‘दरिद्राको भुमरी’, भुवन थापा ‘बहुवि’को कवितासङग्रहको नाम हो। यसमा २९ वटा लामाछोटा कविता छन्। वि.सं. २०२५ सालमा जन्मिएका कविले कवितालाई सिर्जनाको पहिलो माध्यम बनाएका छन्। वि.सं. २०३९ सालदेखि साहित्यिक सिर्जनामा तल्लीन उनी यतिबेला काठमाडौं विश्वविद्यालयमा ललितकला अन्तर्गत् मूर्तिकला प्राध्यापन गर्छन्।
बहुमुखी प्रतिभाका धनी कवि भुवन थापा ‘बहुवि’लाई शुभकामना !
‘द्यौसीभैलो’ सांस्कृतिक गीत, सामाजिक नाटक ‘धर्म’, ‘प्यारो गाउँ ः जन्म ठाउँ’ र ‘बस्ती विकास’ गीतिनाटक उनका प्रकाशित कृति हुन्। उनले ‘सिर्जनाका नव सौगात’ गजलसङ्ग्रह र ‘शंकाले लंका’ हाइकू लहरी पनि प्रकाशन गरिसकेका छन्।

चार वर्षको उमेरमा आमा र आठ वर्षमा बाबा गुमाएका भुवनले दिदी, दाजु र भाउजूको आश्रयमा बाल्यकाल गुजारे। सानैदेखि चित्र र मूर्ति बनाउन खप्पिस उनले कवितालाई मन भुलाउने बाटोका रुपमा लिए। गीत, गजल, नाटक समेत लेखेर आफ्नो मनको पीडा बिसाएका उनले मूर्तिकलालाई जीवन गुजार्ने बाटो बनाएका छन्।
देख्यो गुँडमा उसले मस्त बचेरा,
‘अहा ! क्या मजा मेरो आजको आहारा’ ।
च्यापी–चुसी–चिथोरी गरी घुमी आयो
एक–एक गरी–गरी गुँडै रित्यायो ।
‘पंक्षी पंक्षीकै शिकार’ शीर्षक कवितामा उनले चराको दर्दनात्मक पीडानुभूति प्रस्तुत गरेका छन्। प्रकृतिमा मस्तसँग रमेको चरालाई आफ्ना वायुपंखी जीवन बिताउन सहज छैन। गुँडमा रहेका अण्डा र बचेरा कहिल्यै सुरक्षित छैनन्। कहिले आफूजस्तै पंक्षीबाट, कहिले सिकारीबाट, कहिले सर्पजस्ता दुस्मन जीवबाट अण्डा र बचेरा बचाउन नसक्दाको पीडा चराबाहेक अरुलाई के थाहा ? भनिन्छ नि–अचानोको पीर खुकुरीलाई थाहा हुँदैन।
प्रकृतिलाई सुन्दर बनाउने चरा धरतीका अमूल्य सम्पत्ति हुन्। उनीहरूका चिरबिरचिरबिर संगीतमय धून, कावा खाँदै उड्दै गरेका मनोरम दृश्य, बचेरालाई अहारा खुवाइरहेको भावपूर्ण दृश्यालोकन गर्न पाउँदा अति नै खुसी लाग्छ।
‘भेटी लिएर मन्दिर जाउ’ शीर्षक कवितामा कवि लेख्छन्–
यदि, मेरो खल्तीमा
दुईटा सुकी नहुँदो हो ?
