दाङ
दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ४ वैबाङ गाउँमा सञ्चालित दंगीशरण सांस्कृतिक होमस्टे लोकप्रिय बन्दै गएको छ। यहाँ थारु संस्कृति, खानपिन र जीवनशैली अध्ययन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्।
‘हामी उत्साहित छौं। दिनदिनै पाहुना बढिरहेका छन्’, होमस्टेका सचिव हेमन्तराज चौधरी भन्छन्,‘पाहुनाहरु प्रायः एक रात बसेर फर्कन्छन्।’

कृषि र संस्कृतिमा आधारित यस सामुदायिक होमस्टेमा ५ घर सदस्य छन्। होमस्टेका सचिव हेमन्तराजका अनुसार यहाँ एकै पटक ३० जना बास बस्न सक्छन्। पाहुनालाई एकै ठाउँमा खुवाइन्छ भने बास भने फरक फरक घरमा बसाइन्छ।
पाहुनाको मागअनुसार सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ। यसमा हुर्दुङ्वा, मोहत्यिा, छोक्रा, मघौटा, र कठघोरी नाचगान गरिन्छ।

पाहुना राख्न छुट्टाछुटै घर बनाइएको छ। पुराना घरमा पनि केही कोठा छुट्याइएको छ। होमस्टेका अध्यक्ष राजेश चौधरीकी आमा विष्णुदेवी चौधरीले घरमै एउटा मिनि म्युजियम पनि बनाएकी छन्।

ऐतिहासिक रुपमा हेर्दा यस क्षेत्रमा थारु राजा दंगीशरणले राज्य गरेका थिए। उनको दरबार भएको ठाउँ सुकौरामा पुराना भग्नावशेष छन्। साथै त्यहाँ राजा दंगीशरणको प्रतिमा पनि बनाइएको छ। साथै यस क्षेत्रमा थारु सांस्कृतिक संरक्षण केन्द्र छ जहाँ विशाल संग्रहालय बनाइएको छ। यस संग्रहालयमा थारु जातिको जन्मदेखि मृत्यू संस्कार झल्कने सामग्री सजाइएको छ।

बैबाङ गाउँमा सतिदेवी मन्दिर पनि छ। वि.सं. १९४२ मा पतिसँगै सति गएकी नैना मोतिको स्मृतिमा सतेरिहा पार्क बनाइएको छ। पार्कमा सतिदेवीको मूर्ति छ। नजिकै सिमसार क्षेत्र र स्नानधाम पनि छ। माघि मेलामा यहाँ ठुलो मेला लाग्छ। मेला भर्न बाँके, बर्दिया, कैलाली र कञ्चनपुरदेखिका तिर्थालु आएर पूजा गर्छन्। यसरी पूजापाठ र स्नान गर्दा मनोकामना पुरा हुने जनविश्वास छ।

होमस्टेमा पाहुनालाई लोकल उत्पादन खुवाइन्छ। यहाँ धान, गहुँ, जौ, चना, मसुरो, अर्सी, भटमास, केराउलगायत सागसब्जी उत्पादन गरिन्छ। थारु आलु यहाँको विशेष उत्पादन हो ।

सस्तो र मिठो होमस्टे
हेमन्तराज चौधरी, सचिव, दंगीशरण सांस्कृतिक होमस्टे
हाम्रो होमस्टेमा अट्याच बाथरुमसहितको कोठाको एक हजार रुपैयाँ पर्दछ भने सामान्यको ६ सय रुपैयाँ। त्यसैगरि सादा खानाको दुई सय, चिकेन खानाको ३५०, लोकल चामल सिम्ठारो चिकेन खाना ४५० रुपैयाँ पर्दछ। साथै थारु खाजा सेटको १५०, लोकल खयरको रक्सी बोतलको २८०, कोदोको रक्सी बोतलको २८०, अनाजको रक्सी बोतलको १८० र जाँडको झोल बोतलको १८० रुपैयाँ पर्दछ। हामी पाहुनाको इच्छा अनुसार सांस्कृतिक कार्यक्रम पनि देखाउँछौं। होमस्टेमा आउँदा बेलैमा फोन सम्पर्क गरेर साँझ घाम नडुब्दै आउनु हुन सबैलाई अनुरोध गर्दछु।
सम्पर्क : ९८४८५१४६५३, ९७६९४३५९६६, ९८५७८२१०३६














