‘साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण’ भन्ने मूल नाराका साथ वि.सं. २०३४ देखि पोखरेली युवा सांस्कृतिक परिवार पोखरामा क्रियाशील छ। भर्खरै प्रसिद्ध कवि लक्ष्मण थापाले यसको नेतृत्व सम्हालेका छन्। उनीसँग एभरेस्ट पेडियाले ५ प्रश्न सोधेको छ ।
पोखरामा पठन संस्कृति कस्तो छ ? पोखरेली युवा सांस्कृतिक परिवार पोखरामा के के काम गरिरहेको छ ?
हुन त सामाजिक सञ्जालको अत्यधिक प्रयोगको दुव्र्यसनबाट पोखरेली पनि पीडित छन्, तैपनि पोखरामा पठन संस्कृति सन्तोषप्रद भएको मेरो आंकलन छ। यहाँ नियमित रुपमा कृतिको समीक्षात्मक कार्यक्रम भैरहन्छ। पुस्तक प्रकाशन, विमोचन र कृति परिचर्चा जस्ता कार्यक्रमले पठन संस्कृतिलाई विस्मृत हुन दिँदैन।
पोखरेली युवा सांस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा विगत पचास वर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ। यसका नियमित कार्यक्रमहरूमा हरेक महिनाको पहिलो शनिवार ‘समता काव्य सन्ध्या’ हुन्छ। यो छिट्टै ४०० औं शृंखलामा पुग्दैछ। यो नयाँ र पुराना पुस्ताका कविको संगम हो, जुन सिक्ने र सिकाउने अघोषित पाठशाला हो। पोखरेली र नेपाली काव्य जगतमा स्थापित धेरै कवि यसै पाठशालाका उत्पादन रहेका छन्।
प्रत्येक दुई महिनामा एकपटक ‘समता साङ्गीतिक कार्यक्रम’ हुन्छ। यसमा स्थापित र नयाँ गायकगायिका उपस्थित भएर सङ्गीत साधना गर्छन्। त्यसैगरी त्रैमासिक रुपमा ‘समता कला कार्यशाला’ पनि सञ्चालन हुँदै आएको छ। यसबाहेक कृति प्रकाशन, कृति विमोचन, एकल काव्य वाचन, कृति समीक्षा, पुरस्कार वितरण, नाटक प्रदर्शन, टिकटमा मुक्तक कार्यक्रम लगायत अनेक किसिमका वाङ्मयिक काम गर्दै आएको छ।
पोयुसाँप कसरी गठन भएको थियो ? फर्केर हेर्दा यसका कामको समीक्षा कसरी गर्नु हुन्छ ?
‘साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण’ भन्ने मूल नाराका साथ पोखरामा स्थापना भएको यस ऐतिहासिक वाङ्मयिक संस्थाको सुरुवातमा युवाहरूको बैठक सरुभक्तको घर (गुञ्जमानको घर) मा बसेर प्रारम्भिक समिति निर्माण गरिएको थियो। यसका संस्थापक अध्यक्ष र सचिव क्रमशः प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्य र वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ हुनुहुन्थ्यो ।
पछि वि.सं. २०३६ सालमा कलाकार दुर्गा बरालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएसँगै संस्थामा चित्रकलाको विधा पनि औपचारिक रूपमा जोडियो।
विक्रमाव्द २०३४ सालदेखि निरन्तर कृयाशिल यस संस्थाले दिएको योगदानको समग्र मूल्यांकन हुन बाँकी नै छ। पोखरामा नियमित कार्यक्रम बाहेक पनि ठुल्ठुला कार्यक्रम गर्दै आएको छ। राष्ट्रिय स्तरका साहित्यकार, कलाकार र सङ्गीतकारको सार्वजनिक अभिनन्दन गरेर उच्च सम्मान गर्दै आएको छ। साथै दिवङ्गत साहित्यकार, कलाकार र सङ्गीत क्षेत्रका हस्तीहरूको स्मरणमा सामूहिक जयन्ती मनाउँदै आएको छ। समग्रमा भन्नुपर्दा यस्तो कुनै क्षेत्र छैन, जुन यस परिवारले सेवा नपु¥याएको होस्।
लक्ष्मण थापा, अध्यक्ष, पोखरेली युवा सांस्कृतिक परिवार
कार्यक्रमहरु आयोजना गर्न खर्च व्यवस्थापन कसरी गरिरहनु भएको छ ? संस्थाका प्रमुख समस्या के के छन् ?
