माथिल्लो जोरधारामा मूर्तिकारहरू भुवन थापा र हरि वयम्बू दुई जनाले पाल्पा, तिनाउ, मस्यामको जन्तिलुङ्ग जान हामीलाई कुरिरहेका थिए। भुवन, पुराना मूर्तिकार हुन्। उनले काठमाडौं विश्वविद्यालयमा मूर्तिकला विषय पढाउँदै आइरहेका छन्। त्यसैगरी वयम्बूले बुटवलमा रहेको कालिका मानवज्ञान माविमा मूर्तिकला सम्बन्धि पढाउँछन्। गत वर्षदेखि उक्त विद्यालयले कक्षा ११ मा ललितकला विषय थपेको हो।
मूर्तिकार भुवन थापा
भविष्यमा गरिखाने विषयका रुपमा लिइएको ललितकलाको प्रचारप्रसार सोचेजति हुन सकेको छैन। यस विषयमा अभिमुखीकरण कक्षा सञ्चालन धेरै भएका छैनन्। अभिभावकमा जानकारीको अभाव देखिन्छ। हुनुपर्ने जति प्रचारप्रसार हुन सकेको छैन। जुन सोचका साथ विद्यालय प्रशासन र व्यवस्थापन समितिले ललितकला विषयलाई प्राथमिकता दिएर आफ्नो विद्यालयमा प्रवेश दियो, सोहीअनुसार विद्यार्थी भर्ना हुन नसक्दा आगामी सत्रहरूमा यसले निरन्तरता पाउला वा नपाउला ?
लुम्बिनी प्रदेशमै पहिलोपटक कालिका मानवज्ञान माविले ललितकला विषयमा अध्यापन गराउनु चानेचुने कुरा होइन।
कलाकार बेनु थापा
प्रसङ्ग यात्राको हो, तर म यता पो भूलेछु। अँ, साँच्चै, कलाकार बेनु थापा, फोटोग्राफर सुगम पाण्डेय, फिल्म निर्देशक मनीष पन्थ र म भएर उनीहरूलाई भेट्न मध्यान्ह १२ वजे माथिल्लो जोरधारा पुगेका थियौं।
साउन १५ गते, खिर खाने दिनमा दुईवटा भट्भटे र एउटा स्कुटीमा हामी ६ जना उकालिएका थियौं, जन्तिलुङ्गतिर। एक हजार सात सय ११ मिटर उचाइमा जन्तिलुङ्ग गाउँ छ।
नूनले स्वागत !
माथिल्लो जोरधाराबाट उत्तरपश्चिम उक्लिएपछि तेर्सो र नाके उकालो ग्राभेल तथा कच्चीबाटोलाई हामीले पच्छ्याइ रह्यौं। वर्षे भेलले बाटोलाई क्षति पुराएका थिए । कतैकतै त बाटाका धर्सामात्र थिए । दछ्याइएका गिट्टी बगाएर माटामात्र बाटामा भेटिन्थे। घरि मोटरसाइकिल र घरि स्कुटीले नतानेर पछाडि बस्ने यात्रुले फोक्सो फुल्लाएर उकालो चढेको दृश्य देख्दा कठै भन्नुको विकल्प थिएन।

करिब आधा घण्टाको यात्रापछि काशीखर्कमा पुगियो। कृष्णबहादुर रानाको कुटे पसलमा बिसाइयो साधन। घारीमा झुण्डिएका पाकेका केरालाई पोरोक पारेर हरिले टेबलमा तेर्साए अनि ग्वाम कि ग्वाम खाइयो। दर्जनको एकसय पचास भनेथे साहुजीले। अनि चट्पटे पनि खाइयो तर नून बेस्सरी ठोकेछन्। सायद सस्तो नूनले हामीलाई स्वागत गरेका हुन् कि !
