काठमाडौँ। नेपाल पर्वतारोहण संघ (एनएमए)ले सञ्चालन गरेको ‘पेशागत पर्वतीय पथप्रदर्शकको ग्रीष्मकालीन सीप’ तालीमका ५ महिलासहित २९ प्रशिक्षार्थी र ६ जना प्रशिक्षकहरूले कञ्चनजङ्घा क्षेत्रमा रहेको दङ्गा पिक (६,२२० मिटर)को सफल आरोहण गरेका छन्।
-1790505462.jpeg)
ग्रीष्मकालीन सीप तालिम पश्चात् प्रशिक्षार्थीहरू ट्रेकिङ पिकहरूमा काम गर्न योग्य हुने संघको दाबी छ। सोहीअनुरूप तालिम सम्पन्न भएपछि प्रशिक्षार्थीहरूले आफ्नो योग्यता प्रमाणित गर्न ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्दछन्।
संघले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा पछिल्लो ५३ वर्षदेखि महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ, जसमा मुख्य कार्य भनेको हिमाल आरोहण गर्न दक्ष जनशक्ति उत्पादन र पर्वतीय पर्यटनको प्रवर्धन गर्नु हो। सोहीअनुसार संघले लामो समयदेखि पर्वतारोहणसम्बन्धी विभिन्न तालिम चलाउँदै आएको छ। पछिल्लो तीन वर्षदेखि भने पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) तालिमलाई समय र भूगोलअनुसार परिमार्जन गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा स्वीकृत १६९६ घण्टाको पाठ्यक्रममा आधारित रहेर तालिम चलाउँदै आएको छ।

उक्त पाठ्यक्रमअनुसार तालिमलाई मुख्य तीन भागमा विभाजन गरिएको छ, जसमा आधारभूत पर्वतारोहण तालिम, ग्रीष्मकालीन सीप र हिउँदे सीप रहेका छन्। यसबाहेक, १६ र ८० घण्टाको प्राथमिक उपचार, स्कि लेभल–१, आधारभुत क्यन्योनिङ, हेलि मार्सल र हेलि लङ लाइन उद्धार तालीम समावेश छन् भने हरेक चरणमा कार्यस्थलमा आधारित तालिम पनि समावेश गरिएको छ।

उक्त पाठ्यक्रम अन्तर्गतको दोस्रो चरणको यस तालिम ६ हजार मिटर वा त्योभन्दा अग्लो हिमालमा गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार दीगो पर्यटन परियोजना (एसटिपी) सँगको साझेदारीमा संघले दङ्गा पिकमा सञ्चालन गरेको यस तालिममा यस पटक एक विदेशीसहित ३४ जना प्रशिक्षार्थी सहभागी थिए।
रक क्लाइम्बिङका प्राविधिक सीप, आपत्कालीन पर्वतीय उद्धारका प्राविधिक सीप, प्राथमिक उपचार लगायत हिमाल आरोहणमा आवश्यक प्राविधिक सीपहरू र अन्य सैद्धान्तिक कक्षाहरू काठमाडौँमै सम्पन्न गरेर तालिम टोली ‘रियल सिनारियो’मा ग्लेसियर तालिमका लागि दङ्गा पिक पुगेको थियो। दङ्गा पिकमा एक साताभन्दा लामो ग्लेसियर तालिम सम्पन्न गरी प्रशिक्षार्थी र प्रशिक्षकहरूको टोलीले दङ्गा पिकको सफल आरोहण गरेको हो।

‘काठमाडौँ र सम्बन्धित हिमालमा झन्डै ४० दिनसम्म व्याबहारिक र सैद्धान्तिक सिप सिकाएपछि प्रशिक्षार्थीहरूलाई हिमाल आरोहणमा लैजाने गरिन्छ। उक्त आरोहणको नेतृत्व पूर्ण रूपमा प्रशिक्षार्थीहरूले नै गर्छन्। प्रशिक्षकहरूले उनीहरूको काम र प्रदर्शन गरेको सिपको अवलोकन र मूल्याङ्कन गर्छन्। कुनै गल्ती गरेको अवस्थामा मात्रै प्रशिक्षकहरूले हस्तक्षेप गर्छन्,’ तालिमका प्रमुख प्रशिक्षक सर्की शेर्पाले भने, ‘तालिम र आरोहणका क्रममा उनीहरूले प्रदर्शन गरेको दक्षता नतिजामा देखिन्छ। ग्रीष्मकालीन सिप सफलतापूर्वक सम्पन्न गरेपश्चात् उनीहरू ट्रेकिङ पिक आरोहणमा काम गर्न दक्ष हुने विश्वास गरिएको छ।’
संघले हिमाल आरोहणलाई तालिमको महत्वपूर्ण हिस्साको रुपमा लिदै आइरहेको छ। प्रशिक्षार्थीले सिकेका सिपलाई प्रयोग गर्दै आरोहणको नेतृत्व गर्ने गर्छन्। यसले उनीहरू निकट भविश्यमा कुनै पनि हिमालमा पेशागत रुपमा पर्वतीय पथ प्रदर्शकका रुपमा काम गर्न सक्षम हुने छन् ।

‘हामीले नेपालको पर्वतीय पर्यटनका लागि दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले यो तालिम आयोजना गर्दै आइरहेका छौं। यति धेरै संख्यामा प्रशिक्षार्थीहरूले हिमालको सफल आरोहण गर्नु हाम्रो लागि ठूलो उपलब्धी हो’, संघका केन्द्रीय कार्यसमिति सदस्य समेत रहेका प्रशिक्षक दावा टशी शेर्पाले भने, ‘उहाँहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनमा आवश्यक दक्ष जनशक्तिको पूर्ति हुने र नेपालको पर्वतीय पर्यटन सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गर्न सकिन्छ ।’
संघले सञ्चालन गरेको यो तालीम नेपाली युवाहरुको रोजगारीसँग पनि जोडिएको छ। नेपालको हिमालमा काम गर्नका लागि संघले जारी गर्दै आइरहेको कालो वा निलो वा रातो बुक आवश्यक पर्दछ। यस तालिम पुरा गर्ने प्रशिक्षार्थीले यसकै आधारमा सिधै निलो बुक प्राप्त गर्छन्। यसबाट उनीहरू दक्ष पर्वतीय पथ प्रदर्शकका रुपमा नेपालका कुनै पनि हिमालमा काम गर्न सक्षम हुने छन्।

‘यस तालिम धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ। त्यसमध्ये प्रत्यक्ष देखिने भनेको प्रशिक्षार्थीहरूको रोजगारीको कुरा र नेपाली पर्वतीय पर्यटन समृद्ध हुने कुरा हो,’ अर्का प्रशिक्षक सञ्जीव गुरुङ भन्छन्, ‘नयाँ पाठ्यक्रमअनुसार ७ हजार मिटरसम्मका हिमाल तालिमको अवधिमा आरोहण गर्नुपर्ने हुन्छ, जुन आजको दिनमा कुनै तालिममा पनि आरोहण गराइँदैन। व्यावसायिक पर्वतीय पथप्रदर्शकको नयाँ पाठ्यक्रम ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तयार पारिएको हो। हामीले पर्वतारोहण तालिम विश्वकै उत्कृष्ट बनाई नेपाललाई पर्वतारोहण तालिम केन्द्र बनाउनुपर्छ। त्यसैले यस तालिम कार्यक्रमलाई सङ्घले समयअनुकूल परिमार्जन गर्दै लान आवश्यक छ। साथै, यस महत्त्वपूर्ण कार्यका लागि हामी सबैको सहयोगको पनि आवश्यकता रहेको छ।’