ती उत्सुक नजरलाई
पक्कै निरसताले छाउँदो हो ।
सायद, पैसाको बयान संसारमा सबैभन्दा बढी हुन्छ। आमापछिको बयान गर्ने चिज नै पैसा होला। चाहे दान–दक्षिणामा होस्, चाहे उपहारमा किन नहोस्, पैसा चढाउने चलन नयाँ भने होइन। पैसा नहुनेहरू नै संसारकै निरिह होलान्। पैसा नहुनेहरूलाई हेर्ने नजर पनि निरस हुन्छ। खल्तीमा पैसा नहुनेप्रति गरिने व्यवहार सग्लो छैन। अग्लो हुन, प्रतिष्ठित हुन र प्रचारित हुनकै लागि पैसा चाहिने जमाना आएपछि भगवानधारी मूर्तिलाई पनि पैसाको खाँचो पर्ने कुरा कविले उठाएका छन्। फूलप्रसादीलेमात्र देउतालाई खुसी बनाउन नसकिने रहेछ कि, उनको सफेद प्रश्न छ।
कवि राष्ट्रप्रेमी भावले ओतप्रोत छन्। उनले जहाँ गए पनि, जहाँ भए पनि आफ्नै जन्मभूमि र आफ्नै बस्ती चाहिन्छ भनी मागिरहेका छन्। ‘मलाई मेरै बस्ती चाहिन्छ’ शीर्षक कवितामा उनी लेख्छन्–
मलाई न्याय
हक
र,
सहारा चाहिएको छ ।
मलाई मेरै बस्ती चाहिन्छ ।
आफ्नै जन्मेको गाउँ, ठाउँ, खेलेको, डुलेको बस्ती उनका लागि प्रिय छन्। धारा, पँधेरा, चौतारो सबैसबै उनका लागि मनमोहक छन्। बालसखा, पढेको विद्यालय उस्तै मायालु छन्।
हृदयको गहिराई नाप्न कहाँ सजिलो छ र ? तैपनि कवि मनका भुवनले ‘प्रलयकारी हृदय’ नामक कवितामा आफूलाई यसरी प्रस्तुत गरेका छन्।
प्रलयकारी अतिवृष्टि वर्षा बर्सिरहेछ
मझेरीमा बाछिटाले छ्याप्पै छ्यापिरहेछ ।
उनी आफ्नो ‘वाहिघात’ कवितामा यसरी पोखिएका छन्–
कैदी कल्पनाको सुन्दरतामा वैराग्यको सिरक ओढेर
कत्रो हिउँद पछार्नु छ,
अगुल्टे भाला बोकेर
कत्रो झरी लघार्नु छ ।
यो कविताले कल्पनामा रम्न खोज्दा वा हराउँदा अनेक सोचाइको विकास गर्ने कुरा औल्याएको छ। मानिस घरिघरि वाहिघात कल्पना गर्छ। अनावश्यक प्रश्न उब्जाउँछ। बेकारमा समय खेर फाल्छ। तैपनि कल्पना गर्न छाड्दैन। कल्पनाशील प्राणी हो मानिस। कल्पनाशीलता हराउनु नै मानिसको मृत्यु हुनु हो।
विघ्नबाधा हटाएर नै मानिस अघि बढ्छ। प्रकृतिसँग समन्वय गरी अघि बढ्नुपर्छ। न मानिससँग हिउँद पछार्न सक्ने खुबी छ, न त झरीबादललाई लघार्न सक्ने क्षमता। यो त वाहिघात मनमा खेलाइएका कुरा न हुन्।
‘उर्वर छ आफ्नै कर्मठ पाखुरी’ शीर्षक कवितामा कविले जीवन र जगतलाई नजिकबाट बुझेको अनुभूत हुन्छ । उनी भन्छन् –
सुनको श्रीफूल हीराको हार के गर्नु पहिरेर
रत्कै शरीर जडेता पनि जानु छ छाडेर ।
भौतिकवादी चिन्तनबाट गुज्रेका कविले हीरामोती केही होइन, रत्नले नै जडेको शरीर भएपनि एकदिन यो नाशवान शरीर ढलेर जान्छ । गलेर जान्छ अनि रहने के हो त,मानिससँग ? भनेर गम्भीर प्रश्न उठाएका छन्। त्यसैले मानिसको कृति नै अमर रहने कुरा उनले औंल्याएका छन्।
लेखन र प्राध्यापन कार्यमा गतिशील र कर्मशील बहुमुखी प्रतिभाका धनी भुवन थापा ‘बहुवि’लाई अमर रहिरहन आफ्ना सुकीर्तिहरूले साथ दिइरहून् ।
वि.सं. २०५० मा प्रकाशित यो कवितासङ्ग्रहका प्रकाशक लालबहादुर थापा हुुन्। टेकवीर मुखियाको आवरणकलामा सजित कवितासङ्ग्रहको मूल्य १५ रुपैयाँ राखिएको छ। मदन पुरस्कारबाट पुरस्कृत मोदनाथ प्रश्रितले ‘उदीयमान बहुमुखी प्रतिभा’ भनेर उनको कवितासङ्ग्रहमा भूमिका लेखिदिएका छन्। यसले कवितासङ्ग्रहको वजन बढाइदिएको छ।