काठमाडौं ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘घरपझोङ, पन्ध्र लेखकका अनुभूति’ नामक नियात्रासङ्ग्रह प्रकाशित गरेको छ। यसमा १५ जना लेखकका अनुभूति समेटिएको छ।
गाउँपालिकाले पर्यटन साहित्य यात्रा मार्फत् आफ्नो गाउँपालिकाका पर्यटकीय सम्भावना उजागर गरी प्रवद्र्धन गर्ने उद्देश्यले १३ असारदेखि १६ गतेसम्म ‘घरपझोङ काव्ययात्रा’ आयोजना गरेको थियो।
त्यही यात्रामा सहभागी भएका १५ जना लेखकले विभिन्न मिडियामा लेखेका अनुभूतिहरूको सङ्गालोका यो पुस्तक प्रकाशन गरिएको हो।
काव्ययात्राका सहभागिहरू थिएन, राष्ट्रिय गानका लेखक व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, शिव प्रकाश, सागर उदास, लक्ष्मण थापा, सुमन थापा ‘सङ्गम’, प्रगति राई, अनुपम रोशी, कल्पना ‘पलक’, दीपेन्द्रसिंह थापा, बाल्कुराम पुन, घनश्याम पौडेल, राजकुमार गजुरेल र अमृत भादगाउँले।
घरपझोङ गाउँपालिकाले भदौ ३० र ३१ गते जोमसोममा आयोजना गरेको ‘जलवायू परिवर्तन’ सम्मेलनका सहभागिहरूलाई यो पुस्तक उपहारस्वरुप दिइएको थियो। यस पुस्तकका सम्पादक कवि दीपेन्द्रसिंह थापा हुन्।
काठमाडौंबाट असार १३ गते मार्फा गाउँमा पुगेका लेखकहरू असार १६ गते मङ्गलबार जोमसोमबाट फर्के। घरपझोङ प्रवेश गर्नुअघि उनीहरूलाई गलेश्वरधाम र रुप्से झरना दर्शन गराइएको थियो।
उनीहरूले घरपझोङ गाउँपालिकाका सबै गाउँबस्ती र पर्यटकीय सम्पदा भ्रमण गरे। गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली थापामगरले उनीहरूलाई मार्फा, छैरो, चिमाङ, ढुम्बाताल, ठिनी, जोमसोम र स्याङ गाउँ घुमाएका थिए। उनीहरूलाई हिन्दु र बौद्ध धर्मावलम्बीको आस्था केन्द्र मुक्तिनाथ र कागबेनी पनि भ्रमण गराइयो।
थकाली सभ्यताको उद्गम थलोमा पुुगेर प्रकृति, संस्कृति र जीवनशैली अध्ययन गर्न पाउँदा लेखकहरू गदगद् भएका थिए।
घरपझोङ गाउँपालिकाले भदौ ३० र ३१ गते जोमसोममा आयोजना गरेको ‘जलवायू परिवर्तन’ सम्मेलनका सहभागिहरूलाई यो पुस्तक उपहारस्वरुप दिइएको थियो।
काव्ययात्रापछि यात्राको समाचार मात्र होइन, लेखकहरूका अनुभूति विभिन्न मिडियामा सार्वजनिक छाइसकेको छ। यति मात्र होइन, केही भिडियो अनुभूति पनि सार्वजनिक भएका छन्।
‘घरपझोङको प्रचारप्रसार गर्न काव्ययात्रा कोशेढुङ्गा साबित भयो’, गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘लेखकहरूले सुन्दर शीर्षकसहित मिठो अनुभूति लेखेर हामीलाई गुन लगाउनु भयो। सबै लेखकहरूलाई सलाम !’
काव्ययात्राको विषयमा गाउँपालिकाले २१ मिनेट लामो वृत्तचित्र पनि निर्माण गरेको छ।
स्मरणीय छ, काव्यात्राको संयोजन काठमाडौंको कन्सेप्ट नेपालले गरेको थियो।