काठमाडौं ।
समाजका जटिल यथार्थ, मानवीय संवेदना, मनोविज्ञान, सामाजिक विभेद र स्त्रीअस्तित्वका प्रश्नलाई आफ्ना कृतिको विषय बनाउँदै आएकी साहित्यकार अनुपम रोशी ‘भगः एक मौन ब्रह्माण्ड’ नामक निबन्धकृति लिएर पाठक माझ आएकी छिन्।
‘कुमारी आमा’, ‘नाङ्गो मान्छे’, ‘कालो छाया’ उपन्यास तथा ‘मध्यांतर’ कथासङ्ग्रह प्रकाशन गरिसकेकी रोशीको लेखनमा समाजका देखिने घटनाभन्दा तीभित्र लुकेका मानवीय द्वन्द्व, सामाजिक संरचना र मनोवैज्ञानिक तहलाई कलात्मक रूपमा उजागर गर्ने प्रयत्न देखिन्छ।
शिखा बुक्सले प्रकाशन गरेको साहित्यकार अनुपम रोशीको पुस्तक आइतबार लोकार्पण हुँदैछ।
‘भगः एक मौन ब्रह्माण्ड’मा उनले स्त्री अस्तित्व, शरीर, सृष्टि, चेतना, सत्ता र दैवीे कल्पनासँग जोडिएका प्रश्नलाई दार्शनिक ढङ्गले केलाएकी छिन्। ‘भग’लाई केवल शरीरको एउटा अंगका रूपमा मात्र नहेरी सृष्टि र जीवनको मूल सम्भावनासँग जोडेर हेर्ने प्रयास यस कृतिको विशिष्ट पक्ष हो।

उनको प्रश्न स्त्रीको शरीरबाट सुरु भए पनि त्यहीँ रोकिन्न। स्त्रीको शरीरलाई समाज, धर्म, संस्कृति र सत्ताले कसरी अर्थ दिए? सृष्टिको कल्पनामा स्त्रीशक्तिको स्थान कहाँ रह्यो? मानिसले आफ्नो शरीर र अस्तित्वलाई कसरी बुझ्छ? यस्ता प्रश्न हुँदै पुस्तक मानव अस्तित्व र चेतनाको फराकिलो भूगोलतर्फ यात्रा गर्छ।
आख्यानमा पात्र, घटना र परिवेशमार्फत् जीवनलाई हेर्दै आएकी रोशीले यहाँ प्रत्यक्ष चिन्तन, अनुभूति र दार्शनिक प्रश्नसँग संवाद गरेको देखिन्छ। साहित्यलाई बाहिरी घटनाको वर्णनमा सीमित नराखी त्यसको भित्री अर्थ खोज्ने लेखकीय जिज्ञासा भने कायम छ। राजनीति, समाज र मनोविज्ञानका विभिन्न भंगालाहरूमा प्रवेश गर्दै विचारको आफ्नै कोणबाट जीवनलाई अस्तित्व चेतनामा उभ्याउन खोज्नु र आफ्नो लेखकीय क्षितिज विस्तार गर्दै अघि बढ्नु सर्जकको अर्को महत्वपूर्ण यात्रा हो। यसर्थ ‘भगः एक मौन ब्रह्माण्ड’ रोशीको साहित्यिक यात्रामा एउटा फरक मोड हो।
उनको लेखनलाई एउटै विषय वा विचारको घेराभित्र राखेर बुझ्न सकिँदैन। उनका प्रत्येक कृतिको आफ्नै कथ्य, परिवेश र प्रश्न छन्। तर ती फरक कथ्यहरूलाई जोड्ने एउटा साझा संवेदनशीलता भने सबैमा देखिन्छ। समाजले सामान्य वा स्वाभाविक मानेका कुराभित्र लुकेको असमानता, पीडा र मानवीय द्वन्द्वलाई गहिरिएर हेर्ने गजबको दृष्टि उनको लेखनमा छ।
स्मरणीय छ, उनको उपन्यास ‘कुमारी आमा’ निकै चर्चित बनेको थियो। माओवादी द्वन्द्वको पृष्ठभूमिबाट आएकी एक युवतीले समाजमा विवाहका नाममा महिलामाथि हुने नियन्त्रण र उत्पीडनलाई देखेपछि आफू एक्लै आमा बन्ने निर्णय गर्छे।

‘कुमारी आमा’मा अविवाहित मातृत्वको कथा मात्र छैन, त्यहाँ प्रजनन स्वतन्त्रता, आफ्नो शरीर, मातृत्व र जीवनको निर्णय आफैँ गर्न चाहने एउटी स्त्रीको सामाजिक विद्रोहको कथा छ। विवाहलाई महिलाको अस्तित्वको अनिवार्य आधार मान्ने सामाजिक संरचनामाथि उपन्यासले उठाएको प्रश्न यसको केन्द्रमा छ।
अर्को फरक धरातलमा उभिएको किताब हो ‘कालो छाया’। छाउपडी प्रथालाई केन्द्रमा राखेर लेखिएको उपन्यास। रजश्वला हुने महिलालाई घरभन्दा बाहिर, गोठमा राखिने अमानवीय परम्परा र त्यसले निर्माण गर्ने विभेदको संसार, छाउगोठमा बस्नुपर्ने बाध्यतासँग जोडिएका यौन हिंसा र बलात्कारका घटनासम्म पुग्दै उपन्यासले एउटा संस्कार कसरी महिलाको शरीरमाथिको नियन्त्रण र हिंसाको संरचनामा रूपान्तरित हुन्छ भन्ने प्रश्न उठाएको थियो।
त्यस्तै, ‘नाङ्गो मान्छे’ सामाजिक विचलन र मानवीय सम्बन्धका जटिल तहको कथा हो। विशेषतः विवाहेतर सम्बन्धका प्रसङ्गमार्फत् उपन्यासले मानिसको सामाजिक आवरण र उसको भित्री यथार्थबीचको दूरीलाई केलाएको छ। मानिस बाहिरबाट जति व्यवस्थित, नैतिक र सामाजिक देखिन्छ, भित्र त्यति नै उदाङ्गो, द्वन्द्वग्रस्त र अपूर्ण हुन सक्छ भन्ने ‘नाङ्गो मान्छे’ले प्रस्ट पारेको छ।
‘मध्यांतर’ कथासङ्ग्रहमा भने रोशीका रुचिका क्षेत्र अझ फराकिला देखिन्छन्। राजनीतिक निराशा र फ्रस्टेसनदेखि सामाजिक मूल्यका परिवर्तन, मानवीय सम्बन्ध र मनोवैज्ञानिक यथार्थसम्मका विभिन्न प्रसङ्ग यसमा समेटिएका छन्। यहाँ पनि उनको रुचि घटनामा मात्र होइन, घटनाले मानिसको मनमा निर्माण गर्ने प्रभाव र त्यसबाट जन्मिने संवेदनात्मक द्वन्द्व प्रशस्त देखिन्छ।