लेखक दलबहादुर गुरुङ र मूर्तिकार हरि वयम्बू
भूइँमूनि माटोको गाग्रो गाडेका रहेछन्। घैंटे फ्रिज रहेछ त्यो। त्यहीबाट मिनरल वाटर निकालेर गोटाको ३० नगद बुझे उनले। कुटे पसलको छेउछाउमा घरेलु बस्तुहरू कलात्मक रुपमा झुण्ड्याइएको रहेछ। हेर्दै मनमोहक देखिन्थे।
एकादेशको कथा
त्यस गाउँबाट अगाडि बढेपछि मरामकोट पुगियो। त्यही गाउँमा भेटिए पूर्णबहादुुर खाम्चामगर। उमेर ७८ पुगेका उनी २०४९ देखि २०५९ सम्म तत्कालीन मस्याम गाविसका अध्यक्ष बनेका थिए।
सामान्य लेखपढ गरेका उनले राजनीतिमा फड्को मारेको कुरा सुन्दा पनि रहर लाग्दो थियो। ग्रामीण क्षेत्रमा रहेर सामाजिक तथा राजनीतिक सेवा गरेका उनले आफू गाविस अध्यक्ष हुँदा सक्दो विकास निर्माणमा योगदान पुराएको कुरा सुनाए। आफ्नो अधिकार प्रयोग गरेको बताए। व्यवस्था परिवर्तन भइरहे पनि न आफ्नो न समाजको अवस्था सोचजस्तो परिवर्तन हुन सकेको बताए। गाउँको मुहार फेर्न त्यति सजिलो नभएको उनको तर्क थियो।
पाका मान्छेका पक्का र भर लाग्दा कुरा सुन्दा हामी दङ्ग प¥यौं।
उनीसँग बटौलीबाट बोकेर ल्याइने नूनको भाउ सोध्यौं। त्यतिबेलाको बटौली, दोभान, रानीबास, मस्याम हटियाका कुरा बुझ्यौं। लाहुरेले रेडियो, टेपरिकर्डर बजाउँदै हिँडेको कुराको बयान चाख लाग्दो थियो। लाहुरेको भरिया हुन् टाठोबाठो हुनुपर्नेमा उनले जोड दिए। वि.सं. २०१९ सालतिर बटौलीबाट नून, कपडा, तमाखू र चामलको भारी (अर्थात् २४ धार्नीको पूरा भारी बोक्दा ) २४ रुप्पे प्राप्त हुने कुरा उनले मज्जाले सुनाए।
जहान, केटाकेटी पाल्न उक्त पैसा सहयोगी हुने कुरा सुन्दा पनि एकादेशको कथा सुनेंझैं भो। नूनको भाउ पाथीको १२ पैसा र चामलको भाउ पाथीको तीन रुप्पे थियो रे ! यो कुरा सुन्दा उहिलेका कुरा खुइलेजस्तै पो लाग्यो।
शरणार्थी जीवन
पूर्णबहादुर बाजेकी कान्छी बुहारीले अचारसँगै बारा(बटुक) चखाइन्। कालो चियामा तुलसी मिसाएर मिठ्ठो चिया पिलाइन्। हामीले मिठो मानीमानी च्याम्म खाइयो। मनीषको भागमा कुन्नि के परेछ झण्डै वान्ता गरेनन्। पानीले कुल्ला गरे पनि बटुक उनले खाएनन्। कहिलकाँही त्यस्तै हुने रहेछ। यात्रामा निस्किएपछि अनौठा अनुभव साथी भइदिन्छन्।
हामीले द रियल स्टोरीमा पूर्णबहादुरलाई समावेश ग¥यौं। उनका दुःख, सुखका कथालाई उनकै मुखबाट भन्न लगायौं। चार वर्षका उमेरमा बाबा गुमाएका उनलाई आमाले छाडेर गएपछि फुपू–पुसाइँकहाँ शरणार्थी बन्नुपरेको कथाले चसक्क मन छुन्छ। आफूभन्दा जेठी श्रीमतीबाट ११ सन्तानका पिता बनेका पूर्णबहादुरका सातजना सन्तान जीवितै छन्। १९ जना नातीनतिनाका बाजे पूर्णबहादुर यतिबेला जिजूबाजे समेत भइसकेका छन्।
फुपू–पुसाइँका सन्तान नभएकाले उनले छोरोकोजस्तै भूमिका निर्वाह गरेका रहेछन्। बाह्रखरी पढेर अघि बढेका उनले चिठ्ठी समेत लेख्दा रहेछन्। जीवनमा धेरै कुरा गुमाएर पनि थोरै प्राप्ति गर्ने मान्छेमध्येका उनी रहेछन्। संघर्षको प्रतिबिम्बजस्तै लाग्यो उनी। सफलताको यात्रामा देख्दा खुसी लाग्छ अचेल। श्रीमती गुमाएका पूर्णबहादुर आराम गर्दै जीवन बिताउने कुरा सुनाउँदै थिए।
हामीले द रियल स्टोरी खिचिरहँदा मूर्तिकार तथा कलाकारले मरामकोटमा पाइने ढुंगा खोजिरहे। मनपरेका ढुंगालाई नुहाइदिए अनि सफा गरेर झोलामा हाले। कलात्मक ढुंगा हेरेर आफै खुसी भइरहेका थिए उनीहरू। यता मनीष, सुगम र म भने पूर्णबहादुर बाजेसँग मस्त भयौं। उनका कुराले हामीलाई विपत्तै भुलायो।
