विराटनगर ।
लामो समयदेखि रङ्गमञ्चमा सक्रिय रङ्गकर्मी प्रयाग न्यौपानेले आफ्ना प्रभावशाली कविताहरूको सङ्ग्रह ल्याएका छन्, ‘अन्पी मुसहरको माटो’। विराट साहित्य सङ्गमले प्रकाशन गरेको यो पुस्तक आउँदो असोज ३ गते लोकार्पण हुँदैछ।
मोरङको झोराहाटमा जन्मेहुर्केका न्यौपाने रङ्गकर्मीसँगै किसान पनि हुन्। उनी नाटक निर्देशन र अभिनयमा स्थापित छन्। जीवनका विविध पात्र र प्रवृत्तिलाई रङ्गमञ्चमा प्रस्तुत गर्दै आएका न्यौपानेले कविता सङ्ग्रहमार्फत माटो, श्रम, गाउँ, समाज र मानवीय संवेदनाका कथालाई शब्दमा उतारेका छन्।
भुुइँमान्छेको सम्मानमा प्रकाशित यस कविताकृतिमा देशप्रेमसँगै किसानका पीडा, श्रमजीवी जीवनका सङ्घर्ष, गाउँबस्तीका अनुभूति र आम मानिसका सुखदुःख मुखरित भएका छन्। कवितामा उनकै गाउँबस्तीका पात्रहरू नायक बनेका छन्। समाजको केन्द्रभन्दा टाढा बसेर समाजलाई धानेका भुइँमान्छेका जीवन, श्रम र आवाजलाई उनले कविताको केन्द्रमा ल्याएका छन्।

न्यौपानेका कविता सामाजिक यथार्थको चित्रणमा मात्र सीमित छैनन्। उनका कविताले राजनैतिक, सामाजिक सांस्कृतिक आचरणमा देखिएको विचलन र भ्रष्टिकरणप्रति खबरदारी पनि गरेका छन्।
उनका कवितामा करुणा, प्रेम र मानवताको उच्च स्वरसमेत सुनिन्छ। विरोधभित्र पनि मानवीय संवेदना र परिवर्तनको आकाङ्क्षा उनका कवितामा पाइन्छ।
रङ्गमञ्चमा पात्रका कथा र संवेदना प्रस्तुत गर्दै आएका न्यौपानेले कवितामा पनि भुइँका स्वरहरूलाई अभिव्यक्ति दिएका छन्। गाउँको धुलो, किसानको पसिना, श्रमको गन्ध र सामान्य मानिसका जीवनभोगाइ उनका कविताका महत्वपूर्ण आधार बनेका छन्। यस अर्थमा ‘अन्पी मुसहरको माटो’ लेखकको व्यक्तिगत अनुभूतिको अभिव्यक्ति मात्र नभई आफ्नो माटो र समाजको सामूहिक आवाजलाई समेट्ने प्रयासका रूपमा आएको छ।
कवि एवम् रङ्गकर्मी प्रयाग न्यौपाने ।
कविता सङ्ग्रहभित्र अन्पी मुसहरको माटो, रितु प्रधान, मेरो गाउँ, छोरीको कोठा, उनीसँगको प्रेम, आमाको छहारी, फेरिएको दसैँ, खाडीको चासो, जीवनको रङ श्रीर्षकसहित ४१ कविता छन्।
रङ्गमञ्चमा अभिनय र निर्देशनमार्फत् पात्रहरूलाई जीवन्त बनाउँदै आएका न्यौपाने अब कविताबाट पनि तिनै पात्र, तिनै माटो र तिनै जीवनका कथालाई पाठकमाझ पु¥याउने यात्रामा छन्।
