घटनालाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जना नै कथा हो। कथालाई कहानी, कथन, आहान, किस्सा आदि नामले चिनिन्छ। लघुुकथाभन्दा ठूलो र उपन्यासभन्दा सानो आख्यानात्मक रचनालाई नै कथा भनिन्छ। नेपाली साहित्यको माइलो विधा नै कथा हो। यो विधा नेपाली जनजीवनमा प्रचलित छ। (डा.देवी नेपाल, लेखन शिल्प)
कथासङ्ग्रह ‘खुसीको खोजीमा’ कथाकारबाट सप्रेम प्राप्त भयो। खुसी लाग्यो, अक्षर उपहार सहृदयी मनबाट पाउँदा। पढेपछि मनमा लागेका अनुभूति पोख्ने जमर्को गरें। शालिकराम पाण्डे, पाल्पाको कुनो भनेर चिनिने बाकामलाङमा बस्छन्। यो गाउँ यतिबेला निस्दि गाउँपालिका वडा नं.१ मा पर्छ। अधिकारकर्मीका रुपमा चिनिने उनले यतिबेला कृषिकर्ममा आफ्ना दिन बिताइरहेका छन्।
भोग संस्कृति हाम्रो समाजमा यतिबेला विकृतिका रुपमा यसरी मौलाएको छ कि यसको तुलना र मापन गर्न सजिलो छैन। समाजले विघटनको बाटो समाएकै हो त?
साहित्य, उनको रुचीको विषय। कथा, नियात्रा लेख्न रुचाउने पाण्डेको ‘खुसीको खोजीमा’ कथासङ्ग्र्रह मन छुने साहित्यिक कृति हो।

यो कथासङ्ग्रहमा १९ वटा कथा समावेश छन्। गाउँले पारामा लेखिएको उनका कथामा मनोविज्ञानको ठूलो भूमिका पाइन्छ। दर्शन, सिद्धान्तभन्दा व्याबहारिक स्वरुप देखिन्छ कथामा। उनका कथाले सामाजिक परिवेशलाई बढी चक्कर लगाएका छन्। मायाप्रेमलाई कथामा खुबै सूक्ष्म तरिकाले उन्ने र बुन्ने काम गरेका छन्।
सङ्ग्रहभित्र मनोवैज्ञानिक कथा छ ‘प्रकारान्त’ । यो कथा पढेपछि धेरैका मथिङ्गल घुमाउने छ। वर्तमान परिवेश छ कथामा। वैदेशिक रोजगार, स्वदेशमा हुनेहरूको यौनकुण्ठा, लुकीछिपी मायाप्रेम, एकले अर्कालाई गर्ने अनौठो मायापिरति, विश्वासघात, बदलिंदो प्रेमालापले कसरी समाजमा महिला, पुरुषलाई अधोगतितिर लगिरहेको छ, छर्लङ्गै थाहा पाइन्छ।
कथामा महिला पात्र सचिना कल्पना गर्दैछिन्–त्यसबेला सायद म विरोधाभासपूर्ण जीवन बाँचिरहेकी थिएँ दुईवटा लोग्नेको श्रीमती बनेर। दुबै फोनमा भेट हुने। सम्बन्धमा एउटा औपचारिक र अर्को अनौपचारिक। एउटासँग घरव्यवहारको लामो गन्थन र अर्कोसँग यौनका हार्दिक र रङ्गीन संवादहरू।
कथाको यत्ति अंश पढेपछि वर्तमान स्खलित समाजको व्याख्या गर्न टाढा जानै पर्दैन। यत्ति नै काफी छ। वर्तमान समयले नेपाली समाजलाई कसरी विघटित अवस्थामा पुराउँदैछ कल्पना गर्न सहज छैन। यो कथा लेख्नका लागि कथाकार पाण्डेले आफूलाई खोज, अध्ययन र अनुसन्धानदाताका रुपमा उभ्याएका छन्। अत्यन्तै मिहिन तरिकाले समाजको नालीबेली खोजेका छन्। किन यसरी नेपाली समाजमा महिला, पुरुष दयनीय अवस्थामा पुगेका हुन्, सोच्न बाध्य बनाएको छ।
भोग संस्कृति हाम्रो समाजमा यतिबेला विकृतिका रुपमा यसरी मौलाएको छ कि यसको तुलना र मापन गर्न सजिलो छैन। समाजले विघटनको बाटो समाएकै हो त? नत्र पारिवारिक विचलनको यस्तो कुरुप अवस्था सिर्जना हुने थिएन। हजारपटक सोचेरमात्र बोल्नुपर्ने समाजको निर्माण कसले गरेको होला?
