै ठाउँमा अर्पण गरिने रहेछ । घरको संरचना तीन गाउँले सबैको उस्तै पाइयो ।
यसरी यी घरपझोङवासीझैँ कठिन भौगोलिक एवम् प्राकृतिक अवस्थाका बावजुद पनि आफ्नो मौलिक कला, संस्कृति, चालनचलन तथा जीवनशैलीलाई वैभवपूर्वक आत्मसात् गरेर बाँच्न सकियो भने समाज सही किसिमले अघि बढ्दो रहेछ । गाउँ पर्यटकीय गन्तव्यस्थल बन्दो रहेछ ।

आज यात्राको मुख्य र अन्तिम दिन । आजै फर्किनु छ । त्यसअघि गाउँपालिकाको कार्यालय, जोमसोममा काव्य गोष्ठी गर्न बाँकी छ । बिहान १० बजेतिरै हामी जोमसोम पुग्यौ“ । समय भएकाले फेरि बजार घुम्यौ“ । घुम्नै पर्ने कालीगण्डकी पारि एउटा गुम्बा रहेछ । नाम यकिन भएन तर एक स्थानीयको शब्दमा ‘छेछेनकुङ्गाछेखोली गुम्बा’ भन्ने सुनियो । त्यहाँ पुग्यौ“ । भव्य रहेछ । दर्शन ग¥यौ“ । केही साथी ध्यान गर्न थाल्नु भयो । आँगनमा निस्कँदा ससाना आनी तथा लामाहरू राष्ट्रिय गान गाउन लामबद्ध हुनुभएको रहेछ । हामी पनि सामेल भएर गायौ“ ।
जोमसोमको गुम्बामा ।
गुम्बामुन्तिर कालीगण्डकी माथि काठको युनिक पुल रहेछ । त्यहाँ तस्बिर खिच्यौ“ । फेरि ठूलो शालिग्राम हेर्न गयौ“ । माथि पहराको विशाल भित्ता छ । त्यहाँ रक क्लाइम्बिङ गरिँदो रहेछ ।
त्यहाँबाट हामी गाउँपालिकाको सभाहलमा भेला भयौ“ । जलवायु परिवर्तनसम्बन्धी अन्तरव्रिmया र सम्मान कार्यव्रmम पनि छ । पहिला कवि भूपिनको सहजीकरणमा पालिका अध्यक्ष र उपाध्यक्षलाई मुख्य वक्ता र अन्य सहभागीलाई प्रश्नकर्ता बनाएर अन्तरव्रिmया चलाइयो । यस अन्तरव्रिmयाबाट जलवायु परिवर्तनको असर सम्बन्धमा यस्तो कुरा आयो— यता हिउँ पर्न छाडेको, हिजो हुने फलफूल लगायतका अन्नबाली, पशुचौपाया र बोटबिरुवा बिना औषोधोपचार उत्पादन हुन मुस्किल पर्न थालेको, भूक्षय र बाढीपहिरो विकराल बन्दै गएको, नदीनाला लगायत जताततै प्लास्टिक, कागज र धातुका फोहरले भरिन लागेको आदि विषयवस्तु उठेको थियो ।
अन्तरव्रिmयबाट के बुभियो भने यसतर्फ सचेत, एवम् सावधान नहुने हो भने कागबेनी, रोशी र भोटेकोसी आसपासका बासिन्दाले भोग्नुपरेको जस्तो अकल्पनीय विपत्ति यस कालीगण्डकी आसपासका बासिन्दाले भोग्न बाध्य हुनुपर्ने छ । त्यसैले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको दिगो व्यवस्थानतर्फ अविलम्ब लाग्नु पर्दछ । यस विषयमा निकट भविष्यमा विशेष कार्यव्रmम गरिने जानकारी दिइयो ।
सम्मानित भुइँमान्छेहरु ।
कार्यव्रmमको दोस्रो चरणमा पुख्र्यौली पेसा, सिप अर्थात् कलामा अविचलित रहेर व्यवसाय गरिरहनुभएका दलित समुदायका तीन जना प्रतिभालाई नगदसहित सम्मान गरियो । उहाँहरूलाई सम्मानपत्र प्रदान गर्ने जिम्मेवारी पाउँदा भावुक बन्न पुगे“ ।
कार्यव्रmमको तेस्रो चरणमा हामी काव्ययात्री र स्थानीयले कविता सुनायौ“ ।
समयले नेटो काटिसकेको थियो । फिर्तीका लागि जोमसोम– पोखरा–काठमाडौ“ रुटको बस तयार भइसकेको जनाउ आइरहेको थियो ।
मैले प्रमुख अतिथिको मन्तव्य दिने व्रmममा अध्यक्षज्यूलाई ‘तपाईंको भिजनअनुसार थप काम गर्न घरपझोङमा अर्को एक कार्यकाल अध्यक्ष हुनुहोला । त्यसपछि तपाईंजस्तो मान्छे सङ्घीय माननीय भएर काठमाडौ“ आउनु पर्छ। मन्त्री भएर सिङ्गो देश बनाउनु पर्छ है !’

साँच्चै उहाँ विकास बुझेका मान्छे । विकासमा जुटेको मान्छे । उहाँले अध्यक्षमा दोहो¥याउनु पर्दछ । त्यसपछि पालो जमुना बहिनीको ।
बिदाइको क्षणमा हामीलाई गाउँपालिकाले मायाको चिनो र खुर्पानी लगायत कोसेली प्रदान ग¥यो ।
अन्तिम क्षणमा हामीले पालिकाको प्राङ्गणमा सामूहिक तस्बिर खिच्यौ“ । अनि भन्यौ“, बाई बाई घरपझोङ ।

कालीगण्डकीको किनारै किनार उँधो झर्दै जाँदा मन भने उँभोउँभो उकालिरह्यो । मन उही छैरो झरना बन्यो ।
सम्झे“ अध्यक्षज्यूको भनाइ, ‘एक सिजन आएर घरपझोङ बुझिँदैन । चार सिजन आउनु पर्छ है ।’
