रोल्पा । ‘कन्सेप्ट लुम्बिनी’ को आयोजनामा रोल्पाको जन्तरेमा आयोजित ‘जन्तरे समिट २०८३’ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ९ र १० कात्तिकमा आयोजित समिटमा पर्यटन क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वसहित तीन सयभन्दा बढी युवाको सहभागिता रहेको थियो ।
रोल्पाको प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा तथा स्थानीय समुदायको जीवन्त परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको मानचित्रमा स्थापित गर्ने उद्देश्यले समिट आयोजना गरिएको आयोजकले जनाएको छ ।

समिटले रोल्पा र रुकुमको पर्यटन सम्भावनालाई उजागर गर्दै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा जोड दिएको छ । साथै, पर्यटनलाई स्थानीय आयआर्जन र समावेशी आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
समिट मनोरञ्जन र उत्सवमा मात्र सीमित नभई मौलिक कला–संस्कृतिको संरक्षण, युवा प्रतिभाको प्रोत्साहन, पर्यावरणमैत्री पर्यटनको विकास तथा जलवायु परिवर्तनका चुनौतीबारे साझा संवाद गर्ने अवसरका रूपमा आयोजना गरिएको हो ।
समिट सफल बनाउन स्थानीय समुदाय, सरकारी तथा गैरसरकारी निकाय, निजीक्षेत्र, पर्यटन व्यवसायी, युवा, कलाकार, सञ्चारकर्मी, विकास साझेदार र आम नागरिकलाई सहकार्यका लागि आह्वान गरिएको छ । सहकार्य, सद्भाव र साझा प्रतिबद्धतामार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक गौरव र आर्थिक सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसमेत समिटले लिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री, स्वास्थ्यमन्त्री, प्रदेशसभा सदस्य, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तित्व, आन्तरिक तथा बाह्य पर्यटक, पर्यटन व्यवसायी, सञ्चारकर्मी र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
समिट सम्पन्न भएपछि आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय बासिन्दा, सहभागी, विकास साझेदार, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।
यस्तो छ सातबुँदे प्रतिबद्धता
मनोरम् प्रकृती, मौलिक भाषा, कला र सस्कृती एवम् अर्गानिक जीवनशैलीले भरिपुर्ण, 'गणतान्त्रिक-राजनीतिक परिवर्तनको आधारभुमी' रोल्पा, बवाड गाउँपालिका वडा नं. ४ जन्तरेमा आयोजना गरिएको 'जन्तरे समिट-२०८३' मार्फत हामी यस क्षेत्रको पर्यटन प्रवद्धन एवम् विकासका लागी आज मिती २०८३ कार्तिक १० गते मंगलवार घोषणा-पत्र जारी गर्दछौं ।
१. जन्तरेलाई रोल्पाको महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न हामी सरोकारवाला प्रतिवद्ध छौं ।
२. जन्तरेको विकास तथा विस्तारका क्रममा रैथाने वास्तुशैली र पर्यावरणमैत्री संरचना निर्माणलाई प्राथमिकता दिनेछौं ।
३. भाषा, भेषभुषा, संस्कृती, भुगोल, हावापानी र जीवनशैली मिल्दोजुल्दो रहेकाले रोल्पा र रुकुमको एकता, सद्भाव र सहिष्णुता कायम गर्दै एकिकृत पर्यटन विकासमा हातेमालो गर्नेछौं ।
४. जन्तरेसँग जोडिएको मगरखाम पदमार्गलाई अन्य जाती र समुदायसँग जोड्दै पर्यटकिय पदमार्गका रुपमा विकास तथा विस्तार गर्नेछौं ।
५. सर्जक, लेखक, पत्रकार, कलाकार तथा खेलकुद गतिविधी एवम् साहसिक पर्यटन मार्फत यस क्षत्रको पर्यटन प्रवद्धन गर्नेछौं ।
६. यस भेगको मौलिक भाषा, कला-संस्कृती र जीवनशैलीलाई जन्तरेको पर्यटन विकाससँग जोडेर प्रचार-प्रसार एवम् विस्तार गर्नेछौं ।
७. जलवायु परिवर्तनको अनुकुलन तथा असर न्यूनिकरणका लागी जन्तरे समिट-२०८३ मार्फत विश्वको ध्यानाकर्षण गराउँदछौ ।
हेर्नुहोस् समिट कार्यक्रमका थप तस्वीरहरू