‘केटाकेटीलाई जाडो हुँदैन ?’ एउटा ठिटो केटीहरूको नजिकै बसेर फुसफुसायो। सायद उसले केटाकेटीको पातलो लवाइप्रति प्रतिक्रिया दिदैं थियो।
‘मङ्सिरको जाडोमा पातलो साडी र ब्लाउजको भरमा बाहिर निस्कुन कम्तिको बहादुरी हो त ?’ केटीले पनि सुट लगाएर आए भने त पार्टीको के स्वाद ? यस्तै छेडखान चल्दै गर्दा कार्यक्रम सुरु भयो। कार्यक्रम थियो बत्ती बाल्ने र निभाउने। अर्थात् जन्मदिवस।
माथिको अनुच्छेद ‘मृगतृष्णा’ कथाबाट साभार गरिएको हो। यो कथा पढेपछि वर्तमान समाजमा फेसनका बारेमा सजिलै थाहा पाइन्छ। लवाइखुवाइको कुरा नै अचम्मको रहेछ। फेसनले मौसम पनि चिन्दैन, मान्छे पनि। कथाको संवाद ठट्यौली पाराको छ। अझै कार्यक्रमको प्रसङ्ग त जन्मदिवसको रहेछ। विदेशी संस्कृति नेपालमा भित्रिएपछिको वर्तमान अवस्था अझै विकराल बन्दैछ। मैनबत्ती बाल्ने र निभाउने प्रक्रियाले नेपाली समाजमा झ्याप्पै समाएको छ। यो संस्कृतिले नेपालीलाई नराम्रोसँग गाँजेको छ। कथाकारले नेपाली संस्कृति र संस्कारलाई बुझ्न मज्जाले प्रेरणा दिएका छन्।
शालिकराम पाण्डे
गाउँको धौलेघर। अग्लो पिँडी। छोराले काँचको कचौरा बाहिर ल्याएर आँगनमा फाल्यो। ‘हेर त यो कालेले खत्तम ग¥यो’–आमा कराई । टुक्राटुक्रा भएको कचौरा र छोरालाई पालैपालो हेर्दै मैले भनेको थिएँ–‘नकराऊ तिमी । मेरो छोरो कचौरा फोर्न सक्ने भएछ।’ खुसीका पानाहरूमा दर्ता भएको एउटा खुसी अहिले अक्षर नबुझिने गरी मेटिएको छ।
माथि उल्लेखित कथाको अंश ‘खुसीको खोजी’ कथा शीर्षकबाट सापटी लिइएको हो। कथासङ्ग्रहको नामाकरण नै यही कथाबाट गरिएको। यो कथा पढेपछि गैरजिम्मेवार सन्तानबाट सुखको आश गर्नु बेकार रहेछ भन्ने सन्देश प्राप्त हुन्छ। वर्तमान समाजको प्रतिनिधिमूलक कथा हो यो। वृद्धाश्रममा बाबाआमालाई थन्काउने कुचेष्टा गर्ने सन्तानले घरका बाबाआमालाई पराइ देख्नु वा असल व्यवहार नगर्नु कुनै अनौठो विषय नै हैन। छिः छिः र दूरदूरको अवस्था व्यहोर्नुपर्ने अभिभावकले सन्तानको खुसीका लागि के गरेन र गर्दैन होला? तर आजको परिवेश कथाले भनेजस्तै छ।
कथा पढेपछि धरक्कै मन रुन्छ, आफ्नै कुभलो चिताउने सन्तानप्रति थुक्क भन्न मन लाग्छ। सन्तानले कसरी मन चुँडाल्दा रहेछन् अभिभावकका कथाले प्रष्ट्याएको छ।
सुब्बा र सपना, नेपथ्य, मोफसल, प्रकारान्त, टायरको धुँवा, खण्डहर, डुंगा र बूढो माझी, मृगतृष्णा, घरपूजा, भंगालो, बहु चरित्र, खुसीको खोजी, जिजीविषा, मरेपछि पनि मीनेले जार काट्यो, सिरुबारी, कविता र डायरी पात्र चर्चा, बोके, क्यानभासको कालो धर्सो, सम्बन्धको बक्ररेखा, बोटेगाउँ र कालीको छाल कथासङ्ग्रहमा समाहित उनका लोकप्रिय एवम् मन छुने कथा हुन्।
सबै कथाको बेलीबिस्तार लगाउन सकिनँ। कारण अनेक छन्। सबै कथालाई यसरी नै व्याख्या गर्न थालिएमा नयाँ पाठकले के पढ्ने त? तिर्सना जगाइ दिने हो पाठकको तर जिज्ञासा नै मार्ने गरी बयान गर्नु हीतकर ठानिनँ मैले। कथामा उल्लेख गर्नुपर्ने धेरै कुरा छन्। कथाकारले कथामा सपाट बयानमात्र गरेका छैनन् बरु कथाका माध्यमद्वारा अनेकौं तरिकाले सटार हानेका छन्। त्यो उनको खुबी हो।
पाण्डेका कथा गरिमा साहित्यिक पत्रिकामा उहिले नै पटकपटक पढेको हुँ। उनीसँग करिव २०६७ सालतिर बालसंरक्षणको अभियानमा पाल्पा, तानसेनमा भेट भएको पनि हुँ। श्याम वर्णका उनको हाँसो खुबै मिठो लाग्छ। कथ्य भाषामा लेखिएको यो कथासङ्ग्रह पढेपछि उनलाई थप चिन्ने अवसर प्राप्त भयो।
कथामा चाहिनेजति मसला छन्। खुर्सानी पनि ठोक्दिएका छन्। वर्णविन्यासमा थोरै ध्यान दिन सकेको भए, कथासङ्ग्रह सुनमा सुगन्धसरि हुने थियो। आगामी दिनमा कथाकारका थुप्रै कृति पढ्न पाइयोस्। कथाकारको लेखनयात्राले गगन चुमोस्।