मरामकोटका दुई घरमा होमस्टे सञ्चालन भइरहेका छन्। पाहुना स्थानीय झाम्रे नाचमा झुम्न र रैथाने खाना चाख्न आइपुग्ने कुरा पूर्णबहादुर बाजेले सुनाउँदै थिए। मरामकोटबाट देखिने दृश्यले मनै लोभ्याउँदोरहेछ।
जल थेरापी
भुवन थापा र बेनु थापालाई जन्तिलुङ्गतिर पठाएपछि हामीले ड्रोनले गाउँ खिच्यौं। क्यामेरा र ड्रोन पोका पारेर हामी पनि उनीहरूका पछि लाग्यौं। हामी जन्तिलुङ्ग पुग्दा उनीहरू जन्तिजस्तै लस्कर लागेका ढुंगा हेर्न र खोज्न उतै पुगेछन्।
किंवदन्तीअनुसार उक्त गाउँबाट बाजा बजाउँदै दुलही लिन गएका जन्ति बाटैमा अलप भएर ढुंगाका आकारमा परिणत भएका रहेछन्। त्यसैले जन्तिलुङ्ग सामुदायिक होमस्टेमा आउने पाहुनालाई बाजा बजाएर स्वागत गर्ने चलन छैन। यो कुरा उक्त होमस्टेका अध्यक्ष शेरबहादुर लम्तरीमगरले बताए।
होमस्टे नजिकै रहेको पार्कमा घुम्दैफिर्दै कार्यक्रम सञ्चालन गरें मैले। बादलले घरि घुम्टो ओढाउँथ्यो घरि फुकाल्थ्यो। हामी पुग्दा टन्टालापुरे घाम थियो त्यहाँ तर, पछि बादलसँगै हामी पुरियौं।
दलबहादुर गुरुङ
शेरबहादुरकहाँ पुगेर पानी पिउँदै होमस्टेका बारेमा कुरा गरियो। काँक्रो खानेबेलामा जन्तिलुङ्ग खोज्न गएका भुवन सर र बेनु टुप्लुक्कै आइपुगे। कयाम्कुरुम्मै पारे काँक्रा उनीहरूले। हामीले पनि खायौं।
बुटवलतिर फर्कने भनेर शेरबहादुर र उनकी श्रीमती मिनासरासँग बिदा मागेर हिँडेको क्षणभरमै बेनुको भट्भटेको हेडलाइटले धोका दियो। ओरालो, कच्चीबाटो बिना लाइट झर्ने हिम्मत गरिएन। सबैजना शेरबहादुर र मीनाजीको घरमा गास र बासका लागि पुनः पुगियो।
मीनाजीले चामल बसाल्न थाल्नुभयो। शेरबहादुरजीले तरकारी पकाउन सघाउनु भयो। जाडोले कान सेक्यो। केही साथी घाँटी न्यानो पार्न र जीउ तताउन जलथेरापीतिर लागे।
खाना खाँदा रातको नौ बजिसकेको थियो ।
विहानै मीना मेडमले मनतातो पानीसँगै मह टकार्नुभयो। घोलेर सिनित्तै पारियो र भट्भटे तताइयो। हिँड्नेबेला लाको, खाको र सुतेको गणित बुझाइयो। काँक्रा बोकियो। कुदियो मस्याम हटियातिर। पुरानो मस्याम हटिया हुँदै सिस्नेखोलामा बंगुर व्यवसायी टेमबहादुर बगालेकहाँ कागती चिया स्वादले पिइयो।
फिल्म निर्देशक मनीष पन्थ
मरेक झरेपछि स्थानीय रानीवन सामुदायिक वन उपभोक्ता समूहका सचिव धु्रव चिदीमगरसँग नूनतेल खेप्दाको बीचबाटो उक्त गाउँका बारेमा कुराकानी गरियो। लग्धुवा गाउँमा पूर्णिसरा दिदीकहाँ ढिक्का परेको दही र स्थानीय भूइँकटहर खाएर लक्ष्मण पाण्डेयको ड्रागनखेतीका बारेमा कुराकानी गरियो।
स्थानीय सरस्वती प्राविका हेडमास्टर समेत रहेका उनले वर्षमा सात लाख जति उक्त खेतीबाट आम्दानी गरेको सुनाए। गाउँमा वैकल्पिक आम्दानी वा बाटोका रुपमा ड्रागनखेतीलाई लिन सकिने उनको कुरो थियो।
झुम्सा, अर्घाछाप झरियो। राजेन्दर कुशबाडियासँग भेटघाट भो। सिलौटा बनाएर जीवन गुजारेका उनको परिवारलाई राज्यले लोपोन्मुख जातिका कारण मासिक भत्ता दिने व्यवस्था गरेको छ। उनीसँग बिदा भएर बुटवल झर्दा बिहानको ११ बज्दैथियो। साथीहरू भने हामीलाई छाडेर पहिले नै बुटवल झरेको कुरा हाते दूरभाषमार्फत् जानकारी गराएका थिए।
दुई दिने गाउँले यात्राले मनै आनन्दित तुल्यायो। गजब भ्रमण थियो । बिर्सिनसक्नुको यात्राले हामीलाई पुनःजन्तिलुङ्ग पु¥याउनेछ।