कुनै पनि वाङ्मयिक संस्थाको सबैभन्दा ठूलो चुनौति खर्च व्यवस्थापन नै हो। त्यसमा पनि नियमित कार्यक्रम गर्ने संस्थाका लागि त यो अझै ठूलो समस्या पनि हो। अन्य वाङ्मयिक संस्थाझैं यसको पनि आर्थिक व्यवस्थापनमा दाताहरूको नै प्रमुख भूमिका रही आएको छ। उदारमना व्यवसायी, स्थानीय निकाय र अन्य स्वदेश र बिदेशमा रहनु भएका परिवार सम्बद्ध र हितैषीको सहयोगले चलि आएको हो।
संस्थाको प्रमुख समस्या आर्थिक व्यवस्थापन नै हो। देशमा छिटो छिटो भैरहने राजनैतिक द्वन्द्व र आन्दोलनका साथै प्राकृतिक प्रकोपले उद्योग व्यवसायलाई पनि नराम्ररी असर पारेको छ। त्यसको असर हाम्राजस्ता संस्थामा त पर्ने नै भयो।
पोखरामा भएका साहित्यिक संघसंस्था बिचमा पोयुसाँपको सहकार्य के कस्तो छ ?
पोखरामा यतिबेला थुप्रै साहित्यिक र वाङ्मयिक संस्था क्रियाशिल छन्। पोखरेली युवा सांस्कृतिक परिवार जेठो संस्था भएकाले सबैलाई माया गरेर हातेमालो गरेर अगाडी बढ्नु यसको दायित्व हो र संस्थाले यो दायित्व पुरा गर्न कुनै कसर बाँकी राख्दैन। आखिर सबै वाङ्मयिक संस्थाको गन्तव्य एउटै हो, त्यसैले सबैसँग तालमेल गरेरै वाङ्मयिक समृद्धिको यात्रामा अघि बढ्न सम्भव हुन्छ। त्यसका लागि पोखरामा हुने धेरै कार्यक्रमलाई आपसमा नजुधाउने किसिमले निश्चित गरिन्छ। आवश्यक पर्दा छलफल गर्नमा पनि कन्जुस्याइँ गरिँदैन। विभिन्न किसिमका सहयोग आदान–प्रदान भैरहन्छ। परिवारले पनि कुनै पनि पहल गर्नु पर्ने विषय रहेका अवस्थामा निःसंकोच रुपमा गर्दछ ।
अब तपाईंको नेतृत्वमा संस्था कसरी अघि बढ्छ ? तपाईंको कार्यकालमा वाङ्मयप्रेमीले नयाँ अनुभूति के के गर्न पाउने छन् ?
पोखरेली युवा सांस्कृतिक परिवार सामूहिकतामा विश्वास गर्ने संस्था हो। यो औपचारिकतामा भन्दा हार्दिकतालाई महत्व दिने संस्था भएकाले संस्थामा आवद्ध सबैको भावनाको कदर गर्दै अगाडि बढ्नेछौं। सबैसँग भेटघाट, सरसल्लाह र आपसी तालमेल मिलाई अघि बढिनेछ । संस्थाले गरी आएका नियमित कार्यक्रम त गरिने नै छ, साथै अब हामी पचासौं वर्षमा पुग्ने भएकाले स्वर्ण जयन्ती महोत्सवका रुपमा कार्यक्रम अघि बढाउने छौं। त्यसका लागि तयारीका कार्यक्रम पनि अगाडी बढिसकेका छन् भनें कतिपय कार्यक्रमका विषयमा छलफल भैरहेको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारको नयाँ नेतृत्व ।
चन्द्रलक्ष्मी सिर्जना ग्रामको सञ्चालन गर्नु संस्थाको सुनौलो सपना हो। संस्थाका पूर्वअध्यक्ष सोम बज्राचार्यले पोखरा–१८, लामागाउँमा लगभग दुई रोपनी जग्गा प्रदान गर्नु भएको छ। सो जग्गामा केही भौतिक संरचना निर्माण भैसकेको भएतापनि सिर्जनाग्राम सञ्चालन गर्न पर्याप्त थिएन। त्यसैले संस्थाकै सल्लाहकार सरस्वती प्रतीक्षाको संयोजकत्वमा एक समिति गठन भै भौतिक संरचना निर्माणका लागि काम अघि बढिरहेछ। हामीले आशा गरेका छौं, अझ भनौं भनें हामी दृढ़ छौं कि हाम्रो यो सपना शिघ्र सफलीभूत हुनेछ ।